१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
विचार

राजपाट भिक्षा होइन, संघर्षभूमि हो

राजनीतिलाई बुझ्ने सबैले एउटा कुरा स्विकार्छन्– सत्ता कुनै सजिलो आसन होइन। यो त तातो ढुंगामाथि उभिएर सन्तुलन मिलाउन खोजेजस्तै कठिन खेल हो। सत्ता फूलबारीको हावा होइन, दाउरा चर्किने भट्टी हो। 

यहाँ मान्छे फलाम भएर छिर्छ, घर्षण, अपमान, धक्का–मुक्का, चलखेल र गठजोडका आगोमा पोलिँदै स्पात बनेर निस्किन्छ। सत्ता संघर्ष यही रूपान्तरणको होली हो। जो जल्न जान्दैन, ऊ चम्किन पनि सक्दैन। यो खेल कमजोरी देखाउने ठाउँ होइन, डराएपछि, गिडगिडाएपछि, ‘म हट्छु, तिमी आउ’ भन्दा राजनीति चल्दैन। जोे राजनीतिमा लागेको छ, उसैले भिड्नुपर्छ, उभिनुपर्छ, लड्नुपर्छ।

इतिहास भनिने ग्रन्थ वास्तवमा तत्कालीन सत्ता संघर्षको क्रम हो। आजका घटना, निर्णय, शक्तिसंघर्ष नै भोलिको इतिहासका अनुच्छेद बन्छन्। इतिहासका किताब भनेको मूलत: सत्ता संघर्षकै संग्रह हो। आज केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल वा जेनजी युवा, जसले जसलाई सर्ने–सार्ने, हट्ने–नहट्ने भनेर धक्कामुक्की गरिरहेका छन्, यही भोलिका लागि इतिहास हो। आजका जेनजीले इतिहासका पानालाई प्राय: ‘स्क्रोल’ गर्ने बानीले कोरिदिन थालेका छन्। उनीहरूका लागि इतिहास क्षणिक टिकटक जस्तै छ। दुईचार रिल हेरेर इतिहास बनाउँछन् तर इतिहास त्यति सजिलो गरी लेखिँदैन, संघर्षले लेख्छ, कडा निर्णयले लेख्छ, तितो सत्यले लेख्छ। इतिहास लेखिने भनेको शाश्वत संघर्षबाटै हो। समयको खोरियामा नाम उत्कीर्ण गर्न ‘पल’ होइन, अध्याय चाहिन्छ– अथक, अखण्ड र दृढ अध्याय।

अहिले राजनीति हल्लाएर, गाइँगुइँ गरेर, फेसबुक स्ट्याटस लेखेर या कसैको कानमा फुसफुसाएर सत्ता पाइन्छ भन्ने सोच बनाएको छ। तर सत्ता मागेर दिइने वस्तु होइन। न बिन्ती गरेर पाइएको सत्ता टिक्छ, न धम्क्याएर ल्याएको सत्ता स्थिर हुन्छ। जसले सचेत भएर आफ्नो दम, विचार र निर्णय क्षमतामा दरो भएर उभिन्छ, त्यो मात्रै सत्ताको वास्तविक हकदार हुन्छ। त्यसले मात्र देश हाक्न सक्छ।

राजनीति अहिले यही द्वन्द्वको भुमरीमा छ। यहाँ केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाललाई बिन्ती गरेर वा धम्की दिएर हटाउन वा ल्याउन खोज्नेहरूले बुझ्नुपर्छ– सत्ता मागेर पाइँदैन र मागेर पाएको सत्ताबाट न देशको हित हुन्छ, न पाउनेको। राजपाट भिक्षा होइन, संघर्षभूमि हो। यहाँ आफ्नो क्षमता, दूरदृष्टि र साहसको प्रमाण दिनुपर्छ। न उदण्डताले सत्ता टिक्छ, न कायरताको कम्पनले। राजनीति नै गरिनुपर्छ– दायित्वसहित, वैचारिकताकहित, व्यक्तित्वसहित।

राजनीति विज्ञान भन्छ– सत्ता भनेको संसाधनहरू व्यवस्थित गर्ने, निर्णय लागु गर्ने, सामाजिक जीवनलाई स्थिरतामा बाँध्ने क्षमता हो। शक्ति निर्णयलाई प्रभावकारी बनाउने ऊर्जास्रोत हो। सत्ताले निर्णय गर्ने हक दिन्छ। शक्तिले त्यो निर्णय लागु गर्ने बल प्रदान गर्छ। दार्शनिकहरू भन्छन्–सत्ताविहीन राष्ट्र दिशाहीन हुन्छ भने शक्तिविहीन सत्ता दाँतविहीन बाघ हुन्छ। सरल भाषामा भनौं– सत्तामा बसेपछि ‘गर्नु पर्ने’ काम गर्न सकियो भने मात्र काम हुन्छ, नत्र कुर्सी तातो काठ मात्र हो। दार्शनिकहरूले यसलाई अझ गहिरो तरिकाले बुझाउँछन्। सत्ता भनेको मानव समाजको सामूहिक भविष्य निर्धारण गर्ने जिम्मेवारी हो। शक्ति भनेको त्यो भविष्यलाई आकार दिन प्रयोग गरिने औजार हो। सत्ताबिना राष्ट्र दिशाहीन हुन्छ, शक्तिबिना सत्ता निरर्थक हुन्छ।

