मधुवन पौडेल
तीस वर्षपछि आज अकस्मात् छोराको अपार्टमेन्ट नजिकको सार्वजनिक पार्कमा अश्विनसँग भेट भयो । अपार्टमेन्टमा सुत्दासुत्दा दिक्क लागेर त्यो दिन मन नलागीनलागी म समय कटाउन बाहिर निस्केको थिएँ । यतिका वर्षपछि यसरी त्यहाँ ऊसँग भेट होला भन्ने मैले सोचेको पनि थिइनँ ।
अश्विनले लामो समयदेखि सम्पर्क नगरेकाले आउने बेला ऊ क्यानडामा छ भन्ने हेक्का पनि राखिएन छ, यद्यपि, हामी दुवैलाई बितेका दिनमा अश्विनको कमी खट्किरहने गथ्र्यो र विमलाले पनि उसको कुरा बेलाबेला गरिरहन्थी । तीस वर्ष भेट नहुनु, केही वर्ष यता हामी कसैले पनि उसको खबर पाएका थिएनौँ ! ऊ त लापर्वाह थियो नै, समय बित्दै गएपछि हामीले आफ्नो तर्फबाट पनि उसलाई बिर्सेका थियौं भने हुन्छ । छोरो क्यानडा जाने बेला प्रसंग उठेको हो, तर सम्पर्क हुने नगरेकाले त्यसै सेलायो । पुराना कुरा सम्झँदा ऊप्रति त्यस्तो वितृष्णा त थिएन, तर मलाई ऊसँग निकै रिस उठेको थियो ।
अश्विनलाई जसरी भए पनि मनाएर नेपाल लैजाने भनी विमला र मेरो सल्लाह भएको थियो । मैले हिजोको ठाउँमा धेरैबेर कुरेँ, त्यसपछि पार्कमा हेरचाह गर्ने कामदारलाई पनि सोधेँ तर कसैसँग मेरो प्रश्नको जवाफ थिएन । केहीबेर ऊ हिजो बसेको सिटसँगै उभिएर हेरेँ, त्यहाँ अरु केही रंगीचंगी नयाँ पात झरेका थिए । आफ्नो मनमा अश्विन सँगै छ जस्तो लागेर होला, मेरा हातका औँला पातहरूमाथि सलबलाइरहेका थिए ।
क्यानडा गएको १०÷१२ वर्षसम्म हाम्रो सम्पर्क हुने गथ्र्यो । क्रमशः हामीबीचको पत्राचार वा टेलिफोन सम्पर्क टुट्दै गयो । मेरो कोलकाता प्रवासमा यदाकदा ऊ मलाई फोन गथ्र्यो, अनि आफ्नो व्यस्तताको कुरा उठाउँथ्यो, टोरोन्टोजस्तो ठूलो सहरको कोलाहलबीच भएर पनि एक्लिएको गुनासो गथ्र्यो र विदेशमा बस्दा ऋणमा डुबेर त्रासद्पूर्ण जीवन बाँच्नुपरेको छ भनी गुनासो र घुर्की पनि लगाउँथ्यो । कहिले आफ्नो सफलता र वैभवका कुरा गथ्र्यो र यदाकदा झट्केला छोराछोरीका कथा पनि सुनाउने गथ्र्यो । यसरी हाम्रो पूरा परिवारकै लागि अश्विन दुखेसो पोख्ने र समष्टि रुपमा आफूसँग सम्बन्धित समाचारको एउटा स्रोत मात्र हुन पुगेको थियो, केही वर्षसम्म । यस्तैमा एक्कासि ऊ सम्पर्कविहीन भयो ।
