६ पुस २०८१ शनिबार
image/svg+xml
अन्य

बोल्ड राइटिङको बहस

कुमारी लामा


महिला सन्दर्भ सधैँ चर्चाकै विषय बन्न पुग्छ, संसारभरि नै। चाहे त्यो बाहिरी कुरा(सौन्दर्य) होस् या भित्री(बौद्धिकता)।

हालैको एक अपराह्न।

भदौरे गर्मीलाई चुनौती दिने तातो बहस चल्दैछ, 'समकालीन नेपाली साहित्यमा महिला लेखन' विषयमा। अझ त्यसमा पनि महिलाको 'बोल्ड राइटिङ'बारे विशेष डिस्कोर्स चल्दैछ। आह्वान, साहित्यिक समूहले गरेको एक अन्तर्क्रिया कार्यक्रमको वातावरण निकै गरमागरम रह्यो। लेखिका तथा एक्टिभिस्ट डा. सुधा त्रिपाठी र पत्रकार लक्ष्मण श्रेष्ठबीचको संवादमा साथ दिए समकालीन लेखकहरूले। महिला लेखनको अवस्था, समेट्न सकेका वा नसकेका विषय, गर्न बाँकी काम, सबल पक्ष, सीमा आदिबारे स्मरणीय चर्चा हुनुले महिला लेखनलाई टेवा नै पुर्‍याएको मान्न सकिन्छ। कार्यक्रममा सक्रिय सहभागी भएकै कारण यस विषयले मलाई पनि नछुने कुरै भएन, छोएपछि त्यसलाई पाठकमाझ पुर्‍याउने लोभ पनि जागृत भएर आएको छ।

के लेख्दैछन् महिला?

महिला लेखनको विषयमा एउटा 'क्लिसे' व्याप्त छ नेपाली साहित्यिकवृत्तमा (मुख्यतः पुरुष साहित्यकारहरूमाझ)।

थाङ्ने गफ, आफ्नै गनगन, कुण्ठा र सासु–बुहारीको कुरा अनि चुलोचौका मात्रै लेख्छन् महिला!

के साँच्चै नेपालका महिलाका लेखनी थाङ्ने गफ नै हुन् त? के आफ्ना भोगाइ, पीडा र अनुभूति लेख्नु, आफ्ना कुरा भन्नु गनगन हो? आजका महिला घरकै वा चुलोचौकाकै कुरामात्रै लेखिरहेका छन् त?

यसै सन्दर्भमा साहित्यकार सुधा त्रिपाठी भन्छिन्– 'महिलाले आफ्नो कुरा गर्दा कसरी थाङ्ने भयो? लेखनीमा आफ्नो पीडा नै बोल्ने हो। आफ्नै कुरा गर्ने हो।'

यी प्रश्न र साहित्यकार त्रिपाठीको भनाइले निकै गम्भीर डिस्कोर्सको अपेक्षा गर्छ, जुन अद्यापि हुन सकेको छैन।

विश्व साहित्यमा महिला लेखनी पुरुषका भन्दा कुनै पनि कोणबाट कमजोर छैनन्। तिनका कुरा गर्दा बंगाली–ब्रिटिस लेखक मोनिका अलि 'ब्रिक लेन' नामक उपन्यास लेखेर चर्चाको चुलीमा पुगेकी छन्। वास्तवमा ब्रिक लेनले भयंकर मानिने, क्रान्तिकारी विचार या 'सोकल्ड' प्रगतिशील लेखन केही गरेको जस्तो लाग्दैन। छ त के भन्दा एउटी सोझी बंगाली गाउँले युवती नजनिनका कुरा। बिहे गरी लन्डन गएपछिको भोगाइ, मनोदशा, गाउँको सम्झना, बंगाली रहनसहन र पीडाका अभिव्यक्ति। उनका ती आइमाई भोगाइ र अनुभूति त संसारले स्वीकार गरेकै छ। उनको गफ त कुनै पनि कोणबाट थाङ्ने मानिएन। थाङ्ने गफमात्रै यदि महिलाले लेख्ने भए कसरी उनी ख्यातिको चुलीमा पुगिन्? पु्रुष होस् वा महिला लेखक लेख्ने त आफ्नै वरिपरिका विषय नै त हुन्। एउटा वर्गले लेख्दा त्यो थाङ्ने वा गनगन गरेको हुने अनि अर्कोले लेख्दा महान् साहित्य कसरी होला?

