१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
विचार

हिमतालको मौन खतरा

भदौ १० गते बिहान करिब ९ बजेतिर रसुवाको टिमुरे नाकाबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा एकाएक भयङ्कर ठुलो बाढी आयो, जसलाई भोटेकोसी–त्रिशूली बाढी भनेर चिनिन थालेको छ।  वर्षा नभई पनि नदीको बहाव अकस्मात बढेकाले एकै पटक ६ ओटा कारणतर्फ सोच्न बाध्य बनायो।  हिमालको काखमा बसेको नेपालले बर्सेनि सामना गर्नुपर्ने यस्तो जोखिम नौलो होइन तर यसको मात्रा र फैलावट भने बर्सेनि बढ्दै गएको छ।  यस्तो प्रलयकारी बाढी कुन कुन कारणले आउन सक्छ, नेपालमा यसको के इतिहास छ र अब देशले के गर्नुपर्छ भन्ने प्रश्न आजको सबैभन्दा ठुलो चासो बनेको छ।

हिमताल निर्माण र यसको जोखिम

हिमताल भनेको हिमनदी पग्लिँदा वा पछि हट्दा हिमानी थुप्रो (मोरेन) ले घेरिएर बन्ने पानीको सञ्चित भाग हो।  तापक्रम बढ्दै जाँदा हिमनदी क्रमशः पग्लिन्छ र पछि हट्छ।  मोरेनले घेरिएको ठाउँमा पानी जम्मा हुन्छ।  हिन्दकुश हिमालयका हिमनदी विगत केही दशकयता असामान्य गतिमा पग्लिँदै गएकाले हिमतालको संख्या र आकार दुवै बढिरहेका छन् तर तिनलाई थाम्ने मोरेन भने प्रायः कमजोर, अस्थिर र ढुंगामाटोको खुकुलो संरचनाबाट बनेको हुन्छ।  यही असन्तुलनले नै हिमतालहरूलाई स्थगित जोखिमको रूपमा उभ्याइदिन्छ, जुन कुनै दिन प्राकृतिक वा भूगर्भीय कारणले अकस्मात फुट्न सक्छ।

विशाल बाढी आउने सम्भावित कारणहरू

यस पटकको भोटेकोसी–त्रिशुली बाढीजस्तो प्रलयकारी बाढी प्रायः एउटा मात्र नभई धेरै कारण मिलेर आउँछन्।  हिमपहिरो वा चट्टान खसाइ: हिमालको अस्थिर भिरबाट ठुलो हिमपहिरो वा चट्टानको विशाल टुक्राहरू सिधै हिमतालमा खस्दा ठुलो छाल उठ्छ र त्यसैले मोरेन बाँध भत्काइदिन्छ।  यो सबैभन्दा सामान्य कारण हो र १९८५ को दिग् छो र १९९८ को तम् पोखरी दुवै घटना यसैबाट भएका थिए।

हिमनदी भाँचिनु: हिमनदीको ठुलो टुक्रा तालमै भाँचिएर खस्दा उस्तै किसिमको छाल र दबाब सिर्जना हुन्छ, जसले बाँधलाई भित्रैबाट धक्का दिन्छ। तापक्रम बढ्दै गएपछि हिमनदीको अगिल्लो भाग झन् कमजोर हुँदै गएकाले यो जोखिम पनि बढ्दै गएको छ।  

मोरेनभित्रको हिम कोर पग्लनु: बाँधभित्रै लुकेको बरफ बिस्तारै पग्लिँदा बाँधको संरचना कमजोर हुन्छ र अन्ततः बिनाचेतावनी नै भत्किन्छ। यस्तो बाँध बाहिरबाट हेर्दा बलियो देखिए पनि भित्रैबाट खोक्रो भइसकेको हुन सक्छ, जुन पत्ता लगाउन ताल विशेषका लागि छुट्टै प्राविधिक अध्ययन नै चाहिन्छ।

कारण भूकम्प: भूकम्पको हल्लाइले बाँधको स्थिरता एकैचोटि गुमाउन सक्छ, यद्यपि भोटेकोसी–त्रिशूली बाढीकै घटनामा भूकम्पविद्हरूले सानो भूकम्प हिमपहिरोपछि नै गएको देखेर यो हिमपहिरोकै परिणाम हुन सक्ने आँकलन गरेका छन्। कारण असामान्य वर्षा वा बादल फाट्नु: हिउँ पग्लेको पानीसँगै अत्यधिक वर्षा थपिँदा तालको क्षमता एकैचोटि नाघ्न सक्छ र जलवायु परिवर्तनले यस्तो चरम वर्षाको सम्भावना पनि बढाइरहेको छ।  

सुप्राग्लेसियल ताल विष्फोट: हिमनदीकै सतहमा बनेको अस्थायी ताल बिनाचेतावनी फुट्न सक्छ, जुन गत दुई वर्षअगाडिको जुलाईमा भोटेकोसीमा भएको घटनाको मुख्य कारण थियो।

भूस्खलन बाँध फुट्नु: माथिल्लो भागमा पहिरोले नदी नै थुनेर बनेको अस्थायी बाँध फुट्दा पनि हिमताल विष्फोटजत्तिकै विनाशकारी बाढी आउन सक्छ, जसलाई प्राविधिक भाषामा भूस्खलन ताल विष्फोट बाढी भनिन्छ।

बाढीपछि सार्वजनिक भएका उपग्रह तस्बिरहरूको तुलनात्मक अध्ययनले भने यसपटकको भोटेकोसी–त्रिशूली बाढीमा ठुलो हिमनदीय उभारसँगै विशाल चट्टानी पहिरो नै गएको देखाएको छ।  हिम, बरफ, चट्टान र माटोको ठुलो मिश्रण बग्दै सिधै नदी उपत्यकामा पुगेको प्रारम्भिक विश्लेषणले देखाएको छ, जसले माथि उल्लिखित हिमपहिरो वा चट्टान खसाइकै कारण यो बाढी सिर्जना भएको सम्भावनालाई थप बल दिन्छ तर अझै यकिन भइसकेको छैन।  त्यसो भएको भए पहिरोभन्दा तल उक्त खोलाको पानी सुक्नुपर्ने थियो धेरै बेरका लागि।  नेपाल तथा चिनियाँ सरकारी निकायले त्यसको कुनै औपचारिक वा अनौपचारिक जानकारी प्राप्त गरेको कुरा बाहिर ल्याएको देखिँदैन।

नेपाल र तिब्बतका हिमतालहरू

नेपाल र सीमावर्ती तिब्बत क्षेत्र संसारकै सबैभन्दा बढी हिमताल भएको भूभागमध्ये पर्छ।  नेपालभित्र मात्र चौबिस सयभन्दा बढी हिमताल छन्, जसमध्ये केही दर्जन जोखिमपूर्ण मानिन्छन्। कोसी, गण्डकी र कर्णाली, यी तीनवटै प्रमुख नदी प्रणालीको माथिल्लो भूभागमा यस्ता तालहरू फैलिएका छन् र तिनको ठुलो हिस्सा नेपालको सिमानाभन्दा पारि तिब्बततर्फ नै अवस्थित छ।

हिमालयको उत्तरी ढलान भएकाले तिब्बततर्फका हिमनदीले बनाएका तालको पानी दक्षिणतिर बग्ने भोटेकोसी, तामाकोसी र त्रिशूलीजस्ता प्रणालीमा गएर मिसिन्छ।  यसैले सीमापारिको हिमताल फुटे तापनि त्यसको प्रत्यक्ष क्षति नेपालका बस्तीले नै भोग्नुपर्ने अवस्था बारम्बार दोहोरिन्छ र स्रोतको पुष्टिसमेत छिमेकी मुलुकको सहकार्यमा पनि भर पर्छ।

नेपाललाई ठुलो असर पर्ने भनी पहिचान गरेका दश वटा प्रमुख हिमताल– च्छोरोल्पा (दोलखा, तामाकोसी बेसिन, नेपालकै सबैभन्दा ठुलो र खतरनाक), इम्जा त्सो (सोलुखुम्बु, दुधकोसी बेसिन), थुलागी वा डोना ताल (गण्डकी बेसिन, मनास्लु क्षेत्र), तल्लो बरुण (सांखुवासभा, कोसी बेसिन), लुम्दिङ त्सो (कोसी बेसिन), होंगु ताल (सोलुखुम्बु), छाम्लाङ दक्षिण ताल (कोसी बेसिन), जाङ्जाङ्बो वा चिरेनम्चो ताल (तिब्बत, सुनकोसी–भोटेकोसी बेसिन), गलोंको ताल (तिब्बत, पोइकु–भोटेकोसी बेसिन) हुन् र ज्याइरोङनजिकैको सियादाङ–चुओजिया हिमताल समूह (तिब्बत, त्रिशूली बेसिन), जुन आजको भोटेकोसी–त्रिशूली बाढीसँग सम्बन्धित सम्भावित स्रोत क्षेत्र पनि हो।

नेपालका प्रमुख ऐतिहासिक हिमताल घटनाहरू

नेपाल तथा यसको सीमासँग जोडिएको तिब्बती भूभागमा हालसम्म ७० भन्दा बढी हिमताल विष्फोटका घटना भएका छन्। जसमध्ये केही अत्यन्त विनाशकारी रहे र यी घटना कोसी बेसिनमै बढी केन्द्रित रहेको अध्ययनहरूले देखाएका छन्। जस्तैः सन् १९८१ मा जाङ्जाङ्बो ताल (सुनकोसी, तिब्बत) विष्फोट भयो।  यो विष्फोटमा मैत्री पुल र सुनकोसी जलविद्युत् आयोजना क्षतिग्रस्त भए। चार जनाको मृत्यु भयो।

सन् १९८५ मा दिग् च्छो ताल (लाङमोछे, सोलुखुम्बु) विष्फोट भयो।  यो विष्फोटबाट नाम्चे साना जलविद्युत् आयोजना र १४ पुल नष्ट भए।  यो नेपालकै सबैभन्दा राम्ररी अध्ययन गरिएको घटना हो।  सन् १९९८ मा तम् पोखरी ताल (सांखुवासभा) मा विष्फोट भयो।  त्यस विष्फोटमा ६ भन्दा बढी पुल बगे, दुई जनाको मृत्यु भयो।  सन् २०२४ मा थ्याम्बो ताल (सोलुखुम्बु) विष्फोट भयो।  त्यस विष्फोटबाट थामे गाउँ नै विस्थापित भयो।  सन् २०२४ मा भोटेकोसी सुप्राग्लेसियल ताल (तिब्बत) विष्फोट भयो।  रसुवागढी नाका क्षेत्र क्षतिग्रस्त भयो।

अब नेपालले केके गर्नुपर्छ?

परम्परागत ज्ञानका साथै विश्वभर आधुनिक विज्ञान र प्रविधिले पनि हिमताल जोखिम व्यवस्थापनमा धेरै फड्को मारिसकेको छ र नेपालले यी सबैलाई संस्थागत रूपमा अंगाल्नुपर्ने बेला भइसकेको छ।

