१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

'हरित भूमि'मा नयाँ नेपालको चिन्तन

मोदनाथ प्रश्रित

साझा प्रकाशनद्वारा प्रकाशित चन्द्रकान्त आचार्यको पछिल्लो उपन्यास हरित भूमि नितान्त नयाँ सोच लिएर सामाजिक तथा पर्यावरणीय रूपान्तरणका योजनासाथ प्रस्तुत भएको छ। आफ्ना स्वर्गीय पतिको घरबाट लखेटिएकी यौटी बालबिधवा ब्राह्मणी माइतीमा पनि आश्रय नपाएपछि बेसहारा जीवन बाँच्न नसकिने सोच्तै अँध्यारो रातमा नजिकैको भीरबाट खसेर मर्ने हो कि भनेर त्यता नजर पुर्‍याउँछिन्। त्यसैबेला घर परिवारबाट पिटेर लखेटिएकी यौटी दमिनी केटी भीरबाट खस्न तयार भएको देखिन्छे। त्यो देखेर ती बिधवा युवती दौड्दै त्यसलाई बचाउन पुग्छिन्। त्यसलाई समातेर सुरक्षित स्थानमा ल्याउँदा बँच्ने र बाँच्ने दुवैजनामा जीवनप्रति मीठो भावना जागृत हुन्छ। बाँच्नु धेरै रमाइलो हुने रहेछ भन्ने कुरा त्यस क्षणले साबित गरेपछि ती नारीहरू अब आफू बेसहारा भएको नसोचेर अरुलाई सहयोग गर्न सक्ने आशा लिँदै जीवनको मूलबाटो खोज्न हिँड्छन् र दिदी–बहिनी भएर अध्ययन गर्दै सामाजिक जीवन बिताउन थाल्छन्। अमेरिकामा रहेर उच्च अध्ययन गर्ने नेपाली युवकको हरित भूमि योजनामा सम्मिलित हुने अवसर पाएर यी दिदी–बहिनी देश विकास र सामाजिक रूपान्तरणका योजनामा लाग्छन्।  

बाहुनी दिदी र दमिनी बहिनीको घर अत्यन्त रमाइलो छ। यस घरमा एसएलसी परीक्षामा जिल्ला प्रथम भएर उत्तीर्ण भएकी छोरीलाई बधाई दिन आएका ब्राह्मण पिताले छोरीको अनुहारमा साक्षात् जगन्नाथको मूर्ति देखे। 'जगन्नाथ भगवान्को मन्दिरमा आएर छुवाछूतको कुरा सम्झने?' भन्दै तिनका मनले आफैलाई प्रश्न गर्‍यो र 'देऊ छोरी, तिमी पास भएकोमा मीठो मुख नगराए कहिले गराउने?' भन्दै मानुषी (दमिनी बहिनी)समेत सँगै बसेर सबैले मिठाइ खाए। त्यसैगरी बहिनीलाई आफ्ना पतिको घरभित्र प्रवेश गराएको रमाइलो घटना पनि अत्यन्त मर्मस्पर्शी छ।

हरित भूमिकी नायिका भन्छिन्– 'मैले इहलोकमा जे राम्रा कामहरू गरिरहन्छु त्यसले मेरा पतिको पारलौकिक कर्म राम्रो हुन्छ भन्ने मेरो मान्यता छ। त्यसैले बिधवाहरूले देश र जनताको लागि राम्रो हुने काम अझ बढी गर्नुपर्छ अर्थात्, आफ्ना पतिले गर्नुपर्ने काम पनि हामीले गर्नुपर्छ।' 'सेतो धरती' पढेका पाठकलाई घच्घच्याउँदै जमिन बाँझो नराखेर यसलाई उर्वर बनाउनुपर्ने कुराको सन्देश दिन्छ 'हरित भूमि'ले। सेतो धरतीकी नायिकाले नै यहाँ आएर प्रश्न गरेको देखिन्छ– 'हामीजस्ता सानो उमेरका पुतली खेल विवाह र त्यस्तै वैधव्यको साङ्लोमा जकडिनेहरूले केको आधारमा त्यस्तो सत्मा रहनुपर्ने?'

समयअनुसार परिवर्तित हुँदै जाने, जीवनलाई सुन्दर बनाउने र पर्यावरण बचाउँदै देश विकासको माध्यमको रूपमा हरियालीलाई प्रयोग गर्ने लक्ष्य लिएर सिर्जना गरिएको यस उपन्यासमा हरियो धोती लगाउने नायिकाले उपन्यासको आवरण पृष्ठमा नेपालको हरियो पहाड खप्तडमा हेरेको भावुक क्षण सम्झँदा पाठक अनायास यस उपन्यासको सदाशयताप्रति मुग्ध हुन्छ।

पेसाले इन्जिनियर लेखक आचार्यका अन्य उपन्यासहरू 'ज्वाला', 'मित्रता', 'दासता मुक्ति' र 'न्युयोर्क सुन्दरी'मा जस्तै हरित भूमिमा पनि पुरुष पात्रमा प्रमुख भूमिका इन्जिनियरकै छ। नेपालमै इन्जिनियरिङ विषयमा स्नातक गरेको त्यस पात्रले सुरुका पृष्ठहरूमा नै हाम्रो देशका तराई, पहाडका नदीनाला र हरिया प्रदेशहरूको रसिलो वर्णन गरेर उपन्यास अत्यन्त रोचक भएका कुराको संकेत दिएका छन्। यो रोचकता अन्त्यसम्म अति सुन्दररूपमा बगेको छ। विश्वलाई नै चाहिने हरियालीको सुन्दरपक्ष अर्थात् त्यसभित्र रहेका पानी, पर्यटन, जडीबुटी, जलविद्युत् आदिको  विकासका कुरा नेपालदेखि नै मनमा सुरक्षित राखेर गएको त्यस इन्जिनियरले अमेरिकामा हरित भूमि योजना तयार गर्छ र त्यसैअनुसार अरु सक्रियता अघि बढ्छन्। नेपालको हरियालीमात्र होइन हरियो धोतीमा बेरिएकी मायालाई मनमा राखेर अमेरिका पढ्न गएको इन्जिनियर सुमनले आफ्नो थेसिसमा विश्वलाई नै चाहिने हरियालीको विशेषता बखान गर्दा राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय समस्यालाई नै मनमा राखेको देखिन्छ। उपन्यासका पाना पल्टाउँदा विश्वका ठूला विशेषज्ञहरूलाई आवश्यक पर्ने महŒवपूर्ण कुरा त्यहाँ भेटिन्छन्। उदाहरणको लागि यौटा अनुच्छेद यहाँ उद्धृत गरिन्छ :

'विश्वमा नै पानीको अभाव हुँदै जाने कुरा देखिसकिएको, विकसित देशका औद्योगिक कलकारखानाहरूबाट निस्कने धूवाँको प्रदूषणबाट अन्य दुष्परिणामसहित जलवायु परिवर्तन भएर तापक्रम बढ्दै गई हिमालयको हिउँ पग्लेर नांगा डाँडा बन्ने डर भएको र समुद्री टापुहरू डुब्ने खतरा रहेको आदि नकारात्मक कुरालाई दृष्टिगत गर्दा विश्वकै लागि नभई नहुने चिज हरियाली हो' भनेर भूमिका दिई सुरु गरेको त्यस थेसिसमा विश्वकै उच्च स्थानमा रहेका नेपालका पहाडी शृंखलाहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको थियो। ती पहाडहरूको हरियालीले पानीको स्रोतलाई सुक्न नदिई झर्ना, खोलाखोल्सीहरू र नदीनालाले नेपाललाई जलस्रोतको धनी देश बनाएको कुरा त्यस थेसिसमा समावेश गरिएको थियो। त्यस हरियालीभित्र रहेको पानीबाट बिजुली निकल्न, जंगलभित्र लुकेका जडीबुटीहरूबाट औषधि बनाउन, हरियाली र प्राकृतिक सुन्दरता अवलोकन गर्न, पर्यटन विकास गर्न विश्वभरिका उद्योगी–व्यवसायी र लगानीकर्तामा रूचि जगाउने कुरा थेसिसमा उल्लेख थियो। 'ग्रिन अर्थ' नामकरण गरिएको त्यो थेसिस सुमनले आफ्ना सुपरभाइजरसामु प्रस्तुत गरे।'

यस उपन्यासमा महŒवपूर्ण भूमिका निर्वा गर्ने नायिका माया र त्यस्तै ठूलो भूमिकामा रहेको नायक सुमनको अत्यन्त रोमाञ्चित वातावरणमा देवघाटमा भेट हुन्छ। त्यहाँ नायिका मायाले गीताको प्रवचन दिँदा कर्मयोगको बखान गर्छिन् र देवघाटको नारायणी नदीमा घाट बनाउन र मौलाकालिका मन्दिर पुग्ने केबुलकार बनाउन प्रस्ताव गरेको कुरालाई लेखकको मौलिक सोचको रूपमा लिनुपर्छ। वास्तवमा यौटा नुहाउने घाटसम्म नभएको देवघाटमा यस्ता संरचना चाहिन्छन् भन्ने कुरा पहिलो पटक यस उपन्यासमा पढ्न पाउँदा हर्ष लाग्छ। आध्यात्मिकतामा जकडिएको समाजलाई परिश्रम गरेर देश बनाउने कार्यतिर अग्रसर गराउन यो उपन्यास प्रेरणादायी भएको छ।