मोनिकाजस्तै आफ्नै कुरा गरेर चर्चाको शिखर चुमिरहेकी अर्की महिला लेखक हुन् नाइजेरियन चिमामान्डा अदिची। उनले 'पर्पल हिबिस्कस' उपन्यासमा अफ्रिकन समाजमा महिलाको नाजुक अवस्था, एउटी युवतीको बाबुसँगको तीतो सम्बन्धलगायतका कुरा उठाएकी छन्। ती पात्रको आमाका पीडा र भोगाइ उतारेकी छिन्। त्यसमा पनि महिलाको दृष्टिबाट आफ्नो पीडा नै पोखिएको छ। एउटा निरंकुश शासकजस्तो बाबु र लोग्नेबाट दबिएर बस्नुको छट्पटीको प्रस्फुटन छ उक्त उपन्यासमा। विश्वले यस विषयलाई पनि मन फुकाएर स्वागत गरेको अवस्था छ। चिमामान्डा संसारभर नै बढी पढिने लेखिकामा पर्छिन्।

तर, हाम्रो बौद्धिक मानिने लेखकहरूको झुण्ड भने महिलाको विषयलाई थाङने भन्दै गनगन ठान्दै उपेक्षा गरिरहेको छ! के यो संकीर्णता होइन? अर्काको अनुभूति र पीडालाई सम्मान गर्न नसक्नेहरूले पाएको प्रगतिशीलको ट्याग नै आउटडेटेड भएको हो कि भन्ने शंका लाग्छ। आफ्नो अनुभूति र भोगाइभन्दा कति पर पुगेर लेखेका छन् पुरुष लेखकले चाहिँ हाम्रो देशमा? (फ्यान्टासी लेखन फरक सन्दर्भ हुन सक्छ, तर नेपाली साहित्यमा त्यस विषयमा खास लेखिएकै छैन)

आफ्ना पीडा र भोगाइहरूको अभिव्यक्ति भनेको आफू त्यस पीडाको सघनताबाट मुक्त भएर स्वतन्त्र हुनु पनि हो। लेखकले आफूलाई विरेचित गर्नु पनि हो। वास्तवमा नेपाली महिलालाई सामाजिक संरचनाले लादेका अनेक कुराले खिल भई दुःख दिइरहेकै छन्, घोचिरहेकै छन्। यसलाई निकास दिन जरुरी छ। त्यसकारण पनि स्वभावतः महिला लेखनमा तुलनात्मकरूपमा आफ्ना कुरा बढी आउँछन् नै।

विश्व विख्यात लेखिका माया एन्जोलोको पेचिलो भनाइ छ– आफूभित्रको अव्यक्त कथालाई झेल्नुभन्दा गहिरो पीडा अरु केही छैन।' ती सारा असन्तुष्टि, पीडा र भोगाइको निकासका लागि पनि महिलाले आफ्ना कुरा लेख्न जरुरी छ, अझै केही समयसम्म। 

महिला लेखकले आफ्ना विषय कुनै पनि समाज र मुलुकका निम्ति महत्वपूर्ण छन् भनेर स्थापित गर्न पनि निजी कुरा कलात्मक ढंगमा लेख्न जरुरी भएको हो। महिलाका कुरा महिलाले जति अरु कसैले पनि बुझ्न सक्दैन। पुरुषले महिला मनोविज्ञान बुझ्न झनै कठिन छ। उनीहरूले आफ्ना सृजनाबाट महिलाका विषयमा बाहिर नआएका, दबेका, दबाइएका, बेवास्ता गरिएका सन्दर्भहरू उल्लेखनीय ढंगमा ल्याउन सक्नु आफैमा एउटा बनिबनाउ संरचनाको घेरा तोड्नु हो। खुसीको कुरा अब महिला लेखक पनि आफ्ना कुरा बोल्न थालेका छन्। समाजका मान्यताहरूले थिचेर घाइते भएको मनस्थितिमा पनि र घरपरिवारका सारा जिम्मेवारी सम्हाल्दै समय निकालेर लेख्नु आफैमा चुनौतीपूर्ण काम हो।

