४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

शुक्लाफाँटामा खुसीको खबर

मृग प्रजातिको जनावर बाह्रसिंगाका लागि कञ्चनपुरको शुक्लाफाँटा संसारमै प्रख्यात छ। त्यहाँ करिब २२ सय बाह्रसिंगा छन्। बर्दियामा पनि बाह्रसिंगा पाइन्छ। ५५ वर्ग किमिमा फैलेको शुक्लाफाँटामा चरिरहेका सयौं बाह्रसिंगा देखिन्छन्।

मंसिरदेखि खर–खडाई हुन्छ। त्यसपछि पलाउने कमलो मुनामा मुन्टो जोतिरहन्छन्। मुनामा रमाउँछन्। पहार ताप्छन्। आरक्ष प्रवेशद्वारबाट २४ किमि टाढा छ फाँटा। जिप चढेर पुगेपछि देखिन्छन्। त्यहाँ जनावर हेर्नै भनेर काठको मचान बनाइएको छ।

मान्छेको सुइँको पाए भने ती कान ठाडठाडा पारेर हेर्छन्। भालेको टाउकामा सिङ हुन्छ। दुईतिर सिङका छ–छ वटा हाँगा। त्यसैले बाह्रसिंगा भनिएको। एक–दुई वर्षको अन्तरालमा सिङ झर्छ। पलाउँछ।

खासमा शुक्लाफाँटा घुम्ने सिजन फागुनदेखि जेठसम्म। जाडोमा पनि जनावर देखिन्छन्। फाँटामा सबैभन्दा धेरै बाह्रसिंगा छन्। त्यसबाहेक थरीथरीका चरा, चित्तल, पाटेबाघ, गैंडा र जंगली हात्ती लगायतका जनावर भेटिन्छन्। त्यहाँ ५३ प्रजातिका स्तनधारी, ४३० प्रजातिका चरा, १२ किसिमका सरिसृप, २० प्रजातिका उभयचर र ३५ भन्दा बढी प्रजातिका पुतली पाइन्छ। आरक्षको हिरापुर फाँटामा कृष्णसार छन्।

शुक्लाफाँटा वन्यजन्तु आरक्षको इतिहास धेरै पुरानो छैन। सरकारले २०२६ सालमा आरक्ष घोषणा गरेको हो। त्यसअघि त्यहाँ राजपरिवार सिकार खेल्थे। मनोरन्जन लिन्थे। मासु खान्थे।

आरक्षमा विदेशीभन्दा नेपाली बढी घुम्छन्। दिउँसो तीन बजेभित्र आरक्ष प्रवेश गरिसक्नुपर्छ। घाम नडुब्दै बाहिरिनुपर्छ। भित्र जिप ड्राइभ, हात्ती सफारी र जंगल वाक गर्ने सुविधा छ। आरक्षको हात्तीसार छ। त्यहाँ निश्चित शुल्क तिरेर हात्ती सफारी गर्न पाइन्छ।

शुक्लाफाँटा बाहिरको महाकाली पुल पनि नेपालीमाझ चर्चित छ। दोधारा–चाँदनी गाउँलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्न बनाइएको पुल १४ सय मिटर लामो छ। शुक्लाफाँटा सेरोफेरोमा सिद्धबाबा मन्दिर, झिलमिला ताल, बेतकोट ताल, टनकपुर बाँध र महाकाली नदी घुम्न सकिन्छ।

महेन्द्रनगरबाट छ किलोमिटर पश्चिममा पर्छ शुक्लाफाँटा। फाँटाबाहिर पर्यटनकर्मी परमानन्द भण्डारीको शुक्लाफाँटा जंगल कटेज, हेमसागर बरालको टेन्टेड क्याम्प छ। साथै सामान्य चिया पसलहरू छन्। अरू होटल छैनन्। महेन्द्रनगरमा पर्यटकीय सुविधाका होटल छन्। ओपेरा, न्युआनन्द, गंगोत्री, स्वीट ड्रिम, कलश, संगम, दाउना वेभरेज, वेस्ट साइन आदि।