तत्कालका लागि यत्रो फैलावट र भीषणता भएको विपद् व्यवस्थापन गर्न सरकारले एउटा अस्थायी विपद् कक्ष नै स्थापना गर्नुपर्छ, जसमा केही मन्त्री, उच्च प्रशासक, उच्च सुरक्षा अधिकारी र हिमताल तथा बाढी सम्बन्धी विज्ञहरू एकै ठाउँमा बसून्। प्रधानमन्त्रीले तिनै मध्येबाट एक जनालाई अन्तिम निर्णय दिने कमान्डरकै रूपमा तोक्नुपर्छ र बाँकी सबैले सल्लाह मात्र दिनुपर्छ किनभने संकटको बेला हरेक उच्च पदाधिकारी आफैं निर्णायक बन्न खोज्दा र जिम्मेवारी नलिँदा समय खेर गई थप क्षति निम्तिन सक्छ। यसै विपद् कक्षले विदेशबाट आउने सहयोग र सहायताको व्यवस्थापनजस्ता निकै संवेदनशील जिम्मेवारी पनि एकीकृत रूपमा सम्हाल्नुपर्छ, ताकि रातदिन हरेक क्षण आइरहने साना ठुला निर्णय तत्काल र समन्वित रूपमा हुन सकून्।

दोस्रो, तालको पानी योजनाबद्ध रूपमा घटाउने प्रविधि सबैभन्दा प्रभावकारी देखिएको छ।  पेरुको कोर्डिलेरा ब्लांका क्षेत्रमा हालसम्म ३८ वटा हिमतालको पानी सिफन, नहर वा सुरुङ खनेर कृत्रिम रूपमा घटाइएको छ भने १५ वटा तालको मोरेन बाँध नै इन्जिनियरिङमार्फत बलियो बनाइएको छ, जुन विश्वकै सबैभन्दा ठुलो र सफल हिमताल जोखिम न्यूनीकरण कार्यक्रम मानिन्छ।

छिमेकी भुटानले पनि आफ्नो सबैभन्दा खतरनाक थोर्थोर्मी तालमा सन् २००९ देखि हरेक वर्ष झन्डै ३५० जना कामदार लगाई नितान्त साधारण विधिले मात्र पानी बाहिर निकाल्ने काम गरिरहेको छ किनभने भारी मेसिन प्रयोग गर्दा अस्थिर मोरेन बाँध झन् कमजोर हुने जोखिम रहन्छ। नेपालमै पनि सोलुखुम्बुको इम्जा ताल र दोलखाको च्छोरोल्पा तालमा उस्तै सिफन र नहर प्रविधि प्रयोग गरी पानीको सतह पहिले नै घटाइएको छ। च्छोरोल्पा तालको हकमा सत्तरी मिटर लामो नहर बनाई सन् २००० मै तीन मिटर पानी घटाइएको थियो तर यो प्रविधि अझै थोरै तालमा मात्र सीमित छ।

तेस्रो, प्रारम्भिक चेतावनी प्रणाली हो।  जसअन्तर्गत तालमा स्वचालित जल सतह नापी सेन्सर र तल्लो बस्तीमा सामुदायिक साइरन जडान गरिन्छ।  चौथो, उपग्रह तथा रिमोट सेन्सिङ अनुगमन हो।  चीनले आफ्नै भूभागको चिरेनम्चो (जाङ्जाङ्बो) तालको मोरेन बाँध स्थिरता जाँच्न जिएनएसएस उपग्रह प्रविधि प्रयोग गरिसकेको छ, जुन यस्तो प्रविधिको हिमालयमा पहिलो प्रयोग मानिन्छ भने नेपालले पनि सगरमाथा क्षेत्रमा प्रयोग गरेको छ तर यसको ब्यापकता बढ्नु जरुरी छ।  पाँचौं, ड्रोन र कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित अनुगमन प्रणालीले दुर्गम र कमै चिनिएका साना ताललाई समेत नियमित निगरानीमा राख्न सघाउँछ, जुन थामे र भोटेकोसीजस्ता साना तथा अपरिचित तालबाट भएका घटनापछि झनै आवश्यक देखिएको छ।

-पोख्रेल जल तथा मौसमविद् हुन्।  

प्रकाशित: १२ भाद्र २०८३ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %