२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

हात्तीबाट सुरक्षित हुने उपायहरू

गैंडा, बाघ लगायतका वन्यजन्तुहरू प्रायः निश्चित क्षेत्रमा मात्रै सीमित रहने तर हात्तीको वासस्थान व्यापक हुने भएकाले हात्तीले आफ्नो अस्तित्व रक्षाका लागि अन्य जनावरभन्दा धेरै चुनौतीको सामना गर्नुपरेको छ। उसका लागि ठूलो बासस्थानको आवश्यक पर्ने, बसाइँ सरेर धेरै लामो गन्तव्य तय गर्ने हुँदा मार्गमा चोरी सिकारी, बस्ती, भौतिक संरचना, कृषि भूमि, विद्युतीय धराप लगायतका अनेक खालका बाधाव्यवधान झेल्नुपर्ने अवस्था छ। तराई, दुन र भावरको सानो क्षेत्रमा फैलिएको बासस्थानमा पनि अधिकांश वन क्षेत्र अन्य प्रयोजनमा रूपान्तरण भैसकेको अवस्थामा समेत नेपालमा हाल २०० देखि २५० वटा जंगली हात्तीहरू पाइन्छन्।

विगत २४ वर्षमा नेपालमा ६२ हात्ती मारिएका मध्ये ४८ (७७ प्रतिशत) वटा विद्युतीय धरापमा पारेर मारिएका छन्। हात्ती र मानवबीचको अन्तरसंघर्षका कारण लाखौं रुपियाँ बराबरको धनसम्पत्तिको क्षति भएको छ भने २४ वर्षमा तीन सय ४९ अर्थात् प्रति वर्ष १४ जना नागरिकको मृत्यु भएको छ।

हात्ती, गैंडा र बाघ चुरे संरक्षणका सूचक प्रजाति हुन्। जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न हामीले वन र प्रकृतिको संरक्षण गर्नुपर्दछ। वन संरक्षणको सूचक प्रजाति हात्ती संरक्षण भयो भने हामी जलवायु परिवर्तनको जोखिमबाट बच्नेछौं भने चुरे विनाश रोकेर हाम्रो कृषि भूमि मरुभूमिकरण, तल्लोतटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, नदी कटानबाट बच्ने सक्छौं। वर्षामा पानीको सञ्चिति क्षमता बढेर हिउँदमा खानेपानी र सिञ्चाइको लागी पानीको आपूर्ति हुनेछ।

गत एक महिनाभित्रै पूर्वी नेपालमा विद्युतीय धरापमा परेर दुई वटा हात्तीको मृत्यु भयो भने हात्तीको बथानले स्थानीय बासिन्दाको अन्नबाली र घरगोठमा ठूलो नोक्सानी पुर्‍याएका छन्। गैंडाको चोरी सिकार शून्य बनाउन सम्भव छ भने वन्यजन्तुबाट नागरिकको जीउधनको क्षति शून्यमा पुर्‍याउँछु भन्ने अठोटका साथ योजना बनाएर काम गर्न सके यो संख्यालाई घटाउन सकिन्छ।

गैंडा र हात्ती दुवै शाकाहारी जनावर भएको हुँदा उनीहरूले मानिस र पशु चौपायमाथि आक्रमण गर्नु भनेको मानिसले उनीहरूमाथि गरेको व्यवहारका कारण रिसाएर वा उनीहरूले आफूलाई असुरक्षित महसुस गरेकाले आक्रमण गर्ने गर्दछन्। बासस्थानको विनाश, आहारको अभाव, जंगलमा अत्यधिक मानिसको प्रवेश, जैविक मार्गमा अवरोधका कारण हात्ती, गैंडा लगायतका वन्यजन्तु बस्तीमा आउने र मानिस जंगलमा जाँदा दोहोरो जम्काभेटले संकट निम्त्याउने गरेका छन्। वन्यजन्तुबाट सुरक्षित हुने उपायहरूका सम्बन्धमा उनीहरूको अवस्था, उमेर, बानी व्यहोराका आधारमा सर्वोच्च प्राणी मानिसले आफूलाई वन्यजन्तुबाट हुन सक्ने सम्भावित खतराबाट कसरी सुरक्षित रहने भन्ने उपायहरूको खोजी गर्नु जरुरी छ।

