८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

वाबुडाँडाबाट धरान नियाल्दा

भदौको तेस्रो शनिबार धरान रन कार्यक्रममा सहभागी भएको थिएँ। सोमबार (भदौ २८ गते ) पाँचकन्यातर्फ १२ किलोमिटर हाइकिङ जाने सल्लाह भयो। धरानेलाई नियमित हाइकिङमा लैजाने युकेबाट फर्किएका गोपाल राईको योजना रहेछ। तर, सोमबार आउनुअघि नै मेरो हाइकिङको गन्तव्य फेरियो।आइतबार धरानदेखि उत्तरपश्चिम विष्णुपादुकास्थित वाबु डाँडातिर हान्निएँ। विष्णुपादुका गाविस धरानमा गाभिएपछि उपमहानगरपालिका भइसकेको छ। त्यसअघि भर्खर ट्र्याक खुलेको बाटो उद्घाटनमा मोटरसाइकलबाट वाबुडाँडा एकपटक पुगेको थिएँ। यसपटक किरात राई यायोक्खाले आयोजना गरेको 'वाबु डाँडाबाट किरात प्रदेश हेर्दा' कार्यक्रममा कलाकार, पत्रकारको टोलीमा म पनि थिएँ।

वाबुडाँडाबाट टि आकारमा फिँजिएको धरानलाई ९९ प्रतिशत नियाल्न सकिन्छ। अन्त कतैबाट धरानको यस्तो स्वरूप हेर्न सकिँदैन। यसकारण धरानेहरू यो डाँडातिर उक्लिन थालेका छन्। धरानलाई पृष्ठभूमिमा राखेर खिचेको फोटो फेसबुकमा शेयर गर्नेको संख्या बढिरहेको छ। वर्षाबाहेक अरू समय साना गाडी र मोटरसाइकल पनि पुग्छन्। तर, अधिकांश धरानेहरू फुर्सदमा हिँडेरै जान थालेका छन्। हाइकिङप्रति धरानेहरूको आकर्षण बढ्दो छ। हुन त हरेक बिहान सबेरै जिरोप्वाइन्टसम्म मर्निङ वाकमा जाने र फर्कनेहरूको ताँती हुन्छ। आफ्नो स्वास्थ्यप्रति धराने धेरैअघिदेखि सचेत छन्। तर, आसपासको गाउँघर, हरियाली डाँडापाखातिर डुल्न थालेको भने धेरै भएको छैन।

वाबुडाँडालाई रमितेडाँडा, चिण्डेडाँडा र शिवहाङ डाँडा अनेक नामले पनि चिनिन्छ। अहिले यो धरान २४ वडामा पर्छ। घिरौंलाको एक प्रजाति हो, चिण्डो। जसलाई किरात राई जातिले आफ्नो संस्कारमा प्रयोग गर्छन्। यो डाँडा चिण्डोजस्तै भएकाले चिण्डोडाँडा भनिएको मानिन्छ। त्यही नाम अपभ्रंस हुदै चिण्डे हुन पुगेको हो।

राई भाषामा चिण्डोलाई वाबु भनिन्छ। डाँडामा पुग्न धरानबाट करिब ४ किलोमिटर उकालो चढ्नुपर्छ। यायोक्खाले धरानलाई सांकेतिक रूपमा किरात प्रदेश मानेर वाबुडाँडाबाट हेर्ने कार्यक्रम बनायो। एक रात त्यही बिताउने र सोमबार बिहानमात्रै फर्कने योजना थियो।

यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई, समाजसेवी रमेश राई, चित्र (मूर्ति) कारद्वय महेन्द्र राई र जीवन पौडेल, यायोक्खा जिल्ला सहसचिव हिन्दुहाङ राई, पत्रकारहरू जनकऋषि राई, उपेन्द्र चाम्लिङ, भोजराज श्रेष्ठ, विकास राई, शिशिर भाइलगायत ११ जनाको टोली बन्यो। हिँड्न ढिला भइसकेको थियो। अढाइ बजेतिर धरान १३ देवीमार्गसम्म गाडीमा पुग्यांै। सर्दु खोलामा झोलुंगे पुल छ। पारि पुगेर केही बेर फोटोसेसन गर्यौंढ। पहिला सर्दु धरान र विष्णुपादुकाको सिमाना थियो। यो पुल बनेपछि गाविसका बासिन्दालाई धरान आउन धेरै सहज भयो। धरानेका लागि भने साँझ–बिहान घुम्न आउने ठाउँ बनेको छ। पुलपारि आधा दर्जन रिसोर्ट खुलिसकेको छ।

झोलुंगे पुल कटेपछि उकालो चढ्नुपर्छ। केही सामान पनि भएकाले रमेश र तिलक दाइ बाइकमा। हामी पैदल यात्रामा। हिँड्ने बानी छुटिसकेको छ। केही छिनमै पसिनाले लुथ्रुक्क भिजियो। उकालोमा सास बढेर गाह्रो होला जस्तो पनि। ठाउँठाउँमा सुस्ताउँदै, गफिँदै टोली अघि बढिरह्यो। विकास जि पिस मास्टर छन्। कलाकार महेन्द्रलाई पात्र बनाएर पिस सुनाएको सुनायै। अरू हाँसेको हाँस्यै। यसले बाटो काट्न सहज बनाएको छ। कलाकार महेन्द्र भने आफ्नै पिस सुनेर बेलाबेला हाँस्छन् र रिसाउँछन् पनि। तर विकास पिस बनाउन छोडे पो? जनक दाइको हासो सुन्नेहरू पनि नहाँसी बस्न सक्दैनन्। नयाँ मान्छेले जनक दाइको हाँसो सुन्यो भने सुरुमा तर्सिन्छ जस्तो लाग्छ।

बाटो गाउँलेले आफैंले बनाएका। वर्षाले ठाउँठाउँमा पहिरो जाँदा निकै अप्ठ्यारो रहेछ। रमेश दाइको मोटरसाइकल विकासले चलाए। दाइ हामीसँगै पैदलयात्री बन्नुभो। यो बाटोमा म र रमेश दाइ पहिलोपटक हिँड्दै थियौं। अरू भने बेलाबेला हाइकिङ आइरहने रहेछन्। निक्कै गलिसकेका थियौं। बाटोको एउटा घुम्तीमा पसल रहेछ। त्यहाँ चाउचाउ र कोल्डड्रिंक्स लियौं। गन्तव्यबाट नजिक थियौं। तर, ठाडो उकालो बाटो रहेछ। रमेश दाइले त निक्कै हरेश खाइसक्नुभएको थियो। घरिघरि फर्कने कुरा गर्नुहुन्थ्यो। खराब बाटोमा विकासले मेरो मोटरसाइकल कसरी लग्यो होला भनेर चिन्ता पनि गर्नुहुन्थ्यो। जनक दाइले 'दाइ त एक छिन घाममा हिँड्दा डढेर रजनीकान्त हुनुभएछ' भन्दा जुरुक्क उठेर मोटरसाइकलको ऐना हेर्नुभो। हामी सबै हाँस्यौं।

झन्डै २ घन्टा यात्रापछि वाबुडाँडाको शिरानमा टेक्यौं। धरानतिर फर्केर हेर्दा सबैको मन फुरुंग भएको प्रस्टै देखियो। सबैले धरानलाई पृष्ठभूमिमा राखेर फोटो खिच्यौं। धरानको निराजन बस्तीमात्र त नदेखिने रहेछ। माथि भेडेटारदेखि दक्षिणतिर जंगल र तराईका फाँट पनि मजाले हेर्यौंध। धन्न, मौसमले पनि साथ दियो। वरिपरि हरियाली। विजयपुर डाँडा, धरान रंगशाला, बिपी प्रतिष्ठान र त्यहाँको गल्फ कोर्स कति सुन्दर दृश्य।

सरकारले धरानलाई हरित नगरी बनाउने घोषणा गरेको छ। तर, यहाँबाट हेर्दा यस्तो लाग्छ, धरान त जंगलबीचमा उमि्रएको सहर हो। प्रत्येक घरमा रूखबिरुवा र हरियाली देखिन्छ। टि आकारमा बसेको चिटिक्कको सहर। यायोक्खाले कल्पना गरेको किरात प्रदेशको राजधानी। केही राजनीतिक दल, संगठनले पनि धरानलाई एक नम्बर प्रदेशको राजधानी बनाउन लबिङ गरिरहेकै छन्।

बाटोमा हिँड्दा थाकेर बित्थैमा आएछु भन्नुहुन्थ्यो रमेश दाइ। वाबुडाँडाको शिरमा पुगेपछि भने रमाउनुभो। 'धरानमै हुर्केर, बसेर यो उमेर भयो। यस्तो रमणीय, सुन्दर ठाउँमा आएकै रहेनछु,' दाइले ठट्यौली पारा भन्नुभयो, 'म मेरी प्रियसी लिएर अवश्य आउनेछु।' हामीले जिस्क्यायौं, 'भाउजूले मार्नुहोला नि।' दाइको जवाफ थियो, 'मेरी प्रियसी उनै त हुन्।'

कृषि उपज बजारस्थलका व्यापारी भाइ हेमचन्द्र ढकालसँग अचानक भेट भयो। उनी त यहाँ हरेक दिन इभिनिङ वाकका लागि आउँदा रहेछन्। बजार बन्द हुँदा अरू साथी पनि आउँछन्, नत्र प्रायः एक्लै। खलखली पसिना निस्कने, धुँवाधुलोदेखि टाढा, स्वच्छ हरियाली वातावरणले वाबुडाँडा आफ्नो गन्तव्य बनेको उनले सुनाए।

