२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
विचार

सहोदर सन्ततिको साथ

हजुरबा पुस्तामा दर्जन सन्तति स्वाभाविक थियो । जेठो, माइलो, साइँलो, काइँलो, ठाइँलोेको गणनाले नभ्याएर अन्तरे, जन्तरे, लखन्तरेदेखि कान्छोसम्म पुग्दा ठुलो कान्छाले पनि स्थान पाउँथ्यो । प्रजनन स्वास्थ्य अनि परिवार नियोजनको अभावका कारण प्रकृतिले काविल ठानुन्जेल बच्चा जन्माउनु महिलाको दायित्व थियो । 

परिवार नियोजनको अस्थायी साधनको पहुँच र नसबन्दी शल्यक्रियाको व्यापकतापछि बाध्यात्मक रूपले बच्चा पाउनुपर्ने अवस्थाको अन्त्य भयो । गरिबीको चपेटामा परेकालाई ‘सानो परिवार सुखी परिवार’ को नाराले छोयो । जन चेतना र विज्ञानको संयुक्त प्रयासले दर्जन सन्तानको कहावत दन्त्य कथा बन्ने अवस्थामा पुग्यो । थोरै बच्चा भए राम्रो खाना र स्तरीय शिक्षा दिन सकिने भएपछि दम्पतिले सल्लाहमै एक दुई लालाबालाभन्दा बढीको चाहना राखेनन् । विस्फोटक जनसंख्यावृद्धिले नागरिक भोकै मर्न थालेपछि छिमेकी मुलुक चीनले सन् १९८० मा एउटाभन्दा बढी बच्चा जन्माउन नपाउने नियम लागु मात्र गरेन बरु सरकारी उर्दी अवज्ञा गरी छोराछोरी जन्माए कारबाही भोग्नुपर्ने नीति अख्तियार गर्‍यो । 

केही मुलुकले कानुनी बलमा जनसंख्या वृद्धि रोके भने अन्य देशहरूले चेतना प्रवाहमार्फत जन्मदर नियन्त्रण गरे । विगतमा कहालीलाग्दो देखिएको जनसंख्यावृद्धि पछिल्लो समय ऋणात्मक हुँदो छ । विकासको रफ्तार कायम गर्न जनसंख्या वृद्धिलाई हौस्याउनुपर्ने भयो । जापान, जर्मनी, फ्रान्स लगायतका विकसित मुलुक मात्र होइन बरु नेपाल जस्ता विकासशील देशमा समेत युवा जनशक्तिको अभाव खड्कन थाल्यो ।  

दर्जन हाराहारी हुने घरधुरीको आकार फेरिएर अहिले एक–दुई बच्चामा सीमित हुन पुग्यो । माड लगाउनुपर्ने मुखको गणना घटेपछि विगतमा भोकै सुत्नुपर्ने अवस्थाका परिवार पनि आफ्नो सन्ततिलाई पेटभरि ख्वाउने अनि स्कुल पठाउन सक्ने हैसियतमा पुग्यो । यसरी तुलनात्मक रूपले समृद्धिमा हुर्किएको छरितो परिवारमा प्रसन्नताको पारो उकालो लाग्नुपर्ने हो । यथार्थमा त्यस्तो हुन्छ त ? भन्ने प्रश्नको उत्तर खोज्न आवश्यक देखियो । 

संयुक्त राज्य अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटी अन्तर्गतको सिभिक साइन्स एकाइले सन् २०१८ मा गरेको एक अध्ययनले दाजुबहिनी (सहोदर) बिचमा हुर्किएका सन्तान परिवारमा एकल सन्ततिको रूपमा बढेकाको तुलनामा बढी खुसी अनुभव गर्छ भन्ने देखायो । अन्य सबै कुरा समान रहेको अवस्थामा किन दिदीभाइबिच हुर्किएके बच्चा बढी प्रसन्न हुन्छ भन्ने सम्बन्धमा युनिभर्सिटी अफ मिजौरीमा मानवीय विकास र परिवार विज्ञानकी प्राध्यापक मेघन गिलिगन ‘भाइबहिनी नाता’ को असर भन्छिन् । एकै परिवारमा हुर्किएका दिदीभाइले आपूmलाई सदैव सहयोग गर्छन् भन्ने दिमागमा परेको छापका कारण व्यक्तिले स्वयम्लाई सुरक्षित महसुस गर्छ, प्रसन्न हुन्छ भन्ने डा गिलिगनको धारणा हो । 