महाभारतमा पनि यही थियो– पाण्डवहरू कायर भएर बसेका भए कहानी सकिन्थ्यो। द्रौपदीको चीर हरणपछि लड्ने साहस नभएको भए धर्मको बखान हुने थिएन। पाण्डवहरूले द्रौपदीको अपमान देखेपछि युद्ध टारेका भए आज महाभारत कथा हुने थिएन। यहीं कारण महाभारत धर्म–संरक्षणको प्रतीक बन्यो। युद्धको मैदानमा बुढेसकालका भीष्मदेखि कर्णसम्म सबै ढले। तर ढल्दा पनि कायर भएर होइन, जुधेर। राजनीतिमा पनि यही नियम लागु हुन्छ। भागेर नेता बन्दैन, भिडेर मात्र नेता चिनिन्छ।

विश्व इतिहास पनि यही नियमले चलेको छ। सत्ता निर्ममताको मैदान हो। रोम, चीन, युरोप, अमेरिका, जहाँ–जहाँ ठुलो सत्ता थियो, त्यहाँ त्यत्तिकै ठुलो संघर्ष थियो। त्यसै संघर्षले मानव सभ्यता अगाडि बढेको छ। सत्ता त्यही हो, जहाँ कठोर हात चाहिन्छ, जहाँ निर्णय एक पटक हुन्छ, तर प्रभाव पुस्तौं पुग्छ। विकास त निरन्तर बहने नदी हो। त्यो कुनै नेताले नचाहे पनि बग्छ। तर नदीको दिशा जननेताले तय गर्छन्। बलियो नेतृत्वले तय गर्छ। कमजोर, डरपोक, गिडगिडाउने, ‘फरियोलाई समाएर’ राजनीति गर्ने मानिसले देश अगाडि लैजान्छ भन्ने कल्पना नै हास्यास्पद हो। त्यसैले दृढ, दूरद्रष्टा, विचारवान् नेता चाहिन्छ– गिडगिडाएर, बिन्ती गरेर, धम्क्याएर नेता हुने होइन।

राजपाठका लागि उमेर हदको कुरा मूलत: बेकामे हो। देश चलाउने कुरा उमेरको घडीले नाप्ने विषय होइन। दिमाग कति तेज छ, निर्णय कति कडा छ, मुटु कति मजबुत छ भन्ने कुरा हो। कुर्सी उमेर हेरेर दिने हो भने राजनीति बालविहार बनिहाल्थ्यो। नेतृत्वमा उमेरको बार उठाउने प्रयास नै गलत हो। जवान र काचो भनेर रोक्ने कुरा जति मूर्खतापूर्ण छ, बुढो भए भनेर हटाउने कुरा त्यो भन्दा कम मूर्खतापूर्ण छैन। राजनीति भनेको कागजको काम होइन, राष्ट्रको बोझ उठाउने काम हो। त्यो जसले सक्छ, त्यही नेता हो।

इतिहासले उमेरको नियम मान्दैन। चन्द्रगुप्तले २०–२५ वर्षमै साम्राज्य उभ्याउँदा कसैले ‘उमेर पुगेको छैन’ भनेर रोक्न सकेनन्। सिकन्दर युवा थिए, तर संसार थर्काउने क्षमता थियो। महाभारतमा पनि भीष्म महान् बुढा भएर भएका होइनन्, कृष्ण महान् जवान भएर भएका होइनन्। उनीहरू महान् थिए किनकि उनीहरूमा निर्णयको धार थियो, साहसको कठोरता थियो र परिस्थिति फेर्ने दिमाग थियो। राजनीति उमेर होइन– कसले कति थाम्न सक्छ, कसले कति सोच्न सक्छ र कसले देशका लागि कति कठोर बन्न सक्छ भन्ने कुरा हो।

राजनीति पनि उमेरको तगारोबाट चल्न सक्दैन। केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल– यी सबै उमेर हेर्ने हो भने कहिल्यै अघि बढ्नै पाउँदैनथे। अर्को पक्षमा, अहिलेका युवालाई ‘तिमी अझै साना छौ’ भनेर रोकिरहनु पनि देशको प्रगति थुन्ने काम हो। कायर, ढिलासुस्ती, अकर्मण्य, अल्छी मानिस चाहे तिनको उमेर ३० होस् वा ७०, राष्ट्रको भविष्य उनीहरूको काँधमा नछोड्नु नै बुद्धिमानी हो। 