मलाई आफू र अश्विनको बाल्यकालको सम्झना हुने गथ्र्यो । केटाकेटीमै अश्विन र म दुवै छिमेकी गाउँबाट काठमाडौं पसेका हौं र आफ्नो उमेरले झन्डै धान्न नसक्ने गरी माथिल्लै कक्षामा थियौं । ऊ मभन्दा सम्भ्रान्त परिवारको, काठमाडौंमा राम्रै स्कुलमा भर्ना भएको थियो र डेरामा सघाउन एकजनालाई गाउँबाटै ल्याएको थियो । म भनें लामो समय कहिले कुनै साथीको डेरामा खप्टिने, कहिले नातेदारका घरमा गाँसिने र धेरैजसो एक्लै बस्ने गर्थें । स्कुल बेग्लै भए पनि हामीबीच गाढा मित्रता थियो, हामी निरन्तर एकअर्काको सम्पर्कमा रह्यौं ।
उसको बाबु बितेपछि आफन्तले अश्विनलाई डेराबाट होस्टेल भर्ना गरिदिए र हाम्रो भेटघाटको सिलसिला पनि लामो बिदा वा मीनपचासको समयमा गाउँ फर्कंदा मात्र हुने अवस्थामा पुग्यो । होस्टेल बस्न थालेपछि अश्विनको पढाइ राम्रो भएछ सायद । उसको होस्टेलको रुममेट पनि सधैं क्लासमा पहिलो हुने केटो रहेछ र ऊसँग प्रतिस्पर्धा गर्नुपर्दा अश्विन पनि बढी मेहनत गर्न थालेको थियो, मेधावी त अश्विन पहिलेदेखि हो ।
मेरो अवस्था बेग्लै थियो । घरी घर, घरी डेरा र स्कुल चहार्नुपर्ने बाध्यताले गर्दा म विद्यार्थीभन्दा बढी यायावरजस्तो हुँदै गएँ, बेलगाम घोडाजस्तै थिएँ म भने पनि हुन्छ । कुनै लगाम थिएन, न त पढ्नुपर्छ भन्ने आत्मबोध नै भयो मलाई । स्कुलेसाथीहरू फुटबल खेलेका ठाउँमा घन्टौं कुर्ने, एकछिन सित्तैमा साइकल चढ्न पाइन्छ भनेर साइकल पसलका ग्राहकको साइकलमा हावा हालिदिने । खल्तीमा पैसा परेको दिन दोहो¥याएरै भए पनि सिनेमा हलभित्र पस्ने । अनि राति ढिलो फर्केर हतारहतार कहिले गोलचुलो र कहिले स्टोभमा छिटोछिटो भात पकाएर खाने । भोलिपल्ट दगुर्दै स्कुल, स्कुलबाट फर्केपछि डेरामा झोला फ्याँक्नासाथ उस्तै दिनचर्या हुन्थ्यो । प्रत्येक शुक्रबार स्कुल सक्नासाथ गाउँको घर जानैपथ्र्यो, अर्को कुनै कामकुरा नभए पनि खर्च थाप्न । अनि आइतबार बिहानै कुदेर फेरि स्कुल धाउने । तिनताका पाटनढोकाबाट सहिदगेटसम्म पहेँला सार्वजनिक बस चल्थे । धेरैजसो कन्डक्टर मलाई सानो देखेर बाबु जाऊ भनेर त्यसै छाडिदिन्थे, कोही ‘सित्तैमा चढ्न पाइन्छ ?’ भनेर पैसा लिएरै छाड्थे । त्यो बेला पाटनढोकाबाट सहिदगेटसम्म चल्ने रंग र आकारका बस अमेरिका र क्यानडामा अहिले पनि स्कुल बसका रुपमा चलिरहेका देखिन्छन् ।
मेरो बाल्यकाल खासगरी स्कुलेजीवन सधैं मेरो पिताजीले तयार गरिदिनुभएको मोनोटोनस रुटिनमा चलेको हुन्थ्यो, जसलाई मैले छलछाम गरेर अर्कै बनाइरहेको हुन्थेँ । अर्कोतिर, अश्विन मजस्तै परिवारबाट बेलगाम भए पनि होस्टेलको नियमले बाँधिएकाले पढाइमा ध्यान दिइरहेको थियो ।