विश्वविद्यालयको ‘फ्यामिली ट्रान्जिसन प्रोजेक्ट’ मा सहभागी सयकडौं सहभागीले दर्ज गरेको प्रसन्नता सम्बन्धी तथ्यांकलाई प्रशोधन गर्दा कलेजको उमेरमा अत्मीय देखिएका दिदीभाइसँग अधवैंशे उमेरमा पनि दरिलो नाता कायम रहने देखियो । त्यस्तै उनीहरूमा बेचैनी तथा मनोरोगको संभाव्यता निकै कम हुने देखिन् प्राध्यापक गिलिगनले । तथापि दाजुबहिनीसँगको वर्तमानको अनावश्यक रडाकोले जीवनको उत्तरार्धमा ‘डिप्रेसन’ को सिकार बनाउने संभाव्यतासमेत रहेको बताउँछिन प्रोफेसर मेघन । २०/२५ वर्षको उमेरमा देखिएको पारिवारिक सम्बन्धले भविष्यको मार्ग कोर्ने देखियो । 

त्यसो त अमेरिकाकै ब्रिघम योङ युनिभर्सिटीकी प्राध्यापक लउरा पडिला बाकरले त्यस्तै बेहोराको निचोड सन् २०१० मै प्रकाशन गरिसकेकी थिइन्– जर्नल अफ फ्यामिली साइकोलोजीमा । ठुलो परिवारमा दाजुबहिनीबिच हुर्कने सौभाग्य प्राप्त गरेको व्यक्तिले हुर्कंदै आफ्नो मनको बोझ बिसाउने ठाउँ पाउने भएकाले समस्याको कुन्ठा बोक्नु पर्दैन भनेर सोच्ने ठान्छिन्– डा. लउरा । 

पेन स्टेट युनिभर्सिटीमा सिवलिङ्सबारे अध्ययन गरी रहेकी प्राध्यापक सुजेन म्याकहेल दाजुबहिनीको नातालाई सबैभन्दा महत्वपूर्ण सम्बन्ध मान्छिन् । आमाबाबुले सधैं समय दिन नसक्ने अनि साथीहरू जीवनको विभिन्न परिवेशमा परिवर्तन भइहने भएकाले व्यक्तिको सफलतामा दाजुबहिनीले महत्व राख्ने ठान्छिन्– उनी । बच्चाले हुर्कने क्रममा परिवारका सदस्यसँगै सामाजिकता सुरुआत र प्रयोग गर्ने भएकाले समिपका दिदीभाइसँगको हिमचिमलाई सिकाइको प्रयोगशाला ठान्छिन्– नर्थइस्टर्न विश्वविद्यालयकी डा. लउरी क्रेमर । 

सानामा भएको लडाइँ, झगडा, मिलाप, सहयोग, दया, करुणा लगायतका अनुभवले पछिल्लो समयको भोगाइका लागि परिस्कृतता प्रदान गर्ने भएकाले ठुलो परिवारमा हुर्कनेले अर्को समूहको तुलनामा अधिक लाभ पाउँछ । अनि सफलताको संभाव्यता बढ्छ । दाइ–भाइले आफ्नो व्यवहारप्रति देखाएको प्रतिक्रियाले समाजमा बाँच्ने तरिका सिकाउने भएकाले सामान्य त ठुलो जहानमा हुर्किएको व्यक्ति सामाजिक जीवनमा सफल हुन्छ भन्छन्– डा. क्रेमर । 

संयुक्त राज्य अमेरिकाको फर्मेन युनिभर्सिटीकी प्राध्यापक जोसेफ मेरी नेतृत्वको अन्वेषण समूहले सन् २०१९ मा सम्बन्धविच्छेद र परिवारको बनोटबिच अन्तरसम्बन्ध रहेको बेहोरा प्रस्तुत गर्‍यो– जर्नल अफ फ्यामिली इस्युजमा । उल्लिखित नतिजाले थप प्रत्येक एक ‘सिवलिङ्स’को उपस्थितिले पारपाचुकेलाई तीन प्रतिशतका दरले घटाएको पाइयो । सम्बन्ध विच्छेद र ठुलो परिवारमा हुर्कनुबिच किन सम्बन्ध छ भन्ने उत्तर दिन लेखक असमर्थ भए पनि सानामा धेरै ‘सिवलिङ्स’ सँग झगडा र रगडाबिच हुर्कने क्रममा व्यक्तिले कसरी असमझदारीलाई अनुकूलतामा परिवर्तन गर्ने भन्ने कला सिक्ने एक पक्षको राय देखियो । 