यति हुँदाहुँदै पनि महिला लेखकले समयसँगै अगडि बढ्नैपर्छ। आफ्ना कुरासँगै समाज र समयलाई पनि लेखनमा ल्याउन सक्नुपर्छ। समय र चेतनको विकाससँगै उनीहरू घरको चौघेराबाट निस्किएर समाजमा आएका छन्, आउने क्रम जारी छ। आजको महिला लेखन कुण्ठा पोख्ने माध्यममात्र नभई समय र समाजसँगको संवाद पनि हो। आन्बिका गिरीको मान्छेको रङ, उमा सुवेदीको तोदाजस्ता कृति समाज र समय उतारिएका सुन्दर उदाहरण हुन्। युवा राजनीति र क्रान्तिप्रतिको दृष्टिकोण, बेरोजगारीका कारण विदेसिन बाध्य नेपाली युवाको कथा बुनिएका यी उपन्यास हाम्रै समयका आवाज हुन्।

विमला तुम्खेवा, प्रगति राईको कवितामा पाइने पहिचान चिन्तन होस् या सरिता तिवारी, शकुन्तला जोशीको कविताले बोलेको किनारीकृतको आवाज या सीमा आभासले विश्लेषण गर्दै गरेको योगमायाको अस्तित्व, यी हाम्रै समयले दिएका चेतना हुन्। त्यसकारण पनि समकालीन नेपाली महिला लेखन उज्यालोको यात्रामा छ भन्न सकिन्छ।

बोल्ड राइटिङ

अचेल 'बोल्ड राइटिङ' र 'बोल्ड राइटर' भन्दै छापाहरूले निकै चर्चा गर्ने गरेको देखिन्छ। वास्तवमा के हो त बोल्ड? बोल्ड, राइटर हुने हो कि राइटिङ? बोल्डनेस भन्ने कुरा केही सीमित परिभाषामा मात्रै अटाउने हो या यसका विविध आयाम छन्? यी प्रश्नको उत्तर हाम्रो महिला लेखनीभित्रै खोज्नुपर्ने भएको छ।

आफ्ना नितान्त व्यक्तिगत कुरा पनि छापाभरि असरल्ल छरेर एउटा झुण्डको वाहवाही पाउनु बोल्डनेस हो? या आफूले उठाएको विषयवस्तुको गहिराइ र गहनताले ल्याउने हो लेखनमा बोल्डनेस र लेखकलाई बनाउने हो बोल्ड? चौघेरामा सीमति बन्न बाध्य महिलाले चौघेरा नाघेको विषयलाई साहित्य बनाउँछन् भने त्यो बोल्ड राइटिङ हो कि होइन? पारिवारिक यातना सहँदै लामो समय व्यतीत गर्न बाध्य महिलाले सोही सन्दर्भलाई उपन्यास वा साहित्यका अन्य विधामार्फत् ऊजागर गर्दा त्यसलाई बोल्ड मान्ने कि नमान्ने? अन्य धेरै कुराजस्तै बोल्डनेस पनि समय र समाजसापेक्ष हुन्छ। एउटी युरोपियन वा अमेरिकी लेखिकाले आफ्नो अटोबायोग्राफीमा पुरुष साथीहरूसँगको अन्तरंग सम्बन्धको विषयमा खुलेर लेख्नु खासै बोल्डनेस नलाग्न सक्छ। भारतीय लेखिका कमला दासले आफ्ना सम्बन्धबारे आजभन्दा ३९ वर्षअघि आत्मकथामा खुलेर लेख्दा त्यहाँ एउटा भुइँचालो नै आएको थियो। पाठकले जिब्रो टोकेका थिए। उनले आफ्नो जीवनीको पुस्तक 'माई स्टोरी'मा आफूलाई यसरी खुलस्त पारेकी छन् कि भारतीय समाजले त्यसलाई पचाउन सहज थिएन।

'मैले उनीप्रति (लोग्नेप्रति) बेइमानी गर्ने मनस्थिति तयार गरेँ, कम्तीमा शारीरीक बेइमानी।' यस अभिव्यक्तिमा इमानदारीले हद नाघेको छ। निश्चय नै कमला दासको यो बोल्डनेस हो।

