कुनै पनि संगीत दुई स्वरहरूबिचको रिक्ततामा लुकेको हुन्छ। यसैगरी जीवनको गहिराइ शब्दहरूको कोलाहलमा नभई मौनताको गाम्भीर्यमा छिपेको हुन्छ। पूर्वीय र पाश्चात्य दर्शनमा मौनतालाई ‘नबोल्नु’ मात्र होइन, यसलाई आत्म–साक्षात्कार र शक्तिको परम स्रोत नै मानिएको छ।
मौनता आत्मिक अनुशासन, मानसिक स्पष्टता र चेतनाको सशक्त अभ्यास हो । मौनता शब्दको अनुपस्थिति मात्र होइन । कुनै व्यक्ति अविवेकी बोलाइ, तर्कहीन प्रतिक्रिया वा आवेगपूर्ण व्यवहारबाट टाढा रहेपछि उसमा आत्मनियन्त्रण र विवेक विकसित हुन्छ । मौनताको अभ्यासले व्यक्तिगत स्तरमा शान्ति ल्याउँछ । यसले सामाजिक र अन्तरवैयक्तिक सम्बन्धहरूमा समझदारी, धैर्य र सहिष्णुता पनि सुदृढ बनाउँछ । विचार र भावनाको स्पष्टता बढ्दा, निर्णयहरू अनावश्यक द्वन्द्व र विवादबाट मुक्त हुन पुग्छन्।
दार्शनिक दृष्टिले हेर्दा छान्दोग्य उपनिषद्ले मौनतालाई आत्मविनिग्रह र मनः संयमको महत्त्वपूर्ण अंगको रूपमा वर्णन गरेको छ । बुद्ध दर्शनमा पनि मौनता (मौनं) सत्यबोध र प्रज्ञाको साधन मानिन्छ।
सांसारिक जीवनमा कुनै चुनौती वा विवादको सामना गर्दा तुरुन्त प्रतिक्रिया नदिई धैर्यपूर्वक सोचेर प्रतिक्रिया दिनु मौनताको शक्ति प्रयोग गर्न सफल भएको संकेत हो । यसले मानसिक स्थिरता मात्र होइन, सामाजिक सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्छ । मौनताको अभ्यासले व्यक्तिलाई आत्मजागरण, मानसिक स्पष्टता र नैतिक परिपक्वतातर्फ अग्रसर गराउँछ।
सनातन दर्शनमा मौनतालाई ‘परम वाणी’ मानिन्छ किनभने सत्यको चरम स्वरूप शब्दले मात्र व्यक्त गर्न सक्दैन । तैत्तिरीयोपनिषद् (२।९।१) मा ‘यतो वाचो निवर्तन्ते अप्राप्य मनसा सह’ भनिएको छ । अर्थात् जहाँ शब्द र मन पुग्न सक्दैनन्, त्यहाँ सत्यको बास हुन्छ । भगवद्गीतामा (१७।१६) मौनतालाई मनको संयम र आत्मनियन्त्रणसँग जोडिएको छ– ‘मनः संयममौनं च आत्मविनिग्रहः।’ अर्थात् व्यक्तिलाई आत्म–अनुशासन, मानसिक संयम र मौनताको अभ्यास गर्न उत्प्रेरित गर्नु । महाभारतमा भीष्मले युधिष्ठिरलाई ‘मौनं सर्वार्थसाधनम्’ भनेका छन् । अर्थात् मौनता नै सबै उद्देश्य पूरा गर्ने साधन हो।
मौन रहन पाउने अधिकार
यो अधिकारले आधुनिक फौजदारी कानुनमा विशेष स्थान राख्छ। कानुनी दृष्टिले, अभियुक्त वा प्रतिवादीलाई आफूविरुद्ध प्रमाण लाग्न सक्ने बयान दिन बाध्य पार्न नपाइने सिद्धान्त मानव अधिकारको आधारभूत अंग हो । यो सिद्धान्त नेपालसहित धेरै मुलुकमा प्रचलित छ र यसले न्यायिक निष्पक्षता सुनिश्चित गर्छ।
स्वर दमन
मौनताको शक्ति र मौन रहन पाउने अधिकार हरेक व्यक्तिको स्वतन्त्र छनोट हो । बलपूर्वक मौन रहन बाध्य पारिएको हो भने त्यो चाहिँ स्वर दमन (साइलेन्सिङ द भोइस) हो । यो राजनीतिक, सामाजिक वा सांस्कृतिक रूपमा देखापर्न सक्छ । स्वतन्त्र अभिव्यक्ति गर्न पाउने अधिकार हननको एउटा स्वरूपमा यसलाई हेरिन्छ।
मौनतार एकान्तको संगम
मौनतालाई आत्मिक साधना वा कानुनी रक्षा दुवैका रूपमा प्रयोग गरिएका बेला एक्लै रहन पाउने अधिकार (राइट टु बी लेट अलोन) यसको पूरक अधिकार बन्न पुग्छ । मौनताले भित्री शान्ति दिन्छ, एकान्त (लेट अलोन) ले बाहिरी व्यवधानबाट मुक्त पार्छ । दुवै मिलेर मानिसलाई आत्मस्वतन्त्रता, मानसिक स्थिरता र रचनात्मक जीवनका लागि अनुकूल वातावरण प्रदान गर्छन् । यसलाई गोपनीयताको अधिकार पनि मानिन्छ।
ध्यानमग्न मौनता
