५ वैशाख २०८१ बुधबार
अन्य

अंगीकृत शब्दहरू वंशजमा

यो लेख नेपाली भाषाबारे भाषाविद्ले लेखेको होइन। भाषाबारे होइन, नवागन्तुक जस्ता शब्दहरू जुन कहिले भाषामा छिरेर ठाउँ बनाएर बसे तिनको पहिचान गर्ने सानो र रमाइलो प्रयास मात्र हो। यसो भनेर क्षमा मागेको होइन तर बहस हो, भाषिक क्षेत्रमा परिवर्तन भइरहेको संस्कृति कतिसम्म शब्दहरूले वहन गरेका छन् भन्ने। प्रासंगिक यो छ, राजनीतिक परिवर्तन अथवा २०४६ को जनआन्दोलनपछि समकालीन नेपाली भाषामा आएका परिवर्तनहरूको तुलनात्मक विशद् अध्ययन हुन सक्छ। राजनीति प्रतिबन्धले भाषालाई पनि प्रतिबन्धित तुल्याएकै थियो। तर, राजनीतिक प्रतिबन्ध फुकेअनुसार भाषाको स्वभाव पनि परिवर्तित भयो। भाषाको प्रहारात्मक अभिव्यक्ति क्षमता बढेर आयो। पुरानो र रूढ अर्थ दिने भाषाको साटो नवीन अर्थ क्षमता विकसित हुनैपर्ने थियो, भयोे। स्वतन्त्र परिप्रेक्ष्यमा राजनीतिक परिस्थिति वा आकांक्षा त्यो दलीय भए पनि वा वादविशेषलाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गरिने भए पनि स्वतन्त्र अभिव्यक्तिका लागि राजनीतिक दलका नेताहरू अर्कै भाषिक क्षेत्रमा विचरण गर्न थाले। आआफ्नो पक्ष जनतासमक्ष राख्न वा समकालीन राजनीतिक अवस्थालाई व्यक्त गर्न उर्दु वा अरबी वा भारतको हिन्दी क्षेत्रमा प्रयोग अभ्यस्त शब्दहरू भिœयाइए। ती शब्दहरू जानाजान भिœयाइएका थिएनन्।

नेपाली समाजले अनेक सम्मिश्रित भाषिक क्षमता बढाउँदै शब्दहरूको  जुन भण्डार र स्वरूप कायम गरेको छ त्यो अत्यधिक बिग्रेको छैन वा बिग्रेकै छैन भने पनि हुनेखालको छ। शब्दहरूलाई छेकबार गर्न नमिल्ने खुला सीमाको नेपाली भाषा भएकाले यो अझ समृद्ध र सम्पन्न हुनेछ, तर सचेत हुनुपर्ने चुरो कुरो एउटा यो छ, यो भाषालाई कुरूप बनाउने प्रयोगहरू नगरौँ।      

पहिलो उदाहरण साम्यवादी चिन्तनको क्रान्तिकारितालाई जनाउन 'छलाङ' शब्दको बढी प्रयोग भयो। छलाङ शब्दले नेपाली भाषामा भूमिगतरूपमै छलाङ लगाए पनि धेरै प्रयोग प्रिय हुन सकेन। साम्यवादी अर्थात् वाम राजनीतिमा सामन्ती व्यवस्था 'कागजी बाघ थियो र त्यसको 'छलाङ' धेरै समय नटिक्ने खालको भनिन्थ्यो। त्यसबेला सम्पूर्ण राजनीतिक दलहरू निर्वासनमा थिए, नेपालभित्र भूमिगत थिए। नेपालभित्र जे भए पनि भारतको निर्वासनकालीन प्रभावले नै होला नेपाली कांग्रेसका नेताहरूमा 'अगर' को प्रयोग थियो तर 'मगर'(अगरको मगर) ले जरो जमाउन सकेन। अहिले पनि नेपाली कांग्रेसका दोस्रा पंक्तिका नेतामा 'अगर' का प्रयोक्ता छन्। लालसलाम अभिवादन पनि बाहिरकै हो, तर यो नेपाली वामजगत्मा सर्वमान्य भयो। कम्युनिस्टहरूको हँसियाहथौडा जस्तै यो लालसलामले नेपाली वामजगत्मा स्थायित्व प्राप्त गरिसकेको छ। 