इस्लामका नराम्रा पक्षहरूको पर्दाफास गरिदिने बंगाली लेखिका तस्लिमा नसरिन भयंकर बोल्ड लेखिका हुन् हाम्रो समयको। बोल्ड राइटिङकै कारण देशनिकाला हुनुदेखि समयसमयमा आइलाग्ने हत्याको धम्कीलाई समेत झेल्दै आएकी छन् उनले। त्यस्तै, पाकिस्तानी लेखिका तेहमिना दुर्रानीको 'माई फ्युडल लर्ड' मा समाज र राजनीतिमा बलियो पहँुच भएको आफ्नै लोग्नेबाट खप्नुपरेको कहालीलाग्दो शारीरिक र मानसिक ज्यादतीलाई दुरुस्त उतारेर ज्यान नै जोखिममा पारेको उनको लेखन निश्चय पनि बोल्ड हो। सिरियन लेखिका वफा सुल्तानले इस्लाम धर्म गुरुहरूलाई हाँक दिएर लेखेको 'द गड हु हेट्स' लाई बोल्ड राइटिङको उत्कृष्ट नमूना मान्न सकिन्छ।

समकालीन नेपाली महिला लेखकहरूले पछिल्लो समय लेख्दै गरेको विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्दा त्यसमा प्रसस्तै बोल्ड राइटिङ पाउन सकिन्छ। समाजले कोरिदिएको निश्चित घेराबाट निस्कने प्रयत्नको लेखन नै बोल्ड हो। सीमान्तकृत समुदायकको आवाजलाई सशक्त ढंगमा बाहिर ल्याउनु आफैमा बोल्डनेस हो। राजनीतिक, भाषागत, सांस्कृतिक, क्षेत्रीय, धार्मिकलगायतका विषयमा आफ्ना विचार स्पष्ट र इमानदार भई लेख्नु आफैमा बोल्डनेस हो।

माया ठकुरीका कथाका विषय निकै बोल्ड लाग्छन्। मजदुरी गरी खाने एउटी आइमाई मरेको लोग्नेलाई जलाउन घाटमा छाडेर केटाकेटी च्यापी हिँड्छिन् घरतिर। धेरै दिनको भोको छ आफ्नो र केटाकेटीको पेट। पोल्टोमा छ चन्दा उठाएको केही रकम। उनी त्यही पैसाले मासु–चिउरा खान्छिन् र खुवाउँछिन् केटाकेटीलाई पनि। भोकको सत्य भन्नु नै खाना हो। ठकुरीको 'भोक' शीर्षकको कथा हाम्रो सामाजिक संरचनामाथिको दह्रो चेतावनी हो। यसले समाजको सनातन बुझाइलाई भत्काउने प्रयास गरेको छ। त्यसकारण पनि यसलाई बोल्ड राइटिङ मान्नुपर्छ।

बोल्ड राइटिङलाई एउटा निश्चित मापदण्डभित्र सीमित राख्न नसकिएला। लेखकले आफूले लेख्न खोजेको विषयलाई स्पष्ट र इमानदारीपूर्वक उठाउन सक्नु आफैमा बोल्ड लेखन हो। साहित्यकार बिना तामाङ भन्छिन्– 'म पात्रको प्रस्तुतिबाट बोल्डनेस निर्माण गर्छु। जस्तो कि एउटी आनीलाई प्रेमको खोजीमा गुम्बाबाट निकाल्नु बोल्डनेस हैन र? मलाई त्यस्ता कथा लेख्न मन पर्छ।'

अफ द बिट या भनौँ हाम्रो समाजले कोरिदिएको सीमा तोडेर, फरक विषय उत्रनेगरी लेख्न सक्नु बोल्ड राइटिङ हो।

प्रोस्टिट्युसन भन्नेबित्तिकै महिलाको मात्रै संलग्नता देख्ने हाम्रो 'वान साइडेड नजर'लाई तिर्मिराउने गरी मेल प्रोस्टिट्युसनको विषयलाई उठाएर लेखेको मनिषा गौचनको उपन्यास 'बल्लीको डायरी' आफैमा एउटा बोल्ड राइटिङको उदाहरण हो। त्यस्तै, झमक घिमिरेको जस्तो अवस्था, परिस्थिति र शारीरिक प्रतिकूलताका बीच ल्याउन सकेको जीवनी 'जीवन काँडा कि फूल'लाई बोल्ड किन नमान्ने? यस्ता कृतिलाई बोल्ड नमानी हामीलाई धरै छैन। (अरु पनि धेरै छन् नेपाली नारीका बोल्ड लेखनी)

समकालीन नेपाली महिला लेखनमा समयचेत, पहिचान र अस्तित्वप्रतिको सचेतताका साथै सामाजिक–राजनीतिकबोधका कारण लेखन बोल्ड बन्ने क्रम जारी छ।

