२६ असार २०८३ शुक्रबार
image/svg+xml
विचार

विश्वकपका प्रशंसायोग्य साना टोली

सबैले आशा गरेझैं विश्वविजेता अर्जेन्टिनाले केप भर्डेलाई हराउने निश्चितजस्तै देखिन्थ्यो तर अतिरिक्त समय निकै अघि बढिसकेपछि एक अद्भुत क्षण आयो। २३ वर्षीय तर १७ वर्षका जस्ता देखिने सिड्नी लोपेस काब्रालले बायाँ किनाराबाट पास पाए। उनले हेडका लागि बल उचालेर बक्समा पठाउने सट्टा एक्कासि दिशा परिवर्तन गरे। त्यसले अर्जेन्टिनी डिफेन्डरलाई गलत दिशातर्फ चिप्लिन बाध्य बनायो। त्यसपछि उनले घुमाउरो प्रहार गरे, जुन अर्जेन्टिनाको गोलपोस्टको सबैभन्दा टाढाको र गोलरक्षकका लागि असम्भवजस्तै कुनामा पुगेर जाली चुम्यो।

केप भर्डे विश्वविजेताविरुद्ध मैदानमा उत्रिएको करिब पाँच लाख जनसंख्या भएको एउटा सानो द्वीपीय राष्ट्र हो। केही वर्षअघिसम्म जर्मनीको पाँचौं श्रेणीको लिगका हिलाम्मे मैदानमा खेलिरहेका एक खेलाडीले अहिले विश्व फुटबलमा इतिहास रचेका छन्। अर्जेन्टिनाका कट्टर समर्थकहरूले समेत त्यो क्षणलाई अनुपम सुन्दरताको क्षण भनेर स्वीकार गर्न बाध्य भएका छन्।

यस वर्षको विश्वकप सुरु हुनुअघि एउटा गुनासो व्यापक थियो। प्रतियोगितामा सहभागी टोलीको संख्या ३२ बाट ४८ पु¥याइएपछि धेरै ‘साना’ टोलीहरूलाई अनावश्यक रूपमा प्रवेश दिइएको भन्दै पुराना फुटबल विश्लेषकहरूले असन्तुष्टि व्यक्त गरेका थिए। केप भर्डे, कुरासाओ, हाइटी, उज्बेकिस्तानयस्ता टोलीको नाम नै कसले सुनेको छ र? भन्ने प्रश्न उठाइन्थ्यो।

मैदानमा देखिएको वास्तविकता फरक रह्यो। केप भर्डे समूह चरणमा अपराजित रह्यो। कुरासाओले चेल्सीका स्टार मोइसेस काइसेडोको नेतृत्वमा रहेको इक्वेडरसँग बराबरी खेल्यो। यसैगरी, फुटबलका हिसाबले सानो मानिने, यद्यपि भूगोलका हिसाबले विशाल, कंगो लोकतान्त्रिक गणतन्त्रले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई बराबरीमा रोक्यो र इंग्ल्यान्डलाई पनि कडा चुनौती दियो।

यतिमै यो शृंखला सकिएन। पाराग्वेले शक्तिशाली जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठायो। मोरक्कोले नेदरल्यान्ड्सलाई पराजित गर्‍यो। अत्यन्त धनी भए पनि आकारमा सानो नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई घर फर्काइदियो। अहिलेसम्मको विश्वकप वास्तवमै साना टोलीहरूको विश्वकप बनेको छ। महाशक्तिहरूबिचको प्रतिस्पर्धा र विशाल प्रविधि कम्पनीहरूको प्रभुत्वले भरिएको आजको संसारमा ठुलाले सधैं जित्छन् भन्ने सोच्नु स्वाभाविक लाग्न सक्छ तर वास्तविकता त्यस्तो देखिएन।

व्यवसायको संसारलाई नै हेरौं। करिब २५ वर्षअघि गुगल एउटा सानो कम्पनी मात्र थियो। मेटा र टेस्ला त अस्तित्वमै थिएनन्। सन् २००० मा नास्डाकका शीर्ष १०० कम्पनीमध्ये झन्डै एकतिहाइ कम्पनी त्यतिबेला सार्वजनिक रूपमा सूचीकृत पनि भएका थिएनन्। आज अमेरिकी गर्मीमा विश्वकप खेलिरहेका खेलाडीहरूजस्तै कतै कुनै नयाँ कम्पनी जन्मिइरहेको हुन सक्छ, जसले भविष्यमा आजका प्रविधि दिग्गजहरूलाई विस्थापित गर्नेछ।

त्यही अवधिमा आर्थिक रूपमा असाधारण सफलता हासिल गरेका देशहरू हेर्ने हो भने सिंगापुर, बोत्स्वाना र आयरल्यान्ड अग्रपंक्तिमा पर्छन्। सफलता मापनको मापदण्ड केही फराकिलो बनाउने हो भने न्युजिल्यान्ड, पानामा र उरुग्वे पनि त्यही सूचीमा पर्छन्। ‘सानो’ देशको परिभाषालाई केही लचिलो बनाउने हो भने करिब डेढ करोड जनसंख्या भएको रुवान्डाले पनि स्थान पाउँछ। अनि २०२० यता तेल उत्पादनका कारण वार्षिक ३५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरिरहेको सानो गुयानालाई कसरी बिर्सन सकिन्छ ?

