‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ। अधिकांश अवस्थामा आत्महत्या जीवनप्रतिको घृणाको अभिव्यक्ति मात्र नभई यो असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्ति खोज्ने निराश प्रयास हो। त्यसैले आत्महत्यालाई व्यक्तिगत निर्णय, धार्मिक आस्था वा नैतिक कमजोरीको विषयका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो व्यक्तिको मन, परिवार, समुदाय, अर्थतन्त्र, शिक्षा, संस्कृति र राज्यका नीतिहरूसँग गहिरोसँग जोडिएको सार्वजनिक स्वास्थ्य र सामाजिक विकासको प्रश्न हो भनेर बुझ्दा राम्रो हुन्छ।
यस्ता सबै अवस्थाले एउटा साझा प्रश्न उठाउँछन्– के हामी आर्थिक विकासको कुरा गरिरहँदा मानिसको मानसिक स्वास्थ्यलाई बिर्सिरहेका त छैनौं?
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् र यो १५–२९ वर्ष उमेर समूहका युवाहरूमा मृत्युको प्रमुख कारणमध्ये एक हो। अझ धेरै मानिसले आत्महत्याको प्रयास गर्ने वा गम्भीर आत्मघाती सोचसँग संघर्ष गरिरहेका हुन्छन्। यसको अर्थ, आत्महत्या केही सीमित व्यक्तिको समस्या होइन, यो विश्वव्यापी सार्वजनिक स्वास्थ्य चुनौती हो।
सन् १९९० को दशकको अन्त्यतिर जापानमा आर्थिक मन्दी, रोजगारीको असुरक्षा र सामाजिक दबाबका कारण आत्महत्याको दर उल्लेखनीय रूपमा बढ्यो। सुरुमा यसलाई व्यक्तिगत असफलताको विषय मानियो तर पछि सरकारले आत्महत्यालाई राष्ट्रिय स्वास्थ्य र सामाजिक नीतिको प्राथमिकतामा राख्यो।
विद्यालयहरूमा मनोपरामर्श सेवा विस्तार गरियो, कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरियो, संकटमा परेका व्यक्तिहरूका लागि सहायता सेवा उपलब्ध गराइयो र सञ्चारमाध्यमलाई जिम्मेवार समाचार सम्प्रेषणका मापदण्ड अपनाउन प्रोत्साहित गरियो। यसले क्रमशः सकारात्मक परिणाम दिन थाल्यो।
अस्ट्रेलियाले मानसिक स्वास्थ्य शिक्षालाई विद्यालयस्तरदेखि नै प्राथमिकता दियो। विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, भावनात्मक अभिव्यक्ति, सहयोग माग्ने सिप र साथीलाई कसरी साथ दिने भन्ने विषय पढाइयो। यसले मानसिक स्वास्थ्यबारे खुला संवादको वातावरण निर्माण गर्यो। समाजमा ‘सहायता माग्नु कमजोरी होइन’ भन्ने सोच विस्तार हुँदै गयो।
श्रीलंकाको अनुभव पनि दक्षिण एसियाका लागि उल्लेखनीय छ। एक समय विश्वकै उच्च आत्महत्या दर भएका देशहरूमध्ये परेको श्रीलंकाले सार्वजनिक स्वास्थ्य नीति, विष नियन्त्रण, समुदायमा आधारित मानसिक स्वास्थ्य सेवा र जनचेतना कार्यक्रमहरूलाई सुदृढ गर्दै आत्महत्याको दर घटाउन महत्त्वपूर्ण सफलता हासिल गर्यो। यसले देखाउँछ कि राजनीतिक इच्छाशक्ति, वैज्ञानिक नीति र समुदायको सहभागिता एकसाथ आउँदा परिवर्तन सम्भव हुन्छ।
यी उदाहरणहरूले एउटा साझा सत्य स्थापित गर्छ– आत्महत्या अपरिहार्य नियति होइन, समयमै गरिएको सही हस्तक्षेपले धेरै जीवन बचाउन सकिन्छ।
अब प्रश्न उठ्छ– नेपालमा किन चुनौती बढिरहेको छ?