यहाँ यो पनि स्पष्ट पार्नु छ, माथि भनिएका शब्दहरूको प्रयोग राजनीतिक विकृतिका उपज हुन् भन्ने होइन, ती सम्मानजनक रूपमा व्यवहृत छन् । यो स्वाभाविक छ, राजनीतिक अर्थात् दलीय प्रतिबन्ध फुकेपछि ह्वात्तै बढेर आएको स्वतन्त्र राजनीतिक आकांक्षाको अभिव्यक्तिका लागि लामो समयसम्म राजनीति प्रतिबन्धित रहेका मुलुकका डरले खुम्चिएका शब्दहरू अपर्याप्त मानिए, भाषा जे थियो त्यो छँदैथियो। तिनको परिपूर्तिमा यता आएर धेरै शब्दहरू नेपाली राजनीतिमा फटाफट र निर्बाध भित्रिए। ०७ सालपछि पनि यसरी नै शब्दहरू भित्रिए होलान् वा भित्रिए नै, अध्ययनको विषय छ। ०१७ सालमा राजा महेन्द्रले अकस्मात् प्रजातन्त्रमाथि 'कु' गरेपछि फेरिएको भाषा पञ्चायतकालभरि जी–हजुरी मात्रमा सीमित रहेन, दरबारिया भाषामा अभ्यस्त उच्च वर्ग जन्मायो। ठूलाहरूको देखासिकी गरेमा ठूलो भइन्छ भन्ने विश्वास समाजमा छँदैथियो, त्यही गरियो। हात जोरेर हजुर सरकार, सरकारको तजबिज, पाउको सेवक र सरकारको जय होस् भन्ने शब्द जनताले राजाका अगाडि वा राजा नभएका बेला अन्चलाधीशका सामु स्वेच्छाले वा बाध्यताले निहुरिएर भन्थे, भन्नैपर्थ्यो।

अर्कोतर्फ राजनीतिइतर क्षेत्रमा 'दिल', 'प्यार' र 'बहार' आदि शब्दले नेपाली गीतमा आफ्नो ठाउँ बनाइसकेका थिए। यो हिन्दी फिलिमका गीतहरूको प्रभाव हो वा होइन त्यो किटानसाथ भन्न सकिन्न, किनभने पुरानो समयमा नेपाली जनजीवनले फिलिम हेर्ने अवसर पाउँदैनथ्यो। तर पनि राजधानी काठमाडौँमा जहानियाँ शासन कायम गरेका राणाहरूको पालामा सोखका साथ पालनपोषण गरिएका नाट्यमण्डली थिए, जुन उर्दु वा फारसी वा अवधी, भोजपुरी, मैथली भाषा अथवा यी भाषामा नेपाली भाषा मिसाइएका नाटकहरूको मञ्चन हुन्थ्यो। तिनको प्रभाव र प्रसार राणाका दरबारबाहिर पुेगकै हुनुपर्छ। यसरी ती दिल, प्यार र बहार प्रयोग हुने भाषाको प्रभाव पर्नु पनि स्वाभाविक थियो। राजधानी र यसका वरपरका क्षेत्र जहाँ राणाहरूका कर्मचारी, कारिन्दा र नानी सप्लायर्सहरूको बसोबास थियो त्यहाँ 'दिल', 'प्यार' र 'बहार' शब्द भरिएका गीतको गायनको असरले ठाउँ पाएका हुन् भन्दा बात लागोइन! यस्तो किन भन्न सकिन्छ भने सुदूरक्षेत्रका नेपाली लोकगीतमा यी शब्द प्रायः पाइँदैनन् तर राजधानीका गीतमा यी शब्द धेरै प्रयुक्त थिए।

बीचमा एउटा कुरा यो छ, नेपाल र भारत आवतजावत प्राचीन कालदेखि नै थियो, तर कति प्राचीन थियो त्यो काल त्यसको आकलन गर्न बाँकी नै छ। तापनि त्यस्तो समय र त्यसपछिसम्म बनारस गएर पढ्नेहरूका बोलीचालीबाट पनि यता हिन्दी, फारसी र उर्दुका शब्दहरू ओसारिए। यसले नेपाली भाषा समृद्ध भयो त्यो स्वीकार्य छ र सांस्कृतिक रूपमा तत्कालीन जनतामा नभए पनि शासकवर्गको समाजको उठबस, बोलचाल र अभिवादनमा समेत समृद्धि ल्याएको मान्नुपर्छ। जनता शासकीय निषेधमा थियो जस्तै छाता ओढ्न र जुत्ता लगाउन विशेष कडा प्रतिबन्धहरू थिए रे। स्वस्ति र जदौको अधिक प्रचलन पनि थियो। जातपात र छुवाछुतको कट्टरताको सीमा थिएन। कमाराहरू थिए र तिनका लागि प्रयुक्त हुने निम्न कोटिका शब्दहरूको भाषा पनि थियो। तर, निषेधको राजनीतिक विस्फोटनपछि शासनमा परिवर्तन आयो। जनतामा सांस्कृतिक परिवर्तनका राम्रा–नराम्रा चेष्टा र प्रवृत्तिहरू देखिए भने भाषाको पनि स्वच्छन्द प्रयोग पाइयो। दमित भाषाले अवरुद्ध प्रवाह तोडेर एकदमै आधुनिक हुने प्रक्रियामा प्रवेश गर्‍यो र त्यसमाथि राजनीतिक दलको उदय, विदेश यात्रा, विदेश पलायन र विज्ञापन आदिले प्रभाव नेपाली जनजीवनमाथि जमाए। यो एउटा स्थूल आकलन हो। यसको सूक्ष्म विश्लेषण गर्ने प्रशस्त ठाउँ छ।        

नेपाली भाषामा केही यस्ता शब्द छन् जसलाई विज्ञापनले हुल्यो। पारिका उत्पादनहरूका विज्ञापनलाई नेपाली भाषामा डब गरी यहाँका मिडिया, सिनेमा हलहरूमा देखाइने गरियो। यस्ता डबमा हिन्दीबाट नेपालीमा अनुवाद गर्दा शब्दज्ञान नभएर वा अन्य कारणले हिन्दीमै बढी प्रचलनमा रहेका शब्द त्यस्ता विज्ञापनमा यथावत् राखिए। डब विज्ञापनको युगभन्दा अगाडि नै त्यस्ता शब्दमध्ये पहिलो ज्ञात शब्दकै रूपमा 'निखार' लाई लिन सकिन्छ। 'निखार' को विरोध पनि भयो झर्राहरूले त्यस्ता शब्दहरूलाई खाँटी नेपाली शब्दले विस्थापन गर्नुपर्छ भन्ने दृढता देखाए। तर, 'निखार' ले रूपमा निखार ल्याउने काम पनि छाडेन। आफ्नो ठाउँ नछाडी अटेर गर्दै आएपछि झन् त्यो शब्द निखारिँदै आयो। निखारको नेपाली अर्थ र निखारिँदै आयो किन भनियो त्यसको स्पष्टीकरण आवश्यक छैन होला। निखि्रनुको निखारलाई हिन्दीको रूप सौन्दर्यमा निखार ल्याउनुले उछिन्यो। अब यो शब्द नेपाली भाषामा सौतेनी अधिकार लिएको 'निभाउनु' जस्तै गरी चलिसकेको छ। निभाउनु पनि अति चलेको छ। सहरी क्षेत्रमा निभाउने टुकीको प्रचलन हराउनु र स्विच अन र अफको प्रयोगले यसलाई दरो गरी विस्तारवादी नीतिमा अडिग रहन सघाएको हुनुपर्छ।