साना देशसँग साना कम्पनीजस्तै केही महत्त्वपूर्ण फाइदा हुन्छन्। उनीहरू छिटो निर्णय गर्न सक्छन्, साहसी नीति अपनाउन सक्छन् र आवश्यक पर्दा सहजै दिशा परिवर्तन  गर्न सक्छन्। राजनीतिक ध्रुवीकरण र विभाजनले ग्रस्त विश्वमा उनीहरूलाई साझा लक्ष्यमा सहमत हुन र व्यावहारिक नीति अपनाउन ठुला देशभन्दा प्रायः सजिलो हुन्छ। विशेष गरी छिमेकमा शक्तिशाली र सम्भावित रूपमा दबाब दिने ठुला देशहरू हुँदा यो झन् लागु हुन्छ।

साना प्रतिस्पर्धीहरूको अस्तित्वले हाम्रो जीवनको महत्त्वपूर्ण पक्ष मानिने अनिश्चिततालाई पनि अर्थपूर्ण बनाउँछ। हामी प्रायः अनिश्चिततालाई नकारात्मक रूपमा लिन्छौं र निश्चिततालाई शान्तिको पर्याय ठान्छौं तर सधैं त्यस्तो हुँदैन। अनिश्चितता अत्तरजस्तै हो, थोरै मात्रामा आवश्यक तर अत्यधिक भए विनाशकारी।

कल्पना गर्नुहोस्, तपाईं १२ वर्षको हुँदा कसैले भविष्यवाणी गरिदियो कि केही वर्षपछि तपाईंले नोबेल पुरस्कार पाउनुहुनेछ। के त्यसपछि पनि तपाईं उत्तिकै मेहनत गर्नुहुन्थ्यो? वा त्यही दिन कसैले १५ वर्षको उमेरमा तपाईंलाई निको नहुने रोग लाग्ने निश्चित छ भनिदियो भने ती तीन वर्ष तपाईंले अझ सुखद रूपमा बिताउन सक्नुहुन्थ्यो ?

व्यवसायमा पनि यही तर्क लागु हुन्छ। कुनै ठुलो कम्पनीले बजारमा प्रभुत्व जमाएको हुन सक्छ तर नयाँ कम्पनी प्रवेश गर्न सक्ने सम्भावना जीवित रहुन्जेल उसले मनपरी मूल्य बढाउन अथवा अल्छी र अक्षम बनेर बस्न सक्दैन। लोकतान्त्रिक राजनीतिमा पनि यही सिद्धान्त लागु हुन्छ। सत्तारुढ दललाई पुनः निर्वाचित हुने सम्भावना नै छैन भन्ने निश्चित भयो भने राम्रो शासन दिनुपर्ने उसको प्रेरणा कमजोर हुँदै जान्छ।

विपक्षका लागि पनि अवस्था उस्तै हुन्छ। म सानो विपक्षी दलको सदस्य हुँ भने कुनै दिन सत्तामा पुग्न सक्ने सानो सम्भावनाले नै मलाई लोकप्रिय तर मूर्खतापूर्ण, राज्यलाई दिवालिया बनाउने र अर्थतन्त्र ध्वस्त पार्ने नीतिको वकालत गर्नबाट रोक्छ किनभने कुनै दिन अप्रत्याशित रूपमा सत्ता हात परे ती निर्णयको जिम्मेवारी आफैंले लिनुपर्ने हुन्छ।

अन्ततः केप भर्डे विजयी हुन सकेन। अर्को एक अद्भुत गोलले अर्जेन्टिनालाई अन्तिम अग्रता दिलायो तर त्यसले खासै फरक पार्दैन। दुई घण्टासम्म केप भर्डेका नागरिकहरूले आशाको रोमाञ्च अनुभव गरे। संसारले पनि त्यही अनुभूति गर्‍यो किनभने सानोले पनि ठुलोलाई हराउन सक्छ भन्ने विश्वासमा आनन्द मात्र होइन, ठुलो सम्भावना पनि लुकेको हुन्छ।

–आन्द्रेस चिलीका पूर्वअर्थमन्त्री हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २५ असार २०८३ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %