२४ माघ २०८२ शनिबार
image/svg+xml
विचार

फिलिपिन्सको नेपालसँग मिल्ने चरित्र

दक्षिण–पूर्वी एसियाको पश्चिमी प्रशान्त क्षेत्रमा फैलिएको फिलिपिन्स गणतन्त्र सतहमा हेर्दा हजारौं द्वीपहरूको देश हो। तर राजनीतिक अभ्यास, सामाजिक बनावट र आर्थिक संरचनालाई गहिरिएर बुझ्दा यो देश केवल भौगोलिक विविधतामा सीमित छैन–यो विकास, लोकतन्त्र र आधुनिक राज्य निर्माणको निरन्तर प्रयोगशाला पनि हो। 

करिब ११ करोड ६० लाखभन्दा बढी जनसंख्या, पाँच सय अर्ब अमेरिकी डलर नजिकको कुल गार्हस्थ्य उत्पादन र एसियाका सबैभन्दा ठुला अंग्रेजी–भाषी श्रम बजारमध्ये एक भएको फिलिपिन्स आज क्षेत्रीय र विश्व अर्थतन्त्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै गएको छ। यही माघको पहिलो साता मारियानो एक्विनो स्टेट युनिभर्सिटीको निमन्त्रणामा मैले यो देशको भ्रमण गर्दा देखेका र बुझेका सवालहरू म पाठकसमक्ष राख्दै छु। नेपालका लागि फिलिपिन्स भौगोलिक रूपमा अलि टाढा रहे पनि वैदेशिक रोजगारी, लोकतान्त्रिक अभ्यास, युवा जनसंख्या र सेवा–आधारित अर्थतन्त्रका साझा प्रश्नमा तुलना गर्न मिल्ने एक सशक्त उदाहरण हो।

द्वीपहरूको भूगोल : प्राकृतिक वरदान र संरचनागत चुनौती
फिलिपिन्स एक द्वीपसमूह राष्ट्र हो, जसमा आधिकारिक रूपमा सात हजार ६ सय ४० भन्दा बढी द्वीपहरू रहेका छन्। देशको कुल क्षेत्रफल करिब तीन लाख वर्ग किलोमिटर छ। लुजोन, विसायस र मिन्डानाओ, यी तीन प्रमुख भौगोलिक खण्डहरूले देशको आर्थिक र राजनीतिक केन्द्र निर्धारण गर्छन्। राजधानी मनिला लुजोन टापुमा अवस्थित छ, जुन देशको सबैभन्दा ठुलो महानगरीय क्षेत्र हो। यो देशको राजनीतिक विभाजनमा मा १७ रिजन, ८१ प्राोभिन्स, एक सय ३६ सिटी, एक हजार चार सय ९४ नगरपालिका, ४१ हजार नौ सय ९५ बारांगेज (नेपालको वडाजस्तै) रहेछन्।  फिलिपिन्स सन् १५२१ देखि १८९८ सम्म स्पेनको उपनिवेश रहेछ र त्यसपछि ४८ वर्ष अमेरिकाले उपनिवेश बनाई सन् १९४६ मा स्वतन्त्र राष्ट्र बनेको रहेछ। 

भूगोलले फिलिपिन्सलाई समुद्री व्यापार, मत्स्य उद्योग र पर्यटनका लागि असाधारण सम्भावना दिएको भए पनि यही अवस्थाले यो देशलाई प्राकृतिक विपद्ले अति आक्रान्त पनि बनाउँदो रहेछ। प्रत्येक वर्ष औसतमा २० भन्दा बढी उष्णकटिबन्धीय आँधी फिलिपिन्स क्षेत्रमा प्रवेश गर्छन्, जसमा आठ–नौ वटा गम्भीर आँधीमा रूपान्तरण हुन्छन्। यसले पूर्वाधार, कृषि उत्पादन र खासगरी गरिब समुदायमा गहिरो असर पार्दै आएको रहेछ।

जनसांख्यिक संरचना : युवा लाभ र रोजगारीको दबाब
नेपालजस्तै फिलिपिन्स पनि अहिले युवा लाभको अवस्थामा रहेछ। फिलिपिन्सको जनसंख्या संरचना देशको सबैभन्दा ठुलो शक्ति मानिन्छ। कुल जनसंख्याको करिब ५६ प्रतिशत २५ वर्षभन्दा कम उमेर समूहमा परेको छ। औसत आयु करिब ७२ वर्ष रहेको फिलिपिन्समा श्रम बजारमा प्रवेश गर्ने जनसंख्या तीव्र गतिमा बढ्दै रहेछ।

