९ माघ २०८२ शुक्रबार
image/svg+xml
विचार

जेन-जी अतिरञ्जना

स्कुल पोसाकमै आन्दोलनका सहभागी १८ वर्षे किशोरको टाउकोमा गोली लागि ढलेको दृश्य र आन्दोलनको मानक बनेको रगतले लतपतिएको सेतो जुत्ता शासकीय असन्तुष्टिविरुद्धको युवा विद्रोहको ऐतिहासिक विम्ब बनेर सुदूर भविष्यसम्म रहनेछ। आन्दोलनका सहभागी, सहिद वा आन्दोलनका नाममा भएका प्रतिशोध, अपराध कति परिवर्तनका लागि थिए? कति भवितव्य थिए? कति पूर्वयोजनाअनुसार आतंक थियो? भन्ने कुरा केही छानबिनले देखाउला, केही इतिहासकै गर्भमा रहला।

क्रान्ति, विद्रोह वा रूपान्तरण जे भने पनि अहिले यसलाई नागरिकको असन्तुष्टिको विष्फोटनका रूपमा बुझौं। क्रान्तिपछाडिको सङ्क्रमणकालको व्यवस्थापन कुशल नेतृत्वको हातमा पर्‍यो भने रूपान्तरण संस्थागत होला, परेन भने दशकैपिच्छेका विद्रोहले जनधन क्षति भइरहने, मुलुक राजनीतिक प्रयोगशाला बनिरहने हुन्छ। जसको हामी भुक्तभोगी नै छौं।

भदौ २३ र २४ को विद्रोहपछिको एक बिहान मेरो आठ वर्षको छोराले ‘मामु, म जेनजी कहिले हुन्छु?’ भनेर सोध्यो।

तिमी अल्फा हौ, जेनजी होइनौ भनेको रिसाउँदै स्कुल गयो। अर्को दिन खेल्ने बन्दुक लिएर जेनजीलाई मार्ने भन्दै साथीसँग खेलिरहेको थियो। त्यस्तै मेरी ७६ वर्षकी सासू आमाले आफ्नी २२ वर्षे नातिनीलाई कलेज जान तयार पर्दै गर्दा ‘नानी जेनजीमा नजाऊ है, कति दुःखले हुर्काएका छोराछोरी आफ्नो काम/पढाइ खुरुखुरु नगरेर बित्थामा केका लागि मर्नु’ भनेर सम्झाउँदै हुनुहुन्थ्यो। युवाको विद्रोह भनिएको यही आन्दोलनपछि निजामती पोसाकमा सार्वजनिक बसमा कार्यालय जाँदै गर्नुभएका एकजना साथीलाई सोही बसमा सवार १८–२० वर्षका देखिने ४–५ जना मध्यम वर्गीय युवा देख्दा यस्तै कर्मचारीले भ्रष्टाचार गरेर हामीले दुःख पाएको भन्दै पिट्न आउने हुन् कि भन्ने डर लागेको मनोभाव सुनाउनुभएको थियो।

काठमाडौं विश्वविद्यालयको कला विभागमा अध्ययनरत केही विद्यार्थीले जेनजी शब्दको अतिरञ्जनाले आफूलाई आफ्नो उमेर र यो पुस्ताको भन्न नै दिक्क लाग्न थालेको बताएका थिए। एउटा निश्चित कालखण्डमा जन्मिएका मान्छेप्रतिको बालकदेखि वृद्धासम्मको यो अबोध बुझाइ र मनोविज्ञान त्यो पुस्तालाई चिनाउने मानक बनेको छ।

अरूको प्यारो हुन जे पनि गर्ने, आफ्नो विवेक प्रयोग नगरी होमा हो मिलाउने हाम्रो सामाजिक संस्कारका कारण अहिले सबैले आफूलाई सुशासनका अभियन्ताका रूपमा म पनि जेनजी हो भन्दै जेनजी हुने होडबाजी चलेको छ।