हामी दुवै म्याट्रिक पास भयौं, ऊ पहिलो श्रेणीमा, म भने कसकास गरेर दोस्रो श्रेणीमा । हामी दुवैको सपना भने एउटै थियो, इन्जिनियर बन्ने । मेरो रिजल्ट हेरेर पिताजी खासै खुसी हुनुहुन्नथ्यो, त्यसको एउटा कारण कटाकेटीमा मैले सधैं अश्विनलाई जित्ने भएर पनि होला ।
‘बडाबा, भुवनले आइएससीमा राम्रो गर्छ, नडराउनोस्, म पनि मद्दत गरूँला ।’ अश्विन मेरो पिताजीलाई बडाबा भन्ने गथ्र्यो । म कत्ति लापरवाह र पढाइमा कमजोर छु भन्ने थाहा भएर पनि पिताजीलाई सान्त्वना दिन्थ्यो ऊ । दुई वर्षपछि आइएससी सकेर ऊ इन्जिनियरिङ पढ्न गयो, मैले अर्कै विषय पढ्न थालें अर्थात् त्यसपछि मेरो जीवन पूरै एक सय ८० डिग्री घुमिहाल्यो । अश्विन मलाई भन्ने गथ्र्यो, ‘आफू के गर्छु वा के बन्छु भन्ने अठोट हुनुपर्छ, अनि त सबै कुरो आफैं यथास्थानमा पुगिहाल्छ नि ।’
म जवाफ दिन्थें, ‘नियति के छ, कुन परिस्थिति र कस्तो मार्गदर्शन छ, त्यसले मात्र आफूले सोचेको कुरो पुग्ने÷नपुग्ने तय गर्छ ।’ सायद त्यो मेरो मनको भ्रम थियो वा बेमतलबको बुझाइ ! यसै गर्छु भनेर एकचित्त भएर निरन्तर लागिपरेपछि सोचेको कुरा पुगिहाल्ने रहेछ भन्ने अहिले मात्र आत्मबोध भएको छ ।
केही वर्षपछि अश्विन फक्र्यो पढाइ सकेर । मैले आफ्नो पिताजीको इच्छाविपरीत पछिल्लो र आफ्नै रोजाइको पढाइ सकेर जागिर खाइसकेको थिएँ । त्यसपछि हामी दुवै आ–आफ्नो संसारमा मस्त भयौं । अश्विनले बिहे ग¥यो, ऊ पहिले व्यस्त, अनि बढी व्यावसायिक हुँदै गयो तर जनसम्पर्क शून्य । म भने काममा बढ्तै व्यस्त रहें, उसलाई भेट्न भने समय निकाल्थें । दुवै घन्टौं बसेर पिउँथ्यौं पनि ।
यत्तिकैमा अकस्मात् एक दिन अश्विन मलिनो अनुहार लिएर मेरो ढोकामा आइपुग्यो । ऊ बेग्लै देखिएको थियो, भताभुंग कपाल, हप्तौं नसुतेजस्ता चिप्रा आँखा, चार÷पाँच दिन नकाटेको झुस्स दाह्री, टिसर्ट र जिन्स पाइन्टमा छालाको चप्पल पहिरिएको थियो उसले । सामान्यतः अश्विन मेरो घर आउँदा विमलाको डरले पनि दाह्री सफाचट गरेर अनि ढंगको जुत्ता लगाएर मात्र आउँथ्यो ।
‘भित्र बोलाउनुस् ?’ अश्विनले झर्केर भन्यो ।
‘तँलाई आइज भन्नुपर्छ र ? मलाई लडाएर पस् न ।’ उसको पुरानो र केटाकेटीदेखिको बानी, अप्रत्याशित रुपमा मेरो घर आउने बेला सधैं ऊ मलाई धकेलेर नै ढोकाभित्र पस्ने गथ्र्यो । भित्र पस्नासाथ अश्विनले मलाई गल्र्याम्म अँगालो मा¥यो । पाँच वर्षअगाडि उसकी आमा बित्नु हुँदा पनि उसले मलाई यस्तै गरेको थियो । मलाई लाग्यो, ऊ कुनै संकटमा छ । केही नबोली मैले उसलाई बैठकमा पु¥याएँ । यत्तिकैमा विमला अर्थात् मेरी धर्मपत्नी भित्र पसिन् ।
‘ओहो अश्विन, आज कताबाट बाटो बिर्सिस् ?’