नेपाल तीव्र सामाजिक रूपान्तरणको चरणमा छ। संयुक्त परिवारबाट एकल परिवारतर्फको संक्रमण, तीव्र सहरीकरण, वैदेशिक रोजगारी, बेरोजगारी, सामाजिक असमानता, डिजिटल जीवनशैली, परीक्षा तथा प्रतिस्पर्धाको दबाब, बढ्दो उपभोक्तावाद र कमजोर सामाजिक समर्थन प्रणालीले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ।
अर्कातर्फ, मानसिक स्वास्थ्यसम्बन्धी सेवामा पहुँच सीमित छ। धेरै जिल्लामा विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध छैन। अझ ठुलो चुनौती भनेको मानसिक समस्याप्रतिको सामाजिक कलंक हो। अझै पनि धेरै परिवारमा अवसाद, चिन्ता वा भावनात्मक समस्याबारे खुलेर कुरा गर्न हिचकिचाइन्छ। ‘यो त सामान्य कुरा हो’, ‘बलियो बन्नुपर्छ’, ‘अरूले पनि यस्तै दुःख भोगेका छन्’ भन्ने प्रतिक्रियाले पीडित व्यक्तिलाई झन् एक्लो बनाइदिन्छ।
नेपाली समाजमा सफलता र असफलताको परिभाषा पनि साँघुरो बन्दै गएको छ। विद्यार्थीले राम्रो नतिजा ल्याउनैपर्छ, युवाले राम्रो रोजगारी पाउनैपर्छ, विदेश गएर आर्थिक सफलता हासिल गर्नैपर्छ, सामाजिक प्रतिष्ठा कायम राख्नैपर्छ भन्ने निरन्तर दबाबले धेरै मानिसलाई आफ्ना वास्तविक भावना लुकाउन बाध्य बनाइरहेको छ। बाहिरबाट सफल देखिने मानिस पनि भित्र गहिरो मानसिक संकटमा हुन सक्छ।
आत्महत्याबारे वैज्ञानिक अध्ययन गर्ने पहिलो समाजशास्त्री फ्रान्सेली विद्वान् इमाइल दुर्खिम थिए। उनले सन् १८९७ मा प्रकाशित आफ्नो प्रसिद्ध कृति ‘सुसाइड’मार्फत एउटा महत्त्वपूर्ण तर्क प्रस्तुत गरे – आत्महत्या केवल व्यक्तिगत मानसिक अवस्थाको परिणाम होइन, यो समाजसँग व्यक्तिको सम्बन्धको पनि प्रतिफल हो। दुर्खाइमका अनुसार मानिस समाजसँग कति जोडिएको छ र समाजले उसलाई कति नियमन गर्छ भन्ने आधारमा आत्महत्याको जोखिम फरक हुन्छ।
धेरै नेपाली युवामा देखिने एउटा मनोवैज्ञानिक अवस्था यही हो– राम्रो पढे पनि जागिर छैन, विदेश गए पनि भविष्य अनिश्चित छ, ऋण तिर्न सकिएको छैन, सम्बन्ध टुटेको छ, परिवारसँग आफ्ना भावना व्यक्त गर्न सकिँदैन। यी सबै परिस्थितिले ‘अब केही बदलिँदैन’ भन्ने विश्वास निर्माण गर्न सक्छ। वास्तवमा धेरै अवस्थामा समस्याभन्दा पनि समस्याप्रतिको निराश दृष्टिकोण बढी खतरनाक हुन्छ।
थोमस जोइनरको सिद्धान्त: मानिस किन आफूलाई पूर्ण रूपमा एक्लो महसुस गर्छ?
अमेरिकी मनोवैज्ञानिक थोमस जोइनरले आत्महत्याको ‘इन्टसपर्सनल थ्योरी’ प्रस्तुत गर्दै दुई प्रमुख मनोवैज्ञानिक अवस्थालाई महत्त्व दिएका छन्– पहिलो, आफू कसैसँग सम्बन्धित छैन भन्ने गहिरो अनुभूति, दोस्रो, आफू परिवार वा समाजका लागि बोझ भएको विश्वास। नेपालमा वृद्धवृद्धा, बेरोजगार युवा, लामो समयदेखि बिरामी व्यक्ति, सम्बन्धविच्छेद भएका व्यक्तिहरू वा वैदेशिक रोजगारीमा रहेका धेरै युवाले यस्ता अनुभूति व्यक्त गर्ने गरेका छन्। जब व्यक्तिलाई ‘म नभए पनि कसैलाई फरक पर्दैन’ भन्ने लाग्न थाल्छ, त्यो अत्यन्त गम्भीर चेतावनीको संकेत हुन सक्छ।
मानसिक रोग मात्र होइन, सामाजिक संरचनाको पनि प्रश्न
आत्महत्या भएका सबै व्यक्तिलाई मानसिक रोग थियो भन्ने निष्कर्ष गलत हुन्छ। कतिपयमा अवसाद, चिन्ता, पदार्थ दुरुपयोग वा अन्य मानसिक स्वास्थ्य समस्या हुन सक्छन् तर धेरै अवस्थामा सामाजिक परिस्थितिहरूले पनि मानसिक संकटलाई तीव्र बनाइरहेका हुन्छन्।
नेपालको सन्दर्भमा विशेष रूपमा देखिएका केही संरचनात्मक कारणहरू यस्ता छन्–
पारिवारिक संवादको कमी: धेरै घरमा आर्थिक आवश्यकता पूरा गरिन्छ तर भावनात्मक आवश्यकता पूरा हुँदैन। एउटै घरमा बस्ने सदस्यहरू मोबाइलमा व्यस्त छन्, तर एकअर्काको मन बुझ्ने समय कम हुँदै गएको छ। परीक्षा र प्रतिस्पर्धाको अस्वस्थ दबाब: विद्यार्थीलाई सफल हुन सिकाइन्छ तर असफलता स्वीकार गर्न सिकाइँदैन। अंकले व्यक्तित्वको मूल्य निर्धारण गर्न थालेपछि असफलता जीवनको अन्त्यजस्तै लाग्न सक्छ। बेरोजगारी र आर्थिक असुरक्षा ः उच्च शिक्षा प्राप्त गरेका हजारौं युवा रोजगारीको खोजीमा भौंतारिरहेका छन्। आर्थिक अस्थिरताले आत्मसम्मानमा गहिरो चोट पुर्याउन सक्छ।
वैदेशिक रोजगारी र भावनात्मक दुरी: नेपालका लाखौं परिवार वर्षौंसम्म छुट्टिएर बस्न बाध्य छन्। आर्थिक आय बढे पनि सम्बन्धमा दुरी, एक्लोपन र मानसिक तनाव बढ्न सक्छ। सामाजिक सञ्जालको तुलना संस्कृति: सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको उत्कृष्ट पक्ष मात्र देखाउँछन्। त्यसलाई वास्तविकता मानेर आफ्नो जीवनसँग तुलना गर्दा धेरै व्यक्तिमा हीनताबोध, असन्तुष्टि र आत्मविश्वासमा कमी आउन सक्छ।
पहिलो आधार: मानसिक स्वास्थ्यलाई राष्ट्रिय विकासको अजेन्डा बनाऔं
नेपालमा विकासको चर्चा प्रायः सडक, पुल, भवन, विद्युत्, पर्यटन वा आर्थिक वृद्धिमा केन्द्रित हुन्छ। यी सबै आवश्यक छन् तर मानसिक रूपमा थाकेको, निराश र असुरक्षित नागरिक भएको समाज केवल भौतिक पूर्वाधारले समृद्ध बन्न सक्दैन। अब मानसिक स्वास्थ्यलाई पनि शिक्षा, कृषि, रोजगार र पूर्वाधारसरह राष्ट्रिय विकासको प्राथमिकतामा राख्नुपर्ने समय आएको छ। प्रत्येक नागरिकको मानसिक स्वास्थ्यमा गरिएको लगानी वास्तवमा राष्ट्रको उत्पादकता, सामाजिक स्थिरता र मानव पुँजीमा गरिएको लगानी हो।
विद्यालय र विश्वविद्यालय: अंक मात्र होइन, जीवन पनि सिकाऔं
नेपालका विद्यालय र विश्वविद्यालयमा जीवन उपयोगी सिप, भावनात्मक साक्षरता, तनाव व्यवस्थापन, संवाद, सहानुभूति र सहयोग माग्ने संस्कृतिलाई पाठ्यक्रमको अभिन्न अंग बनाउन आवश्यक छ।
विद्यालयमा वार्षिक परीक्षा हुन्छ तर विद्यार्थीको मानसिक स्वास्थ्यको नियमित मूल्यांकन हुँदैन। प्रत्येक विद्यालयमा कम्तीमा प्रशिक्षित मनोपरामर्शदाता वा मनोसामाजिक सहयोग प्रणाली विकास गर्नुपर्छ। शिक्षकलाई पनि व्यवहारमा आएको असामान्य परिवर्तन, अत्यधिक एक्लोपन, निराशा वा भावनात्मक संकटका संकेत चिन्न सक्ने तालिम आवश्यक छ। विद्यार्थीलाई पहिलो हुनभन्दा पनि समस्या आए सहयोग माग्न सक्नु ठुलो उपलब्धि हो भन्ने शिक्षा दिनुपर्छ।
डिजिटल युग: प्रविधि प्रयोग गरौं तर मानवीय सम्बन्ध नहराऔं
प्रविधि आफैं समस्या होइन, यसको प्रयोग गर्ने तरिका महत्त्वपूर्ण हुन्छ। डिजिटल साक्षरता भनेको मोबाइल चलाउन जान्नु मात्र होइन। आफ्नो मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभाव बुझ्नु, अनावश्यक तुलना नगर्नु, घृणात्मक सामग्रीबाट टाढा रहनु र आवश्यक पर्दा डिजिटल विश्राम लिन सक्नु पनि त्यत्तिकै महत्त्वपूर्ण सिप हो। अभिभावक र शिक्षकले बालबालिकासँग प्रविधिको प्रयोगबारे संवाद गर्नुपर्छ, केवल नियन्त्रण मात्र होइन।
कार्यस्थल: उत्पादनसँगै मानिसको मनको पनि ख्याल
कार्यस्थलमा अत्यधिक दबाब, असुरक्षित रोजगारी, भेदभाव, अपमानजनक व्यवहार वा लामो समयसम्मको तनावले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। सरकारी कार्यालयदेखि निजी उद्योगसम्म कर्मचारी सहयोग कार्यक्रम, गोप्य मनोपरामर्श सेवा, तनाव व्यवस्थापन तालिम तथा सम्मानजनक कार्यसंस्कृतिको विकास आवश्यक छ।
अनुसन्धान र तथ्यमा आधारित नीति
नेपालमा आत्महत्यासम्बन्धी अनुसन्धान अझै सीमित छ। आत्महत्या रोकथामका प्रभावकारी कार्यक्रम बनाउन उमेर, लिंग, क्षेत्र, सामाजिक अवस्था, व्यवसाय, मानसिक स्वास्थ्य सेवा पहुँच, जोखिम र संरक्षणकारी पक्षबारे नियमित अनुसन्धान आवश्यक छ। विश्वविद्यालय, अनुसन्धान संस्था र सरकारबिच सहकार्य बढाउनुपर्छ। तथ्यबिनाको नीति प्रभावकारी हुँदैन।
राष्ट्रिय आत्महत्या रोकथाम रणनीति
अब नेपालले बहुक्षेत्रीय राष्ट्रिय आत्महत्या रोकथाम रणनीति निर्माण गर्न आवश्यक छ, जसका प्रमुख आधार यस्ता हुन सक्छन्– मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्ने , विद्यालय तथा विश्वविद्यालयमा मनोसामाजिक सहयोग प्रणाली अनिवार्य गर्ने, प्रत्येक स्थानीय तहमा मनोपरामर्श सेवाको पहुँच विस्तार गर्ने, स्वास्थ्यकर्मी, शिक्षक, प्रहरी र सामाजिक परिचालकलाई जोखिम संकेत पहिचानसम्बन्धी तालिम दिने, आत्महत्यासम्बन्धी नियमित राष्ट्रिय अनुसन्धान र तथ्यांक प्रणाली सुदृढ गर्ने, सञ्चारमाध्यमका लागि जिम्मेवार समाचार सम्प्रेषण मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने, जनचेतना अभियानमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कलंक घटाउने।
आत्महत्या रोकथामको सबैभन्दा ठुलो शक्ति औषधिमा मात्र होइन, आशा, सम्बन्ध, संवाद र सहानुभूतिमा पनि हुन्छ। हामीले अब यस्तो नेपाल निर्माण गर्नुपर्छ जहाँ मानिसहरू आफ्ना पीडा लुकाउन बाध्य नहून्, सहयोग माग्न लाज नमानून्, मानसिक स्वास्थ्यलाई कमजोरी नठानियोस् र प्रत्येक नागरिकले आफू समाजको महत्त्वपूर्ण सदस्य भएको अनुभूति गर्न सकोस्।
जीवन अमूल्य छ। आशा बाँडौं, संवाद बढाऔं र आत्महत्या होइन, जीवन रोज्ने समाज निर्माण गरौं।
प्रकाशित: ९ श्रावण २०८३ १२:२० शनिबार

