मानिसको जीवनमा सुखानुभूति होस् वा दुःखको गुनासो, सफलताको खुसी होस् वा असफलताको कथा, यी सबै अनुभवलाई समेट्दै दैनिक जीवन, आत्मचिन्तन र विभिन्न अभ्यासमार्फत आफूलाई बुझ्न खोज्दा पनि मन कहिलेकाहीं भड्किन्छ किनकि मनको स्वभाव निरन्तर हलचल सिर्जना गर्दै व्यक्तिलाई सोच्न, खोज्न र प्रश्न गर्न प्रेरित गर्नु हो। भौतिक संसार आफ्नै नियममा सञ्चालन भइरहँदा पनि मानवसँग रहेको सचेत छनोट गर्ने क्षमताले जीवनको दिशा निर्धारण गर्छ। मनबाट उत्पन्न विचारलाई पूर्ण रूपमा रोक्न वा त्यसको विपरीत जान सजिलो छैन तर ध्यान र गहिरो विश्रामको अभ्यासले मनमा शान्ति, ऊर्जा र स्पष्टता ल्याउँछ। यही प्रक्रियामार्फत गुनासोबाट कृतज्ञतामा रूपान्तरण सम्भव हुन्छ जसलाई व्यक्तिले आफ्नै अभ्यास र अनुभूतिबाट मात्र गहिराइमा बुझ्न र आत्मसात् गर्नसक्छ। यसलाई व्यक्तिमा भएको आध्यात्मिक गुणवत्ताको रोजाइ पनि भन्न सकिन्छ।
आध्यात्मिकताको बाटो: गुनासोबाट कृतज्ञतासम्मको यात्रा
यस भौतिक संसारमा रहेका सबै वस्तुहरू आफ्नै नियम, सिद्धान्त र प्राकृतिक व्यवस्थाअनुसार सञ्चालन भइरहेका छन्। सूर्य समयमै उदाउँछ, ऋतुहरू नियमित रूपमा परिवर्तन हुन्छन्, नदीहरू आफ्नै बेगमा बग्छन् र जीवनका विभिन्न चक्रहरू निरन्तर चलिरहेका छन्। यी सबै प्रक्रियाहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन् तर यिनै परिस्थितिहरूको बिचमा हामीसँग एउटा अद्भुत शक्ति भने अवश्य हुन्छ - त्यो हो छनोट गर्ने क्षमता अर्थात् रोज्ने के? मानव जीवनको सार नै यही छनोटमा आधारित छ। हामी प्रत्येक दिन, प्रत्येक क्षण, सचेत वा अचेत रूपमा निर्णयहरू गरिरहेका हुन्छौं। यी निर्णयहरू कहिले सही त कहिले गलत हुन सक्छन्, कहिले मूल्यवान् त कहिले निरर्थक तर प्रश्न उठ्छ - जब हामीसँग चयन गर्ने स्वतन्त्रता छ भने किन हामी त्यस्ता विकल्पहरू रोजौं, जसले हामीलाई शान्ति, प्रेम र कृतज्ञता प्रदान गरोस्?
गुनासोको बानी र त्यसको प्रभाव
आजको समाजमा गुनासो गर्ने बानी निकै सामान्य बन्दै गएको छ। मानिसहरू साना साना कुरामा पनि असन्तुष्ट देखिन्छन्– परिस्थिति अनुकूल भएन, अरूले अपेक्षित साथ दिएनन्, समयले साथ दिएन वा जीवनले चाहेजस्तो परिणाम दिएन भन्ने गुनासा हामीले हरेक दिन सुन्ने गर्छौं। यस्तो बानी बिस्तारै हाम्रो सोचको हिस्सा बन्छ, जसले गर्दा हामी स्वतः नकारात्मक पक्षतर्फ केन्द्रित हुन थाल्छौं। गुनासोले हाम्रो मनलाई अशान्त बनाउँछ, मानसिक ऊर्जा घटाउँछ र सकारात्मक सोचको क्षमता कमजोर पार्छ।