विमला र अश्विन मामाचेला फुपूचेली थिए ।
‘भर्खरै हो, बरु चिया एक कप ख्वा न नानु ।’ अश्विन सायद विमलालाई हाम्रो संवादबाट अलग्याउन चाहन्थ्यो । विमला भान्छातिर लागिन् । उनले कुरो बुझे÷नबुझेको मैले थाहा पाइनँ, सायद बुझिनन् होला ।
‘के भो भन् न ।’
‘के भन्नु, हिजो घर फर्कंदा सरिता थिइन । मेरो कन्सल्टायन्टसँग डिनर थियो, अलि बढी पिएकै पनि हो । कुरै कुरामा अलि भनाभन भयो, म सुतिहालेँ, धेरै नराम्रो नहोस् भनेर, बिहान उठ्दा ऊ थिइन ।’
‘के हो यो तिमेरुको ? मसँग जहिले भेट्दा पनि कि तँ उसको कि सरिता तेरै गुनासो गरिरहन्छौ ?’ मैले अश्विनलाई सोधेको थिएँ ।
‘पहिलेजस्तो होइन । हाम्रो अब कुनै पनि बेला ब्रेक अप हुन सक्छ । त्यो बेला आई नै सक्यो भने हुन्छ ।’ विमला चिया लिएर भित्र पसेकीले हामी चुप लाग्यौं ।
हामीले मुखामुख ग¥यौं, हास्यौं पनि, अर्थात् हाम्रो अनुहारमा देखिने हाँसो अश्विनले भनेका कुरा र त्यसको परिणाम सम्झँदा निस्कने रुन्चे हाँसो थियो । हामी चुप लागेको विमलालाई चित्त नबुझेर ऊ मुख बिगारेर एकछिन उभिएरै घरको आफ्नै काम सम्झेर हतार भएको बहाना गर्दै कोठाबाट निस्की ।
अश्विनको कुरो लामै रहेछ । ऊ एकहोरो बेलिबिस्तार लगाइरहेको थियो । अश्विनले सरिता र उसको नयाँ हाकिमबीचको लसपसको कुरो पनि खोल्यो । उनीहरूको लसपस पुरानै रहेछ रे, अर्थात् बिहेअघि नै उनीहरूबीच गाढा सम्बन्ध थियो रे । उसका प्रत्येक वाक्यमा मैले उसको मनभित्र गाडिएर बसेको मानसिक पीडा र सन्ताप पढेको थिएँ । सम्झाइबुझाई गर्ने कुरो पनि भएन । अश्विन र सरिता सल्लाहले नै छुट्टिए । सम्पत्ति र जायजेथा कसैले कसैलाई केही लिनुदिनु परेन, उनीहरू दुवैले त्यस्तो चाहेनन् पनि । तर अश्विनलाई कति ठूलो मानसिक आघात परेको थियो म राम्ररी बुझ्थें ।उसले घरबाट अफिस, अफिसबाट घर मात्र गर्ने र लेखपढमा बढ्ता ध्यान दिन थालेको थियो । ऊ बाहिर बिरलै निस्कन्थ्यो र उसको मसँग भेट्ने क्रम पनि घट्दो थियो ।
त्यसको ५–६ महिनामै अश्विन बिदेसिएको थियो । त्यतिन्जेलसम्म उसले केही हदसम्म आफूलाई सम्हालेको थियो । उसको बिदाइको क्षण म र विमलाका लागि त्यति सहज थिएन, तैपनि मन भारी गरेर हामीले उसलाई बिदा गरेका थियौँ । जाने बेला सरकारी कार्यक्रममा गए पनि अश्विन फर्केर आएन । मसँग भने ८–१० वर्ष ऊ निरन्तर सम्पर्कमा थियो । तर एक्कासि उसले फोन गर्न छाड्यो, अनि फोन र मेल एकाउन्ट नै बन्द ग¥यो ।
आज म कसो भएर निस्केंछु कुन्नि ! दैवले जुराएरै होला नि, उसलाई एकपल्ट नियालेर हेरेँ, पार्कभित्र एउटा कुनामा अश्विन ढल्केर बसिरहेको थियो । शिशिर ऋतुका कारण रूखबाट झरेका रंगिचंगी पातमाथि पल्टिएर आफ्नै सुरमा मस्त र बेखबर भई अखबार पढिरहेको त्यो मान्छे साँच्चिकै मेरो बालसखा अश्विन शर्मा नै हो त ? दायाँबायाँ, तलमाथि सबैतिर हेरेँ, अनुहार पहिलेभन्दा केही बढी गोरो थियो, किन हो ! गालाको खत र घाँटीको कोठी भने अचम्मैसँग हराएछन् । ऊ काटीकुटी उही अश्विन शर्मा थियो, केही समयदेखि बढेर आएको देखिने उसको तिलचामले दाह्रीले पनि झट्ट हेर्दा अलमलिनुपर्ने नै थियो !
