१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

काठमाडौं–सभामुख ओनसरी घर्तीले सदनको जारी अवरोध हटाउने विषयमा प्रमुख दलका सचेतकसँग परामर्श गर्ने भएकी छन्। प्रमुख प्रतिपक्ष दललगायतका विपक्षी दलले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विरोधमा लगातार संसद बैठक अवरोध गर्दै आएका छन्। तत्काल संसदको जारी अवरोध हट्ने संकेत नदेखिएपछि सभामुख घर्तीले प्रमुख शीर्ष नेतालाई सदनमै छलफल गराउने गरी तयारी थालेकी हुन्। त्यसकालागि सभामुखले प्रमुख सचेतकमार्फत प्रमुख दलका शीर्ष नेतालाई संसद बैठकमा उपस्थित हुन आग्रह गर्ने तयारी गरेकी हुन्।

सभामुले आजदेखि संसद बैठक निरन्तर राख्ने तयारी गरेको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए। ‘आज पनि  संसद अबरोध भयो भने केही समयकालागि स्थगित गरेर पुनः बोलाउने सभामुखको तयारी छ,’ उनले भने। आजदेखि निरन्तर संसद बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले सकेसम्म विषयमा सहमति खोज्ने, यदि विषयमा सहमति भएन भने प्रक्रियामा सहमति खोज्ने प्रयास गर्ने सचिवालयले  जनाएको छ। स्रोतका अनुसार सभामुख तत्काल संविधान संशोधन प्रस्ताव टेबल गर्ने पक्षमा छैनन्। ‘अन्तिममा पनि विषयमा सहमति गर्ने, त्यसो हुन नसके सदन सुचारु गर्ने विषयमा प्रक्रियामा सहमति गर्नुपर्छ भन्ने पक्षमा सभामुख हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले नै पेलेर जाने पक्षमा सभामुख हुनुहुन्न।’

आफ्ना कुनै पनि प्रयास सफल नभएमात्र एकतर्फी ढंगले भएपनि सदन सुचारु गर्ने सभामुखको तयारी छ। सरकारले संसदमा दर्ता गराएको संविधान  संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन्। सरकारले संविधान संशोधन प्रस्ताव टेबल गर्ने तयारी गरेपछि प्रतिपक्ष झन आक्रामक भएका छन्।

 

प्रकाशित: १८ पुस २०७३ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App