सामाजिक यथार्थ

नेपाली साहित्य लेखनलाई (पुरुष–महिला दुवैको) सामाजिक यथार्थले छाडेन भन्ने पाठक, समीक्षकहरूको गुनासो बेलाबखत सुन्ने गरिन्छ। महिला लेखनको सन्दर्भमा पनि विषयवस्तु र शैलीमा नवीनता दिन नसकेका करण पछि परेको, फड्को मार्न नसकेको गुनासो पनि सुनिन्छ। यसै विषयमा लेखिका गीता त्रिपाठी भन्छिन्– 'महिला लेखक शैलीभन्दा पनि विषयवस्तुमा बढी केन्द्रित भएको पाइन्छ। र, विषय यही समाज र हामीले भोग्दै गरेको यथार्थबाटै लिइन्छ। त्यसैले पनि महिलाको लेखाइमा बढी सामाजिक यथार्थ आएको हो।'

सामाजिक यथार्थभन्दा टाढा गएर कल्पना र नवीन शैलीको प्रयोगतिर पुग्न नसक्नुमा नेपाली महिला लेखक आफ्नो विषय पनि महत्वपुर्ण हो है भनी स्थापित गर्ने संघर्षकै अवस्थामा रहनुले पनि त्यस्तो भएको कतिपय महिला लेखक स्वीकार्छन्। कवि ज्योति जंगलको विचार यस्तो छ– 'हामी संघर्षकै चरणमा छौँ। हामीले हाम्रो मुद्दा यही समाजबाट लिने हो। मुद्दाभन्दा माथि उठेर अन्य विषयमा केन्द्रित हुन कम्तीमा पनि १० वर्ष अझै यथार्थमै केन्द्रित हुनुपर्छ।'

हुन त मुद्दाभन्दा अलग, अस्तित्व चिन्तन लेखेर पारिजात र वानिरा गिरिलगायतले धेरै अघि नै नेपाली साहित्यमा सनसनी फैलाइसकेका छन्। महिला अस्तित्वको विषयमा काम हुनु आजको ठूलो आवश्यकता भए पनि आममानसकितामा परिवर्तन ल्याउन यथार्थ, समाज र यसका तीता सत्यहरूलाई पनि उजागर गरी लेख्न जरुरी छ।

उपन्यासकार अनुपम रोशीले 'कालो छायाँ'मा उठाएको सुदूरपश्चिमको संवेदनशील विषय छाउपडी र त्यसले निम्त्याएका विकृति हामीमाझको आजकै यथार्थ हो। यो पनि त एउटा बोल्ड राइटिङको नमूना हो। त्यसबाट हामी कसरी मुख मोड्न सक्छौँ र? उसैगरी सृजना शर्माको उपन्यास 'गोल्डेनगेट'मा उठाइएको विदेश पलायनको समस्याले हामी घेरिएकै छौँ।  हामी यस्तो पुस्ताका माझमा छौँ, आज जो–जुनै हालतमा पनि विदेसिने मौकाको पर्खाइमा छन्। यी सारा विषय हाम्रै समयका तीता यथार्थ हुन्। हामी यी सारा बिझ्ने यथार्थसँगै पौँठेजोरी खेलिरहेको अवस्थाका कारण पनि समकालीन महिला लेखनले प्रयोगधर्मिता र फरक विषय, शैली आत्मसात गर्न नसकेको हुन सक्छ।

सीमा र सम्भावना

समालोचनाको क्षेत्रमा महिलाको उपस्थिति झनै न्यून देखिन्छ। पछिल्लो समयमा गीता त्रिपाठी, रजनी ढकाल, ज्ञानु अधिकारीलगायतले समालोचनामा केही काम गरिरहेका भए पनि ती अत्यन्तै अपुग छन्। महिला लेखकमा अध्ययन–अनुसन्धानको अभाव रहेको कुरा बारम्बार उठ्ने गरेको छ। केही हदसम्म त्यो सत्य भए पनि अध्ययन अभाव हुनुका पछाडिका कारणतिर भने हामी मौन रहन्छौँ। तर, कारणहरू जे भए पनि आफ्नो कमजोरीलाई महसुस गर्न भने जरुरी छ नेपाली महिला लेखकहरूले।

