अकाशमा फाट्टफुट्ट बादल लागे पनि टन्टलापुर घाम। खेतमा लोभ्याउने हरियाली। अहा! कति सुन्दर, मनमनै भनें। 'स्वर्ग कता छ, थाहा छैन। तर, किसानको छोराले खेतमै स्वर्ग देख्छ। त्यही रमाइलो क्षणसँग मितेरी गाँस्दै पुगेको थिएँ, कैलालीको पूर्वी–दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने नारायणपुर।
समथर भू–भागमा भए पनि कैलालीको विकट गाविस हो नारायणपुर। यहाँको जनजीवन वर्षेनी आउने बाढीका कारण थिलथिलिएको छ। गाउँघरसम्म पुग्ने बाटाघाटा राम्रा छैनन्। कतिपय घर गोठ जस्तै छन्। हरेक वर्ष मनसुनमा जनजीवन कष्टकर हुन्छ। भनिन्छ हिलोमै कमल फुल्छ। ठीक त्यसैगरी विकट नारायणपुर विश्वमै दुर्लभ मानिने डल्फिन अवलोकनका लागि प्रख्यात छ।
दुर्लभ जलप्राणी हेर्दाको क्षण कस्तो होला भनेर मन अशान्त थियो। गर्मी भए पनि त्यसको पीडा महसुस भएन। गत वर्ष पनि एक पटक डल्फिन अवलोकन गरिसकेको मलाई पहिलो पटक हेर्न जाँदैछु भन्ने भान भइरहेको थियो।
ढुङ्गाना टोलकै साथीहरुको सहयोगमा हामी हतार–हतार नदीतिर लाग्यौं। पथरैया र गैरी खोला दोभानमा गएर हेर्ने र दुर्लभ वन्यजन्तुलाई क्यामरामा कैद गर्ने निर्णय गर्यौं। हामी अझै परै थियौं। तर, माछा सल्बलाए जस्तै डल्फिन खेलेको दृश्य परैबाट देखिन थाल्यो। मन अति नै खुशी भयो। सोच्न थाले। 'मान्छेहरु डल्फिन हेर्न कहाँ, कहाँ पुग्छन्। तर, हामी कैलालीबासी कति भाग्यमानी! आफ्नै घर आँगनमा दुर्लभ जलप्राणी देखिन्छन्।'
सास फेर्न क्षणभर मात्रै निस्कने र पुनः डुब्ने ती दुर्लभ जलप्राणीले केहि समय खुबै झुक्याए। यता, क्यामेरा तेर्स्याउँदा उता देखिने, उता तेर्स्याउँदा यता देखिने। कहिले कता, कहिले कता निस्किने। कुनै पनि संकेत र थाहा नदिई निस्कने डल्फिनको फोटो खिच्न निकै गाह्रो भयो। केहि घण्टाको प्रयास असफल भएपछि सोच्न बाध्य भए। 'यसरी त राम्रो फोटो खिच्न सक्दैन। एउटा निष्कर्षमा पुगेन भने दिनभरी बसे पनि प्रतिफल शून्य हुन्छ।'
घामले ज्यानै सुक्ने तर रमाइलो त्यो पल। अलि थकान र पसिनाले निथ्रुक्क शरिर। क्यामरामा कैद गरिसकेपछि डल्फिनसंगै नुहाउने इच्छा। त्यो पनि पूरा नगरी किन फर्किनु? हामी साथीभाई पथरैया नदीमा पौडी खेल्न गयौं। पौडी खेल्दै गर्दा वरिपरि निस्किने डल्फिनले मानवसंग सामिप्यता बढाई रहेका थिए। अरु वन्यजन्तु मानव देखेर भाग्ने गरे पनि गंगेटिक प्रजातिको डल्फिन हल्ला गरेमा नजिक आउँछन् भन्ने भनाइ सत्य लाग्यो।
