२२ चैत्र २०८२ आइतबार
image/svg+xml
विचार

कांग्रेस अब कता?

२०४७ सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई अन्तरिम कालका प्रधानमन्त्रीका रूपमा काम गरिरहँदा एकजना वरिष्ठ पत्रकारले उहाँलाई सोधेका थिए, ‘तपाईंको जीवनको लक्ष्य के हो? त्यो लक्ष्य पूरा भयो जस्तो लाग्छ कि लाग्दैन?’ प्रत्युत्तरमा किसुनजीले ‘मेरो जीवनको अन्तिम लक्ष्य मुक्ति पाउनु हो, मैले मात्र मुक्ति पाएर भएन, सबै नेपाली जनताले पनि रोग, भोक र भयबाट मुक्ति पाएको खण्डमा मेरो जीवनको लक्ष्य पूरा भएको सम्झिने छु’ भनी बताएका थिए।

कांग्रेसले आफ्ना महामनाहरूका विचार र अभिव्यक्तिहरू लिपिबद्ध गरी अभिलेखका रूपमा सुरक्षित गरी दस्ताबेज राख्नुपर्ने थियो। हाम्रा माझ संस्थापक नेताहरू बिपी, गणेशमान, किसुनजीलगायत हुनु हुन्न। बिपीका मेलमिलापसम्बन्धी विचारहरूको चर्चा भइरहे तापनि किसुनजी, गणेशमान र गिरिजाबाबुका अर्ती–उपदेश र पार्टीप्रति दिएका अविस्मरणीय सन्देश कहींकतै लिपिबद्ध देखिँदैनन्। नयाँ पुस्ताका लागि पार्टीको नीति, नियम र विचारहरू प्रतिदिन आवश्यक परिरहेका छन् तर दुःखका साथ भन्नुपर्छ, नेतृत्ववर्ग पदका लागि अंश खोजिरहेका छन्। विचारको अभाव, मार्गनिर्देशनको कमीका कारण नेपाली कांग्रेसमा मेलमिलापको खडेरी परिरहेको छ, आपसी द्वन्द्व दिन प्रतिदिन बढिरहेको छ। यो शुभ संकेत होइन, समयमा नै विचार नपुर्‍याए कांग्रेस पार्टी पुनः विभाजित हुन सक्छ। पहिले बुद्धि नपुर्‍याउँदा अहिले त्यसको नकारात्मक असर पर्न लागेको छ।

पार्टी विधानको धारा १७ को २ मा रहेको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गर्ने पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुरूप गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा देशभरबाट आएका हजारौं प्रतिनिधिले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई क्रमशः पार्टी सभापति र उपसभापति पदमा चयन गर्‍यो। यसभन्दा अघि गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि निवेदन दर्ता गराए। सोही बमोजिम पुसको कठ्यांग्रिँदो जाडोमा पनि धैर्यपूर्वक विशेष महाधिवेशन सम्पन्न गर्नुलाई सामान्य रूपमा लिनुहुँदैन तर तत्कालीन संस्थापन पक्ष यस विषयलाई स्विकार्न अहिलेसम्म पनि तयार छैनन्। सम्मानित सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन्।

विडम्बना! यो लाग्छ कि गत फागुन २१ गते सम्पन्न राष्ट्रिय चुनाव सम्पन्न भएर बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गरिसक्यो। गत भदौ २३ र २४ गते घटेका विध्वंसकारी घटनाका दोषी ठहर गर्दै सरकार गठन भएको २४ घण्टा नबित्दै तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई पक्राउ गरी कानुनी दायरामा ल्यायो। त्यति मात्र नभएर भ्रष्टाचारका मुहान खोतल्दै भूतपूर्व प्रधानमन्त्री त्रयलाई निगरानी बढाइसक्यो।

यस्तो विषम परिस्थिति नजिकिँदै छ कि २०४८ सालदेखि बहुदलको नाममा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने हरकोही व्यक्ति, जसले अकूत सम्पत्ति कमाएर कलंकको टीका पार्टीलाई लगाए, तिनीहरू आफूले चलाएको हैकमवादको पछुतो मान्दै कानुनी कठघरामा जान सक्छन्। त्यसबेला बिपीको पार्टी तपाईंहरूका लागि सती जाने छैन।

अचम्म र उदेक लाग्दो कुरा यहींनेर लाग्छ। हालका सभापति गगनकुमार थापाले हालको सरकारले ओली र लेखकलाई गिरफ्तार गरिसकेपछि पार्टीका तर्फबाट हस्ताक्षरसहितको विरोधपत्र र कानुनी उपचार मागे, जुन स्वाभाविक हो। त्यसको लगत्तै कार्यवाहक सभापति भनेर पूर्णबहादुर खड्काले पनि सोही मुताबिकको वक्तव्य जारी गरे। अब भन्नुहोस्, देशभरका लाखौं कार्यकर्ता र शुभेच्छुकले कसलाई आधिकारिक मान्ने? लोकतान्त्रिक पार्टीभित्र यस्तो गैरजिम्मेवार काम गर्न मिल्छ?

गत चुनावमा गगनकुमार थापालाई पार्टी सभापति स्वीकार गरी हस्ताक्षरसहितको पार्टी टिकट लिई चुनाव चिह्न रुख लिएर १६५ वटै निर्वाचन क्षेत्रमा मत माग्न कांग्रेसपंक्तिको उपस्थिति भएको हो कि होइन? यो प्रश्नको उत्तर कसले दिने? निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो तर स्वीकार गर्नुपर्ने कुरा के हो भने कतिपय निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गरेको भन्दा कांग्रेसले अर्को कांग्रेसलाई अन्तर्घात गरेकै हो। अन्तर्घात नगरेको भए सर्लाहीबाट सभापति गगन थापाले चुनाव हार्ने थिएनन्।

बिपीको समाजवादी पार्टीले यसरी हार ब्यहोर्नुपर्ने थिएन। अन्तर्घात नगरेको हो, जनतालाई रिझाउन नसकेको कारणले हार ब्यहोर्नुपरेको हो भने पार्टीका तर्फबाट पटक–पटक प्रधानमन्त्री बनेका, घुस खाएर राजनीतिक नियुक्ति दिलाएका व्यक्तिहरूले चरम भ्रष्टाचार गरेर देश आर्थिक रूपमा विपन्न बनाएको बदला लिन र भविष्यमा सच्चिन जनताले कांग्रेसका विपक्षमा मत जाहेर गरेका हुन्।

यसबारे समीक्षा गरौं, आफ्ना कमी कमजोरी कहाँनेर रहे? टिकट वितरण गर्दा या नेतृत्वपंक्तिले राजधानी नछोड्दा अथवा नेपाली कांग्रेस पार्टीको अगुवाइमा संविधान निर्माण कार्यदेखि तत्कालीन विद्रोही माओवादी पार्टीलाई शान्ति मार्गमा हिँडाउँदालगायतका भौतिक विकाससम्बन्धी विकासका यावत पूर्वाधार खडा गरेकाबारे उल्लेख गर्न जनतालाई नसकेका कारणले हो? यतातिर गहन समीक्षा पनि कार्यकर्ताले चाहेका छन्।

तपाईंहरू पार्टी टुक्राउने, लोकतन्त्रलाई खतरामा पार्ने खेलमा उद्दत हुनुहुन्छ। तपाईंहरूको घरको भात–भान्सा चलाएजस्तो हो र पार्टी सञ्चालन गर्न? महामनाहरूले २००३ सालमा रगत, पसिना बगाएको ऐतिहासिक समाजवादी पार्टी हो यो। कांग्रेस पार्टी टुक्रियो भने राष्ट्रियता कायम रहन सक्छ? देशको अभिभावकत्व कसले लिन्छ?

हालको संस्थापन पक्ष र दोस्रो पक्षलाई मेची–महाकालीका लाखौं लोकतन्त्रवादीहरूको यक्ष प्रश्न रही आएको छ। लोकतन्त्र रहेन भने देश रहला नरहला आफ्नो ठाउँमा छ तर तपाईंहरूको बाँकी जिन्दगी कारागारका अँध्यारा कोठामा बित्नेछन्, हेक्का राख्नुहोला।

२०१५ सालमा १०९ स्थानमा भएको आमचुनावमा बिपीले समावेशी सिद्धान्त अपनाउँदै सबै जातजाति, धर्म, लिंग र भूगोलका आधारमा टिकट वितरण गरे। परिणाम ७४ सिट अर्थात् दुईतिहाइको परिणाममा कांग्रेसको नतिजा आयो, बिपी प्रधानमन्त्री बने। यो कुरा नेतृत्ववर्गले किन बिर्सन्छ?

हालैको चुनावमा सोचेजस्तो परिणाम नआएपछि नैतिकताका आधारमा सभापति गगन थापाले सभापतिबाट राजीनामा दिए। तर पार्टी सम्हाल्न सक्ने अर्को व्यक्ति त्यहाँ देखा परेनन्। केन्द्रीय कार्यसमितिले उनको राजीनामा अस्वीकृत गर्‍यो। वास्तवमा अहिलेको विषम परिस्थितिमा गगनको नेतृत्व अपरिहार्य छ भन्ने मनोविज्ञान सबै कांग्रेसीजनमा परेको देखिन्छ।

कोइरालाको विरासत बोकेका डा. शेखर कोइराला, विद्यार्थी राजनीतिबाट उदाएका र पटकपटक मन्त्री सम्हालेका पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, बलबहादुर केसी, गणेशमान पुत्र प्रकाशमान सिंहलगायतले यस्तो बेला पार्टीमा बहसको थालनी गर्नुपर्थ्याे कि कर्तव्यविमूढ भएर बस्नुको के औचित्य रह्यो? त्यसैले पुराना नेताका दिनहरू गए भन्ने प्रतीत हुँदै छ।

भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवा हाल मुलुकबाहिर हुनुहुन्छ। देउवा दम्पत्तिलगायत नेपाली कांग्रेस र नेकपा एमालेका धेरैजसो नेताहरू वर्तमान सरकारको निगरानीमा छन्। जनताले सुशासन र भ्रष्टाचाररहित समाज चाहेका छन्। उनीहरूको भनाइ देश समृद्ध बनोस्, आफ्ना छोराछोरीले स्वदेशमै काम पाऊन् भन्ने नै हो। सभापति गगन थापाको पटकपटकको भनाइ पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने नै आएको छ।

अलिकति चर्चा जेनजी आन्दोलनका ताका नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको आगजनी र तोडफोडबारे गरौं। अमेरिका, बेलायत र स्कटल्यान्डको लामो बसाइपछि स्वदेश फर्कें। अति दुःखित हुँदै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, गणेशमान सिंहको निवास चाक्सीबारीलगायत पार्टी कार्यालय सानेपा पुगेँ। बाहिरको भवन जलेर कुरूप देखेँ, भित्री सबै कोठाहरू पनि जलेका देखिन्थे। स्याहार गर्ने, पुनःनिर्माण गर्ने व्यक्ति कोहीअगाडि सरेको पनि देखिन।

बिपी, गणेशमान, किसुनजी, सुवर्ण शमशेरलगायतका तस्बिरहरू जलेर फ्याँकिएका देखेर यो मन निकै नै दुःखित भयो। विशेष महाधिवेशनको हाराहारी सो कुरूप भवन जीर्णोद्धार गर्नतिर पार्टी पंक्ति लागेको देखियो। अहिले पनि रङरोगन र मर्मतको कार्य भइरहेको छ। सभापति गगन थापा पक्षबाहेक इतर पक्ष त्यहाँ कोही देखिदैनन्।

पुराना नेता ओमकार श्रेष्ठ, अर्जुननरसिंह केसी र उपसभापति विश्वप्रकाश शर्मा लगायत केही पदाधिकारीसँग भेट भयो। पार्टी कार्यालयको चिन्ता र चासो राख्नेहरूको उपस्थिति त पक्कै होला भन्ने धेरैबाट प्रतिक्रिया पाएँ।

कांग्रेसको १५ औं महाधिवेशनको नयाँ कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अब गाडी अगाडि बढोस्, रोकिन्न भन्ने धारणा सभापति थापाबाट बाहिर आएको छ। यसबेला ठुलो पंक्ति बाहिर मौन छ, सायद गृहकार्यमा जुटेको होला या कसैको प्रतीक्षामा होला।

यस्तो बेला सभापतिको हैसियतले सबैका प्रति नतमस्तक हुँदै महाधिवेशनका लागि आवश्यक सल्लाह र सहभागिताका लागि अनुरोध गर्नु आवश्यक देख्छु। सरकारी पक्षबाट लखेटिने, आन्तरिक द्वन्द्वमा पनि पार्टी फस्ने हो भने घरमा बसेर लोकतन्त्रको माला जप्नु बाहेक अरू के नै रह्यो र?

‘भाइ फुटे गवार लुटे’ भन्ने कथन नदेखियोस्, यदुवंशीहरूको विनाश भएजस्तो कदापि नहोस्। गगन थापा, नेपाली कांग्रेसको भरोसाको सभापति बन्नुहोस्, यही शुभकामना!

प्रकाशित: २२ चैत्र २०८२ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %