१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

एकै परिवारका चार सदस्यको हत्यामा नेपाली सेनाका जवान संलग्न

टेकनारायण भट्टराई, पाल्पा, वैशाख ५- पाल्पा ठिमुरेमा दुई महिनाअघि भएको हत्याकान्डमा नेपाली सेनाका जवान संलग्न भएको पाइएको छ। पोखरास्थित गणमा कार्यरत नेपाली सेनाका चार जवानले ठिमुरेका एकै परिवारका चारको हत्या गरेको स्रोतले जनाएको छ।

हत्यापछि जवानहरूले नगद १ लाख रुपैयाँसहित सुन लुटेका थिए। हत्यामा संलग्न सेनाका चारमध्ये गुल्मीका तारा बलामीको मात्र परिचय खुलेको छ। बलामी पाल्पा प्रहरी हिरासतमा छन्। नाम नखुलेका अन्य तीनको बारे अनुसन्धान भइरहेको छ।

नाम नखुलेका जवानलाई सेनाले गोप्य रूपमा अनुसन्धानका लागि पोखराबाट पाल्पा झिकाएर बयान लिएर पुनः पोखरा फर्काइसकेको स्रोतले जनाएको छ।

प्रहरीले घटनामा सेनाका जवान संलग्न रहेको पुष्टि गरेको छ। 'सेनाका जवानहरूले हत्या गरेको खुलेको छ तर को-को हुन् परिचय खुल्न बाँकी छ,' अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रहरी बरिष्ठ उपरिक्षक केशबहादुर शाहीले नागरिकसँग भने, 'यसबारे छिटै यथार्थ विवरण सार्वजनिक गर्छौँं।' शाही ठिमुरे घटना अनुसन्धान गर्न गठित समितिका संयोजक पनि हुन्।

मुख्य हत्याराको पहिचान भएको लामो समय बितिसक्दा पनि प्रहरीले तीनजनाको परिचय खुलाएको छैन। पाल्पाका प्रहरी नायव उपरिक्षक पवनकुमार गिरीले आफू तालिमका लागि जिल्लाबाहिर रहेकाले बुझ्न नपाएको प्रतिक्रिया दिए। 'पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी हो, तर किन ढिला भएको छ, म बाहिर भएकाले जानकारी छैन,' उनले भने।

सुरक्षा निकाय नै घटनामा संलग्न रहेकाले अनुसन्धानमा समस्या परेको स्रोतको दाबी छ। 'सेनाको गाडीमा सैनिक पोशाकमै आएका अधिकारीहरूकै माझमा सैनिक पोशाकमा उभिएको दोषीलाई कसरी केरकार गर्ने?' एक प्रहरी अधिकृतले भने। उनले अनुसन्धानका लागी नेपाली सेनाले सहयोग नगरेको गुनासो गरे। 'सेनाले सघाएको भए अनुसन्धान चाँडै टुंगोमा पुग्थ्यो,' उनले भने।

सेनाकै संलग्नताको अपराध सार्वजनिक हुँदा नेपाली सेनाको छवी बिग्रन सक्ने देखेर अनुसन्धान प्रक्रिया लम्बिएको स्रोतको दाबी छ। माघ अन्तिम साता भएको उक्त हत्याकाण्डमा सेनाका जवान संलग्न रहेको पुष्टिसहितको अनुसन्धान फाइल प्रहरीले तयार पारिसकेको स्रोतले जानकारी दियो। 'सेनाको सहभागिता रहेकोले घटना सार्वजनिक गर्ने योजना पछि सरेको हो,' स्रोतले भन्यो।

घटनापछि अहिलेसम्म सञ्चारकर्मी र मानव अधिकारवादीलाई केही बताइएको छैन। 'सेनाका जवान संलग्न रहेको भन्ने थाहा पाएपनि सबै विवरण बाहिर नआएको' इन्सेक पश्चिमाञ्चल संयोजक शिब खकुरेलले जानकारी दिए।

सेनाले घटनाको बारेमा अनुसन्धान भइरहेकाले यथार्थ नआउन्जेल केही बताउन नसक्ने जानकारी दिएको छ। 'घटनाबारे अनुसन्धान जारी रहेकाले अहिल्यै केही भन्न सकिँदैन,' पोखरास्थित पश्चिम पृतनाका पृतनापछि नरबहादुर कँडेलले नागरिकसँग भने, 'अनुसन्धान जारी छ, अहिलेसम्म केही पत्ता लागेको छैन।'

कँडेलले सेनाका जवान बलामीको मारिनेमध्येकी एक युवतीसँगको प्रेमसम्बन्ध रहेको खुले पनि यथार्थ नआएको बताए। 'सेनामा प्रवेश गर्नुअघि नै बलामीको एक युवतीसँग प्रेम सम्बन्ध रहेछ, त्यति खुलेको छ,' उनले भने, 'दोषी नठहरिएसम्म कसैलाई आरोप लगाउन मिल्दैन, अनुसन्धान जारी छ।'

उनले प्रहरीको अनुरोधमा सेनाका केही जवानलाई अनुसन्धानमा सघाउन पाल्पा पठाएको जानकारी दिए। 'हामीले प्रहरीको अनुरोधमा केही सैनिकलाई पाल्पा पठाएका हौं,' उनले भने।

कँडेलले बलामी सेनाको जवान भएको पुष्टि गरे। उनी कुन गणमा कार्यरत थिए भन्ने खुलेको छैन। पोखरामा रहेको देवीदत्त गण करिब २ महिनाअघि सरेर रोल्पा गएको छ भने रोल्पाको नयाँ गोरख गण पोखरा आएको छ।

घटनामा ५५ वर्षीया यमकुमारी बगाले, छोरी २७ वर्षीया तुलसा, उनका ८ वर्षीया छोरी सन्ध्या र ५ वर्षीय छोरा सञ्जीवको हत्या भएको थियो।

मारिएकी कुसुमखोलाकी २७ वर्षीया तुलसा छोराछोरीसहित माइत ठिमुरे गएकी थिइन्। सेनामा कार्यरत वलामीसँग तुलसाकै साथी कुशुमखोलाकी सिर्जना परियारले परिचय गराइदिएकी थिइन्। तुलसा र सिर्जनाको राम्रो मिलाप थियो। नियमित सम्बन्धले डेढ वर्षदेखि तुलसा र ताराबीच प्रेम सम्बन्ध थियो।

घटनाको दिन माघ २७ गते हत्या योजनासाथ तीन सहकर्मीसहित तारा पाल्पा आएका थिए। ठिमुरेस्थित तुलसाको माइत नचिनेका उनीहरूलाई सिर्जनाले घर देखाइदिइन्। आफू भने हत्यामा संलग्न नरहेको उनले बताइन्।

'उनीहरू बसमा चढेर आएका थिए, मैले घर चिनाइदिएकी हुँ,' प्रहरी बयानमा सिर्जनाले भनिन्, 'हाम्रो नाम भनिस् भने तँलाई पनि सिध्याइदिन्छौं भन्दै धम्क्याए, प्रहरीको डरले म लुक्दै हिँडे।'

घटनाको दुई सातापछि परियार पक्राउ परेकी हुन्। उनकै बयानका आधारमा प्रहरीले सेनाका जवानमाथि अनुसन्धान अघि बढाएको थियो। (पोखराबाट सन्तोष पोखरेल)

नाबालक छोराछोरी सहित आमाको घाँटी रेटी एकै परिवारका ४ को हत्या


प्रकाशित: ४ वैशाख २०६७ २२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App