निखार र निभाउनुका बीचमा नेपाली भाषाको शब्दग्राही यात्रा लामै छ। यस्तैमा अर्को शब्द आयो 'राज'। सौन्दर्यको 'राज' खोल्ने प्रयत्नमा यो शब्दले सम्पूर्ण नेपालीभाषी समाजभन्दा पनि सौन्दर्य प्रसाधन लोभी राजधानीको मिश्रित भाषिक समाजले यसलाई स्थापित गर्‍यो– 'तिम्रो सौन्दर्यको राज के हो?' भन्ने प्रश्नद्वारा। प्रशस्त मात्रामा स्थापित एफएमहरूले यसै भाषालाई बढावा दिए। नबुझिने वा नखुलेका रहस्यजति 'राज' मा परिणत भए। यो राम्रो हो वा होइन त्यो भन्नु छैन, तर परिवर्तन भइरहेको उपभोक्ता संस्कृतिलाई 'सटिक' अभिव्यक्ति दिने नयाँ भाषिक स्थापना थियो यो। यसलाई दुत्कार्ने चासो कसैमा छैन र दुत्कार्ने पनि किन? बजार यति फैलिएको र विविधतापूर्ण छ त्यसको प्रतिनिधित्व गर्ने शब्दहरू नेपाली भाषाका मौलिक शब्दभन्दा उल्टो अर्थ दिने भए पनि स्वतः अंगीकृत भइरहेछन्। समाजमा वर्गहरू बढ्दै गए। सर्वहारा र पुँजीपति वर्गविभाजन मात्रमा कायम रहेन नेपाली समाज। 'वर्ग' को नजिकनजिक लाग्ने गरी 'तप्का' शब्द आयो। यस्ता शब्दले ठाउँ पाउनु नराम्रो होइन, भाषाको अभिव्यक्ति वहन क्षमता बढेको मान्न पनि सक्छ। तर, यस मतसँग साहित्यिक नेपाली सहमत भइसकेको छैन र आफूलाई अनुकूलित गरिसकेको पनि छैन।

यस्ता शब्दहरू नेपाली भाषाका राष्ट्रिय दैनिकहरूले दैनिक समाचार लेखन प्रकाशनमा प्रयोग गरे। त्यसले पनि समाजलाई यो लाग्यो, यस्ता शब्द ग्राह्य रहेछन्। कतैबाट प्रतिवाद आएन। प्रतिवादको गुन्जाइस पनि थिएन। समाजले उपभोगको क्षमता आर्जन गर्दै थियो। गाउँघरमा युवा देखिन छाडे। महिलाहरू नै मलामी जानुपर्ने भयो। उपभोक्ताको आर्थिक क्षमता बढेर गयो। सम्पूर्णमा यसले सुखी–सम्पन्न समाजको निर्माण नगरे पनि देशमै आर्थिक मारमा खुम्चेर समय बिताउनुभन्दा विदेश गएर केही कमाउनु उपयुक्त छ भन्ने दर्शन र संस्कृति मौलायो। तिनको व्यथा जे भए पनि मेहनतले गोडमेल गरेर आधा पेट खानुभन्दा विदेशबाट कमाएको पैसाले भरपेट खान सकिने सामल किन्न सक्नु उचित देखियो। भाषा र संस्कृति केही हदसम्म गौण भए। जुन भाषाले वा शब्दले तत्कालको आवश्यकता सम्बोधन गर्छ अथवा जुन शब्दले खाँचो परेको वस्तुको सही नाम वा भाव प्रस्ट पार्छ त्यसको प्रयोग हुन थाल्यो। नफर्किने गरी विदेश गएका शिक्षितहरूबाट डायस्पोरिक साहित्य पनि जन्मियो। 

