२१ पुस २०८२ सोमबार
image/svg+xml
विचार

जेन-जी विद्रोह र सामाजिक सुरक्षा

अहिले मलाई जेन-जी आन्दोलनको सन्दर्भमा हिन्दी भाषी भारतीय कवि गोपालदास निरजको कविताका केही पंक्ति सम्झना भइरहेको छ । कवि भन्छन्:
‘तन की हवस् मन को गुनाहगार बना देती है ।
बाग के बाग़ को बीमार बना देती है ।।
भूखे पेटों को देशभक्ति सिखाने वालो ।
भूख इन्सान को गद्दार बना देती है ।।’
अर्थात् शरीरको तीव्र चाहना वा तृष्णाले मनलाई दोषी बनाइ दिन्छ । पूरै बगैँचाका बगैँचा नै बिरामी बनाइदिन्छ, भोको पेट भएका मानिसलाई देशभक्ति सिकाउनेले सचेत हुनुपर्छ, भोकले मानिसलाई गद्दार बनाइदिन्छ ।

जेन-जी आन्दोलनका क्रममा सिंहदरबार लगायतका सम्पदा र सम्पत्तिको तोडफोड, आगजनी र लुटपाटमा किन केही मानिस खनिए ? किन उनीहरूमा विध्वंसात्मक मनोवृत्ति पलायो ? त्यस पछाडि पक्कै पनि राज्यसत्ता प्रतिको असन्तुष्टि मूल कारण हो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त तत्कालीन सतहबाहिर देखिएको कारण बन्यो नै तत्कालीन सत्ताभन्दा बाहिर रहेका दलहरू पनि असन्तुष्ट थिए । अर्कातिर गणतान्त्रिक र धर्मनिरपेक्ष संविधान नरुचाउने पक्ष पनि अहिलेको सत्ता र सरकारसँग असन्तुष्ट थियो । अर्कोतिर पहिचानको आधारमा राज्यको पुनर्संरचना नभएको अवस्थाप्रति असन्तुष्ट जनमतका साथै क्षेत्रीय र जातीय रूपमा नेपालको राज्यसत्तामा आफ्नो निर्णायक उपस्थिति नभएका कारण असन्तुष्ट रहेको जमात पनि छँदै छ । 

त्यतिमात्र होइन स्वयम सत्तारुढ दलकै तर संस्थापन पक्ष इतर भएर सरकार र राज्यसत्ताबाट हुने लाभबाट बञ्चित भएको मनोभाव राख्ने मानिस पनि अहिले असन्तुष्ट थिए । अझ काठमाडौं नगरपालिकाको कवाडी संकलनमा गरिएको नियमनबाट असन्तुष्ट मानिस, नगरपालिकाले धर भत्काइदिएका सुकुमबासी वा अव्यवस्थित बसोबासी तथा राज्यद्वारा घरबासबाट बेदखल भएका भएका मानिसहरू पनि त्यत्तिकै असन्तुष्टि थियो । अर्कातिर महानगर तथा नगरपालिकाहरूबाट विस्थापित फुटपाथमा पसल गर्ने व्यवसायीहरू, वैदेशिक रोजगारमा जान बाध्य परिवारका कतिपय परिवारका सदस्यहरू पनि राज्य सत्तासँग खुसी थिएनन् । चरम बेरोजगारीमा परेका युवाहरू भित्र त्यसैगरी विद्रोहको ज्वाला दन्किरहेको थियो ।

अर्कातिर सरकारले जनतालाई नबुझाइकन लागु गरेको स्मार्ट लाइसेन्स, राष्ट्रिय परिचयपत्र, र इम्बोस्ड नम्बर प्लेटले आम जनता खुसी थिएनन् । त्यसका साथै सरकारको हुकुमी र जनपक्षीय व्यवहार नभई ठाडो पेलेर जाने शैली उत्तिकै जिम्मेवार थियो । त्यसैगरी नेपाल भूराजनीतिक स्वार्थको तारो भइरहेको हुँदा कतिपय बाह्य शक्तिहरू पनि असन्तुष्ट थिए । साथै नेपालको राज्य सत्तालाई आफू अनुकूल बनाउन खोज्ने वा असलफल राष्ट्र बनाउँदै नेपालको अस्तित्व मेटाउन चाहने तत्व पनि खुसी हुने कुरा भएन ।