जनयुद्धको झझल्को पनि यस उपन्यासमा पाइन्छ र नारी सोच तथा साहस तारिफ गर्नुपर्नेे ढंगले प्रस्तुत गरिएको यौटा अनुच्छेद यहाँ उद्धृत गरिन्छ :

'यहीँ ठेगान लगाइदिनुपर्ने साम्राज्यवादीका दलालहरूलाई! छाडिदिएर पठाउँदा नानाथरी नखरा गर्ने रहेछन्! छिटो हिँड्, होइन भने सबैलाई यहीँ खरानी पारिदिन्छौ,' रमाको छातीमा बन्दुक तेर्स्याउँदै पछिबाट आउने लडाकु गर्ज्यो।

'हान् तागत छ भने। बडो साम्राज्यवादीको दलाल भन्ने रहेछ। के हो साम्राज्यवादी भनेको थाहा छ तँलाई? तेरो कमान्डर आएर दिदीका खुट्टा ढोग्छ थाहा छ तँलाई? ले तेरा सबभन्दा ठूला नेताहरूलाई यहाँ, बताउँछौँ तिनलाई को हो साम्राज्यवादी, को दलाल! मेरी दिदीलाई समातेर कसम खान्छु नेपालीमात्रको उन्नति र विकासको लागि त्यो प्रोजेक्ट ल्याइछाड्छौँ, तेरा छोरा–नातिले त्यहाँ काम पाएपछि बल्ल भन्लास् को रहेछ साम्राज्यवादी दलाल!' रमा मानुषीको अनुहारबाट आगो दन्क्यो। ती लडाकु पानी भए र थचक्क बसे।'

हरित भूमि उपन्यासको भूमिकामा प्रा. राजेन्द्र सुवेदीले लेखेका केही पंक्ति उद्धृत गर्न उपयुक्त लागेको छ। 'अधिकारकर्मीहरूको परियोजनाको विषय बनिरहेको समस्या आचार्यको उपन्यासको विषय बनेको छ। परम्परागत धर्मभीरूहरूको अन्धसमर्थन र रूढीको विषय बनिरहेको समस्या आचार्यको आख्यानकलाको विषय बनेको छ। यथास्थितिको पाखण्ड रचेर समाजलाई संकीर्णतामै राख्न चाहँदै आएको विषय आचार्यका निर्मित संस्कृतिगत उदारताको विषय बनेको छ। समाजका हरेक अंगलाई नयाँ गति र दिशा दिन नचाहने जडसूत्रका पोषकहरूको विषय आचार्यका निम्ति सांस्कृतिक मुक्तिको विषय बनेको छ।'

उपन्यासको प्रकाशकीयमा भनिएजस्तै यस कृतिले विचारलाई व्याख्यामात्र नगरी रूपान्तरणका लागि युवाशक्ति र विचारको अति आवश्यकता छ भन्ने कुरासमेत प्रष्ट्याएको छ। यसमा कमी–कमजोरी नभएका होइनन्, भाषा सलल्ल बगे पनि शुद्धाशुद्धिमा कमजोरी छ भने लामा वाक्यको प्रयोगले असहज वातावरण सिर्जना गरेजस्तो लाग्छ। कुनै कुरा पढ्दै जाँदा त्यस विषयमा अलि विस्तारले गएको भए हुन्थ्यो भन्ने पनि लाग्छ। तर, लेखकको छोटकरीमा धेरै कुरा प्रस्तुत गर्ने शैलीलाई नराम्रो भन्न मिल्दैन।

आचार्यले 'भन्नैपर्ने कुरा'मा कार्ल मार्क्सले लेखेको कुरा 'अहिलेसम्मका दार्शनिकहरूले विश्वलाई व्याख्यामात्र गरे, तर प्रश्न व्याख्याको मात्र होइन, यसलाई कसरी बदल्ने भन्ने हो', उद्धृत गर्दै आफू आश्रयविहीन भएर पनि अरुलाई आश्रय दिन सक्ने क्रान्तिकारी चरित्र निर्माण गर्न आग्ा्रह गरेको पाइयो। त्यसैअनुसारका पात्र निर्माण गरिएको यो उपन्यास पठनीय र संग्रहणीय छ। समग्रमा यस उपन्यासले नयाँ नेपालको चिन्तन बोकेको छ र युवालाई नवनिर्माणको दिशा निर्देशन गर्न प्रेरक बनेको छ।

कृतिः हरित भूमि

विधा :  उपन्यास

लेखकः चन्द्रकान्त आचार्य

प्रकाशकः साझा प्रकाशन

मूल्यः रु २५०/–

पृष्ठः १६२

प्रकाशित: १ श्रावण २०७३ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App