२० मंसिर २०८२ शनिबार
image/svg+xml
विचार

अब लोकतन्त्रको आदर्श को होला?

इस्तानबुलमा हुर्कंदै गर्दा किशोर अवस्थामा म  यसकारण भाग्यमानी थिएँ कि मेरो पुस्तासँग लोकतान्त्रिक आदर्शहरू थिए। ब्रिटेन, फ्रान्स, जर्मनी र स्विडेनजस्ता युरोपेली देशहरूले समृद्धि र लोकतन्त्रप्रतिको हाम्रो आकांक्षालाई प्रज्वलित गरे, त्यसले हाम्रो आफ्नै अपूर्ण  राजनीतिक प्रणालीको भविष्यका लागि आशा जगाएको थियो। यी देशहरूको अनुभवले हामीलाई आर्थिक वृद्धि, सामाजिक न्याय र राजनीतिक स्वतन्त्रता एकआपसमा  मिल्दोजुल्दो मात्र होइनन्, बरु एकअर्कालाई सशक्त  बनाउने तत्त्व हुन् भन्ने देखायो।

आजका युवाहरूले उस्तै आशालाग्दो सन्देश पाउन कहाँ हेर्ने? एक समय उदार लोकतन्त्र भविष्यको लहर जस्तै देखिन्थ्यो तर अहिले लोकतन्त्रको क्षय विश्वव्यापी  घटना बनेको छ, र यसको सबैभन्दा स्पष्ट र नाटकीय  उदाहरण डोनाल्ड ट्रम्पको अमेरिका हो। सन् २०१० को  दशकको सुरुदेखि चुनाव नियमित रूपमा हुने तर व्यापक  दमन र धाँधलीको पृष्ठभूमिमा ‘निर्वाचन अधिनायकवाद’  विश्वभरको प्रमुख शासन प्रणाली बनेका छन्। अहिले  २०१२ को तुलनामा झन्डै २२ करोड कम जनसंख्या कम  उदार लोकतन्त्र रहेका देशमा अन्तर्गत बस्छन्।

त्यसैगरी जुन ‘निर्वाचन लोकतन्त्र’ प्रणाली अन्तर्गत  उदार लोकतन्त्रतर्फको बाटो बनाउन सकिन्थ्यो त्यसले  पनि आफ्नो आधार गुमाएको छ। सन् २०१२ को तुलनामा  हाल १.२ अर्ब कम मानिस यस्ता शासन प्रणाली भएका राष्ट्रमा बस्छन्। यी प्रणालीको स्थान अहिले निर्वाचन अधिनायकवाद वा प्रत्यक्ष अधिनायकवादले लिएको  छ। यो प्रणालीअन्तर्गत विश्वमा अहिले ५.८ अर्ब  मानिस शासित छन्। सन् २०१२ पछि यो जनसख्या २.४  अर्बले थपिएको छ।

लोकतन्त्रको प्रकाशस्तम्भका रूपमा मानिने  युरोप अब पहिलाको जस्तो उज्यालो छैन। युरोपेली संघ  (इयु) ले समाजवादबाट लोकतन्त्रतर्फको पूर्वी युरोपको  संक्रमणमा ठूलो भूमिका निर्वाह गरेको थियो। चेक  रिपब्लिक र एस्टोनियाजस्ता देशहरू विश्वका सबैभन्दा उच्च स्तरका उदार लोकतन्त्र बनेका छन्। पोल्यान्ड,  हंगेरी, र स्लोभाकिया जस्ता अरू धेरै राष्ट्र प्रतिगनतर्फ  फर्किएका छन्। यी राष्ट्रमा केही गर्न इयु असमर्थ  देखिएको छ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको हालै  बेजिङमा आयोजित कार्यक्रममा सहभागी भए, जहाँ उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली  तानाशाह किम जोङ–उन र अरू दुई दर्जनभन्दा बढी  अधिनायकवादी नेताहरूसँगै थिए। यी सबैले राष्ट्रपति  सी जिनफिङसँग मिलेर चिनियाँ सैन्य शक्ति प्रदर्शनलाई उत्सवको रूपमा मनाए।

युरोपका प्रमुख देशले अमेरिकाभन्दा कम स्तरमा आफ्नो लोकतन्त्र क्षतिग्रस्त भएको दाबी गर्न सक्छन् तर  आज युरोप न आर्थिक शक्ति देखाउन सक्छ न राजनीतिक  एकता। यसको आत्मविश्वास निकै तल पुगेको देखिन्छ। यसको उदाहरण ट्रम्पका ट्यारिफ धम्कीका अगाडि इयु झुक्नु हो।

युरोपका नेताहरू लामो समयदेखि क्षेत्रीय  एकीकरणले आफ्नो शक्ति र विश्वस्तरमा प्रभाव बढाउने  आशा राख्थे। तर इयु अहिले स्थायी गतिरोधको घर झैँ  बनेको छ। यसले सदस्य देशलाई आफ्नै हिसाबमा ठूला  निर्णय गर्न प्रोत्साहन पनि गर्दैन र सामूहिक दृष्टिकोण  निर्माण गर्ने क्षमता पनि राख्दैन। 

लोकतान्त्रिक युरोपले आफ्नो सिमानाबाहिर  प्रभाव जमाउन नसक्दा, विश्वमा शक्ति प्रयोग गर्नेहरू पनि अब आदर्श रहेका छैनन्। अमेरिका यति  चाँडो अधिनायकवादतर्फ मोडिन्छ भन्ने अपेक्षा  कमैले गरेका थिएनन् तर ट्रम्पले यसलाई एकै रातमा  विद्रोही राष्ट्र बनाइदिए। यसले चीनलाई विश्वमञ्चमा ‘जिम्मेवार शक्ति’ का रूपमा प्रस्तुत हुन सजिलो बनाएको  छ। यो पृष्ठभूमिमा सी जिनफिङले खुसीसाथ ‘सार्वभौम  समानता’, ‘अन्तर्राष्ट्रिय कानुनी शासन’, र ‘बहुपक्षवाद’ को पोशाक लगाएका छन्।

चिनिया शासनको वास्तविकताका विषयमा हामीले  धोका खानु हुँदैन। चीनको आर्थिक सफलता हासिल गरे  तापनि यसको राजनीतिक प्रणाली अनुकरण गर्न लायक छैन। चीन अझै पनि अत्यन्त अधिनायकवादी देश हो, जहाँ अल्पसंख्यकहरूलाई दमन गरिन्छ र राजनीतिक हिसाबमा प्रतिपक्ष पूर्ण रूपमा निषेधित छ। लोकतन्त्रका उज्याला अंशहरू अहिले अनपेक्षित स्थानमा भेटिन्छन्। उदाहरणका लागि ब्राजिल र दक्षिण  अफ्रिका दुवै राष्ट्र हालै अधिनायकवादको मुखबाट  फर्किएका छन्।

सन् २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाका  राष्ट्रपति रहेका ज्याकब जुमाको कार्यकाल अधिनायकवादी लोकप्रियता र व्यापक भ्रष्टाचारले  भरिएको थियो। ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोले २०२२ मा चुनावी हार स्वीकार नगरी सैनिक कूको योजना बनाएका थिए र आफ्नो प्रतिद्वन्द्वीको हत्या गर्ने योजनासमेत गरेका थिए तर यी दुवै मुलुकमा  लोकतान्त्रिक विश्वसनीयता भएका नेताहरू सत्तामा आएका छन्।

दक्षिण अफ्रिकामा सिरिल रामाफोसा र ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा सत्तामा छन्। यो सफलता यसकारण विशेष छ कि यी मुलुकहरू लोकतन्त्रका लागि प्रतिकूल मानिएका अवस्थामा रहेको मानिन्छ। दुवै देशमा गहिरो जातीय विभाजन छ र  विश्वका सबैभन्दा असमानता भएका देशमा यी पर्छन्।

अरस्तुको समयदेखिका विचारकहरूले धनी र गरिबबीच ठूलो खाडल भएसम्म लोकतन्त्र टिकाउ हुँदैन भन्दै आएका छन् तर ब्राजिल र दक्षिण अफ्रिकाको  अनुभवले फरक र उत्साहजनक उदाहरण प्रस्तुत गर्दछ। त्यसो त अन्यत्र देशमा सुखद विकास देखिन्छ।

गत  वर्ष, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सन्  १९८० पछि पहिलो पटक सैनिक शासन घोषणा गरे  तर लोकतान्त्रिक शक्ति र संसद् मिलेर केही सातामै  उनलाई महाभियोग लगाउँदै पदच्युत गरे। चिलीले पनि सन् १९७३ देखि १९९० सम्मको अगस्तो पिनोचेको  तानाशाही शासन अन्त्य भएपछिदेखि स्थिर लोकतन्त्र  कायम राखेको छ।

युरोप बाहिरका साना देशहरूले पनि उत्कृष्ट  लोकतान्त्रिक उदाहरण प्रस्तुत गरेका छन्। ताइवान, उरुग्वे, कोस्टारिका, मोरिसस र वात्सुवानाले इकोनोमिस्टको लोकतन्त्र सूचकांकमा उच्च स्थान प्राप्त गरेका छन्। लामो समयदेखि स्थिर लोकतन्त्र टिकाउने  दुर्लभ उदाहरण अफिकी राष्ट्र मोरिसस र बोत्सुवानाले प्रस्तुत गरेका छन्।

सायद लोकतन्त्रको ज्वालालाई पुनः प्रज्वलित गर्ने  हाम्रो आशा यिनै अप्रत्याशित उदाहरणमा टेकिएको छ।  अन्य सबै कुराजस्तै लोकतन्त्रलाई पनि आदर्श चाहिन्छ। परम्परागत उदाहरणहरू अब सान्दर्भिक नहुन सक्छन्  तर अझै पनि केही स्थानहरू छन् जहाँ लोकतन्त्रका  समर्थकहरूले प्रेरणा पाउन सक्छन्।

 लेखक दानी रोड्रिक हार्भर्ड केनेडी स्कुलका  अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रका प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २६ भाद्र २०८२ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App