धरानदेखि पुर्वीउत्तर अग्लो डाँडा छ, त्यसको टुप्पोमा झ्याम्म रुख देखिन्छ । स्कुल पढ्दादेखी नै त्यो डाँडा देख्थ्यौं, र त्यहाँ बाँसको झ्याङ हो भन्ने अनुमान लगाउथ्यौं । डाँडाको नाम भने थाह थिएन । हामी ठिटो चै ‘पङ’ डाँडा भन्थ्यौं । त्यसबेला निधार माथिको कपाल उठाएर जुरो बनाउने फेशन थियो । त्यस्तो केटालाई ‘पङ’ भनिन्थ्यो । त्यो झ्याङ पनि डाँडाको टुप्पोमा पङ केटाको जुरो झै ठडिएको थियो । अहिले पनि त्यही अवस्थामा देखिन्छ । पहिला पाँचकन्या गाविसमा थियो, अहिले धरान उपमहानगरपालिकामा समायोजन भएको छ ।
भदौ १५ गते बुधबार मात्र थाह भयो, त्यो ठाउँको नाम दानाबारी भनेर । हामीले अनुमान लगाएको बाँसको झ्याङ त चिलाउनेका रुख पो रहेछन् । दानाबारीको छुट्टै डाँडा, जसलाई स्थानीय गढी थुम्का भन्दा रहेछन् । त्यहाँ सिंहदेवी थान छ । धरानबाट पर्यटनकर्मी वासुदेव वरालको नेतृत्वमा १३ जनाको टोली पदयात्रा गर्दै पुगेको । पदयात्राले पङ डाँडाबारे बषौंदेखिको खुल्दुली मेटायो । अब पङ होइन, दानाबारीको गढी थुम्का नै भन्ने हो । गढीको अवस्था र गाह्रो लगाएर राखेका ढुंगा हेर्दा ऐतिहासिक गढी हो भन्नेमा द्धिविधा रहेन । विजयपुर गढीसँग यसको सम्बन्ध पक्कै हुनुपर्छ । अनुसन्धान भए नभएको थाह छैन । इतिहासकार पुगेकै होलान् ! हामी भने नयाँ ठाउँमा पुग्न पाउदा औधी खुशी थियौं ।
गढीथुम्काबाट फर्केपछि पो गाउँलेले भने, ‘बैशाखे पुर्णेमा पुजाआजा गर्दा मात्र जाने ठाउँ हो त्यो । अरुबेला गए त राम्रो हुँदैन ।’ परेन फसाद ? कति गाउँले त त्यहाँ एक पटक पनि गएका रहेनछन् ।
धरानका पत्रकारहरु प्रत्येक बुधबार आसपास गन्तव्य पुग्छन् । एक बर्ष अमेरिका बसेर फर्किएका हुन, पत्रकार जसकुमार राई । उनकै पहलमा हाइकिङ अभियान शुरु भएको । त्यसमा जो कोही सहभागी हुनसक्छन् । साथीहरु दानाबारी पुग्नुअघि चिण्डे(रमिते) डाँडा हुदै गोर्खा स्मृति पार्क र शिवजट्टा गए । जस दाईसँगै बसेर योजना बनाएपनि दुवैपटक सामेल भइएन । दानबारी त जसरी पनि जानु थियो । नत्र टिमबाट आउट हुने जस दाईको चेतावनी !