भर्खरै खुुसीको खबर आएको छ, शुक्लाफाँटा आउने पर्यटकलाई सस्तोमा खाना खुवाउन र बास दिलाउन होमस्टे खुलेको। शुक्लाफाँटा प्रवेशद्वारबाट एक किमिमा रहेको नयाँ बस्तीमा राना थारू सामुदायिक होमस्टे सञ्चालनमा आएको छ। मंसिर २७ गते उद्घाटन भएको होमस्टेमा तीन सय रुपैयाँमा कोठा पाइन्छ। दालभातको सय रुपैयाँमात्र।

राना थारू सामुदायिक होमस्टेका सचिव चेतराम रानाका अनुसार नौ घरमा होमस्टे सुविधा छ। हरेकमा पाहुनाका लागि दुई–दुईकोठे भवन बनाइएको छ। माटोको गारो, टायल, खबटा र खरका छाना छन्। होमस्टेलाई आरक्षको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र तराई भूपरिधि कार्यक्रम तालले सघाएको छ।

राना थारू संस्कृति बेग्लै छ। उनीहरू पाहुनालाई होरी, ताने तेनालगायत नाच देखाउँछन्। टाउकोदेखि खुट्टासम्म गहनै गहनाले लगाएर नाच्छन्। गाउँमा सामुदायिक हल छैन, त्यसैले आँगनमै नाच्छन्।

तर एउटा समस्या छ, महेन्द्रनगर बजारबाट त्यहाँ नियमित गाडी चल्दैनन्। व्यवसायीले चलाउनुपर्छ। अर्को कुरा दिल्ली हुँदै तेस्रो विश्वका पर्यटक तान्ने वातावरण मिलाउनुपर्छ। किनकि महेन्द्रनगरबाट दिल्ली काठमाडौंभन्दा नजिक पर्छ। महेन्द्रनगर–काठमाडौं सात सय किमि। महेन्द्रनगर–दिल्ली ३२५ किमिमात्र। विदेशीलाई दिल्ली हुँदै महेन्द्रनगर ल्याएर सुदूरपश्चिम घुमाउने कि!

शुक्लाफाँटाबाट फर्कंदा विजयसालबाट बनेका गिलास, अम्खोरा र ठेकी कोसेली ल्याउन सकिन्छ। महेन्द्रनगरको मेरिट काष्ठकला उद्योगले ती सामान उत्पादन गर्छ। थारू गाउँमा पनि हस्तकला पाइन्छ।

बाह्रसिंगा हेर्न र थारू संस्कृति हेर्न शुक्लाफाँटा यात्रामा निस्कने होइन त!

कसरी पुग्ने : काठमाडौं–महेन्द्रनगर सात सय किमि। काठमाडौंबाट बसमा १८ घन्टा। काठमाडौं–धनगढी हवाई यात्रा एक घन्टा। धनगढी–महेन्द्रनगर ६० किमि। महेन्द्रनगरबाट छ किलोमिटर पश्चिममा शुक्लाफाँटा। शुक्लाफाँटाबाट एक किमिमा होमस्टे।

सस्तो होमस्टे
चेतराम राना
सचिव, सामुदायिक होमस्टे

हाम्रो होमस्टेमा एकैपटक ३६ जना बस्न सक्छन्। लोकल खाना र राना थारू संस्कृति होमस्टेका विशेषता हुन्। तीन सय रुपैयाँमा अट्याच बाथरुमसहित कोठा र सय रुपैयाँमा खाना पाइन्छ। विदेशीभन्दा नेपाली बढी खर्चालु हुन्छन्। हाम्रा मुख्य ग्राहक नेपाली हुन्।

सम्पर्क : ९८४८७०५४४७

प्रकाशित: ३ पुस २०७२ २२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App