यही पृष्ठभूमिमा भएको जेन्जीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको गोली लागेर दुई दर्जन बढी होनहार युवा माझ सडकमा ढलेपछि आगोमा घ्यु थपिएझैँ भयो । विद्रोहको विस्फोटसँगै आगजनी, तोडफोड र लुटपाट हुन गई देशको महत्त्वपूर्ण सार्वजनिक सम्पत्ति खरानीमा परिणत भयो । यस्तो तप्कामा शोषण र उत्पीडनको जाँतोमा पिल्सिएका पिँधका वर्गका मानिसको उल्लेख्य उपस्थिति थियो भनिन्छ । यसरी विद्रोहमा आउनेहरू जो हुन्, जे कारणबाट तोडफोड, आगजनी र लुटपाटमा उत्रिएका हुन् तिनीहरूको तत्कालीन मनस्थितिमा राष्ट्र प्रेमको भावना नभएको भने प्रस्ट छ । 

‘धर्मको रक्षा गरियो भने धर्मले धार्मिकको रक्षा गर्छ’ भनेझैँ, ‘राष्ट्रको रक्षा गरियो भने राष्ट्रले हाम्रो रक्षा गर्छ’ भन्ने भावना नजगाइएका मानिस भने निश्चित हुन् तिनीहरू । हामी राज्यको सामाजिक सुरक्षाबाट लाभान्वित छौं भन्ने अनुभूतिका साथै राज्यप्रति जिम्मेवार छौं भन्ने भावना जागृत गराउन राज्यले नसकेका मानिस हुन् तिनीहरू ।

नेपालको संविधानको धारा ५० (३) मा उल्लेखित निर्देशक सिद्धान्तहरूमा तपसिल बमोजिमका कुरा उल्लेखित छन् :  ‘...प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ ।’ यो आर्थिक उद्देश्य बमोजिम यो संविधान कार्यान्वयन भएको डेढ दशकमा पनि समाजवादतर्फको यात्रा जहाँको तहीँछ । के हाम्रा दलले संविधानमा उल्लेख भएबमोजिम राज्यको आर्थिक उद्देश्य पूरा गर्न समाजवादबारे टाउको दुखाए त ? बरु त्यस विपरीत चरम व्यक्तिवाद मनोविज्ञानका साथ भ्रष्टाचारतन्त्रको विकास गरेका छन् ।

दुनियाँमा थुप्रै मोडलका समाजवाद कार्यान्वयन भएको देखिन्छ । जसमा व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाको राम्रो सन्तुलनका साथै कार्यान्वयन गरिएको समाजवादको एउटा मोडल स्केन्डेभियन समाजवाद हो । प्रजातान्त्रिक समाजवादको आदर्श बोकेको नेपाली कांग्रेस र समाजवादको अदर्श बोकेका नेकपा एमाले लगायतका साम्यवादी दलहरूको सैद्धान्तिक गन्तव्य समाजवाद भइरहेको सन्दर्भ र संविधानमै समाजवाद उन्मुख अर्थव्यवस्था भनिएको सन्दर्भमा हेर्दा समाजवादतर्फ मुलुकको अग्रगतिका निम्ति कुनै पनि ठोस प्रयास नगरेको प्रस्टै छ ।

अझ अहिले विश्वका थुप्रै पुँजीवादी अर्थतन्त्र भएका देशहरूले पनि बाल्यकाल, वृद्धावस्था शिक्षा, स्वास्थ्य र चरम गरिबी जस्ता पक्षहरूलाई राज्यद्वारा सम्बोधन गर्दै समाजवादका विशेषताहरू लागु गरेका छन् । उत्तरी तथा पूर्वी युरोपका पुँजीवादी अर्थतन्त्र भएका थुप्रै मुलुकहरूमा पनि यी समाजवादी विशेषता लानुभएका देखिन्छन् । विडम्बना मान्नुपर्छ नेपालमा केवल शिक्षा र स्वास्थ्यलाई मात्र राज्य मातहत ल्याउने हो भने हाम्रै पालामा समाजवादको आधारशीला तयार हुन्छ । यसो गरेमा छोराछोरीको अध्ययन र आफ्नो स्वास्थ्योपचारका लागि जोहो गर्नुपर्छ भन्ने मनोभावबाट हुने भ्रष्टाचारमा करिब ७० प्रतिशत कमी हुन सक्छ ।