राजनीतिक निषेधका कारण बन्द समाज, साँघुरो सोच र सीमित शब्दभण्डारमा वामपुड्के थिए नेपाली र तिनको भाषा। तर, त्यस्तो र त्यसरी कुँजिएको भाषालाई खुला समाजमा प्रवेश गरेपछि पुनर्जीवन दिइयो, स्वतन्त्र अभिव्यक्तिले नयाँ आकाश दियो। साहित्यको भाषाको विषय र शब्द चयन, शब्द निर्माण यहाँ अनुल्लेख्य मात्र होइन, अलग्गै विश्लेषणीय छ। तर, समाचार लेखनमा सेन्सरको डरले अस्वतन्त्र भई कुण्ठित परेको, समाचार विश्लेषणका लागि आवश्यक निर्भीक भाषाको अभिव्यक्ति त्रास वहन गरिरहेको सीमित शब्द प्रयोगमाथि स्वतन्त्रताको उपभोग गर्दै असीमित संवाददाताहरूले नयाँ चेतना फुके। यस्तो अति उत्साहमा 'फेला' भन्ने शब्द चेपमा पर्‍यो। 'निभाउनु' भन्दा 'फेला' शब्दको प्रयोगविधि सह्य भए पनि 'फेला पारे/पर्‍यो' को सट्टा 'फेला' (फाउन्ड) भनिने बुच्चे शब्दले मात्र काम चलाउने चलनप्रति खास असहमति देखिएन। पत्रकारहरूले यसमा आफ्नो विजय देखे र भाषा र शब्दलाई अलिअलि कुच्च्याउने काम पनि गर्न थाले। त्यसरी 'फेला' फेल नभई चलाइयो होइन, 'फेला' मात्र लेख्ने चलन नै स्थापित हुन पुग्यो। यद्यपि, साहित्यमा यसले मान्यता पाएको छैन। यसमा मन दुखाउनु छैन, तर समाचार लेखनमा भाषिक/शाब्दिक प्रयोगका क्षेत्रहरूको विविधता आए। ती विविधतालाई शब्दमा उतार्ने प्रक्रिया छोटो र प्रभाविलो बनाउने चेष्टामा अर्को 'फेला' आउन सकेन। तर, समाचार लेखनमा वा समाचारपत्रका समावेशी समर्थक विचारको समर्थन र बहस गर्ने लेखरचनाले भाषान्तरबाट नयाँ शब्दहरू नयाँ शिल्पका साथ देखा परे। त्यस्ता विचार, भाषा र शब्दहरू आउँदै पनि छन् र आउनु पनि पर्छ।

आरम्भमा भनिएजस्तो राजनीतिले भाषाको अर्कै प्रवाह रोज्यो, खोज्यो। ग्रामीण क्षेत्रमा समेत चुनावताकाका भाषणहरूमा यस्ता शब्द पुगे र त्यहीँ बसे। राजनीतिक असहमतिका प्रतिस्पर्धाहरू स्वस्थ/अस्वस्थ जेजस्ता छन्–छन्, तर तिनलाई धार दिन अनेक अठेट मानिएका शब्दहरूले प्रवेश पाए। कागजी बाघको छलाङ हरायो, महाराजाहरूको स्वस्ति गायन गर्ने भाषाको सट्टा प्रखर वैचारिक भाषा प्रयुक्त हुन थाल्यो। जनसत्ता वा जनसरकार आदि शब्दहरू त छँदैथिए, तर प्रजातन्त्रपछि लोकतन्त्र र गणतन्त्र शब्द पनि क्रमशः आए। 'समावेशी' र 'समानुपातिक' आदि शब्दले राजनीतिक अर्थ पाए। हिमाल, पहाड र मधेसको एकताका राग जन्मिए जुन पहिले त्यसरी सोचिँदैनथ्यो। हिमाल र पहाड, मधेसमध्ये 'मधेस' शब्दले नेपाली राष्ट्रियताको सन्दर्भमा नयाँ शक्तियुक्त अर्थ पायो। मधेसीलाई काले भनेर हेप्ने प्रवृत्ति हरायो यद्यपि मधेसवादी नेताले खसआर्य(उनीहरूकै शब्दमा) भन्दा 'माथि पर्नुपर्‍यो' भने। यो 'काले' भन्ने आरोप दोहोर्‍याएर उत्तेजना फैलाउने प्रयास गर्न छाडेका छैनन्। कतै त भाषणको आवेगमा आएर मधेस अर्कै भूखण्ड हुन सक्नेसम्मको भाषण पिटे। 

राजनीतिक परिवर्तनको गतिलाई शब्दरूपमा परिणत गर्न 'रफ्तार' ल्याइयो। 'गिरफ्तार' अघि छ, 'पक्राउ' पछि परेको छ। राजनीतिको 'दायरा' फराकिलो छ, जनताले भ्रष्ट हुनुको आरोप लगाए पनि। आरोपको सट्टा 'इलजाम' आउन दिइरहिएको छैन। यो नेपाली भाषाको प्रयोगको 'रवैया' सित मेल नखाएर पनि हुन सक्छ। 'राहत' यो छ यस्ता शब्दहरूको प्रयोग गर्ने 'पहल' गरिएको छैन। पहल गर्ने 'अदा' केही नेताले भाषणमा देखाउने गरेकै छन्। भूकम्पपीडितका लागि आएको राहत सामग्री बीचैमा उडाइएको भए पनि राहत पुगेको छ भनियो।