‘अश्विन होइन ?’ उसले एकपल्ट अखबार हटाएर मलाई हे¥यो ।
अनि फेरि अश्विन आफ्नै सुरमा अखबार पढ्न थाल्यो । म अन्योलमा परेँ, एक्लै आएकाले अरूलाई सोध्ने कुरा पनि भएन । म उसको अगाडि उभिएँ र ढल्किएर नजिकबाट एकोहोरो हेरिरहेँ । धेरै बेरपछि ऊ झस्कियो र मलाई हेर्दै के के गुनगनाउन थाल्यो, मैले नै बुझिनँ । ऊ जुरुक्क उठ्दैबस्दै गर्न लाग्यो । मसँग अरु कुनै उपाय थिएन । मैले पुनः उसलाई अश्विन नामले सम्बोधन गरेँ, ‘अश्विन, के भो तिमीलाई ? मलाई चिनेनौ ?’ मलाई उसले राम्रोसँग हेर्दा पनि हेरेन ।
‘सर, यु आर डिस्टर्बिङ मी (महासय, तपाईं मलाई डिस्टर्ब गरिरहनुभएको छ) ! आई डोन्ट नो यु (म तपाईंलाई चिन्दिनँ) ।
मेरो प्रश्नको जवाफ उसले अंग्रेजीमा दिएको थियो ।
मैले अश्विनलाई फेरि एकपटक हेरेँ, मैलो टोपी र पुरानो डाउन ज्याकेट, लगभग च्यातिन लागेको जुत्ता अनि कालो गलबन्दी गुथेको, त्यो अरु कोही थिएन, अश्विन नै थियो । मेरो अन्तस्करणले पनि यही भन्दै थियो ।
यति भनेर अश्विन त्यहाँबाट निस्कियो । म हेरेको हे¥यै भएँ । म उठेर उसलाई भेटाउने प्रयत्न गर्दागर्दै उसले बाटो काटिसकेको थियो । ऊ कुन सड्को कता लाग्यो, भेउ नै पाइनँ र बिहानैदेखि मध्याह्नतिर हिउँको बतास आउन सक्ने भन्ने खबर आइरहेको सुनेकाले म पनि छिटो फर्कने हतारमा थिएँ, त्यसैले आफनै गन्तव्यतिर लागेँ । तर, घर फर्केपछि झन् नरमाइलो लागेर आयो ।
साँझ छोरालाई आफ्नो बाल्यकाल, गाउँले जीवन, आफ्नो पुरानो स्कुल, पिताजीको मास्टरी पेसा र लगन अनि अश्विन र आफ्नो स्कुलेजीवनका सबै कुरा बेलिविस्तार लगाएँ । तर अन्त्यमा पार्कमा भेटिएको अश्विनको प्रसंग झिक्नासाथ छोरो एक्कासि हामी सबैलाई झस्काउने गरी पड्कियो, ‘हत्तेरी, कत्रो भूमिका बाँध्नुभ’को ! त्यो त म एकै शब्दमा भनिदिन्थेँ नि !’
‘तँ चिन्छस् र उसलाई ?’
‘किन चिन्नुप¥यो ? पार्कमा सधैं देखिन्छ । ऊ केही वर्ष मेन्टल ट्रोमामा थियो रे, अनि आफ्नो पुरानो कुरा सबै बिर्सेको र कहाँबाट आएको पनि थाहा छैन रे ! धेरै पहिले आएको र लामो समय बेपत्ता भएकाले रेकर्ड पनि अझै फेला परेको छैन रे । ऊ अहिले म्युनिसिपलिटीबाट पाएको भत्तामा गुजारा गर्छ भन्थे । हाम्रो बाबुले पनि कुरा गर्छ ऊसँग !’