युरोपियन अनि दक्षिण अमेरिकी लेटिनो समुदायको सामाजिक परिवेशलाई लामो समयदेखि अध्ययन गरी राखेकी युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक बिलिन्डा काम्पोसले सानामा घरले सिकाएको पारिवारिक परम्परा अनुरूप ठुलो हुँदासमेत मानिसको दिमाग चल्ने ठान्छिन् । त्यस्तो संस्कारको अनुकरणले व्यक्तिलाई प्रसन्नता दिने बताउँछिन्– उनी । 

नेपालमा जस्तै परिवारमा एकले अर्कालाई सहयोग गर्ने संस्कार स्थापना भएको लेटिनो समुदाय र एक्लै जीवन धान्ने अभ्यास भएको युरोपियन युवाहरूमा गरिएको एउटा अन्वेषण स्मरण योग्य छ । जिउने तरिका भिन्न भएका दुई समूहलाई अपूmसँग भएको पैसा साह्रोगाह्रो परेका कारणले आफन्तलाई सहयोग गर्न आग्रह गरियो । दाता र प्राप्तकर्ताले उक्त आर्थिक आदान प्रदानका बखत कस्तो अनुभव गर्‍यो भन्ने एकिन गर्न उनीहरूको ‘ब्रेन स्क्यान’ गर्ने प्रबन्ध गरियो । खुसीको अनुभूति गर्ने दिमागको भाग ‘रिबार्ड सेन्टर’ को क्रियाकलाप हेर्दा अचम्मको नतिजा आयो । 

युरोपियन युवाको रिवार्ड सेन्टर आपूmले पैसा प्राप्त गर्दा धेरै क्रियाशील देखियो भने लेटिनो आपूmले पैसा पाउँदाभन्दा अर्को मानिसलाई सहयोग गर्न पाउँदा बढी प्रसन्न भएको देखायो ‘ब्रेन स्क्यान’ले । सानैदेखि आफन्तले स्वयम्लाई सहयोग गरेको देखेको अनि त्यही अनुरूप बच्चामा पाएको पारिवारिक विरासतका कारण लेटिनो युवा दाता हुन पाउँदा अझ बढी पुलकित भयो भने स्वयम्लाई सर्वाधिक महत्व दिने संस्कारमा हुर्किएको युरोपियन युवा आपूm सहयोग पाउँदा बढी आनन्दित भयो भन्छन् मेक्सिको टेक्नोलोजिकल इन्स्टिच्युटको डा. मरियानो रोहास् । सानामा सिकेको संस्कारलाई मस्तिष्कले हत्तपत्त बिर्संदैन भन्छन्– डा रोहास् । 

‘सिवलिङ्स’को जमातमा हुर्किएको बच्चाले सानैदेखि समाजमा जिऊने तरिकाको अभ्यास दिदीभाइसँग नै गर्न पाउने भएकाले एकल सदस्यका रूपमा बढेको बालक भन्दा उनीहरू जीवनमा सफल हुने सम्भाव्यता अधिक देखियो । यद्यपि धेरै सन्तति हुने बित्तिकै परिवारमा प्रसन्नता आउने होइन भन्ने कुरा बिर्सनु हुँदैन । लामो समयदेखि घरको आकार र खुसीको अन्तरसम्बन्धलाई अध्ययन गरिरहेका जापानको हिकाइदो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक मासातो हिवाटारीको विचारमा परिवारलाई पर्याप्त समय, खाना र स्तरीय शिक्षा प्रदान गर्न सक्ने हैसियत छ भने मात्र सन्ततिको झुण्डका बारेमा सोच्नुपर्छ । 

ठुलो परिवार भएर पनि अभिभावकले स्तरीय समय, खानपिन अनि शिक्षादीक्षाको उचित प्रबन्ध गर्न नसके घरमा खुसीको बदला कलह आउने कुरा बिर्सनु हुँदैन । प्रकाशित अध्ययनहरूले ठुलो परिवारमा हुर्कनुका धेरै फाइदा देखाए पनि अभावबिच जीवन सुखद हुन सक्दैन भन्ने ख्याल गरेर मात्र परिवारको आकार तय गर्न उचित देखियो ।

प्रकाशित: १७ भाद्र २०८२ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App