हाइकिङ टोलीमा पत्रकार, इञ्जिनियरसँगै सुन्दरी प्रतियोगिताका विजेता ३ सुन्दरी पनि थिए । बिहानै ६ बजे होटल सेक्षमा भेला हुने खबर थियो । तर, बिहानैदेखि पानी परेकाले भेला हुनै समय लाग्यो । कार्यक्रमै रद्द पो हुने हो कि भन्ने आशंकाबीच ८ बजे बाटो लाग्यौ । वासुदेव दाई अघि अघि, अरु पछि पछि । निर्माणाधिन आदिबासी जनजाति संग्रहालय, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार हुँदै विजयपुर चोक पुग्यौं । त्यहाँ कसैले खाजा खायौ, कसैले खाजाको जोहो ग¥यांै ।
बुढासुब्बा मन्दिर पुगियो । किरात इतिहासकार इमानसिंह चेम्जोङले बुढासुब्बा राजा बुद्धिकर्ण राय(बुढा सुभा)को समाधिस्थल हो भनेका छन् । बुढासुब्बाबारे प्रायः सबै जानकार छौं । र पनि, टोली नेता वासुदेव दाईले भने बुढासुब्बाबारे पौराणिककालको पात्र एकलब्यसँग जोडेर अर्को नौलो कथा सुनाए । कथा बुन्न खप्पिस वासुदाई । पर्यटकलाई यस्तै रोचक कथाले आकर्षित गर्छ भन्ने दाईले बुझेका छन् । बुढासुब्बामा सेल्फी खिच्यौ । सेल्फीको क्रम गढीथुम्कासम्म चलिरह्यो ।
बुढासुब्बा पर्तिर सेउती खोलामा झोलुङ्गे पुल छ । बिहानभर पानी परेकाले सेउती सामान्य भन्दा बढी उर्लिएको । हाम्रो बाटो भने झोलुङ्गे छाडेर खोला तरेरै जानुपर्ने । यात्राको शुरुवातमै ‘एडभेञ्चर’ भयो । सबभन्दा पहिला खोला तर्ने तरखर गर्दा जस दाईले टेकेको ढुंगा पल्टियो । खुट्टा पानीमा प¥यो, घुँडा चाहि ढुंगामा ठोक्कियो । जस दाई हुरुक्कै ! यो घटनाले सबै तर्सियौं, सचेत भयौं । खोला फिजिएको ठाउँ खोज्यौं । खोला बीच बीचमा भंगालो छ । जुत्ता खोल्यौं, र एक अर्कामा हात समाउँदै बल्ल त¥यौं । ठिक त्यही बेला साना स्कुले बच्चा पनि खोला तर्दै थिए । स्कुल ड्रेस निथ्रुक्कै भिजेको । सानो बच्चा बोकेकी महिला, भारी बोकेका युवा पनि खोला तर्न तम्तयार । दिनहुँ आउ जाउ गर्नेलाई खोला बाढी आउँदा झन् कति सकस होला ।
खाकर डाँडा उकालो चढ्दै गर्दा घाम पनि चर्कियो । ढुंगा ओछ्याएर बनेको फलैचामा सुस्तायौं । जति माथि गयो, विजयपुर गढी र धरान बजारको उति नै मनमोहक दृष्य । आह ! जताततै हरियाली । मौसम पनि छिन छिन बदलिने । घरि घाम चर्किन्छ, घरि पानी पर्ला झै हुन्छ । घरि हुस्सुले छोपेर सितल बनाइदिन्छ । टोलीमा वासुदेव दाईबाहेक सबै पहिलो पटक दानाबारी चढ्दै गरेको । अझै कति समय लाग्छ दाई ? कोही न कोहीले सोधिरहेकै छ । नसोधुन् पनि किन ? सेउती पार गरेपछि उकालो मात्र चढेको चढ्यै । पसिनाले सबै निथ्रुक्क । धन्न, जस दाईको अग्र्यानिक जोक्सले हसाउँछ र बाटो कट्न सजिलो । प्रायः सबै रमाइला नै छन् । कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटक सफारी गराउने सम्भावनाबारे दिनेश गजमेर र वासु दाईको सल्लाह भयो । सफारी गाडीका लागि लगानी गर्ने सोचमा रैछन् दिनेशजी ।
टोलीमा ४ महिला । रुपान्तरण नेपालकी अध्यक्ष सविता राई, मिस पुर्वाञ्चल २०१६ की सेकेण्ड रनरअप १८ बर्षीय इक्सा मादेन, मिस मंगोल २०१५ की फस्ट रनरअप सरुपा थापा मगर र मिस लिम्बु, मिस मंगोलकी टप ५ मेरीना तुम्सा लिम्बु । सुन्दरी चेलीहरु विजयपुर एफएममा यात्रा नामको नयाँ कार्यक्रम शुरु गर्न लागेका रहेछन् । त्यसका लागि उनीहरुले नियमित यात्रा वर्णन गर्दै रेकर्ड गरिरहेका थिए । सबैसँग रमाइलो कुराकानी रेकर्ड गराउदै हिँडेका । उनीहरुका लिडर चै पत्रकार भैरव आङला । सविताबाहेक तीनै सुन्दरीको पहिलो पदयात्रा । सबै साहसीमा दरिए । झण्डै चार घण्टा उकालोमा कसैले पनि हरेस खाएनन् । बरु प्यास मेटाउन बाटोमा जरुवा पानी खायौं, खेतधनीले थाह नपाउने गरी बोटमै टिपेर अम्बक खायौं । तल सुसाइरहेको सेउती सुनेर रमायौं । विजयपुरको शिर हुँदै शिवजट्टा जाने बाटो नियाल्यौं, हरिया डाँडा देखेर रमायौं । बजारको ब्यस्त दैनिकी, भीड र कोलाहलबाट टाढा । मन असाध्यै खुशी थियो ।
दानाबारी धरान बजारदेखि करिब १० किलोमिटर पुर्वीउत्तरमा रहेछ । विगतमा यो पाँचकन्या गाविस वार्ड नम्बर ४ मा पथ्र्यो । अहिले धरान उपमहानगरपालिका वार्ड नम्बर २१ भएको छ । ग्रामिण जनजीवन, मनोरम प्रकृति, कुहिरोसँग लुकामारी, चिसो जरुवा पानीको स्वाद अनि अग्र्यानिक तरकारी खेती । दानावारी पुगेपछि सारा थकान मेटिने । यहाँको बिषेशता नै यही हो । वासुदेव दाईको यो चौथो यात्रा । चारै पटक उनले पदयात्री टोलीको नेतृत्व लिएका । दाइले दानाबारीबाट धरानलाई पृष्ठभुमि राखेर खिचेको फोटोले मलाई निक्कै लोभ्याएको थियो । लव डाँडामा उभिएर खिचेका रहेछन् । त्यहाँ पुगियो, तर हुस्सुले धरान छोपेको । फोटो खिच्नै पाएनौं । अर्को पटक खिचौंला । यहाँबाट धरानको जुन स्वरुप देखिन्छ, अन्य कहिबाट देखिदैन । वासुदाईले लव डाँडा भनेपनि गाउँलेहरु रमिते डाँडा भन्दा रहेछन् ।
दानबारीको उचाई भेडेटारको हाराहारीमा छ । तर, दानाबारी भेडेटारभन्दा धेरै शान्त । भेडेटारमा दिन प्रतिदिन होटल थपिदै छन् । त्यसले भेडेटारको प्राकृतिक स्वरुपमाथि अतिक्रमण गरेको छ । यसतर्फ सरोकारवालाहरु समयमै सचेत हुनुपर्ने हो । दानाबारी एकदम शान्त छ । मानिस मेहनती, मनकारी छन् । प्रत्येक घरमा हरियो तरकारी खेती छ । गाँउको आम्दानीको स्रोत त्यही हो । झण्डै चार बर्षअघि धरान बजार पुग्ने बाटोको ट्रयाक खुलेपछि गाउँलेलाई राहत छ । तरकारी बोकेर झार्नुपदैन, गाडीबाटै बजारसम्म पुग्छ । विरामी मान्छेलाई पहिला जस्तो झोलुङ बनाएर लैजानु पर्दैन । त्यहाँ स्कुश र बेसार धेरै उत्पादन हुँदो रहेछ । त्यसबाहेक रायो साग, अदुवा, काक्रोलगायत तरकारी । हामी पुग्दा प्रत्येक घर स्कुशको लहराले चारैतिर घेरिएको थियो ।
मणिकुमार राईको दोकानमा पुग्यौं । बुढापाकासँग गफियौं । तर, दानबारी किन नाम रह्यो भन्ने कसैले खुलाउन सकेनन् । दोकान सामुन्नेमा खुला चौर छ । भलिवल मैदानमा नेट पनि । वासुदेव दाईले ढकनी(तिजमा खाने परिकार) र चनाको तरकारी बोकेका रहेछन् । पहिलो पटक ढकनी चाखियो । कति मिठो ! सबैले वासुदाई र भाउजुलाई धन्यवाद दियौं । जस दाई र दिनेश गजमेरले काँक्रा किनेर ल्याएछन् । चिउरा, प्याज, टमाटर, खुर्सानी र चाउचाउ मिसाएर चटपटे बन्यो । अघाउञ्जेल खायौं । कसै कसैले त अग्र्यानिक तीनपानेको चुस्की पनि लिए ।
जसदाई जोशिए, ‘यहाँको लोकल भालेको सुप त खानै पार्छ ।’ दोकानेसँग भालेको मोलतोल भयो । मणिकुमारले आँगनमा चारो हाले, कुखुराको त बिस्कुनै पो लाग्यो । कति धेरै हो गाँठे ! चारो खाइरहेको भालेलाई हातैले च्याप्प समाते । हेर्दा कति रमाइलो ।
सुप तयार भइञ्जेल भलिवल खेल्ने सल्लाह ग¥यौं । छ÷छ जनाको दुई टोली बन्यो । सरुपा बैनी रेफ्री बसिन् । साह्रै रमाइलो भयो । खेल सकियो, सुप तयार भएन । दोकानमा भएका बुढापाकाले पर्तिरको गढी थुम्कामा सिंहदेवी थान छ भनेर जानकारी दिए । सबै त्यतै लाग्यौं । झाडी पन्छाउँदै पुग्यांै । हल्का झरी पर्दैथियो । केहीलाई जुकाले रगत चुस्न थालिसकेछ । सुन्दरीहरु डरले चिच्याउँदै थिए । देवी थान भनेर गएको ऐतिहासिक गढी पो देख्यौं । बीचमा एउटा चिलाउनेको ठुलो रुख । मिलाएर राखेको ढुंगाको गाह्रो । चारै कुनामा नाग नगेनी, नौली बजै, जलदेवी, रक्तकाली, चम्की बुढेनी, भैरवपतिलगायत ढुंगाको देवीदेवता थान । भैरव आङला लिम्बुवान इतिहास र गढीहरुको खोज अध्ययन गर्छन, तर यो गढीबारे उनी पनि अनभिज्ञ रहेछन् । दुवै जना भएर गढीको चारैतिरबाट फोटो खिच्यौं । सेल्फी त छुट्ने कुरै भएन ।
फर्कदा वासुदेव दाई र सविताजी स्थानीय पुर्णमाया राईको बारीमा स्कुशको मुन्टा टिप्दै थिए । पुर्णमाया चाहि बिक्रीका लागि स्कुश दाना टिपिदिदै थिइन् । इक्सा मादेन बैनीले पनि स्कुश किनिन् । पर्यटन प्रर्वद्धन हुँदाको फाइदा स्थानीयलाई यही त । गाउँघरमा घुम्न आउँछन् । जे छ किनेर खान्छन् । तरकारी बोकेर लैजान्छन् । तिते हालेको सुप तयार भएछ । वासुदेव दाईबाहेक सबैले खायौं । साह्रै स्वादिलो ।