यस्तो जनसांख्यिक अवस्थालाई ‘डेमोग्राफिक डिभिडेन्ड’ भनिन्छ। तर पर्याप्त रोजगारी सिर्जना, सिप विकास र औद्योगिक विस्तारबिना यो लाभ नेपालमा जस्तै बोझमा परिणत हुन सक्छ। फिलिपिन्समा औपचारिक बेरोजगारी दर औसतमा ४–५ प्रतिशत रहे पनि अर्धरोजगारी र अनौपचारिक श्रमको हिस्सा अझै ठुलो रहेछ।

अर्थतन्त्र : सेवा क्षेत्रको प्रभुत्व र संरचनागत सीमाहरू
फिलिपिन्सको अर्थतन्त्र सेवामा आधारित रहेछ। कुल गार्हस्थ्य उत्पादनको करिब ६० प्रतिशतभन्दा बढी हिस्सा सेवा क्षेत्रबाट आउँदो रहेछ। यो देशमा उद्योग क्षेत्रको योगदान करिब ३० प्रतिशत र कृषि क्षेत्रको हिस्सा करिब ९–१० प्रतिशत मात्र रहेछ। व्यवसाय प्रक्रिया बाह्यसेवा अर्थात् बिजिनेस प्रोसेस आउटसोर्सिङ फिलिपिन्सको सबैभन्दा प्रतिस्पर्धी आर्थिक क्षेत्र रहेछ। यो क्षेत्रमा करिब १५ लाखभन्दा बढी मानिस प्रत्यक्ष रोजगारीमा रहेछन् र यसले वार्षिक ३५–४० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने रहेछ। यो देशमा अंग्रेजी भाषामा दक्ष जनशक्ति, पश्चिमी कार्यसंस्कृतिसँग परिचित युवा र तुलनात्मक रूपमा कम श्रम लागतले यो सम्भव बनाएको रहेछ।

उद्योग क्षेत्रमा इलेक्ट्रोनिक्स र सेमिकन्डक्टर निर्यात प्रमुख रहेछन्, जसले कुल निर्यात आम्दानीको झन्डै ५० प्रतिशत हिस्सा ओगटेको रहेछ। तर उच्च मूल्य–शृंखला अर्थात् हाई भ्यालु चेनमा प्रवेश गर्न नसक्नु फिलिपिन्सको दीर्घकालीन कमजोरीका रूपमा देखिएको रहेछ।

वैदेशिक रोजगारी र रेमिट्यान्स : स्थायित्व कि निर्भरता ?
नेपालको जस्तै फिलिपिन्सको अर्थतन्त्र बुझ्न पनि वैदेशिक रोजगारीलाई केन्द्रमा राखेर विश्लेषण गर्नुपर्ने रहेछ। करिब एक करोडभन्दा बढी फिलिपिनो नागरिक विदेशमा कार्यरत वा बसोबास गरिरहेका रहेछन्। उनीहरूले पठाउने रेमिट्यान्स कुल निर्यात आम्दानीको करिब ८–९ प्रतिशत बराबर रहेछ। रेमिट्यान्सले घरेलु उपभोग, शिक्षा, स्वास्थ्य र आवास क्षेत्रमा सकारात्मक प्रभाव पारेको रहेछ। तर दीर्घकालीन दृष्टिले यसले ‘रेमिट्यान्स–निर्भर अर्थतन्त्र’को जोखिम पनि बढाएको रहेछ। सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति लिएको भए पनि प्रभावकारी कार्यान्वयनको अभावमा वैदेशिक रोजगारी अझै मुख्य आधारकै रूपमा रहेछ।

लोकतन्त्र, राष्ट्रपति प्रणाली र राजनीतिक व्यवहार
फिलिपिन्स सन् १९८७ को संविधानअन्तर्गत सञ्चालित एक राष्ट्रपति प्रणाली भएको लोकतान्त्रिक गणतन्त्र हो। राष्ट्रपति प्रत्यक्ष निर्वाचनमार्फत ६ वर्षका लागि चुनिने रहेछन्। संसद् नेपालमा जस्तै द्विसदनीय अर्थात् राष्ट्रियसभा (सेनेट) र प्रतिनिधिसभासहितको रहेछ। यो देशको सेनेटमा २४ सिनेटर र प्रतिनिधिसभामा तीन सय ४२ प्रतिनिधि रहेछन्।

