१६ चैत्र २०८० शुक्रबार
अन्य

दशरथ र जुलिया मैयाँको अधुरो प्रेम

काठमाडौं–उतिबेला राणा परिवारका छोरी ठकुरी खलकलाई दिने चलन थियो । हट्टाकट्टा दशरथ चन्द धर्मभक्तको घरमा रहन्थे। उनैसँग दरबार आउजाउ गर्दा रुद्र शमशेरको नजर दशरथमाथि पर्यो । उनले लेखपढ गराई छोरी दिने स्वार्थले आफ्नो दरबारमा दशरथलाई काम दिए । नभन्दै रुद्र शमशेरकी छोरी 'जुलिया मैयाँ'सँग दशरथको मन बस्यो।दशरथले लेखेको पत्र रुद्र शमशेरकी नातिनी मिनाक्षी देवीमार्फत् जुलियालाई पठाइने गरेको उनका दाजु पुरुषोत्तम शमशेर उल्लेख गर्छन् । 'सानी महारानी यो चिट जुलिया मैयाँसाहेबलाई दिइबक्स्योस् है' भनेर फकाउँथे दशरथले ।

प्रेममा परेका दशरथले उनका दाजु ईश्वर शमशेरसँग जुलियाको हात मागे । रुद्र शमशेरसँग सल्लाह हुँदा दरबार निकट भएकाले छोरी दिने निर्णय भयो । १९८८ सालतिर जुलियाको बिहे दशरथसँगै छिनियो । करिब १८ वर्षकी जुलियासँग विवाह गर्न जन्ती लिएर पण्डित ईश्वरीदत्त भट्ट र गणेशदत्त जोशी बैतडीबाट काठमाडौं आए । तर कन्या पक्षका कोही राणाजीको निधनले बिहे रोकियो । दोस्रोपटक पनि बिहेको तिथि तोकियो । पण्डित विष्णुदत्र भट्ट र गणेशदत्त जोशी जन्त लिएर आए । फेरि जुलिया परिवारमा मृत्युशोक प¥यो । बिहे फेरि रोकियो ।

१९९० सालमा सञ्चय कोषसम्बन्धी छलफलमा बोलाइएका रुद्र शमशेरमाथि षड्यन्त्र भयो । श्री ३ जुद्ध शमशेरले जथाभावी गरेको आरोप लगाए । प्रधानसेनापति पदका रुद्र शमशेरलाई सर्वस्व हरण गरी काठमाडांैबाट निकाला गरी पाल्पा पठाए । उनको सुनगहना सबै जुद्ध शमशेरले हत्याए । यसको मार दशरथ चन्दमा बढी प¥यो । उनी क्रुद्ध थिए । जागिरका साथै प्रेमिका जुलियासँग विछोड भयो । आफ्नै परिवार अस्तव्यस्त भएपछि रुद्र शमशेरले पनि बिहेको कुरा बिर्से ।

तर जुलिया र दशरथ चन्दको प्रेम टुंगिएन । पछि बहादुर शमशेरले छोरी दिने उद्देश्यले बोलाए पनि उनी गएनन् । मन जुलियासँगै थियो । जुलिया पाल्पामा क्षयरोगले ग्रस्त भइन् । त्यति हुँदा पनि उनीहरुको प्रेमसम्बन्ध कायमै रह्यो । प्रेमपत्रहरु आदानप्रदान भइरहे । भौतिक शरीरको प्रेम उनीहरुले भोग्न पाएनन् । तर मनदेखिको प्रेम चलिरह्यो । जुलियाले दशरथका लागि अनेकांै उपहार पठाइरहन्थिन् ।

दशरथले सहिद हुँदा पनि नछाडेको खास्टो डम्बरकुमारीले पठाएकी थिइन् । त्यही खास्टो उपहार पठाएको केही दिनपछि नै जुलियाको क्षयरोगका कारण निधन भएको थियो । पकनाजोल बसेका दशरथले जुलियाको मृत्युपछि श्रीमतीको दर्जा दिएर १३ दिन जुठो बारे । त्यसपछि उनले बिहे र प्रेमबारे सोचेनन् ।

प्रकाशित: १५ माघ २०७२ २२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App