ध्यानमग्न मौनता, योग र आध्यात्मिक साधनामा आत्मज्ञानको मुख्य साधन हो । पतञ्जलि योगसूत्रमा ‘चित्तवृत्ति निरोधः’ मार्फत मौनताले मानसिक तरंगलाई शान्त पार्छ भन्ने बताइएको छ । ध्यानमा मौन रहनु बाहिरी आवाजको अभाव मात्र नभएर आन्तरिक संवादको अवस्थासमेत हो । यो अवस्था आत्म–परिचय, मानसिक स्पष्टता र आध्यात्मिक उन्नतिको लागि अनिवार्य मानिन्छ।
रिक्त सम्बन्ध र मौनता
रिक्त सम्बन्ध (जिरो रिलेसनसिप) भन्नाले दुई व्यक्ति वा समूहबिच कुनै भावनात्मक, मानसिक वा सामाजिक तानातान बाँकी नरहने अवस्थालाई जनाउँछ । यो शत्रुता वा मित्रता दुवै होइन, पूर्ण तटस्थता हो । यसलाई कहिलेकाहीं भावनात्मक तटस्थता वा वैराग्यपूर्ण समभाव (डिट्याच्ड इक्वानिमिटी) पनि भनिन्छ।
परिणामको रूपमा मौनता
सम्बन्ध शून्य भएपछि शब्दहरूको आवश्यकता समाप्त हुन्छ । न कुनै सम्झाइबुझाइ, न त कुनै विवाद, त्यहाँ मौनता स्थिर हुन्छ।
साधनको रूपमा मौनता
कतिपय अवस्थामा मौन रहँदा सम्बन्धको भावनात्मक आवेश क्रमशः कम हुँदै जान्छ । अन्ततः त्यो सम्बन्ध शून्यतामा पुग्छ वा पुनः जागरणका लागि तयार हुन्छ । कुनै व्यक्तिसँग लिइने सबैभन्दा ठुलो बदला उसँग नबोल्ने वा मौनता साँध्ने औजार हो । त्यसैले संवैधानिक रूपमा समेत मौनतालाई अभिव्यक्ति स्वतन्त्रताको एउटा प्रकार मानिन्छ । बोल्न पाउने अधिकारसँगै चुपलागेर बस्ने अधिकार समाहित भएको हुन्छ।
दार्शनिक दृष्टि
भगवद्गीता (६.६) मा ‘आत्मा नै आफ्नो मित्र र आत्मा नै आफ्नो शत्रु’ भनिएको छ । यो सन्देश विशेषगरी ‘रिक्त सम्बन्ध’मा लागु हुन्छ । उपनिषद्मा रिक्तता (एम्टिनेस) र मौनतालाई ब्रह्मज्ञान प्राप्तिको द्वार मानिन्छ । बौद्ध दर्शनमा वर्णित सबै प्राणीप्रति न आशक्ति, न त द्वेष राख्ने अवस्था नै रिक्त सम्बन्ध हो । यसलाई उपेक्षा भावका रुपमा लिइन्छ जसमा मौनता स्वाभाविक हुन्छ।
आध्यात्मिक लाभ
मानसिक स्पष्टता: रिक्त सम्बन्धमा अनावश्यक भावनात्मक तनाव हट्छ । आत्मिक शान्ति : मौनताले बाहिरी उत्तेजनाबाट बचाउँछ।
स्वतन्त्रता: सम्बन्धको बन्धनबाट स्वतन्त्र भएर व्यक्ति आफ्नो आत्मविकासतर्फ केन्द्रित हुन्छ । मौनतालाई आत्मसंवाद पनि भनिन्छ । यो आत्मसँग प्रश्न गर्ने र उत्तर पाउने प्रक्रिया हो । कतिपय अवस्थामा नबोलेर पनि जितिन्छ । नबोल्नेले नै शत्रु कम बनाउँछ । अनावश्यक विवादबाट मुक्तिको लागि पनि मौनता चाहिन्छ । यस दृष्टिबाट मौनता आफैंमा दर्शन, व्यवहार र रणनीतिको त्रिवेणी हो भन्न सकिन्छ।
मौनताको बहुआयामिक लाभ
मौनता शान्त बस्नु मात्र होइन। यो एक उपचार पद्धति नै हो।
मनोवैज्ञानिक लाभ:
मौनताले मस्तिष्कको ‘एमिग्डाला’ (तनाव केन्द्र) लाई शान्त पार्छ र कोर्टिसोल जस्ता तनाव उत्पन्न गर्ने हर्मोनको स्तर घटाउँछ । यसले मानसिक एकाग्रता बढाउन मदत गर्छ।
शारीरिक लाभ: दिनको केही समय पूर्ण रूपले मौन बस्दा रक्तचाप नियन्त्रणमा आउँने, हृदयको गति स्थिर हुने र निद्राको गुणस्तरमा सुधार आउँने तथ्य अध्ययनहरूले स्थापित गरेका छन्।
आध्यात्मिक र रचनात्मक लाभ: मौनतामा नै मानिसले आफ्नो ‘अहं’ लाई चिन्ने र त्यसलाई त्याग्ने अवसर पाउँछ । महान् दार्शनिक, साहित्यकार, वैज्ञानिक र कलाकारहरूले आफ्ना उत्कृष्ट रचनाहरू मौनताको एकान्तमा नै सिर्जना गरेका हुन् । यसलाई स्वसंवाद पनि भनिन्छ।
अन्ततः मौनता रित्तोपन नभएर उत्तरहरूले भरिएको पूर्णता हो । यसले बाहिरको आवाजलाई शान्त पार्न सक्छ । मौनताले मात्र मनभित्रको संगीत सुन्न सक्छ । मौनताले हामीलाई कोलाहलबाट निकालेर स्वयंको गहिराइसम्म पुर्याउने एउटा पुलको काम गर्छ।–तिमल्सेना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन्।
प्रकाशित: १३ जेष्ठ २०८३ ०७:२८ बुधबार