उमेरले नभए पनि विचारले जेनजी हुँ भन्दै आफ्नो पुस्तालाई गाली गर्ने र जेनजीसँग सुधार गर्ने जादुको छडी भएझैं उच्च राजनीतिज्ञ, प्रशासक, विश्लेषक, विज्ञले आफूलाई जेनजीको समर्थक हुँ भन्दै जेनजीको नाममा भएका जस्तासुकै कामकारबाहीमा वाहवाही मात्रै गरेको देखिन्छ।

व्यक्तिगत मात्र होइन, यहाँ त राज्य संयन्त्र नै जेनजी शब्दको पछि यसरी लागेको छ कि यो देशमा १२ देखि २८ वर्ष उमेर समूहको जनसंख्या मात्र बसोबास गर्छ र यही वर्गको उत्थानका लागि राज्यका सबै संयन्त्र र स्रोत परिचालन गर्नुपर्छ।

जेनजी मन्त्रालय, विभाग, आयोग, परिषद् खोल्ने अल्पकालीन विषयको चर्चा सुनिन्छ। बालबालिका र युवालक्षित कार्यक्रमले पुगेन, जेनजीलक्षित नै चाहियो भनेर आन्दोलनपछिका केही हप्ता मन्त्रालयहरूमा घनीभूत छलफल पनि भए।

सबै सार्वजनिक निकायमा सुपरीवेक्षण र निर्देशनका लागि एकएक टोली जेनजी राखेर सुधार गरी सुशासन स्थापना गर्ने केही प्रयास पनि भएँ।

जेनजीको प्रतिनिधित्व गरेर सरकारी कार्यालयमा अनधिकृत तरिकाले खटिएका केही युवाले अनुगमन भन्दै कर्मचारीलाई गैरकानुनी प्रश्न गरेको, आफ्नो जिम्मेवारीभन्दा बाहिरका सवाल गरी र्‍याखर्‍याख्ती पारेको, शाखामा नभेटिएका कर्मचारीलाई अब अफिस नआउनु भनिदिनु भनेर नयाँ पजनी प्रथा सुरु गर्न खोजेकोसम्मका खबर पनि सुन्नमा आए। अनुभवी राजनीतिज्ञ तथा प्रशासकले समेत यसैमा होमा हो मिलाएको पनि सुनियो। कतिलाई सुधारको प्रक्रिया यस्तो होइन भन्ने लागे पनि खुलेर बोल्न सक्ने वातावरण भएन।

आखिर के हो त यो जेड जेनेरेसन? यसको कुनै औपचारिक परिभाषा नभए पनि विकिपिडियाले सन् १९९६ पछि सन् २०१२ सम्म जन्मिएका मान्छेहरू जुन हुर्किंदै सूचना प्रविधिसँग साक्षात्कार गर्दै हुर्किएको पुस्ता भनेको छ। सूचनाको सहज पहुँचले यो पुस्ताले विश्वव्यापी घटनाक्रमको विश्लेषण गर्ने, आफ्नो स्वतन्त्र विचार निर्माण गर्ने, स्वतन्त्रता र आत्मनिर्भरता रुचाउने स्वभावका हुन्छन् भनेर विश्लेषण गरिएको छ।

खासमा मान्छेलाई उमेरका आधारमा यसरी वर्गीकरण गर्नुको अन्य कुनै सैद्धान्तिक वा जैविक आधार छैन। सूचना प्रविधिको विकासक्रमलाई गुणस्तर, पहुँच र प्रयोगको आधारमा वर्गीकरण गर्दा सोही समयमा जन्मिएका मान्छेलाई पनि सूचना प्रविधिको पुस्ताको नाम दिइएको मात्र हो।

यो समयमा जन्मिएका व्यक्तिहरू अन्य पुस्ताभन्दा फरक कुनै अलौकिक क्षमताका हुने, जन्मिँदै शासकीय गुण भएका वा उत्कृष्ट विचार तथा व्यवहारका हुन्छन् भन्ने न कुनै अध्ययनले देखाएको छ, न कुनै प्रमाण भेटिएको छ।