वन्यजन्तु संरक्षकले वन्यजन्तुबाट हुने हानीनोक्सानीबाट जनताको जीउधनको सुरक्षालाई प्रथामिकतामा राखेर वन्यजन्तुबाट बच्ने उपाय, रोकथामका विकल्प, नियन्त्रणका प्रयास गर्नु जरुरी छ। अन्यथा वन्यजन्तु संरक्षण र वन्यजन्तुप्रति मानिसको आक्रोश बढ्दै जाँदा सह–अस्तित्वको सवाल कमजोर हुन जान्छ।

वन्यजन्तुबाट नागरिकमाथि आक्रमणका कतिपय घटनाहरू मानिसको अज्ञानता, अन्जान वा भुलवश हुने गरेका छन् भने अधिकांश घटना मानवीय लापरबाही, त्रुटी, हेलचेक्य्राइँ आदिबाट हुने गरेका छन्। स्थानीय समुदाय, गस्तीमा जाने निकुञ्ज वन कर्मचारी एवं सुरक्षाकर्मी, घुम्न जाने पर्यटक र पर्यटक पथ प्रदर्शकमाझ वन्यजन्तुबाट जोगिने उपायबारे चेतना जागृत गर्न सके धेरै हदसम्म वन्यजन्तुबाट हुन सक्ने सम्भाव्य जोखिम न्यूनीकरण गर्न सकिनेछ।  

हात्तीले आक्रमण गर्ने अवस्था  

भाले हात्तीको कञ्चटबाट मद (तरल पदार्थ) चुहिएको बेलामा हात्ती उन्मत्त हुनुलाई मात लागेको भनिन्छ। त्यो बेलामा हात्तीले मानिस एवं अन्य जनावरलाई आक्रमण गर्ने र ठूलाठूला रुख लडाउने गर्दछन्। हात्तीको बथानमा सानो बच्चा साथमा हुँदा, बच्चा चोरी गरे, मारे वा मरेको अवस्थामा हात्तीको बथान नै आक्रमक हुन्छ। भाले र पोथी सहवासको समयमा पनि हात्ती आक्रामक हुने गर्दछन्। हात्तीसँग अचानक जम्काभेट भएर हात्तीको नजिक पुगेमा हात्तीले आक्रमण गर्ने गर्दछन्। हात्ती चरिरहेको समयमा जिस्क्याएमा वा हल्लाखल्ला गरेमा पनि हात्ती आक्रामक हुन्छन्।

हात्ती गाउँबस्तीमा प्रवेश गरेर खेतीबाली खान आउँदा धपाएको बेलामा पनि रिसाएर आक्रमण गर्दछन्। आगोको अगुल्टो वा कुनै वस्तुले हात्तीलाई हानेमा वा पहिले त्यस्तो गरेको व्यक्तिलाई सम्झेर देख्नासाथ आक्रमण गर्छन्। हात्तीलाई दुःख दिएको व्यक्तिलाई पछिसम्म इख राखेर बसेको हुन्छ र उसलाई जिस्क्याउने वा लखेट्ने मान्छेको आवाज चिन्यो भने धेरै पछिसम्म पनि आक्रमण गर्न सक्छ।

हात्तीले कसरी आक्रमण गर्छ?

हात्ती मानिससँग रिसायो भने सबैभन्दा पहिले सुँड भुइँमा पड्काउँदै धुलो छर्छ र कान ठाडो पार्दै जोडले कराएर आक्रमण गर्दछ। हात्तीले मानिसलाई भेटेपछि आफ्नो सुँडले हानेर मान्छेलाई लडाउँछ, खुट्टाले थिच्छ र सुँडले समातेर च्यात्ने गर्दछ। हात्तीले मानिसलाई आक्रमण गर्ने बेलामा रुख अगाडि रहेछ भने रुख ढाल्छ, रुखले हान्छ र हाँगा भाचेर हान्छ।

हात्तीले मानिसलाई आक्रमण गर्ने बेलामा अगाडिपट्टी कुनै वस्तु छ भने जे अघिल्तिर छ त्यही उठाएर हान्ने गर्दछ। भाले हात्तीले मानिसलाई भुईंमा पछारिसकेपछि दाह्राले घोचेर मार्दछ। उसले मानिसलाई भुईंमा पछारिसकेपछि सुँडले बेरेर पर फ्याँकिदिन्छ वा रुखमा लगेर पछार्ने गर्दछ। हात्तीले आक्रमण गरिरहेको अवस्थामा मानिस भाग्न खोज्यो भने छेकेर आक्रमण गर्दछ। हात्तीलाई घरमा बसेर अगुल्टोले हान्यो, जिस्क्यायो भने हात्तीले त्यस्तो गर्ने मानिसको घरै भत्काइदिन्छ।

हात्तीबाट बच्ने उपाय

जंगलमा जाँदा अचानक हात्तीसँग जम्काभेट भए आफूसित भएको सामान (टोपी, रुमाल, झोला, चप्पल, जुत्ता, सल, पछ्यौरा, गम्छा) फ्याक्ने र बेतोडसँग बांगोटिंगो हुँदै दौडिएमा हात्तीले छोटो दूरीसम्म मात्र लखेट्छ र लखेट्दै पछि–पछि आइरहँदैन।

तपाई जंगलमा जाँदा अचानक हात्तीसँग जम्काभेट भएर तपाईलाई लखेट्न थाल्यो भने हात्तीले लखेट्दा ढुङ्ग्यान बगरतिर भाग्नुपर्दछ। अलि छड्के परेर भिरालोतिर भाग्नुपर्दछ। दलदल वा हिलोतिर भाग्नुपर्दछ। ठूलो रुख ढलेको भए त्यसको मुनिबाट भाग्नुपर्दछ। पुल–पुलेसा तरेर भाग्नुपर्दछ। हात्तीको सुँध्ने शक्ति तीव्र हुने हुँदा हावाको विपरीत दिशा र जंगल वा झाडीतिर भाग्नुपर्दछ। जंगलमा जाँदा जाँड–रक्सी खानु हुँदैन। आगो वा राँको बालेर तर्साउने गर्नु हुँदैन।

जाँड–रक्सीको गन्धले गर्दा हात्तीले मान्छेलाई पछ्याई–पछ्याई आक्रमण गर्ने भएकाले हात्ती आउने गाउँ वा जंगलमा जाँदा जाँड–रक्सी खानु हुँदैन र घरमा जाँड–रक्सी बनाउने वा राख्ने गर्नु हुँदैन। हात्तीको आक्रमणबाट मृत्यु भएका ८५ प्रतिशतभन्दा धेरै जनाले मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको छ।

तपाईलाई हात्तीले लखेट्न थाल्यो भने हात्ती ठूलो शरीरको भएको हुँदा दलदल क्षेत्रमा हिँड्न डराउने भएकाले नजिकै दलदल छ भने दलदलतिर भाग्नुपर्दछ। हात्तीले आक्रमण गरेको वेला नजिकै रुख रहेछ भने रुख चढ्नु हुँदैन। हात्ती चढेर घुम्न वा गस्ती गएको बेलामा जंगली भाले हात्तीसँग जम्काभेट भएमा छिटोछिटो हात्ती सुरक्षित स्थानतर्फ लग्नुपर्दछ।

त्यसैगरी हात्तीले मन नपराउने बालीबाली लगाउने, आफ्नो कृषिभूमिमा बलियो घेराबेरा गर्ने र हात्तीको जैविक मार्गमा बसोबास नगर्दा हात्तीबाट सुरक्षित हुन सकिन्छ। हात्ती गाउँमा आएमा वा जंगल जाँदा हात्ती भेटिएमा हात्तीलाई जिस्काउने वा तर्साउने गर्नुहुँदैन। जंगली हात्ती पाइने जंगलमा जाँदा हात्तीको ताजा पाइला वा दिसा भेटिन्छ कि याद गर्नुपर्छ। त्यस्तै हात्ती गएको दिशातर्फ नजाने र रुख भाँचिएको, सुँड बजारेको वा हात्तीले घुरेको पनि सुन्न सकिन्छ।

मानिसले सुन्न नसकिने पाँचदेखि २० हर्ज तरंगको ध्वनी निकालेर सहवासको लागि तीनदेखि पाँच किमि परको भाले हात्तीलाई निमन्त्रणा दिने हुँदा प्रजनन् योग्य पोथी हात्तीलाई वनजंगलभन्दा तीनदेखि पाँच किमि पर राख्ने व्यवस्था गर्ने र हात्तीका जैविक मार्गका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्दछ।

हात्तीका जनावर पाइने वनजंगलमा जाँदा

हात्ती पाइने वनजंगलमा कहिल्यै एक्लै जानुहुँदैन। वनजन्य पदार्थ संकलन गर्न जाँदा समूहमा र पर्यटनका लागि जाँदा साथमा पर्यटक पथ प्रदर्शक लैजानु पर्दछ। जंगलमा जाँदा रङ्गीचङ्गी र भड्किलो पोषाक लगाउनु हुँदैन र जंगल सुहाउँदो पोषाक लगाउनुपर्छ।

छत्रे वा पाली टोपी, रुमाल, घाँटीमा झुण्ड्याउने पातलो गम्छा, झोला, हाफ ज्याकेट लगाउनुपर्दछ ताकि जनावर आक्रमण गर्न आएमा तुरुन्त जनावरतिर फ्याँक्न सकियोस्। आफ्नो साथमा सधैं दरो लौरो बोक्नुपर्छ। अत्तर अथवा बास्ना आउने वस्तु शरीर वा कपडामा प्रयोग गर्नु हुँदैन। दौडन मिल्ने जुत्ता लगाउनुपर्दछ। जंगलमा हो–हल्ला गर्नुहुँदैन। रेडियो, क्यासेट बजाउने वा हेडफोन प्रयोग गर्ने गर्नुहुँदैन। जंगलमा सधैं आँखा, कान र ध्यान चनाखो राखी सतर्क हुनुपर्छ। वन्यजन्तुहरू देखिएमा शान्त एवं सतर्क भई टाढाबाट अवलोकन गर्नुपर्दछ। कुनै पनि वन्यजन्तुको नजिक जाने वा जिस्क्याउने प्रयास गर्नु हुँदैन। जंगलमा सलाई कोरी जथाभावी फ्याँक्न, आगो लगाउन, क्याम्प फायर गर्नु हुँदैन। जंगल जाँदा धूमपान वा मदिरापान गर्नु हुँदैन। विश्राम गर्दा अग्लो र खुला ठाउँमा गर्नुपर्दछ। माछा, मासु, अण्डाजन्य खानेकुरा लैजानु हुँदैन। पैदल यात्री पर्यटक वा वनजंगलमा घाँस दाउरा लिन जाँदा १० वर्षभन्दा कम उमेरका साना बच्चा, गर्भवती, बहिरो, अन्धो, लाटो, अशक्त, अपांग र बूढो उमेरका व्यक्ति जानु हुँदैन।

सम्पूर्ण डिभिजन वन कार्यालयहरूले हरेक सामुदायिक वन उपभोक्ता समूह र सबै राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्र कार्यालयहरूले प्रत्येक मध्यवर्ती क्षेत्र उपभोक्ता समूहमार्फत सम्पूर्ण घरधुरीका मानिस समक्ष वन्यजन्तुबाट सुरक्षित हुने ज्ञान प्रदान गर्न सकेमा निश्चित रूपमा वन्यजन्तुबाट सुरक्षित हुन सकिन्थ्यो। वन, निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी, पर्यटक पथ प्रदर्शक र पर्यटकले पनि यो ज्ञान जान्न त्यत्तिकै जरुरी छ।

– कुँवर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पूर्व चिफ वार्डेन हुन्।

प्रकाशित: २६ असार २०८२ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App