बेजिङमा भएको डोनाल्ड ट्रम्प र सी चिनफिङबिचको शिखर सम्मेलनले प्रतिस्पर्धा र प्रभुत्वका लागि शून्य–योग संघर्ष हुनुुपर्दैन भन्ने देखायो। दुवै देश प्रविधिगत नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहे पनि यी दुई देशबिचको पूर्ण आर्थिक विच्छेदन न त सम्भव छ, न त वाञ्छनीय नै।
बेइजिङमा हालै दुई राष्ट्रपतिबिचको शिखर सम्मेलनबाट भन्सार शुल्क, ताइवान वा इरान युद्धजस्ता जारी भूराजनीतिक द्वन्द्व निवारणमा खासै उपलब्धि ननिस्किएकाले धेरै पर्यवेक्षकले यसलाई महत्त्वहीन भनेका छन्। दुई देशबिच देखिएको संयमित र सौहार्दपूर्ण वातावरणले नयाँ तथा बढी व्यावहारिक दृष्टिकोणको संकेत दिएको छ र यसले दुवै देशबिचको गहिरो आर्थिक अन्तरनिर्भरताको मौन स्वीकारोक्ति गरेको छ। प्रस्ट छ, अमेरिकी र चिनियाँ राष्ट्रपतिले द्विपक्षीय सम्बन्धलाई केवल भूराजनीतिक प्रतिस्पर्धाको दृष्टिले मात्र हेरिरहेका थिएनन्।
अमेरिकाले चीनलाई एक शक्तिशाली आर्थिक प्रतिस्पर्धीका रूपमा स्वीकार गर्नु कुनै आत्मसमर्पण होइन। यो त केवल यथार्थको स्वीकारोक्ति हो। विगतमा अमेरिकामा चीनको उदयबारे हुने बहसले एकखाले परिचित ढाँचा पछ्याएको छ–पहिला अस्वीकार, त्यसपछि क्रोध र अन्ततः स्वीकार। चीनले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरिरहेको समयमा धेरै अमेरिकी विश्लेषकहरूले चिनियाँ सरकारी तथ्यांकलाई अविश्वसनीय वा बढाइचढाइ गरिएको भन्दै खारेज गरेका थिए। चीनको आर्थिक रूपान्तरणलाई बेवास्ता गर्न कठिन हुँदै जाँदा त्यसको सफलतालाई औद्योगिक नीति, नक्कल प्रवृत्ति र बौद्धिक सम्पत्ति चोरी तथा मुद्रा हेरफेरजस्ता ‘अनुचित अभ्यास’को परिणाम भनेर व्याख्या गरियो।
अहिले चीनले केही रणनीतिक उद्योगहरूमा प्रविधिगत अग्रपंक्ति हासिल गरिसकेपछि ती कथनलाई टिकाउ बनाउन कठिन भएको छ। विशेषगरी, चिनियाँ विद्युतीय सवारीसाधन उत्पादकहरू सस्तो मोडलदेखि परिष्कृत प्रिमियम ब्रान्डसम्मका विभिन्न बजार खण्डमा विश्वव्यापी प्रतिस्पर्धीका रूपमा उदाएका छन्। औषधि क्षेत्रमा पनि चिनियाँ कम्पनीहरू नक्कलकर्ताबाट नवप्रवर्तनकर्तामा रूपान्तरित भएका छन् र उनीहरूले ‘फ्री राइडर’को पुरानो छवि त्यागेका छन्। सेमिकन्डक्टर क्षेत्रमा पनि चीनले उन्नत चिप उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ, यद्यपि अझै पनि ऊ टिएसएमसीजस्ता विश्व अग्रणी कम्पनीहरूभन्दा पछाडि छ।
यी उपलब्धिहरू कुनै एक नीति वा औद्योगिक रणनीतिको परिणाम होइनन्, व्यापक संरचनात्मक रूपान्तरणका उपज हुन्। त्यसैले अमेरिकाले चीनको प्रविधिगत प्रगतिलाई रोक्ने प्रयासमा मात्र केन्द्रित हुनुको सट्टा चिनियाँ प्रतिस्पर्धा दीर्घकालीन यथार्थ हो भन्ने स्वीकार गर्दै आर्थिक सहअस्तित्व र सीमित सहकार्यका ढाँचाहरू निर्माण गर्नुपर्छ।
यसका लागि एउटा प्रमुख प्राथमिकता भनेको अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच सुनिश्चित गर्नु हुनुपर्छ। ट्रम्पसँगै बेइजिङ पुगेका प्रभावशाली अमेरिकी प्रमुख कार्यकारी अधिकृतहरू र व्यापारिक नेताहरूले गहिरो आर्थिक एकीकरणको युगको अन्त भए पनि यसको पूर्ण विच्छेदन न त यथार्थपरक छ, न त वाञ्छनीय नै भन्ने सन्देश दिएका थिए। अबको बढी सम्भावित बाटो भनेको छनोटात्मक अन्तरनिर्भरता र दुवै पक्षलाई लाभ हुने क्षेत्रहरूमा निरन्तर सहकार्य हो।
सी चिनफिङले द्विपक्षीय सम्बन्धको चर्चा गर्दा ‘थुसिडिडेज ट्रयाप’को उल्लेख गर्ने गरेका छन्। राजनीतिक वैज्ञानिक ग्राहम एलिसनले प्रतिपादन गरेको यो अवधारणाले उदाउँदो शक्ति (थुसिडिडिजका सन्दर्भमा एथेन्स) ले स्थापित शक्ति (स्पार्टा) लाई विस्थापित गर्ने खतरा पैदा हुँदा द्वन्द्वको जोखिम बढ्ने अवस्थालाई जनाउँछ।
यो तुलना पूर्ण रूपमा मिल्दो छैन। अमेरिकाले धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जसमध्ये केही उसका आफ्नै निर्णयका परिणाम हुन्। तर उसलाई अहिले नै पतनशील शक्ति भन्दा हतार हुनेछ। अमेरिका अझै पनि नवप्रवर्तन र उद्यमशीलताको विश्वकै अग्रणी केन्द्र हो, जसले कम्प्युटिङ, इन्टरनेट, स्मार्टफोन र कृत्रिम बुद्धिमत्ताजस्ता विगत शताब्दीका परिवर्तनकारी प्रविधिहरू विकास गरेको छ। प्रतिभा संसारभर भए पनि वैज्ञानिक नेतृत्व, गहिरो पुँजी बजार, उद्यमशील संस्कार र संस्थागत लचकताको संयोजनमा कुनै देश अमेरिकासँग तुलना गर्न सक्दैन। अर्बपति लगानीकर्ता वारेन बफेटले भनेझैं सन् १७७६ यता अमेरिकाविरुद्ध दाउ लगाएर कोही सफल भएको छैन।
यसबाहेक, चीनको प्रविधिगत क्षमता प्रभावशाली भए पनि प्रतिव्यक्ति आयका हिसाबले ऊ अझै मध्यम–आय भएको देश नै हो। विशाल आर्थिक आकार हुँदाहुँदै पनि त्यहाँको औसत जीवनस्तर विकसित अर्थतन्त्रहरूको भन्दा निकै तल छ। दीर्घकालीन वृद्धि कायम राख्ने प्रयासमा चीनले संरचनात्मक तथा जनसांख्यिकीय चुनौतीहरूको पनि सामना गरिरहेको छ।
एथेन्स–स्पार्टाको तुलनाले एउटा महत्त्वपूर्ण पाठ दिन्छ, किनकि पेलोपोनेसियन युद्धले अन्ततः दुवै पक्षलाई कमजोर बनाएको थियो। आज दुवै शक्तिले तनाव बढ्न नदिई आपसी हितका क्षेत्रमा सहकार्यका मार्ग खुला राखे भने अमेरिका र चीनबिचको आर्थिक प्रतिस्पर्धाले पनि त्यही परिणाम निम्त्याउनुपर्छ भन्ने छैन।
अमेरिका–चीनबिच बढी सहकार्यपूर्ण सम्बन्धको कल्पना अहिले धेरैलाई अवास्तविक लाग्न सक्छ तर इतिहासमा पूर्व प्रतिद्वन्द्वीहरूले अन्ततः दीर्घकालीन राजनीतिक समझदारी हासिल गरेका थुप्रै उदाहरण छन्। ईसापूर्व पाँचौं शताब्दीमा एथेन्स र स्पार्टा एकदिन शान्तिपूर्वक सहअस्तित्वमा रहनेछन् भन्ने कल्पना हास्यास्पद वा काल्पनिक मानिन्थ्यो। प्राचीन ग्रिसलाई विभाजित गर्ने त्यो कटु प्रतिस्पर्धा आज साझा राष्ट्रिय इतिहासको हिस्सा बनेको छ। त्यसैगरी दोस्रो विश्वयुद्धपछि पश्चिमी युरोपले शताब्दीयौंका विनाशकारी युद्धपछि हासिल गरेको राजनीतिक र आर्थिक एकीकरणको स्तर पनि त्यतिबेला अकल्पनीय थियो।
अन्ततः महत्त्वपूर्ण कुरा भनेको कुन देश विश्व व्यवस्थाको शीर्षमा बस्छ भन्ने होइन, राजनीतिक र आर्थिक प्रणालीहरूले आफ्ना नागरिकहरूको जीवनस्तर सुधार गर्छन् कि गर्दैनन् भन्ने हो। यस सन्दर्भमा अमेरिका र चीनले समान चुनौतीहरूको सामना गरिरहेका छन्– तीव्र प्रविधिगत परिवर्तनको व्यवस्थापन, कृत्रिम बुद्धिमत्ताअनुसार श्रम बजारलाई अनुकूल बनाउने, वित्तीय स्थिरता कायम गर्ने, सामाजिक एकतालाई कमजोर पार्न सक्ने पुराना तथा नयाँ असमानताहरू समाधान गर्ने र जलवायु परिवर्तनसँग जुध्ने।
यी मुद्दाहरूमा प्रगति हासिल गर्न विश्वका दुई ठुला अर्थतन्त्रबिच अझ बढी सहकार्य आवश्यक हुनेछ। प्रभुत्वका लागि हुने शून्य–योग प्रतिस्पर्धा वहन गर्ने सामथ्र्य कुनै पक्षसँग छैन।
–पिनेलोपी विश्व बैककी पूर्व प्रमुख अर्थशास्त्री र येल विश्वविद्यालयमा अर्थशास्त्र विभागकी प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: ८ जेष्ठ २०८३ १०:२६ शुक्रबार

