मनु ब्राजाकी (वि.सं. १९९९) मान्छेलाई क्षुद्र स्वार्थको परिधिमा राखेर हेर्ने र केही मौलिक प्रवृत्तिहरूको दास बनाएर देखाउने सुप्रसिद्ध कथाकार हुन्। २०१९ सालमा ‘भर्याङ' कथा लेखेर यस विधातर्फ एकोहोरिएका मनुको पछिल्लो कथासंग्रह ‘अन्नपूर्णाको भोज' हो। चर्चित कथासंग्रह ‘तिम्री स्वास्नी र म' का स्रष्टा मनुका कथामा सामाजिक सत्यलाई देखाउन व्यंग्य, विद्रुपता, कुरुपता र वीभत्सता समाहित गरिएको पाइन्छ। विषयवस्तु, पात्र चयन, परिवेश, कथाको उद्देश्यका आधारमा हेर्दा उनका कथा नुन, पिरो, अमिलो पुगेको अचारजस्ता स्वादिला छन्। उनी उच्चस्तरका कारुणिक कथाका निर्माता पनि हुन्। गजल विधामा पनि प्रसिद्धि कमाएका मनु पछिल्लो पुस्ताका धेरै स्रष्टाका प्रेरणाका पुञ्ज हुन्। २०३० सालपछि नेपाली कथामा स्थापित भएर कथा लेखनलाई निरन्तरता दिइरहेका एक प्रभावशाली साहित्यकार मनुसँग समसामयिक नेपाली साहित्य र उनको जीवनदर्शनबारे गरिएको कुराकानीको सार :
सबै प्रकारका मान्छेले रक्सी खान्छन्। अरूभन्दा लेखक रक्सी खाएर बदनाम बढी हुनु उसको ‘एक्जिभिसननिस्ट' प्रवृत्तिले गर्दा हो। खानुपिउनुको सम्बन्ध भोकप्याससित हुन्छ, समयसित हुँदैन। मेरा लागि रक्सीको सर्वोत्तम विकल्प साहित्य हो! रक्सी छोड्नुपर्यो, साहित्य छोड्नुपर्ला भनेर म पीडित छु।
नेपाली कथा साहित्यको मानक निर्माणमा तपाईंको भूमिका अग्रणी रह्यो। वर्तमान कथा लेखनलाई कसरी हेरिरहनुभएको छ?
साहित्य, जीवन र जगत्मा मानक निर्माण स्थायित्वबोधक अवस्था हो। गतिशील विश्वमा यस्तो अवस्था मानकबाट नैरन्तर्यमा परिणत हुन्छ। सृष्टिको निरन्तरतामा मानक अवस्था परिवर्तित भइरहन्छ।
वर्तमान नेपाली कथा लेखनमा देखापरेको सर्वाधिक महŒवपूर्ण कुरा हो, विषयगत विविधता। यो विषयगत वैविध्यले कसरी उत्कर्ष प्राप्त गर्छ, प्रतीक्षाको विषय भएको छ।
पछिल्लो समय कथामा समर्पित ढंगमा लाग्ने लेखककै अभाव रह्यो। लेखकहरू कथातर्फ उतिसारो आकर्षित देखिँदैनन्, कारण के होला?
अहिले सबैथरी असल, राम्रा र श्रमसाध्य कुरा संकटापन्न भएका छन्। राम्रो कथा लेख्न खोज्दा नराम्रोसित जीवन बितेर जान्छ। राम्रो कथाले क्रान्ति ल्याउँछ। राम्रो उपन्यासले स्थायित्व प्रदान गर्छ। श्रमसाध्य कुरा, क्रान्तिका कुरा सदैव आकर्षक हुँदैनन्।
तपाईं कथा लेख्ने मान्छे, तर उपन्यासतिरचाहिँ आकर्षित हुनुभएन नि?
उपन्यासले स्थायित्व र स्थापनाका लागि समय र श्रम धेरै खोज्छ। म स्थापना भत्काउन उद्यत् उर्लिंदो खोलाजस्तो मान्छे। जतिसुकै संयम र नियन्त्रणमा बसे पनि क्रान्तिको स्वभाव चपल र विस्फोटक हुन्छ। कथा मेरो दुर्बलता हो भने उपन्यासतिर आकर्षित हुन नसक्नु पनि मेरो दुर्बलता हो।
कथा लेखेर कति कमाउनुभयो?
चेतमानसिंहलाई गुमाएँ, मनु ब्राजाकीलाई कमाएँ। यत्ति हो। मेरो ब्यांक खाता छैन।
कुन कथासंग्रह बढी बिक्री भयो?
‘तिम्री स्वास्नी र म' भन्ने कथासंग्रह सर्वाधिक बिक्री भयो र अझै हुँदैछ।
तपाईंको पछिल्लो कथासंग्रह ‘अन्नपूर्णाको भोज' ले उतिविधि बजार पाएन नि?
मैले आजसम्म आफ्नो कुनै पुस्तक आफैंले छापेको छैन। बिक्री–वितरणबारे मलाई त केही पनि थाहा छैन। आफूलाई बेच्न पनि जानिएन, अरुलाई किन्न पनि जानिएन। तपाईंको यस प्रश्नको आधिकारिक उत्तरदाता ‘अन्नपूर्णाको भोज' कथासंग्रहको प्रकाशक ‘सांग्रिला बुक्स' नै हो।
तपाईंको आजसम्मको अन्तिम कथा कुन हो?
अन्तिम कथा लेख्न बाँचेकै छु।
स्वास्थ्यका कारण लेख्न सक्दिनँ भन्नुहुन्छ, सहयोगी राखेर पनि लेख्न सकिन्छ नि?
कारण अस्वस्थता नै हो। आधा रातमा लेख्न फुर्यो भने सहयोगी खोज्न कता जानु? उसै पनि नेपाली साहित्यकार सहयोगी राखेर लेखाउन सक्ने अवस्थामा पुगिसकेका छैनन्।
नेपाली कथा साहित्यलाई अझै पनि आफ्नो जरुरत छ भन्ने लाग्दैन तपाईंलाई?
आफूलाई त सबैले महŒवपूर्ण ठान्छन् नै। नेपाली साहित्य जगत्ले मनु ब्राजाकीलाई जे जति ठानेको छ मैले त्यसैमा चित्त बुझाउनु आवश्यक ठानेको छु। कसैले घचघच्याएर ढोका खोल्नैपर्यो।
नेपाली कथा लेखनमा शैली, विषय, प्रयोग वा त्यस्तै केही पनि नयाँ आउन नसकेको हो?
साहित्यमा नयाँ र मौलिकको मात्र होइन अहिले त नौलो र नयाँ नेपालकै प्रतीक्षा सबैलाई छ। प्रतीक्षा लामो–छोटो जस्तो पनि हुन सक्छ। तर, ढिलै भए पनि सन्तान होस्, वंशवृद्धि भइरहोस्। असल सन्तान सिर्जना हुँदै गर्छ, कहिले हुन्छ, ठोकुवा गरेर भन्न सकिँदैन।
तपाईंका समकालीन कथाकारमा कसको कथा बढी मन पर्छ?
आफ्ना समकालीनमा आफूभन्दा अरुलाई राम्रो भन्ने चलन नेपाली साहित्य जगत्मा छैन।
किन नेपाली कथाले अन्य मुलुकका पाठकको मन जित्न सकेन जस्तो लाग्छ?
सफल र उत्कृष्ट अनुवादकको अभाव, प्रचारप्रसारको अभाव एवं अंग्रेजी साहित्यको प्रभाव।
कहिलेकाहीँ गजल पनि लेख्नुभयो, ती संगीतबद्ध पनि भए?
कहिलेकाहीँ मात्र होइन, अहिले पनि गजल लेखिरहेकै छु। तीमध्ये केही संगीतबद्ध भए, गाइए, तर सुनिएनन्। भरखरै लेखेको एउटा गजल यस्तो छ–
‘रुँदा कोही सँगै रुँदैनन्
हाँस्दा कोही एक्लो हुँदैनन्।
मूर्ति पूजा गर्न थालेपछि,
मूर्ति कुँद्नेलाई छुँदैनन्।'
अर्को यस्तो छ–
‘घुम्टोभित्र सधैँ राम्रो रूप हुँदैन।
धुँवाएर बल्ने सबै धूप हुँदैन।
नबोलेर गरिएको राम्रो काम,
आफै बोल्छ कैले पनि चूप हुँदैन।'
त्यसो भए तपाईं खासमा गजलकार कि कथाकार?
कथा लेखेँ, कथाकार भएँ। गजल लेखेँ, गजलकार भएँ। तर, ‘कार' भइनँ। किनभने व्यापारी भइनँ।
लेख्ने हुटहुटी जाग्दैन अचेल?
निरन्तर लेखनद्वारा आफू पनि चिन्तनशील हुने र पाठकलाई पनि चिन्तनशीलतातर्फ अभिप्रेरित गर्ने व्यक्तिले लेख्न नसक्दाको पीडा अवर्णनीय हुन्छ। अचेल यही पीडाले ग्रस्त छु।
रक्सी खाएर बदनामचाहिँ बढीमात्रामा लेखक नै किन हुन्छन्?
सबै प्रकारका मान्छेले रक्सी खान्छन्। अरूभन्दा लेखक रक्सी खाएर बदनाम बढी हुनु उसको ‘एक्जिभिसननिस्ट' प्रवृत्तिले गर्दा हो।
कुनै समय मनु ब्राजाकी र रक्सीलाई एकअर्काका पर्याय मानिन्थ्यो?
मनुको पर्याय मान्छे मात्र हो।
कहिलेकाहीँ त बिहानैदेखि खानुहुन्थ्यो हैन?
खानुपिउनुको सम्बन्ध भोकप्याससित हुन्छ, समयसित हुँदैन।
कति भो रक्सी छोडेको?
मेरा लागि रक्सीको सर्वोत्तम विकल्प साहित्य हो! रक्सी छोड्नुपर्यो, साहित्य छोड्नुपर्ला भनेर म पीडित छु।
नयाँ पुस्ताका लेखकप्रति धारणा?
नेपाली साहित्यमा विषयगत विविधता प्रदान गर्न सकेका छन्।
कहाँ छ नेपाली साहित्य?
नेपालमा लेखे पनि, नेपालबाहिर लेखे पनि, नेपाली साहित्य नेपालमै छ। अन्त कतै छैन। हुनुको खुसी पनि छ। नहुनुको पीडा पनि छ।
प्रस्तुति : माधवप्रसाद नेपाल
प्रकाशित: ९ वैशाख २०७४ ०५:५२ शनिबार