महिलाले आफू र आफ्नाबारे नै पनि विविध विषयमा लेख्न बाँकी छ। आफ्ना अनुभूतिलाई पूर्णइमानदारीका साथ लेख्ने, शरीर र यौनिकताका विषयमा खुलेर चर्चा गर्ने काम भएकै छैन। लेस्बियनका विषयमा महिला लेखकहरू लगभग मौन छन्। साँच्चै भन्ने हो भने अझै आफ्नो अस्तित्व र पीडा तथा खुसीका कुरा नै पनि विभिन्न कोणबाट, रूचिपूर्ण ढंगमा महिलाले लेख्न बाँकी नै छ।

महिला लेखकले ऐतिहासिक उपन्यास वा कथा पनि खै लेखेको? ब्रिटिस लेखिका हिलारी म्यान्टलले इतिहास र कल्पनाशीलताको सुन्दर संयोजन गरी ऐतिहासिक उपन्यासहरू 'उल्फ हल' र 'ब्रिङ अप द बडिज' लेखिसकेकी छन्। उनको त्यही खतरनाक लेखनका कारण दुई पटक म्यान बुकर प्राइजजस्तो गरिमामय पुरस्कार पनि हात पारिसकेकी छन्।

नेपाली महिला लेखकको आकषर्णको विषय आख्यान र कविता भए पनि गैरआख्यानका विविध विधामा न्यूनमात्रै काम भएको छ। त्यसमा पनि नाटक लेखनमा महिलाको उपस्थिति शून्यप्राय देखिन्छ। यस्ता नलेखिएका वा छुन नसकिएका विधामा पनि महिला लेखकको नजर पुग्न ढिला भइसकेको छ।

महिला विचारक, विश्लेषकको टड्कारो अभाव छ हाम्रो समाजमा, साहित्यमा। केही समयअघि काठमाडौँ स्पिभाकमय भएको थियो। उमेरले ७० कटिसकेकी भारतीय महिला जो आफ्ना सिद्धान्त, विश्लेषण र विचारका कारण विश्व हल्लाउन सफल छिन्। उनी बेलाबेला नेपाल आएर प्राज्ञिक व्यक्तित्व र विश्वविद्यालयका विद्यार्थीमाझ आफ्ना धारण प्रस्तुत गर्ने गर्छिन्। त्यस्तै विचारक, लेखक अरुन्धति रोयकै विविध विषयमा आउने स्पष्ट विचारहरूले 'सुपरपावर' अमेरिकालाई पनि आच्छुआच्छु पारिरहन्छ बेलाबखत। नेपाली महिला लेखकहरू पनि आफ्नो बौद्धिकताका लागि, विचारका लागि विश्वसामु चिनिने समय आउनेछ भन्ने कामनासम्म अहिले गर्न सकिन्छ। कामना पूरा गर्न त महिलाले नै मेहनत, लगनशीलता, अध्ययन–अनुसन्धान गर्नुपर्छ नै! 

मुद्दाको चरणलाई पार गरेर आफ्ना विषयलाई सहीरूपमा उठान र स्थापित गरिसकेपछि भने महिला लेखनले नयाँ आयामलाई आत्मसात गर्न सक्नेछ। महिला लेखनमा मात्र हैन, समग्र नेपाली साहित्य नै सामाजिक यथार्थको दबदबाबाट उठ्न नसकेको अवस्थामा फ्यान्टासी लेखनका साथै साइन्स फिक्सन लेखन निकै टाढाका कुरा लाग्छन्। यथार्थको ज्वरोले विस्तारै छाड्ने क्रममा महिला लेखन विषय र शैली दुवैका हकमा अलि बढी एक्सपेरिमेन्टल हुन सक्ला भन्ने आशा गर्न सकिन्छ। नीलम कार्की निहारिकाले मिथकीय पात्र द्रौपदीको विषयलाई फरक ढंगबाट विश्लेषण गरी लेखेको उपन्यास चीरहरण एउटा आशालाग्दो सुरुवात हो। महिला लेखकहरूले गहिरो अध्ययन, अनुसन्धानका माध्यमबाट आफ्नो बौद्धिकताको दायरालाई फराकिलो पार्दै गहन विषयमा सशक्त प्रस्तुति दिन सके निश्चय पनि तिनको लेखनीले फड्को मार्नेछ। र, फैलिएर विश्वका पाठकमाझ प्रिय बन्नेछ।

प्रकाशित: १८ भाद्र २०७३ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App