प्रसिद्ध र खासगरी महत्वाकांक्षी व्यक्तिहरूले नोबेल पुरस्कारका लागि आफ्नै पैरवी गर्नु कुनै नयाँ विषय होइन। वैज्ञानिक, अर्थशास्त्री र कविहरू समेत यसो गर्ने गर्छन्। डोनाल्ड ट्रम्पले भने नोबेल शान्ति पुरस्कारका लागि चलाएको निर्लज्ज र कल्पनातीत अभियान विश्वले अहिलेसम्म देखेको थिएन। शान्ति पुरस्कार भनेको विश्वको सबैभन्दा प्रतिष्ठित मान्यता हो, जुन शान्ति पुनस्र्थापना वा सुदृढीकरणका लागि दिइन्छ। नर्वेको संसद्ले नियुक्त गरेका प्रतिष्ठित नर्वेली विद्वान्हरू सम्मिलित एक समितिबाट यी विजेता चयन हुन्छन्। यस्तो समितिले ट्रम्पलाई पुरस्कारको लागि योग्य ठान्ला भनेर कल्पना समेत गर्न गाह्रो छ।
यसमा एउटा कारण के हो भने ट्रम्पले युरोपलाई (जसमा नर्वे समेत पर्दछ) हरेक अवसरमा होच्याउन चाहन्छन् र धोका दिन्छन्। उनले बारम्बार ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएका छन्, जुन नर्वेको छिमेकी डेनमार्कको स्वायत्त भूभाग हो। उनले नाटो गठबन्धन (जसमा नर्वे पनि पर्दछ) लाई कमजोर पार्ने चाहना पटकपटक देखाएका छन्। यसैबिच ट्रम्पले द्वितीय विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो भू–युद्धका लागि जिम्मेवार मानिएको स्वेच्छाचारी रुसी नेतासँग आत्मसमर्पण गरेका छन्, जबकि आक्रमणविरुद्ध लडिरहेको देशको राष्ट्रपतिलाई कैयन पटक अवहेलना गरेका छन्।
ट्रम्प प्रायः स्वेच्छाचारी नेताहरूको पक्षमा उभिन्छन्। हालै उनले ब्राजिलमाथि कडा भन्सार शुल्क लगाएका छन्। ब्राजिलले सन् २०२२ मा ट्रम्पबाट प्रेरित भएर सत्ता ढाल्ने प्रयास (कु) का लागि पूर्व राष्ट्रपति जैयर बोल्सोनारोलाई जिम्मेवार ठहर्याउन खोजेको थियो। त्यसको सजायका रूपमा ट्रम्पले ब्राजिलमाथिको भन्सार बढाइदिएका छन्।
साथै, गाजामा क्रुर आक्रमण तीव्र बनाइरहेका बेला उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चर्काे समर्थन गरेका छन्। नर्वेको कूटनीतिक प्रयास स्वरूप सम्पन्न भएको ओस्लो सम्झौता (जसलाई विगत आधा शताब्दीको प्रमुख उपलब्धि मानिन्छ) लाई पूर्णतया ध्वस्त पारिएको वर्तमान सन्दर्भमा उनले इजरायली प्रधानमन्त्रीको अन्ध समर्थन गरेका छन्।
यद्यपि ओस्लो सम्झौताले स्पष्ट रूपमा इजरायलजस्तै छुट्टै प्यालेस्टिनी राज्य स्थापनाको समर्थन गरेको थिएन, यसले पश्चिमी तट र गाजामा स्व–शासित प्यालेस्टिनी निकायको स्थापना गरेर अन्ततः दुई–राज्यको आधारशीला तयार गरेको थियो। अहिले इजरायलले गाजा मात्र ध्वस्त मात्र पारेको छैन, त्यहाँको जनतालाई भोकमरीमा धकेलेको छ र पश्चिमी तटमा प्यालेस्टिनी राज्य निर्माणलाई असम्भव पार्ने गरी नयाँ बस्ती बसाउने आयोजना स्वीकृत गरेको छ। ट्रम्पले नेतान्याहुको कार्यलाई समर्थन मात्र होइन, उनका आलोचकलाई (जसमा नर्वे पनि पर्दछ) समेत सजाय दिन्छन्।
घरभित्रै पनि ट्रम्पको व्यवहार संवाद र मेलमिलापभन्दा यस्तै तिरस्कारप्रति उन्मुख छ। पहिलो राष्ट्रपति कार्यकालमा, वासिङ्टन डिसीमा पठाइएका सैनिकहरूले प्रदर्शनकारीको खुट्टामा गोली हान्न सक्छन् अथवा सक्दैनन् भनेर उनले ‘ज्वाइन्ट चिफ अफ स्टाफ्स’ जनरल मार्क मिलीसँग सोधेका थिए।
अहिले उनले ‘नेसनल गार्ड’लाई त्यस्ता शहरमा पठाइरहेका छन् जहाँ उनीहरूको आवश्यकता नै छैन। शरण माग्ने र कानुनी आप्रवासीहरू मात्र होइन, यहाँसम्म कि अमेरिकी नागरिकलाई समेत (बालबालिकासहित) कानुनी प्रक्रिया बिना उनले कैद र निर्वासनमा धकेलिरहेका छन्।
साँचो कुरा के हो भने ट्रम्पको संसारमा साँचोलाई झुठ भनिन्छ, जवाफदेहीलाई ‘जादुटुना (विचहन्ट)’ मानिन्छ र झुठ बोल्नु सामान्य विषय हुन्छ र त्यहाँ जे पनि हुन सक्छ। विश्वका कतिपय नेताहरू उनलाई खुसी पार्न र उनको धम्की मान्न बाध्य भएका छन्।
वास्तवमा नोबेल पुरस्कारका लागि उनको नामांकन पनि भइसकेको छ। उक्त प्रस्ताव गर्नेमा एउटा पाकिस्तान पनि हो जसलाई शान्तिको प्रतीक मान्न सकिन्न र अर्को कम्बोडिया रहेको छ, जहाँ ट्रम्पले प्रशंसा गर्ने खाले सर्वसत्तावादीको शासन छ। त्यसो त नोबेल समितिले यसअघि पनि ट्रम्पभन्दा झन् अझै कुरूप शान्ति–मञ्चन गर्ने पात्रको मनोनयनलाई झेलेको थियो। सन् १९३९ मा स्विडेनको संसद्का एक दर्जन सदस्यहरूले तत्कालीन ब्रिटिस प्रधानमन्त्री नेभिल च्याम्बरलेनलाई एडोल्फ हिटलरसँग म्युनिख सम्झौता गर्न निर्वाह गरेको भूमिकाका लागि नोबेल शान्ति पुरस्कारका लागि नामांकन गरेका थिए। अन्ततः समितिले त्यो वर्ष कसैलाई पनि नोबल शान्ति पुरस्कार नदिने निर्णय गर्यो। त्यो निर्णय सही ठहरियो किनभने च्याम्बरलेनको सम्झौताले नाजी शासकलाई चेकोस्लोभाकियाको सुडेटेनल्यान्ड क्षेत्र कब्जा गर्न हरियो बत्ती बालेको थियो र यसले हिटलरलाई अन्य युरोपेली लोकतन्त्रहरूमाथि आक्रमण गर्न अझै उत्साहित बनाएको थियो।
विडम्बना त के छ भने ट्रम्पले नोबेल पुरस्कार पाउने आफ्नो सम्भावना साकार पार्न युक्रेनलाई आफ्नै सार्वभौम भूभागको केही भाग रूसलाई दिन बाध्य पार्ने ‘म्युनिख–सम्झौता’ जस्तो सहमति देख्न चाहन्छन्। नोबेल समितिले अधिनायकवादीको समर्थक होइन, प्रतिरोधकर्ताको पक्ष लिने बढी सम्भावना रहन्छ।
सन् २०१० मा समितिले जेलमा रहेका चिनियाँ नेता लिउ शियाओबोलाई चीनमा मौलिक मानवअधिकार स्थापनाका लागि उनको ‘लामो र अहिंसात्मक संघर्ष’ का लागि शान्ति पुरस्कारले सम्मान गरेको थियो। चीन सरकारले उक्त निर्णयको कडा विरोध गर्यो, जसले चीन र नर्वेबीच आपसी सम्बन्धमा समेत दीर्घकालीन प्रभाव पर्यो तर समितिले आफ्ना मूल्यहरूलाई कायम राख्यो। ट्रम्पलाई युक्रेनको विखण्डनलाई प्रोत्साहन गरेका कारण नोबेल दिइयो भने त्यसले विश्वमा उल्टो सन्देश दिनेछ - यसले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई ताइवान आक्रमण गर्न हौस्याउन सक्छ।
अनि, आखिर किन ट्रम्पलाई शान्ति पुरस्कार चाहिएको हो, जब उनी शान्ति स्थापनाका सिद्धान्त (र कठिन श्रम) प्रति घृणा गर्ने देखिन्छन्? सबैभन्दा सम्भावित जवाफ के हो भने उनलाई लाग्छ, बाराक ओबामाले नोबल शान्ति पुरस्कार पाएका छन्।
ओबामा अमेरिकाबाहिर जन्मिएका थिए भन्ने झुठ फैलाउनेदेखि लिएर उनलाई देशद्रोहको आरोप लगाउनेमा ट्रम्प पर्छन्। अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिका विषयमा उनको घृणाको कुनै सीमा छैन। ओबामा नोबेल विजेता बनेका छन् भने ट्रम्प बनेका छैनन्, उनलाई त्यही कुरा असह्य बनेको छ।
साँचो भन्नुपर्दा, ओबामालाई यो पुरस्कार किन दिइयो भन्ने कुरा सम्पूर्ण हिसाबले स्पष्ट छैन— सन् २००९ मा पहिलो पटक पद सम्हालेको केही महिनामै उनलाई पुरस्कार दिइएको थियो, जब उनको वास्तविक उपलब्धि भनेको प्रेरणादायी भाषण मार्फत सर्वसाधारणमा आशा जगाउनु मात्र थियो। सम्भवतः उनलाई मुख्यतः उनका पूर्ववर्ती जर्ज डब्लु बुशसँग कुनै समानता नराखेको कारण पुरस्कृत गरिएको थियो। बुशले सन् २००३ मा इराकमा आक्रमण गर्दा सद्दाम हुसेनसँग सामूहिक विनाशका लागि हतियार छन् भनेर झुठो दाबी गरेका थिए।
त्यसैले ओबामाको नोबेल शान्ति पुरस्कार समयअगावैको कार्य भन्न सकिएला तर ट्रम्पलाई दिने हो भने त्यो व्यंग्य मात्र हुनेछ। उनले समितिलाई दबाबमा पारेर पुरस्कार हात पारे भने शान्ति पुरस्कार नै हाँसोको विषय बन्न सक्छ।
नीना एल. ख्रुश्चेभ, (प्रोजेक्ट सिण्डिकेटबाट)
(लेखक नीना एल. ख्रुश्चेभ न्यू स्कुलकी अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक हुन्।)
प्रकाशित: १० भाद्र २०८२ ०९:५० मंगलबार