त्यसैगरी, तेज दिमाग, कठोर मन, स्पष्ट दृष्टि र जिम्मेवारी सम्हाल्न सक्ने क्षमता भएको व्यक्ति चाहे ३० वर्षको होस् वा ७० वर्षको, उसलाई रोक्नु मूर्खता हो। राजनीति उमेरको खेल होइन। यो चरित्र, क्षमता र निर्णयको खेल हो। राजपाठ न त बुढेसकालले चल्छ, न जवानसकालले, राजपाठ त कडा व्यक्तिले चलाउँछ। कुनै थ्रेसहोल्ड होइन। सच्चा थ्रेसहोल्ड त दिमागको तेज, हृदयको साहस र निर्णयको कठोरता हो। उमेरलाई आधार बनाएर राजनीति गर्नेहरू देश होइन, आफ्नो दिमागको सिमाना मात्र बचाइरहेका हुन्छन्। राजनीति भनेको नरम हातले समात्ने कौडी होइन, कडा ढाड, तेज दिमाग र ठोस निर्णय चाहिने ठाउँ हो। उमेर त्यहाँ कुनै अर्थ राख्दैन। चरित्र, क्षमता र साहसले राख्छ।

राजनीतिमा कदम राख्दा ‘पुरानालाई हट’ भन्नु, धम्की दिनु, दबाब हाल्नु वा कुर्सी छीन्ने योजना बनाउनु सही बाटो होइन भन्ने कुरा जेनजी युवाले बुझ्न जरुरी छ। पद, सत्ताको आसन, नाम वा उमेरले मात्र मान्यता पाउँदैन। सत्ता र नेतृत्व प्रतिस्पर्धा, क्षमता र आत्मविश्वासको मैदान हो। यहाँ डर, धम्की र गिडगिडाहटले केही गर्न सक्दैन। त्यस्तो सत्ता स्थिर हुँदैन, इतिहासले त्यसलाई स्विकार्दैन र देश पनि त्यसबाट लाभान्वित हुँदैन।

सच्चा प्रतिस्पर्धा भनेको आफ्नो क्षमता देखाउने, योजना बनाउने, रणनीति बुन्ने र परिस्थिति अनुसार अघि बढ्ने हो। पुराना नेता अनुभव र साहसले समृद्ध छन् भन्ने कुरा जेनजीले बुझ्नुपर्छ। उनीहरूलाई हटाउने भन्दा आफ्नै दिमाग, काम र निर्णय क्षमताले प्रतिस्पर्धा गर्नुपर्छ। सोच र कार्यले मात्र अघि पुर्‍याउँछ। राजनीतिमा विजय केवल पद कब्जा गरेर पाइँदैन। यसलाई पाउन सकिन्छ केवल आत्मविश्वास, स्थिरता र बुद्धिमत्ताको बलले। जसले धैर्य राख्छ, परिस्थितिलाई बुझ्छ, आफ्नो क्षमता सुधार्छ र कठोर निर्णय लिन तयार हुन्छ, उसैले पुराना नेताहरूलाई प्रतिस्पर्धाबाट पराजित गर्न सक्छ। इतिहासमा नाम लेखाउने, राष्ट्रको भविष्य निर्माण गर्ने र शक्ति टिकाउने मार्ग यही हो।

राजनीति स्वत: महान् हुँदैन, यसलाई महान् बनाउने चरित्र राजनीतिभित्रको व्यक्तिको नैतिक स्थिरता हो। सत्ता प्राप्त गर्न भूमिका नखेल्ने, जोखिम नलिने, प्रतिस्पर्धाबाट नहिड्ने मानिसले देशको भविष्य कहाँ लेख्ला ? सत्ता प्राप्त गर्न उदण्डता अपनाउनेले देशलाई कहाँ पुर्‍याउँछ ? उत्तर दुवै अवस्थामा एकै छ– अवधि छोटो हुन्छ, प्रभाव कम हुन्छ, इतिहास मौन हुन्छ।

इतिहास भनेको राजनीति सफल भएको, संघर्ष सान्दर्भिक भएको, नेतृत्व सिद्ध भएको क्षणहरूको मात्र संग्रह हो। राजनीतिमा शक्ति र सत्ता दुवै चाहिन्छ। त्यसैले आजका साना झगडा, चर्काचर्की, गठबन्धन–विच्छेद, संसद्का उथलपुथल– यो जसले भोलिको इतिहासमा नयाँ पाटो थप्दैछन्। प्रश्न भने एउटै छ– कसले यो संघर्षलाई फलामबाट स्पात बनाउने भट्टी बनाउँछ ? कसले यो राष्ट्रलाई भिक्षाबाट होइन, क्षमताबाट नेतृत्व गर्नेछ ? राजनीतिमा विजय भनेको सत्ताको कुर्सी ओगट्नु मात्र होइन। साहस, चरित्र र दृष्टिको ठोस आधारमा राष्ट्रको भविष्यलाई सही दिशामा मोड्नु पनि हो।

प्रकाशित: १६ मंसिर २०८२ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App