‘त्यो अश्विन हो मेरो पुरानो साथी, कहाँ भेट होला त अहिले ?’ छोरो एकपल्ट झर्कियो अनि हाँस्यो पनि ।
‘के के भन्नुहुन्छ के के, हावा कुरा, ऊ धेरैपहिले आएको हो, सायद एक्सिडेनटपछि परिवारले एबन्डन गरेको (त्यागेको) होला । रक्सी धेरै खाएका बेला गाडी हाँक्दा दुर्घटनामा पर्दा उसको शरीरको भाग टुक्रिएर छरिएको रे अचम्मसँग । उसको अहिलेको अनुहार पुरानो अनुहारको अलिकति मात्र रिस्टोर्ड हो रे, अनि जिउ पनि टुक्रा–टुक्रालाई जम्मा गरेर जोडेको रे । उसले मान्छे भने चिन्दैन तर निकै पढे–लेखेको छ र वैज्ञानिक हो भन्थे । जे भए पनि तपाईंको साथी पनि होइन, बोलेको सुन्दा पनि नेपाली होइन जस्तो छ क्या । के ठेगान, हामीले त सधैं अंग्रेजी मात्र बोलेको सुनेको हो ?’
‘नेपाली बोल्दैन ?’
‘कहाँ बोल्नु ? त्यसैले त नेपाली हैन भनेको । त्यस्ता मान्छे खोज्ने नै हो भने यहाँ पार्कपिच्छे भेटिन्छन् । तपाईं पनि बेकारमा टाउको दुखाउनुहुन्छ ।’
अश्विनको सम्पूर्ण प्रसंगलाई नै छोराले यसरी हल्का रुपमा लिइदियो मानौं ऊ कुनै अस्तित्व नै नभएको एउटा निर्जीव वस्तु हो । त्यो रात ढिलोसम्म निद्रा लागेन, मेरो आँखामा अश्विनले नेपाल छोड्दाको अनुहार र मेरो आँखामा आफूले ऊसँग बिताएका बाल्यकालका तीतामीठा दिनको झझल्को आइरह्यो ।
भोलिपल्ट छोरो काममा हिँड्नासाथ म पनि फेरि पार्कतिर निस्किएँ । अश्विनलाई जसरी भए पनि मनाएर नेपाल लैजाने भनी विमला र मेरो सल्लाह भएको थियो । मैले हिजोको ठाउँमा धेरैबेर कुरेँ, त्यसपछि पार्कमा हेरचाह गर्ने कामदारलाई पनि सोधेँ तर कसैसँग मेरो प्रश्नको जवाफ थिएन । केहीबेर ऊ हिजो बसेको सिटसँगै उभिएर हेरेँ, त्यहाँ अरु केही रंगीचंगी नयाँ पात झरेका थिए । आफ्नो मनमा अश्विन सँगै छ जस्तो लागेर होला, मेरा हातका औँला पातहरूमाथि सलबलाइरहेका थिए । मानौँ, अश्विन त्यतै कतै लुकेको छ र मलाई छलेर भागिरहेको छ अर्थात् मसँग लुकामारी खेलिरहेको छ ।
अश्विन भने साँच्चिकै हराएको थियो, एक्कासि । त्यो दिन केहीबेर पार्कको चक्कर काटेपछि म थकित मन लिएर अपार्टमेन्टमा फर्कें ।
‘ए त्यो मान्छेको फाइल फेला परेर उसलाई त्यहाँबाट हिजो राति नै लगिसकेछन् त,’ मेरो छोरो साँझ ढोकाभित्र पस्नासाथ भन्दै थियो ।
छोराको यो समाचारपश्चात् पनि मनमा एउटा अन्योल लिएर म आफ्नो त्यो पुरानै प्रश्नको जवाफ खोजिरहेछु,
‘अश्विन, तिमीले मलाई चिनेनौ ?’
अनि फेरि मनमनै गुन्न थाल्छु, ‘अश्विन मेरो अर्धचेतनाको एउटा कथापात्र मात्रै पो हो कि !’
प्रकाशित: २८ फाल्गुन २०७३ ०५:३९ शनिबार