यसरी भाषिक क्षेत्रमा नयाँ शब्दहरूको प्रवेश भइरहेछ। ती शब्दहरू अंगीकृतबाट वंशज हुने प्रयासमा छन्। यतातिर ध्यान कसैको जान सकिरहेको छैन। एउटा शब्द मात्र भए पो त्यसलाई अछुत मानेर बहिष्कार गर्ने, तर यहाँ त भाषा प्रयोगको पाइलैपिच्छे नभए पनि परिच्छेदपिच्छे त्यस्ता शब्दहरू छिरेका छन्। नेपाली समाजभित्र राजनीतिलगायत अन्य क्षेत्रको परिवर्तन यति तीव्र वेगको छ त्यो तत्काल रोकिने 'सवाल' नै छैन। राजनीति मात्र एउटा सुस्त तŒव बनेको छ, बाधक पनि छ। सांस्कृतिक परिवर्तनको रफ्तारलाई यसले आत्मसात् गर्न सकिरहेको छैन, तर राजनीतिले आफ्ना अनुकूलका शब्दहरू भिœयाएको छ र पचाउन सकेको छ।

विदेशी र संस्कृतका शहब्दहरूको ज्यादै बढी प्रयोगलाई निषेध गर्ने झर्रो आन्दोलनले अहिलेका शब्द भण्डारलाई हेरेर के भन्ला? झर्रो चलेको बेलाको सामाजिक, भाषिक र राजनीतिक अवस्था अहिले छैन, तथापि जुन रूपमा मिडियाले नेपाली भाषाको वर्तमान स्वरूपलाई प्रभावित पारिरहेछ त्यो पूर्णतः समयानुकूल छ। परन्तु एफएमहरूमा यदाकदा 'चौथो' लाई 'चौँथो' भनेको सुन्दा दाँतमा सानो ढुंगा लागेजस्तो हुन्छ। विज्ञापनहरूमा 'सास' लाई 'साँस' भनेको सुन्दा पनि अलि अप्ठ्यारो लाग्छ। त्यस्तै 'आकलन' लाई 'आँकलन' वा 'साध्नु' (कार्य वा उद्देश्य) लाई 'साँध्नु' (अचार) भन्न उपयुक्त मानिन्छ भने पनि आपत्ति गरिरहनु परोइन। ती प्रयोग अधिकताका कारण मान्य हुँदैछन्। परन्तु बिगार्नेभन्दा सपार्ने प्रशंसनीय पात्र हुन्छ भन्ने उक्ति बिर्सनु हुन्न।

नेपाली भाषाको गलत प्रयोगमा अत्यन्त कडा आपत्ति जनाउने ईश्वर बरालको पनि आफ्नै लेखन र आफ्नै भाषा थियो। महानन्द सापकोटा भाषा क्षेत्रका एक मनीषी नै थिए। यस्तै इतिहासका क्षेत्रमा सूर्यविक्रम ज्ञवालीको अवदानलाई विस्मरण गर्न सकिन्न, यद्यपि उहाँहरूका भाषिक आग्रह आआफ्नै थिए। बालकृष्ण पोखरेल, तारानाथ शर्मा आदिले नेपाली भाषा यस्तो हुनुपर्छ भन्ने मानक रूप दिनुभएको छ तापनि आजका दिनमा नेपाली समाजले अनेक सम्मिश्रित भाषिक क्षमता निभाउँदै (निर्वहन) गर्दै  शब्दहरूको  जुन भण्डार र स्वरूप कायम गरेको छ त्यो अत्यधिक बिग्रेको छैन वा बिग्रेकै छैन भने पनि हुने खालको छ। शब्दहरूलाई छेकबार गर्न नमिल्ने खुला सीमाको नेपाली भाषा भएकाले यसको शब्द भण्डार अझ समृद्ध र सम्पन्न हुनेछ, तर सचेत हुनुपर्ने चुरो कुरो एउटा यो छ, त्यो के भने यो भाषालाई कुरूप बनाउने प्रयोगहरू नगरौँ।        

प्रकाशित: १४ फाल्गुन २०७३ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App