हाम्रा मुख्य दलहरू शिक्षा र स्वास्थ्यको मूल स्वरूपलाई व्यापार र मुनाफाको क्षेत्र बनाउन उद्यत छन् । जसको लाक्षणिक उदाहरण हो– एक जना उच्च तहका नेता पत्नीद्वारा सञ्चालित भनेर जेन-जी आन्दोलनको आक्रमणको निसानामा परेको राजधानीको एउटा विद्यालय । अहिले पनि हाम्रा पुराना प्रमुख दल र नयाँ उदाउँदा दलले कम्तीमा पनि शिक्षा र स्वास्थ्यलाई पूर्णरूपमा राज्य मातहत ल्याउन अध्ययन कार्यदल बनाएर त्यसको सुझाव बमोजिम कुन मोडलमा र कति वर्ष भित्रमा शिक्षा र स्वास्थ्यलाई पूर्णरूपमा राज्य मातहत ल्याउन सकिने हो ? त्यसको कार्ययोजना वा रोडम्याप तयार हुने थियो । के दलहरू यसो गर्न चाहन्छन्? 

यसरी अहिलेको जेन-जी विद्रोहसँगै देशैभरिका आगजनी, तोडफोड र लुटपाटका घटनामा ओर्लिएकाहरू जो हुन्, जे हुन्, जस्ता हुन्, उनीहरूको मन मस्तिष्कमा हामीले राष्ट्रको बिजांकुरण गराउन सकिएनछ । ‘राष्ट्रो रक्षति रक्षित:’ अर्थात् राष्ट्रको रक्षा गर्नेलाई राष्ट्रले रक्षा गर्छ’ भन्ने कुरा सिकाउन सकिएनछ । राष्ट्रप्रतिको अपनत्वको भाव जगाउन सकिएनछ । उसलाई अहिले राष्ट्र हाम्रो सामूहिक पहिचान र संस्कृति हो अनि राज्य चाहिँ राष्ट्रको समष्टिमा हाम्रा कर्तव्य र अधिकारसहितको सहअस्तित्वको प्रबन्ध वा व्यवस्था भएको राजनीतिक संरचना हो यसको सम्पत्ति र सम्पदाको रक्षा गर्नुपर्छ भन्ने कुरा बुझाउन सकिएनछ ।

यसले के देखाएको छ भने हामीले खासमा सामाजिक सुरक्षा प्रबन्धभित्र सम्पूर्ण नागरिकलाई जहिलेसम्म समेट्न सक्दैनौँ त्यो बेलासम्म राज्य असुरक्षित रहन्छ । अंग्रेजीको एउटा उखान छ– अ हंग्री म्यान इज एन एंग्री म्यान ।  अर्थात् भोकाएको मानिस रिसाएको हुन्छ । त्यसैगरी कवि गोपालदासका अभिव्यक्तिमा भोकले मानिसलाई गद्दार बनाउँछ । तसर्थ सशक्त सामाजिक सुरक्षा भएको प्रणालीमा नगए खरानीभित्र छोपिएर रहेको झिल्काहरू विद्रोहको आँधिहुरी पर्खिएर बसिरहेका छन् ।

यसका साथै हाम्रो पाठ्यक्रममा ‘नेपाल विद्या’, ‘नेपाल परिचय’, ‘आचारिक शिक्षा’ वा ‘नैतिक शिक्षा’ जस्ता विषयहरू समावेश गरी सम्पूर्ण नागरिकमा राष्ट्रप्रेमको मनोविज्ञान निर्माणमा जोड दिनुपर्ने देखियो ।
(अधिकारी मानवशास्त्र र समाजशास्त्र विषयका उपप्राध्यापक हुन् ।)

प्रकाशित: ३१ भाद्र २०८२ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App