तिते किरात राई जातिको मौलिक परिकार हो । पहिलो पटक खानेलाई तितो लागेपनि विस्तारै मिठो हुन्छ । खासमा चामल हालेर छुट्टै तिते बनाइन्छ । त्यहाँ भने सुप नै तितेको बनाइयो । जसदाईको फेरि जोक्स सुनेर पेट मिचिमिचि हाँसियो । सरुपाले सायरी भनिन् । विकास राईले जोशिलो कविता सुनाए ।
गढीथुम्काबाट फर्केपछि पो गाउँले भन्छन्,–‘बैशाखे पुर्णेमा पुजाआजा गर्दा मात्र जाने ठाउँ हो । अरुबेला गए त राम्रो हुदैन ।’ परेन फसाद ? कति गाउँले त त्यहाँ एक पटक पनि गएका रहेनछन् । आस्था, विश्वासको कुरा हो । अञ्जानमा गइयो, देवीदेउताले नि माफ दिन्छन् भन्दै चित्त बुझायौं । त्यहाँ बैशाखे पुर्णेमा मगर कन्ये केटाले पुजा गर्दो रहेछ । बुढाले सिकाउँछन् रे । कुखुरा, परेवालगायत भोग दिइन्छ ।
फर्कने तरखरमा थियौं, दोकाने मणिकुमार डोको र हातमा चिम्टा बोकेर कतै जान लागेका थिए । ‘सिस्नु टिप्न हो ?’ सोधियो । ‘चारोको लागि टिप्न जान लागेको’–उनको जवाफ उदेकलाग्दो थियो । शहरमा ताजा सिस्नु किनेर खान पनि नपाइने स्थिति छ । यहाँ भने गाईवस्तुलाई खुवाउँछन् । किनेर लैजान्छौं भनेपछि उनले एकजना छिमेकी बजुलाई अह्राइदिए । ती बजुले सय रुपैयाँमा टन्न सिस्नु दिइन् । हामी रमाउँदै फर्कियौं ।
झोलुङ्गे पुल हँुदै फर्कने सल्लाह भयो । टोली दुई समुहमा बाँडियो । म, सविता, सन्तोष काफ्ले र वासुदाई अघि लाग्यौं । अरु आउन ढिला गरे । यो बाटो त बासुदाईलाई पनि थाह रहेनछ । जंगलभित्र गोरेटो त भेटियो, तर मान्छेले हिँड्न छोडिसकेको । ठाउँ ठाउँमा बाटो अलमल हुने । कता हो कता । झाडी पन्छाउदै ओरालो झ¥यौं । बेला बेला पछाडिको टोलीलाई आवाज दिदै पनि ग¥यौं । जुका टाँसिएला भन्ने डर । त्यो भन्दा पनि बाटो भिरमा पुगेर टुंगिएला र फेरि ठाडो उकालो फर्कनु पर्ला भन्ने पिरलो थियो । मनभित्र त सबै डराएकै थिए, तर कसैले व्यक्त गरेनौं । धन्न, गोरेटोले गाउँ पु¥यायो । गाडीको ट्रयाक खुलेपछि मानिस यो बाटो हिँड्नै छाडेका रहेछन् । एउटा पसलमा चार जना थकाइ मा¥यौं, र २ बोतल चिसो पानी रित्यायौं । त्यसपछि त तेर्सो सजिलो बाटो । झोलुङ्गे पुलमा वासुदाईको मोवाइलमा सेल्फी हान्र्दै घर फर्कियौं ।
हामी हाइकर्स
जसकुमार राई, पत्रकार
हामीले स्वस्थ रहन र ग्रामिण पर्यटन प्रर्वद्धन गर्न हाइकिङ शुरु गरेका हौं । पर्यटकले धरान सेरोफेरोमा पदयात्रा गर्न पाउन् भन्ने सञ्देश दिनु पनि हाम्रो उद्देश्य हो । पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई व्यावसायीकरुपमा प्रर्वद्धन गर्न उर्जा पनि दिन्छ । स्थानीय स्रोत, साधन उपयोग र उपभोग ग¥यौं भने हाइकिङ संस्कारले सबैलाई फाइदा पुग्छ । गाउँलेमा पर्यटनप्रति चेतना जाग्छ ।
प्रकाशित: २५ भाद्र २०७३ ०४:४४ शनिबार





