२० मंसिर २०८२ शनिबार
image/svg+xml
विचार

तीन दशकको बेथिति, नयाँ पुस्ताको थिति

२०८२ भदौ २३ र २४ गते नेपालको इतिहासमा अर्को एउटा अन्धकारको नाम लेखियो। जसको परिणाम थियो–विगत तीन दशकभन्दा बढी समयदेखि प्रजातन्त्र र लोकतन्त्रले जन्माएका बेतिथि, कुशासन र  विकृत संस्कार। ती बिचमा नागरिकले लडेर प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए तर त्यसको फाइदा भनेको दलका नेताहरू देवत्वकरण भए। कुशासन र भ्रष्टाचार संस्थागत बने। त्यो कुसंस्कारले निजी र सार्वजनिक क्षेत्र दुवै प्रभावित भए। यही कारण नयाँ पुस्ता जेनजी सडकमा उत्रियो। उनीहरूको बलिदानले पुरानो पुस्तालाई चुनौती मात्र दिएन, लोकतन्त्रलाई पारदर्शी र जवाफदेही बनाउन अर्को ऐतिहासिक अवसर पनि दियो तर बिचमा अनेक मुखौटामार्फत विभिन्न दलकै कार्यकर्ताहरूले घुसपैठ गरे र राष्ट्रिय सम्पत्तिको नाश गरे। र पनि, यो विषम परिस्थिति अस्तित्वगत आएको थियो। त्यसलाई जेनजी पुस्ताको पवित्र अभियान बन्न नदिन धेरै पक्षले भाड्न सफल भयो र राज्यलाई असफल बनायो।

भनिन्छ– क्रान्ति एकै दिन, एकै पटकमा आउँदैन। यसपटकको यो विषम परिस्थिति तीन दशकभन्दा बढी समयको शासकहरूको विकृतिको परिणाम हो। र पनि, यसले त्यो लामो विकृति र अहंकारलाई फ्यालेर लोकतन्त्रलाई अझै पारदर्शी, जवाफदेही र नैतिक बनाउन र सर्वपक्ष सुधार गर्ने अन्तिम मौका दिएको छ। नागरिक समाजलाई विश्वास पनि छ एक कुशल नेतृत्व, निडर, निष्पक्ष, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा अभिभावकीय जिम्मेवारी दिएको छ जेनजीले। अबको समयमा नागरिकको जिउधनको सुरक्षा एवं स्वतन्त्रताका लागि टोलटोलमा जेनजी समूहको सहयोगको आवश्यकता छ। अझै पनि यो परिवर्तन पुरातन पक्षलाई चित्त बुझ्दो छैन र कैयौं तरिकाले लाभ उठाउने र अराजकता फैलाउने सम्भावना छ। त्यसप्रति सजग रहनुपर्नेछ। कर्मचारीलाई स्वतन्त्र रूपले काम गर्न पाउने व्यवस्था मिलाउनुपर्नेछ साथै अब गठन हुने मन्त्रीमण्डलले पुरातन संस्कारबाट माथि उठेर सहज तरिकाले नागरिकको विश्वास जित्नु छ। बुद्धको भूमिमा नेपाल शान्त, सहज, खुसीको वातावरण फेरि स्थापित हुनुपर्नेछ।

जेनजीको विद्रोह: भ्रष्टाचारविरुद्ध ऐतिहासिक चेतावनी

जेनजीलाई हाम्रो समर्थन रहनुको मुख्य कारण नै यो कुनै संगठित संस्था होइन भन्ने मानेर हो। हुन पनि जेनजी अभियानले विद्रोह गर्‍यो, कहिल्यै सुध्रिने आशा नगरिएको, प्रमुख नेता, समाजका बौद्धिक लगायत कुनै पनि तप्काले भ्रष्टाचारलाई परिणामदायक चुनौती दिनै नसकेको स्थितिमा एउटा तरंग सिर्जना गर्‍यो र पुरातन व्यवस्था सबै फ्याक्न सफल भयो। यसका लागि जेनजी पुस्ताले बलिदान दियो। यो समयको माग भनेकै नयाँ संरचनागत परिवर्तन थियो। विविध परिस्थितिका बाबजुद नेपाली सेना र राष्ट्रपतिसँग समन्वय गरी जेनजी समूहले असाध्यै परिपक्व र सुझपूर्ण कदम चालेका छन्। यसका लागि यी तीन पक्ष धन्यवादका पात्र हुन्। त्यसैको परिणामस्वरूप यो विषम परिस्थितिमा पनि अन्तरिम सरकार गठन भएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध काम गर्ने मौका सिर्जना भएको छ।

जेनजी अभियानको माध्यमबाट राष्ट्रलाई जुरुक्क उठाउने यो ऐतिहासिक जिम्मेवारी सबै नेपाली, हाम्रो समाज र हाम्रा राजनीतिक लगायत आर्थिक र सामाजिक संस्थाहरू सबैले स्विकार्नु र हातेमालो गर्नुपर्नेछ। फेरि पनि भन्नुपर्छ, जेनजी अभियान एउटा स्वतन्त्र अभियान हो, सुसंस्कार र राष्ट्रको समृद्धिका लागि त्यसैले दलीय स्वार्थभन्दा माथि उठेर भ्रष्टाचारको अन्त्यतिर लाग्नुपर्छ। जेनजी स्वतन्त्र भएर आफ्ना मागहरूलाई व्यावहारिकता दिनतर्फ लाग्नुपर्छ, झुकेर र बिर्सेर पनि अहिलेको सरकारको झोले बन्नु हुँदैन। सबैलाई नागरिकका रूपमा लिएर समग्र विकास र परिवर्तन नागरिकको हितमा हुनुपर्छ।

जेनजीले बुझेको हुनुपर्छ, विगतको अभ्यास लोकतन्त्रको खोक्रोपन सिद्ध भयो अनि कुलीनतन्त्रको राज भयो। लोकतन्त्रको नाममा सबै संरचना बने संसद्, अदालत, अख्तियार, प्रहरी तर ती सबै संस्था दलगत भागबन्डामा फसे। न्यायाधीशलाई यो पार्टीको भनेर चिनाउने अवस्था आयो। भ्रष्टाचार गरेर रातारात धनी हुनेहरूलाई समाजले प्रश्न गर्नुको साटो पूजा गर्न थाल्यो। राजनीति पैसा र पहुँचबिना नचल्ने भन्ने संस्कार बस्यो। लोकतन्त्रको आवरणमा वास्तवमा कुलीनतन्त्र नै मजबुत हुँदै गयो। अब जेनजीले चेतावनी दिएका छन्, पुरानो सोचको अन्त्य भएको छ।

समृद्धि राजनीतिबाट मात्र होइन, मानवीयताबाट आउँछ

आजको यो विकराल, विषम परिस्थिति सिर्जना हुँदा सबैमा मनोभावानात्मक असर परेको छ। मिहिनेत गर्ने, खाडीमा परिश्रम गरेर सम्पत्ति जोड्ने र भ्रष्टाचार गरेर सम्पत्ति जोड्नेलाई एकै बाकसमा राखिएको छ। सबैलाई रोजगारी दिने निजी क्षेत्र र राजनीतिक प्रतिशोध सँगै मिसिएको छ। राज्य दोहनको मुद्दा र व्यक्तिगत रिसिबीसंगै विकास भएको छ। यसको कारण हो– हिजोका दिन आफ्नो कर्म, उद्योगधन्दा र व्यवसायलाई सहज बनाउन नेतालाई र सम्बन्धित पक्षलाई घुस र कमिसन दिनैपर्छ भन्ने संस्कारको विकास। किन हिजो व्यापारी, साहु महाजनले घुस र कमिसन दिन्नौं, हाम्रो काम हुनुपर्छ भनेर प्रतिकार गर्न सकेनन्? घुस दिने र लिने दुवै यसका भागीदार हुनुको कारण आज यो परिस्थिति सिर्जना भएको होइन र? कमिसन दिएर र लिएर भए पनि रातारात धनी हुनु सफलता होइन। भ्रष्टाचार गरेर शक्तिमा पुग्नेहरू जनताको शत्रु हुन्।

अहिलेसम्म भएका व्यथितिलाई स्मरण गरौं– निजी क्षेत्रको योगदानलाई सम्मान गरौं र हरेक पक्षले कर्मयोग, उद्यम, मिहिनेत गर्ने बानी बसालौं। हुनेखानेको ईर्ष्या होइन, तिनीहरूले जस्तै शून्यबाट माथि उठ्न गरेको मिहिनेतको कथाबाट शिक्षा लिऊँ। परिश्रमको कदर गरौं, स्वावलम्बी र मानवीय बनौं। अन्यथा विदेश पलायन र बेरोजगारी यही संस्कारको नतिजा हो। पुराना मान्यता तोडेर नयाँ सिर्जनात्मक र परिश्रमी बन्दै संस्कार सुधार नगर्ने हो भने नेपाल फेरि अराजकतातिर धकेलिन्छ। त्यसैले त जेनजी कुनै संस्थागत अभियान होइन, बरू भ्रष्टाचारविरुद्धको आक्रोश हो। यसले परिवर्तनको ढोका खोलेको छ।

अबको सुधारमा सबैको साझा जिम्मेवारी रहनुपर्छ। नेपाल कानुनी राज्य हो। चोरी नगर्ने, भ्रष्टाचार नगर्ने, अन्याय नगर्ने यहि नै नेपालको कानुन हो। यही हो कानुन मान्ने भनेको। तब व्यक्तिगत जीवनमा र देशमा शान्ति, सुरक्षा र समृद्धि ल्याउन सहयोग रहनेछ। विगतमा राजनीतिक दलका झोलेहरूले आफ्ना कार्यकर्तालाई उद्यम गरेर खान सिकाएका भए, अहिंसात्मक संस्कार दिएको भए पनि देशमा लुटपाट, आगजनी, विध्वंस र हिंसात्मक कार्य हुँदैनथ्यो होला। व्यक्तिगत रिसिबीले जनधनको क्षति हुनु हुँदैनथ्यो। अब यसको मूल्य हाम्रो अर्को पुस्ताले पनि तिर्नुपर्ने हुन्छ। अराजकता र प्रतिशोध मात्र विकास भएको यो परिस्थितिमा ध्यान, ज्ञान र प्रज्ञाको शिक्षा सबैमा जागृत हुनुपर्ने देखिएको छ।

नयाँ दृष्टिको स्वीकार: पुरानो ढर्राको अन्त्य

नेपाल आज एउटा नयाँ ऐतिहासिक मोडमा उभिएको छ। पुरातन सोच, दलगत स्वार्थ र व्यक्तिगत हैकममा अडिएको नेतृत्व शैलीले देशलाई दीर्घकालीन संकटमा धकेलेको यथार्थ हामी सबैले देख्यौं तर अबको पुस्ताले स्पष्ट सन्देश दिएको छ– नेतृत्व चतुर्‍याइँ, चालबाजी वा अवसरवादले होइन, नयाँ दृष्टि र इमानदारीले चल्नुपर्नेछ। पुरातनवादीहरूलाई यो स्वीकार्न सजिलो छैन।

 वर्षौंसम्म सत्ता र संसाधनलाई निजी सम्पत्तिजस्तो प्रयोग गर्नेहरूले नयाँ पुस्ताको मागलाई हल्का रूपमा लिन खोज्ने सम्भावना छ तर अब इतिहासले उनीहरूलाई सोच बदल्न बाध्य बनाउनेछ। त्यसैले त नयाँ नेतृत्वप्रति हाम्रो अपेक्षा स्पष्ट छ– दलगत स्वार्थ होइन, नागरिक र राष्ट्रप्रेम नै मार्गदर्शक मूल्य बन्नुपर्छ। नयाँ दर्शन, नयाँ सिकाइ र नयाँ मानवीय संस्कारलाई मूल आधारमा राखेर विकासको यात्रा सुरु गर्नुपर्छ। कर्तव्यपरायणता, सचेतना, विश्वास र इमानदारीलाई शासनपद्धतिको मेरुदण्ड बनाउनुपर्छ। यस पटकको आन्दोलन र बलिदानले पुराना दलगत संस्कारलाई उघारेर मात्र होइन, त्यसको खिल्ली पनि उडाइदिएको छ।

दशकौंको भ्रष्टाचार, असमानता र कुशासनलाई ढाकछोप गर्ने आवरण च्यातिएको छ। अब यो परिवर्तनलाई स्वीकार नगर्नेहरू इतिहासकै सबैभन्दा  ठुलो भुल गर्नेछन्। नयाँ दृष्टिको स्वीकार गर्नु अब विकल्प होइन, आवश्यकता हो। यही स्वीकारोक्ति बाटो भएर जाने हो भने मात्र नेपालले शान्ति, समृद्धि र न्यायको नयाँ गन्तव्य तय गर्न सक्छ।

प्रकाशित: २६ आश्विन २०८२ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App