२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
विचार

महिलाको मानवता: युद्ध र सामाजिक मूल्य

सशस्त्र द्वन्द्वबाट प्रभावित महिलासम्बन्धी विश्वव्यापी बहसलाई पुनः परिभाषित गर्दै मानवीय गरिमालाई प्रशासनिक वा व्यावसायिक मान्यताभन्दा बढी प्राथमिकता दिनुपर्ने देखिन्छ। युक्रेन, गाजा र इजरायलको प्रत्यक्ष अनुभवका माध्यमबाट यसले महिलाको युद्धसँगको लैंगिक अनुभवलाई मात्र पीडित वा सहभागीका रूपमा नभई महिलाको मानवता एक पूर्णमानवका रूपमा प्रस्तुत गर्छ। जहाँ मानवताले बाँच्ने, नेतृत्व गर्ने र उपचार गर्ने जिम्मेवारी बोकेको हुन्छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरू १३२५ र १८२० लाई अन्तर्राष्ट्रिय प्रतिक्रियाको मापन गर्ने ढाँचाका रूपमा उपयोग गरिने भनिए पनि ती प्रस्तावको कार्यान्वयन र प्रभावकारिताको आलोचनात्मक समीक्षा गरिएको छ।

मानव सभ्यताको इतिहास तबसम्म अपूर्ण हुन्छ, जबसम्म हामी महिलाको योगदानलाई समाज निर्माण, संरक्षण र रूपान्तरणमा उचित सम्मानसाथ सम्झँदैनौं। महिलाहरू केवल दया गरिने वा पीडित पात्र होइनन्, उनीहरू सिर्जनाकर्ता, नेत्री, उपचारकर्मी र विद्रोहीका रूपमा रहिआएका छन् तर पितृसत्तात्मक प्रणालीले महिलाको बुद्धिमत्ता, नैतिकता र नेतृत्व क्षमतालाई बारम्बार ओझेलमा पार्दै आएको छ। आजको द्वन्द्व, विस्थापन र असमानताले भरिएको युगमा महिलालाई केवल लिंगका रूपमा होइन, मानवताको पूर्ण प्रतिनिधिका रूपमा स्विकार्नु अपरिहार्य छ।

मानवता लैगिक विषय मात्र होइन

युद्ध क्षेत्र र शान्ति वार्ताका बिचमा महिलाबारे बहस प्रायः ‘सशक्तीकरण’ र ‘समावेशीकरण’जस्ता शब्दमा सीमित रहन्छ। यद्यपि यस्ता ढाँचा आवश्यक छन्, तिनले एक आधारभूत सत्यलाई बिर्सने खतरा बोकेका हुन्छन् - महिलाहरू पहिले मानव हुन्, जसमा गरिमा, निर्णय गर्ने शक्ति र आवाज छ।

युक्रेन र मध्यपूर्वको आधुनिक सशस्त्र द्वन्द्वले महिलालाई हिंसा र मानवताको मूल्यको दोधारमा ल्याएको छ। साथै महिलाका अनुभवलाई पुनः मानवीकरण गर्नु दीर्घकालीन शान्तिका लागि अत्यावश्यक छ।

इतिहासमा महिलाको योगदान

मिश्रकी क्लियोपेट्रा सातौं संसारकै शक्तिशाली साम्राज्यको शासक थिइन्–राजनीतिक, कूटनीतिक र बौद्धिक नेत्रीका रूपमा चिनिन्थिन्। हिन्दु धर्ममा सरस्वती, दुर्गा, काली– बुद्धि, शक्ति र रूपान्तरणका प्रतीकका रूपमा पूजिन्छन्। अफ्रिकाली समाजमा रानी न्जिंगा (अंगोला) ले उपनिवेशवादविरुद्ध सशस्त्र संघर्षको नेतृत्व गरेकी थिइन्।

हाइपातिया अफ अलेक्जान्ड्रिया, गणितज्ञ र खगोलविद् थिइन्। रोमन साम्राज्यकालीन बौद्धिक नेत्री। फातिमा अल-फिह्री ले सन् ८५९ मा मोरक्कोमा विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय स्थापना गरिन्।

यी उदाहरणले महिलाहरू ऐतिहासिक रूपमा विज्ञान, शासन र शिक्षा क्षेत्रमा सक्रिय थिए भन्ने देखाउँछन्।

युद्ध र प्रतिरोधमा महिला

पहिलो र दोस्रो विश्वयुद्धमा महिलाहरू नर्स, कोड विश्लेषक, श्रमिक र सिपाहीका रूपमा संलग्न थिए। दोस्रो विश्वयुद्धमा सोभियत सेनामा दुई हजार महिला स्नाइपर थिए। ल्युडमिला पाभ्लिचेन्कोले तीन सय नौ जनालाई मार्ने सफलता पाएकी थिइन्।

उपनिवेशवाद र नागरिक अधिकार आन्दोलनमा झाँसीकी रानी लक्ष्मीबाई १८५७ को विद्रोहमा अगुवा थिइन्। रोजा पाक्र्सले अमेरिकी नागरिक अधिकार आन्दोलन सुरु गर्ने ऐतिहासिक चासो उठाइन्। वान्गारी माथाई (केन्या) वातावरण र महिला अधिकारका लागि नोबेल विजेता बनिन्।

महिलालाई सशक्त बनाउने भाष्य महत्त्वपूर्ण भए पनि त्यो तबसम्म अपूर्ण रहन्छ, जबसम्म उनीहरूको मानवता - नैतिकता, बुद्धिमत्ता, राजनीतिकता र भावनालाई समान रूपमा स्वीकार गरिँदैन।

युक्रेन: भग्नावशेषबिचको सहनशीलता

सन् २०२२ देखि सुरु भएको युक्रेन–रुस युद्धमा ठुलो जनधनको क्षति भएको छ। युक्रेनमा महिलाले घरेलु भूमिकाबाट बाहिर निस्किएर समाजमा नयाँ जिम्मेवारी सम्हालेका छन्। उदाहरणका लागि कातेरिना कोलियाडिउक र इरिना ओस्तान्को अब खानीका एलिभेटर र ट्य्राक्टर चलाउने कार्यमा संलग्न छन्, जो पहिले पुरुषहरूको क्षेत्र मानिन्थ्यो। युद्धको अग्रपंक्तिमा कवि र मेडिकल सहायक यारिना चोर्नोहुज घाइते सैनिकलाई उपचार मात्र होइन, युक्रेनी सांस्कृतिक पहिचानलाई बचाइरहेकी छन्। ओल्गा रुडनेभाद्वारा स्थापित ‘सुपरह्युमन’ पुनस्र्थापना केन्द्रजस्ता संस्थाले युद्धपीडित महिला र बालबालिकाको उपचारमा केन्द्रित काम गरिरहेका छन्।

यस्तो साहसका बाबजुद यौन हिंसाको समस्या विद्यमान छ। युक्रेनमा अक्साना र भिक्टोरियाजस्ता बलात्कृत महिला सामाजिक लाज र अपुरो सहयोग प्रणालीसँग जुझिरहेका छन्। यस्ता हिंसात्मक घटना शारीरिकभन्दा बढी सामाजिक हतियारका रूपमा प्रयोग भएका छन् - मौन गराउने र कमजोर बनाउने हेतुले।

गाजा र इजरायल: महिला शरीरमाथिको युद्ध

गाजामा भने २०२३ अक्टोबरमा हमासले इजरायली नागरिकमाथि आक्रमण गरेपछि इजरायलले ‘हामी युद्धमा छौं’ घोषणा गरेपछि भारी जनहानी भएको छ। समाचारअनुसार महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। २०२३ अक्टोबरको हमास आक्रमणमा इजरायलका महिलाहरू बलात्कार, यातना र हत्याजस्ता यौन हिंसाको सिकार भए, जुन प्रत्यक्षदर्शी र फरेन्सिक अनुसन्धानद्वारा पुष्टि भइसकेको छ। अर्कोतर्फ, गाजामा महिलाहरू बम वर्षा, विस्थापन र प्रसूति सेवाको अभावबाट पीडित छन्। अस्पतालहरू ध्वस्त हुँदा नवजात शिशुहरू इनक्युबेटरमै मर्न बाध्य छन्। यी दुवै वास्तविकताले स्पष्ट पार्छ कि युद्धमा महिला शरीरलाई युद्धभूमि बनाइएको छ।

आधुनिक युग र मानवीय मूल्यको क्षय

आधुनिकता र विकासमा दक्षता र दृश्यतालाई प्राथमिकता दिइएको छ, सहानुभूति र सांस्कृतिक निरन्तरतालाई होइन। यस्तो अवस्थामा महिलाले भावनात्मक र नैतिक श्रम बोकेका हुन्छन्। महिलाहरू शरणार्थी शिविर, द्वन्द्व क्षेत्र र स्थानीय आन्दोलनहरूमा पुनर्निर्माणको केन्द्रबिन्दु बनेका छन्। यो अवस्थाको परिणतिमा महिला मानवताको पुनःस्थापनाले यथार्थ समाजको उपचार सम्भव बनाउँछ भन्ने देखाउँछ।

संयुक्त राष्ट्रसंघको प्रस्तावित नीति निर्माणका नैतिक आधारहरू

संयुक्त राष्ट्रसंघको महिला, शान्ति र सहभागितासम्बन्धी १३२५ नम्बर प्रस्तावले महिलाको शान्ति प्रक्रिया र द्वन्द्व समाधानमा सहभागिता अनिवार्य बनाउने माग गर्छ। यो प्रस्तावले महिलामाथि हुने हिंसा रोकथाम, निर्णय प्रक्रियामा सहभागिता र युद्धपछिको पुनः स्थापनाको पक्षमा आवाज उठायो तर यसले महिलालाई केवल शान्तिकामी वा कमजोर भनेर चित्रण गर्ने आलोचना पनि ब्यहोरेको छ।

संयुक्त राष्ट्रसंघको यौन हिंसाविरुद्ध अन्तर्राष्ट्रिय मान्यतासम्बद्ध १८२० नम्बरको प्रस्तावले यौन हिंसालाई युद्धको हतियारका रूपमा मान्यता दियो। यसले जिम्मेवारी निर्धारण र पीडितहरूको सहयोगलाई जोड दिएको छ।

सांस्कृतिक सम्मान र मानवीय मान्यता

पारम्परिक समाजमा महिलाको गरिमा समुदायको सम्मानसँग जोडिन्थ्यो। आज सैनिक–राजनीतिक प्रणाली र विकासका सूचकले यो मूल्यलाई बेवास्ता गरेका छन्। महिलालाई केवल संख्यात्मक समावेशीकरण होइन, निर्णायक भूमिकामा राख्नुपर्छ। सांस्कृतिक परिवर्तन, वित्तीय प्रतिबद्धता र पितृसत्तात्मक सोचको पुनर्मूल्यांकन आवश्यक छ।

युक्रेन, गाजा र इजरायलका महिला शान्ति प्रक्रियाका सहायक होइनन्, उनीहरू परिवर्तनका चालक हुन्। उनीहरू युद्धसँग जुधिरहेका छन्, घाइतेलाई उपचार गरिरहेका छन्, समुदायलाई पुनर्गठन गरिरहेका छन्। उनीहरूको कथाले नीति मात्र माग गर्दैन, दृष्टिकोणको परिवर्तन माग गर्छ।

महिलाहरू कृषि, पारिवारिक दायित्व र सामाजिक नेतृत्वमा ऐतिहासिक रूपमा सक्रिय रहिआएका छन्। नेपालको २०७२ को संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ। यद्यपि व्यवहारमा अझै चुनौती छन्।

महिलाहरू त्यो सीमारेखा भित्र बाँचिरहेका छन्, जहाँ युद्ध, पीडा र पुनःनिर्माण एकसाथ हुन्छन्। साँचो शान्ति त्यही बेला सम्भव हुन्छ, जब प्रत्येक महिलाको पूर्ण मानवताको सम्मान गरिन्छ। आधुनिक विश्व व्यवस्था अझै पनि सैन्यशक्ति र साम्राज्यवादी मानसिकताबाट निर्देशित छ। महिला निरन्तरता, नैतिकता, र करुणाका संवाहक हुन्। महिलाको सम्मान भन्नुको अर्थ त्यस्तो समाज निर्माण गर्नु हो, जहाँ गरिमा, करुणा, र न्याय सामाजिक आधार बनेको होस्।  

प्रकाशित: ८ मंसिर २०८२ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App