यायोक्खाको झन्डोत्तोलन कार्यक्रम राखिएको थियो। तयारी हुँदै थियो। फोटो पत्रकार उपेन्द्र चाम्लिङ दाइले एउटा लाठीले सेतो भालेको टाउकोमा हिर्काएर खुत्रुकै पार्नुभो। उहाँले घरवालासँग अघि नै कुरा मिलाइसक्नुभएको रहेछ। बेलुका त्यसको सुप खाने उहाँको योजना। ७ वर्षदेखि पालेको भाले। भालेको दुइटा मुटु थियो रे। धरान २४ को वडा नागरिक मञ्चका संयोजक कर्ण तामाङ आइपुगे। विष्णुपादुकाको पर्यटन सम्भाव्यताबारे लामो गफ चल्यो। उनले वाबुडाँडासँगै विष्णुपादुका मन्दिर, सिद्धपोखरी, सुलिकोट (सुलिथान), भालढुंगास्थित सूर्यकुण्ड लगायत समेटेर पर्यटन विकास गर्न सकिने सुनाए। यही डाँडाबाट प्याराग्लाइडिङ पनि हुन्छ।

हामीसँग गएका २ जना कलाकार अघि नै हराइसकेछन्। म खोज्न निस्किएँ। वाबुडाँडा पर्तिर भिरालो ठाउँमा बसेर धरानलाई रङ र ब्रसले पोत्दै पो रहेछन्। भेटेर तस्बिर लिएँ। जब रात पर्दै गयो, तल धरान भने तिहारमा दियो बलेजस्तै पिलिकपिलिक बल्न थाल्यो। एकै छिनमा धरान झिलिमिलि सहरमा परिणत भयो। कुनै युरोपको सहरझंै देखियो। तोम्बा र कोदोको चुस्कीसँगै खुला चौरमा बसेर नियालिरह्यांै। विकास र म झिलिमिली तस्बिर कैद गर्न पनि चुकेनौं।

राति भालेको सुप पिएर रमेश दाइ, उपेन्द्र दाइ, हिन्दुहाङ र भोजराज फर्कने भए। बाँकी त्यहीँ बस्ने भयौं। डाँडामा ३ वटा घरमा बस्ने सुविधा छ। हामी प्रेमकुमार राईको घरमा बस्ने भयौं। उनको घर ठ्याक्कै डाँडामा छ, जहाँबाट धरानलाई मजाले नियाल्न सकिन्छ। तर, व्यवस्थित बासको अभाव रहेछ। होटल सञ्चालक राईले होमस्टेको तयारी गरेका छन्।

उनका अनुसार एक समय ब्रिटिश आर्मी भर्ती हुन चाहने युवामात्रै डोको क्यारी गरेर डाँडासम्म आउँथे। अचेल भने दिनहँु धराने आउँछन्। 'छुट्टीको दिन, शनिबार र सोमबार त पाइला टेक्ने ठाउँ हुदैन,' उनले भने। पाहुनालाई उनी अर्डरअनुसार लोकल कुखुरा, बंगुरको मासुसँग खाना खुवाउँछन्। तोम्बा र कोदोको रक्सी पनि चाख्न पाइन्छ। व्यवस्थित नभएकाले बास बस्न पैसा लिँदैनन्। जनक दाइ र रमेश दाइले त चाँडै भाउजूसँग आउने वाचा पनि गरिसकेका छन्। त्यति बेलासम्म प्रेम दाइको होमस्टे सुरु भइसक्ने आशा छ।

तिलक राई
केन्द्रीय उपाध्यक्ष, किरात राई यायोक्खा
सरोकारवालाले वाबुडाँडामात्रै होइन, समग्र विष्णुपादुकाको पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्छ। प्रकृति सुहाउँदो घर, टहरा बनाउनुपर्छ। पर्यटकबाट कोषका लागि थोरै रकम उठाउने व्यवस्था हुनुपर्छ, जसबाट भ्युटावर र सांस्कृतिक पहिचानका संरचना बनाउन सकियोस्।

कर्णबहादुर तामाङ
संयोजक वडा नागरिक मञ्च, धरान २४
धरानको शिरको गहना र महाभारत पर्वतको काखमा रहेको सुन्दर ठाउँ हो, विष्णुपादुका। जहाँ विष्णुपादुका मन्दिर, सुलिथान, सिद्धपोखरी र सूर्यकुण्ड लगायतका सम्पदा छन्। यहाँसम्म आउने बाटो त बनायौं, तर बर्खामा बिग्रिरहन्छ। सर्दु खोलामा झोलुंगे पुल भए पनि पक्की नहुँदा समस्या छ। यसमा सरकारले ध्यान दिनुपर्योा।

प्रेमकुमार राई
होटल सञ्चालक
म ५६ सालदेखि होटल चलाउँदै आएको छु। पहिला आक्कलझुक्कल आउँथे। भर्ती हुन चाहनेहरू भारी बोकेर आउँथे। अचेल घुम्न धेरै आउँछन्। रात बस्ने गरी पनि आउँछन्। चाँडै होमस्टे सुरु गर्छु। यहाँ केही आकर्षक प्वाइन्ट बनाइदिनुपर्छ। वाबुडाँडा भएकाले यहाँ वाबु (चिण्डो) को प्रतिमा बनाए राम्रो हुन्छ।

प्रकाशित: १ आश्विन २०७२ २२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App