नेपालका दुई ठूला नदी कोसी र नारायणीबाट लोप भइसकेको दुर्लभ डल्फिन अब कैलालीमा मात्रै देखिन्छन्। नेपाल, भारत र बंगलादेशमा मात्रै पाइने गंगेटिक डल्फिनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित सूचीमा राखेको छ। कैलालीमा ०५७ सालदेखि भजनीका भोजराज श्रेष्ठ (गुलेली बाजे) को नेतृत्वमा डल्फिन संरक्षणका गतिविधि हुँदै आएका छन्। स्थानीयले संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरुले डल्फिनको चोरी शिकार रोक्ने, तारो हान्न नदिने, मरेका पशु चौपाया र प्लाष्टिकजन्य बस्तुहरु नदीमा फाल्न र विषादी हाल्न नदिने अभियान चलाएका छन्। उनीहरुले गर्दै आएको संरक्षणको नतिजा स्वरुप मनसुनभरी कैलालीका कर्णाली, मोहना, पथरैया, काँढा नदी, गैरी खोला लगायत नदीनालामा सजिलै र नजिकबाट डल्फिन देख्न सकिन्छ। असारमा आएका डल्फिनले यतै बच्चा जन्माएर हुर्काउँछन्।
सरकारद्वारा बनाइएको ऐनमा डल्फिन संरक्षित वन्यजन्तुको सूचीमा पर्छ। तर, कैलालीमा देखिने डल्फिन संरक्षणका लागि सरकारी क्षेत्रबाट सिन्को भाँच्ने काम भएको छैन। उल्टै सरकारकै एउटा निकाय जिविसले डल्फिनको आहारा मास्ने काम गरिरहेको छ। जिविसले मोहना नदीमा माछा मार्न वर्षेनी ठेक्का दिदैं आएकाले नदीमा महाजाल हालेर मार्ने काम रोकिएको छैन।
त्यसकारण, डल्फिन देखिने कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेका छन्। संरक्षित क्षेत्र बनाइएमा डल्फिनको दिगो रुपमा संरक्षण हुनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग हुने उनीहरुको बुझाइ छ। डल्फिनका कारण पर्या पर्यटनको विकास भइ स्थानीय स्तरमा संरक्षण कार्यमा संलग्नहरुको जिविकोपार्जनमा पनि ठूलो सहयोग पुग्ने देखिन्छ।
मनसुनमा नदी बढेपछि मात्रै डल्फिन देखिन्छन्। सरकारी पहल भयो भने नदीको गहिराई बढाएर बाह्रै महिना डल्फिन देखिने अवस्था सृजना गर्न सकिन्छ। यहाँ देखिने दुर्लभ डल्फिनले कैलालीको पर्यटन विकास पनि ठूलो टेवा पुर्याउने सम्भावना छ। तर, प्रचारप्रसार अभाव, बाटो समस्या लगायतले धेरै पर्यटक पुग्न सकेका छैनन्।
ढुङ्गाना टोलमा पर्यटकलाई लक्ष्य गरी पाँच घरमा होमस्टे सञ्चालनमा छ। एक घरमा दुई जनासम्मले खाना र बास पाउँछन्। बास बस्न वर टीकापुरमा सुविधायुक्त होटल छन्।
कसरी पुग्नेः भजनी र टीकापुर दुवै ठाउँको बाटो भएर जान सकिन्छ। भजनीदेखि पूर्व–दक्षिण पर्ने ढुङ्गाना टोलसम्म दूरी ९ किमि। हुलाकी सडकबाट नारायणपुर पुगिन्छ। त्यस्तै टीकापुरदेखि ढुङ्गाना टोलसम्म २६ किमि। टीकापुरबाट पक्की सडक हुँदैं दक्षिण–पश्चिम जानु पर्छ। हुलाकी सडकदेखि ढुङ्गाना टोलसम्म करिब दुई किलोमिटर कच्ची सडक पार गरेर डल्फिन अवलोकन क्षेत्र पुग्न सकिन्छ।
प्रकाशित: ४ भाद्र २०७३ ०३:०१ शनिबार