शासकीय शैलीमा यो देश पनि झन्डै नेपालजस्तै रहेछ। फिलिपिन्समा राजनीतिक प्रणाली बहुदलीय भए पनि व्यवहारमा चाहिँ व्यक्तिकेन्द्रित राजनीतिको बोलावाला, वंशवाद र गठबन्धन–संस्कृति बलियो रहेछ। प्रमुख दलहरूबिच वैचारिक भिन्नताभन्दा पनि शक्ति सन्तुलन र निर्वाचन रणनीति प्रधान हुने गरेको आलोचना बढी सुनियो। यद्यपि स्वतन्त्र मिडिया, सक्रिय नागरिक समाज र नियमित निर्वाचनले लोकतन्त्रलाई निरन्तर गतिशील बनाइरहेको रहेछ। निर्वाचित राष्ट्रपति, उपराष्ट्रपति र सिनेटरहरूको अवधि ६ वर्षको र निर्वाचित प्रतिनिधिसभा सदस्य, गभर्नर र मेयरहरूको कार्यकाल तीन वर्षको हुने रहेछ।  

शिक्षा र मानव पुँजी : दीर्घकालीन लगानी
फिलिपिन्सले शिक्षा क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गरेको रहेछ। हाल कार्यान्वयनमा रहेको ८–१२ शिक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार लागु गरिएको रहेछ। सरकारले शिक्षा क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको करिब ४ प्रतिशत लगानी गरेको रहेछ, जुन धेरै विकासोन्मुख मुलुकको तुलनामा उल्लेखनीय बढी हो। साक्षरता दर ९८ प्रतिशत नजिक रहेको फिलिपिन्समा उच्च शिक्षा र प्राविधिक तालिम निकै विस्तार हुँदै गएको रहेछ। यही मानव पुँजीले सेवा क्षेत्र र वैदेशिक रोजगारीमा प्रतिस्पर्धात्मक लाभ दिएको छ। फिलिपिन्सको उच्च शिक्षा आयोगको २०२५ को तथ्यांकअनुसार लगभग २४ सय उच्च शिक्षा संस्था मानव पुँजी विकासमा सक्रिय रहेछन्। 

सांस्कृतिक मिश्रण र सामाजिक पुँजी
फिलिपिन्सको सामाजिक चरित्र आदिवासी परम्परा, स्पेनी उपनिवेशकालीन प्रभाव र अमेरिकी प्रशासनिक संस्कृतिको मिश्रण हो। क्याथोलिक धर्मको अत्याधिक प्रभाव, अंग्रेजी भाषाको व्यापक प्रयोग र पारिवारिक सम्बन्धमा आधारित सामाजिक संरचना यहाँका विशेषता हुन्। ग्रामीण क्षेत्रमा आआफ्ना स्थानीय भाषा बोलिने भए पनि धेरैले अंग्रेजी पनि बोल्ने रहेछन्। 

सामूहिकता, सहनशीलता र आपसी सहयोग फिलिपिनो समाजका बलिया सामाजिक पुँजी रहेछन्। प्राकृतिक विपद् र आर्थिक संकटका बेला यही सामाजिक चरित्रले फिलिपिनो समाजलाई एकताबद्ध गरेर राखेको रहेछ। पिलिपिनोहरू निकै हँसिला, फरासिला स्वभावका र सहयोगी भावनाका हुँदारहेछन्।

निष्कर्ष
फिलिपिन्स आज युवा जनसांख्यिक लाभ, लोकतान्त्रिक अभ्यास र सेवा–आधारित अर्थतन्त्रको संगममा उभिएको विकासोन्मुख राष्ट्र हो। यसले तुलनात्मक रूपमा उल्लेखनीय प्रगति गरेको भए पनि संरचनागत सुधार, औद्योगिकीकरण र सुशासनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेछ।

नेपालका लागि पनि फिलिपिन्सको अनुभव महत्वपूर्ण हुन सक्ने रहेछ। वैदेशिक रोजगारीमा निर्भरता, मानव पुँजीमा लगानी र लोकतन्त्रको अभ्यास, यी सबै क्षेत्रमा फिलिपिन्सको यात्रा सिकाइ र सावधानी दुवै दृष्टिकोणबाट नेपालका लागि महत्वपूर्ण हुनसक्ने रहेछ। विकासको बाटो केवल नीतिमा होइन, संस्थागत क्षमता र दीर्घकालीन दृष्टिमा निर्भर हुन्छ भन्ने सन्देश फिलिपिन्सको अनुभवले स्पष्ट देखाउँछ।

प्रकाशित: १३ माघ २०८२ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App