जब गुनासो हाम्रो बानी बन्छ, तब हामी समाधानभन्दा समस्या खोज्न अभ्यस्त हुन्छौं। सानो असहजताले पनि ठुलो असर पार्न थाल्छ र जीवनप्रति असन्तुष्टि बढ्दै जान्छ। यसले हाम्रो निर्णय क्षमता र आत्मविश्वासमा समेत असर पुर्याउँछ। गुनासो गर्ने बानीले हामीलाई बाह्य परिस्थितिको कैदी जस्तै बनाउँछ। हाम्रो खुसी अरूको व्यवहार, वातावरण वा परिणाममा निर्भर हुन थाल्छ। यदि बाहिरी अवस्था अनुकूल भएन भने हामी तुरुन्तै असन्तुष्ट हुन्छौं। यसरी हामी आफ्नै भावनाको नियन्त्रण बाहिर सुम्पिन्छौं। यसले गर्दा हामीभित्र लुकेको शक्ति, धैर्य र सम्भावनालाई बिर्सिन थाल्छौं। हामीले आफैंभित्र रहेको शान्ति र सन्तुलनलाई पहिचान गर्न सक्दैनौं र जीवनको सानोसानो आनन्द पनि महसुस गर्न छुट्छ। वास्तवमा गुनासोले समस्या समाधान गर्दैन, यसले केवल हाम्रो दृष्टिकोणलाई संकुचित बनाउँछ। त्यसैले जबसम्म हामी गुनासोको चक्रबाट बाहिर निस्कँदैनौं, तबसम्म जीवनको वास्तविक सुन्दरता र आनन्द अनुभव गर्न गाह्रो हुन्छ।
कृतज्ञताको अभ्यास: जीवन परिवर्तन गर्ने दृष्टिकोण
आध्यात्मिकताको मूल उद्देश्य भनेको चेतनाको स्तर उकास्नु हो र यो यात्रा बाह्य परिवर्तनभन्दा बढी आन्तरिक रूपान्तरणसँग जोडिएको हुन्छ। यसका लागि गुनासोबाट कृतज्ञतामा रूपान्तरण अत्यन्त आवश्यक हुन्छ। कृतज्ञता भनेको केवल ‘धन्यवाद’ भन्नु मात्र होइन, यो जीवनप्रतिको गहिरो सकारात्मक दृष्टिकोण हो, जसले हामीलाई जे छ, त्यसप्रति सन्तुष्ट, सजग र आभारी बनाउँछ। जब हामी कृतज्ञताको अभ्यास गर्न थाल्छौं, हाम्रो ध्यान अभावबाट हटेर उपलब्धितर्फ केन्द्रित हुन थाल्छ। हामीले के छैन भन्नेभन्दा के छ भन्ने कुरा देख्न सिक्छौं। यसले हाम्रो सोचको ढाँचा परिवर्तन गर्छ, हामी समस्या होइन, समाधान खोज्न थाल्छौं, बाधा होइन, अवसर देख्न थाल्छौं। कृतज्ञता एउटा सूक्ष्म तर शक्तिशाली ऊर्जा हो, जसले हाम्रो मनलाई हल्का, शान्त र प्रसन्न बनाउँछ। यसले हाम्रो भावनात्मक स्वास्थ्यलाई सुदृढ बनाउँछ, तनाव कम गर्छ र जीवनप्रतिको आशावादी दृष्टिकोण विकास गर्छ। कृतज्ञ व्यक्तिले साना–साना कुरामा पनि आनन्द पाउन सक्छ– जस्तै बिहानको ताजा हावा, परिवारको साथ, वा दैनिक जीवनका सामान्य अवसरहरू। ‘आज पनि जीवन जिउन पाएकोमा धन्यवाद!’ भन्ने भावका साथ दिन सुरु गर्छौं भने त्यही दिन उत्साह, ऊर्जा र सकारात्मकताले भरिन्छ। सोचको यही सानो परिवर्तनले हाम्रो दिनको गुणस्तर नै बदल्न सक्छ। कृतज्ञता अभ्यासबाट विकसित हुने गुण हो। यसका लागि हामी दैनिक रूपमा केही साना अभ्यासहरू गर्न सक्छौं, जस्तै दिनको अन्त्यमा आफूले आभारी महसुस गरेका तीन कुरा सम्झनु, अरूको सानो सहयोगलाई पनि हृदयदेखि धन्यवाद दिनु वा कठिन परिस्थितिमा पनि केही सिकाइ भेटाउने प्रयास गर्नु।
छनोटको शक्ति: हाम्रो जीवनको दिशा
हामीले के सोच्ने, कसरी प्रतिक्रिया दिने र कस्तो दृष्टिकोण अपनाउने भन्ने कुरा हाम्रो हातमा छ। यही नै हाम्रो जीवनको वास्तविक शक्ति हो। परिस्थिति जस्तोसुकै भए पनि हामी त्यसलाई कसरी व्याख्या गर्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जीवनमा दुःख, चुनौती र असफलता आउनु स्वाभाविक हो तर ती घटनाहरूले हामीलाई परिभाषित गर्दैनन्, हाम्रो प्रतिक्रिया नै हाम्रो पहिचान हो। यदि हामी नकारात्मकता रोज्छौं भने जीवन भारी बन्छ तर यदि हामी सकारात्मकता रोज्छौं भने जीवन सहज र सुन्दर बन्छ।
शान्ति, प्रेम र कृतज्ञताको चयन
शान्ति, प्रेम र कृतज्ञता - यी तीन तत्त्वहरू नै सन्तुलित जीवनका आधार हुन्।
शान्ति: भित्री शान्ति बाह्य परिस्थितिबाट होइन, हाम्रो मनको अवस्थाबाट आउँछ। जब हामी वर्तमान क्षणमा रहन सिक्छौं, अनावश्यक चिन्ता र डरबाट मुक्त हुन्छौं।
प्रेम: प्रेम केवल अरूप्रतिको भावना मात्र होइन, यो हाम्रो अस्तित्वको मूल स्वरूप हो। जब हामी आफैंलाई स्विकार्छौं, अरूलाई पनि सहज रूपमा स्वीकार्न सक्छौं।
कृतज्ञता: कृतज्ञता जीवनको सौन्दर्य देख्ने दृष्टि हो। यसले साना–साना कुरामा पनि खुशी पाउन मद्दत गर्छ।
यी गुणहरू अभ्यासबाट विकसित हुन्छन्। यो कुनै एक दिनको परिवर्तन होइन तर निरन्तर अभ्यासको परिणाम हो।
ध्यान र विश्रामको अभ्यास
आध्यात्मिक अभ्यासमा ध्यान र गहिरो विश्राम अत्यन्त महत्त्वपूर्ण छन्। यी अभ्यासहरूले हाम्रो शरीर, मन र आत्मालाई सन्तुलित बनाउँछन्। ध्यानको क्रममा, हामी आफ्नो श्वासमा ध्यान केन्द्रित गर्छौं र मनलाई वर्तमान क्षणमा स्थिर बनाउँछौं। यसले मनको चञ्चलता कम गर्छ र स्पष्टता बढाउँछ। गहिरो विश्रामले शरीरमा सञ्चित तनाव हटाउँछ। जब शरीर आराममा हुन्छ, मन पनि स्वाभाविक रूपमा शान्त हुन्छ। यस अवस्थाले हाम्रो ऊर्जा पुनः स्थापित गर्छ र हामीलाई नयाँ उत्साह प्रदान गर्छ। गहिरो ध्यान र विश्रामले शान्त र शक्तिशाली ऊर्जा दिन्छ। यो ऊर्जा बाह्य उत्तेजनाबाट होइन, भित्री सन्तुलनबाट उत्पन्न हुन्छ।
सचेत जीवनशैलीतर्फ यात्रा
आध्यात्मिकता कुनै धार्मिक कर्मकाण्ड मात्र होइन, यो जीवन जिउने शैली हो। सचेत जीवनशैली भनेको प्रत्येक क्षणमा जागरूक भएर बाँच्नु हो। हामी के सोचिरहेका छौं? हामी कसरी प्रतिक्रिया दिइरहेका छौं ? हाम्रो निर्णयको आधार के हो? यी प्रश्नहरूमा ध्यान दिनु नै सचेत जीवन हो। जब हामी सचेत हुन्छौं, हामी स्वतः राम्रो छनोट गर्न थाल्छौं। हामी प्रतिक्रियात्मक होइन, उत्तरदायी बन्छौं। यसले हाम्रो सम्बन्ध, काम र व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ। जीवन परिवर्तन गर्न बाह्य संसार बदल्न आवश्यक छैन। परिवर्तनको सुरुवात हाम्रो सोच र दृष्टिकोणबाट हुन्छ। गुनासो छोडेर कृतज्ञता अपनाउनु, नकारात्मकता छोडेर सकारात्मकता रोज्नु र अशान्ति छोडेर शान्ति रोज्नु - यिनै साना परिवर्तनहरूले ठुलो प्रभाव पार्छन्।
हरेक दिन हामीसँग नयाँ अवसर हुन्छ - राम्रो छनोट गर्ने, राम्रो सोच्ने र राम्रो जीवन जिउने। जब हामी सचेत रूपमा शान्ति, प्रेम र कृतज्ञता रोज्छौं तब जीवन केवल बिताउने प्रक्रिया होइन, एउटा सुन्दर अनुभव बन्छ। आध्यात्मिकता भनेको बाहिर केही खोज्ने यात्रा होइन, यो आफैंभित्र फर्किने यात्रा हो। जहाँ शान्ति छ, प्रेम छ र गहिरो कृतज्ञता छ।
प्रकाशित: १९ वैशाख २०८३ १०:०० शनिबार