जुनसुकै उमेरमा पनि बुद्ध वा बुद्धु, सदाचारी वा भ्रष्टाचारी, साधु वा चोर, सुधार्ने वा बिगार्ने हुन्छन्। रामको समयमा रावण, कृष्णको समयमा कंश, बुद्धको समयमा अंगुलीमाल, अहिंसा र सत्याग्रहको माध्यमबाट भारतीय स्वतन्त्रता संग्राममा होमिएका महात्मा गान्धीको समयमा जर्मनीमा एडल्फ हिटलर र सोभियत रुसमा जोसेफ स्टालिन विरोधीलाई सफया गरी शक्तिशाली हुने अभियानमा थिए।

यता एसियामा एउटै समयमा ली क्वान यू, महाथिर मोहमद, पार्क चुङ हीले सिंगापुर, मलेसिया, दक्षिण कोरियामा आधुनिकता, आर्थिक, सामाजिक, पूर्वाधार विकासमार्फत समग्र रूपान्तरणको अभियान चलाएको बेला इन्डोनेसियाका सुहार्तोले क्रूरता र भ्रष्टाचारमा नाम कमाएका थिए। त्यसैले व्यक्तिको चरित्र कहिले र कहाँ जन्मियो भन्दा पनि उसले शैशव कालदेखि पाएको हेरचाह, प्रेम, पारिवारिक वातावरण, हुर्किएको समाजको चेतना, शिक्षा र व्यक्तिको आफ्नो चेतनाले निर्धारण गर्छ।

यति कुरो बुझ्न र बुझाउन सके पुस्ताको आधारमा भइरहेको नैतिकताको विश्लेषण, दानवीकरण, देवत्वकरण, विभाजन र दोषारोपण कम भई विगतका कमजोरी विश्लेषण गरी वर्तमानमा सुधारको सामूहिक पहल सार्थक हुनसक्छ।

सात दशकको प्रजातन्त्रको अभ्यासको यात्रामा नागरिकका आधारभूत नागरिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य पहिचानजन्य हक र अहिले उपभोग गरिँदै आएको बहुआयामिक स्वतन्त्रताका लागि अगाडिको पुस्ताले गरेको योगदानलाई कदर गर्दै सुशासन स्थापनामा नयाँ पुस्ताको भूमिका बढाउने विषयको सान्दर्भिकता सधैं रहन्छ।

यी उपलब्धीलाई सम्मान गर्दै सबल संस्थागत संरचना, सामयिक कानुन र तीनको सबैलाई समान रूपमा  प्रयोग, सार्वजनिक पदमा योग्यता प्रणाली, नैतिक संगठन र निर्णय प्रक्रिया, सार्वजनिक सेवामा नागरिकको सहज पहुँचजस्ता कामबाट मात्र नागरिकले सुशासनको अनुभूति गर्छन्, न कि सुशासनको स्वैरकल्पनाले शासकीय विकृति निर्मूल हुन्छ। यो विषयलाई नयाँ पुस्तामा वैचारिक मूल प्रवाहीकरण गर्नु जरुरी देखिन्छ।

सदाचारिता, समन्वयकारी गुण, वैचारिक लचकता, क्षमाशीलता, धैर्य, आलोचना सहन सक्ने क्षमता, जनताको मन जित्ने कला भएको शासकीय नेतृत्वले लोकतन्त्रलाई लयमा डोर्‍याउन सक्छ।

लोकतन्त्र सामूहिक शासन हो, एउटै व्यक्तिमा सबै गुण नहोला, शासनका विभिन्न तहमा यस्ता गुणको प्रचुरता भएका व्यक्ति आउने र तिनलाई काम गर्न सक्ने वातावरण निर्माण सुधारको प्रस्थान विन्दु हुन सक्छ। कुशल नेतृत्व, सुदृढ संस्था, स्रोतसाधनको उपलब्धता, स्रोतसाधन परिचालनप्रतिको सार्वजनिक जवाफदेहिता, सार्वजनिक कार्यसम्पादनमा पारदर्शिता र नागरिक सचेतनाको संयुक्त प्रयासले मात्र लोकतन्त्र संस्थागत हुन्छ।

अन्यथा भावोत्तेजक भाषणको बहकाउमा लाग्ने, तथ्यपरक रणनीतिक कार्ययोजनाबेगरका आश्वासन पत्याउने, राम्रो शैक्षिक पृष्ठभूमि, उत्कृष्ट अभिनय, कुनै एक क्षेत्रमा सफलता पायो भन्दैमा मन्त्री÷प्रधानमन्त्री बनाइहाल्नुपर्ने, मिडियाबाजी, भाइरल कन्टेन्ट, चर्को स्वरले गालीगलौज र आलोचना गर्नेहरूलाई आदर्श मानेर युवा अपेक्षा चुलिने र छिटै निराश हुने, आज प्रधानमन्त्री फलानो चाहिन्छ भनेर आन्दोलन गर्ने, सानो अपेक्षा पूरा नहुँदैमा राजीनामा मागिहाल्ने प्रवृत्तिले राजनीतिक,  आर्थिक, सामाजिक विकासको आधार नै मजबुत हुन पाउदैन।

कोरिया, सिंगापुर र मलेसियाको विकासमा एउटै राजनीतिक नेतृत्वले २० देखि ३० वर्ष शासन गरेर विकासको त्यो तहमा पुगेको कुरा युवालाई बुझाउनु जरुरी छ। जोसुकै निर्वाचित प्रतिनिधिलाई काम गरी नतिजा देखाउन नगरिकको धैर्य, सहयोग र सरकारप्रतिको विश्वास अपरिहार्य भएको विषयमा नागरिक शिक्षा आवश्यक देखिन्छ।

लोकतन्त्र संस्थागत भएका मुलुकको विगत अध्ययन गर्दा तीनदेखि चारवटा आवधिक निर्वाचनपछि मात्र शासनमा सुधारको नतिजा देखिएको पाइन्छ। परिमार्जित संवैधानिक अभ्यास र शासनको अनुभवले पनि विकृति हट्दै जान्छ।

निष्पक्ष र स्वतन्त्र निर्वाचन, राजनीतिक स्थिरता, पारदर्शी सरकार गठन र विगठनको प्रक्रिया, कानुनको शासन, नीतिनिर्माण तथा कार्यान्वयनमा नागरिकको अर्थपूर्ण सहभागिता, सरकार/सार्वजनिक संस्था/समाज र नागरिकको इमानदार भूमिकाले मात्र शासकीय सुधार हुन्छ।

 नेपालको शासकीय प्रणाली एक जनाले बिगारेको पनि होइन र एउटाले सुधार्न पनि सक्दैन। शासन कुनै खास उमेर र अद्भूत क्षमताले गर्ने होइन, विगतको अनुभव र नवीन विचारको संयोजनबाट निस्किएको ऊर्जाले शासनमा उत्कृष्टता ल्याउँछ। व्यक्ति फेरेर, शक्ति र भूमिका बदलिएर होइन, सामूहिक चेतना बदलिएर मात्र रूपान्तरण हुन्छ।

विगतदेखि भएको भ्रष्टाचारको तुलनामा कति गुणा बढी क्षति भ्रष्टाचारविरुद्धको आन्दोलनमा भयो? सुशासन स्थापनाका लागि भएको आन्दोलनले कति संस्थागत पूर्वाधार र सूचनामा क्षति भयो? आन्तरिक रोजगारी सिर्जना र आर्थिक वृद्धिको जग कति हल्लियो? यसको विश्लेषण र प्रभावको मूल्यांकन गर्दै आगामी दिनमा २० वर्षअगाडि घिस्रिएको मुलुकलाई ५० वर्षपछाडि धकेल्ने यस्ता विद्रोह, आन्दोलन आतंकलाई सबै पक्षले निरुत्साहित गर्नुपर्छ।  

प्रकाशित: २४ पुस २०८२ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App