प्रोफेसरहरू स्टेभेन लेभेस्की र डेनियल जिब्लाटले लेख्नुभएको ‘हाउ डेमोक्रेसिज डाइ’ किताब पहिलो पटक प्रकाशित भएको आठ वर्ष बितिसकेको छ। लेखकहरूले किताब लेख्नु र प्रकाशित गर्नुको उद्देश्य प्रजातन्त्रलाई परिष्कृत गर्दै जानु र लोकतन्त्रभित्रैबाट जन्मिने तानासाहीलाई निरुत्साहित गर्नु हो तर पनि वर्तमानमा लोकतन्त्रको क्षयीकरण हुने क्रम रोकिएको छैन। भिन्न–भिन्न देशमा भिन्न–भिन्न समय र रूपमा लोकतन्त्रभित्रै तथा लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचित तानासाह जन्मिरहेका छन्। यसमा आश्चर्यलाग्दो र डरलाग्दो पक्ष यो छ कि निर्वाचित तानासाह निर्माण गर्न र त्यसको समर्थन गर्न शिक्षित युवा बढी देखिन्छन्।
लोकतन्त्रको क्षयीकरण हुने क्रम किताब प्रकाशित भएको समय सन् २०१८ र त्यसअघिभन्दा अहिले बढी रहेको छ। लोकतन्त्रको क्षयीकरण हुनु भनेको नागरिक अधिकार खुम्चिनु, लोकतान्त्रिक संस्था, न्यायपालिका, व्यवस्थापिका तथा स्वतन्त्र सञ्चार कमजोर हुनु हो। स्वभावतः यी संस्था कमजोर भएपछि कुशासन सुरु हुन्छ, भ्रष्टाचारमा वृद्धि हुन्छ। भौतिक विकासका साथसाथै समग्र मानव विकास पनि पछि पर्छ। आफ्नै अधिकार कटौती गर्न र कुशासनको प्रस्थानविन्दु बन्न किन स्वयं नागरिक र विशेषतः शिक्षित युवा नै अग्रसर देखिएका छन्? आश्चर्यलाग्दो पक्ष यो छ कि जुन शिक्षित युवा सुशासन र स्वतन्त्रताको माग राख्दै आन्दोलन गर्छ, त्यही नै तानासाही प्रवृत्तिको मानिस निर्वाचित गर्न र निर्वाचित शासकलाई अनुत्तरदायी बन्न सहयोग पुर्याइरहेको छ।
लोकतन्त्रका आफ्नै कमजोरी पनि छन्। सबै वयस्क नागरिकको समान मताधिकार हुन्छ तर राष्ट्रका मुख्य समस्या, तत्कालको राजनीतिक आवश्यकता र असल विकल्पको छनोटबारे सबै नागरिक सुसूचित हुँदैनन्। जसका कारण असल विकल्पको सट्टा खराब विकल्पको छनोट हुने सम्भावना रहन्छ।
लोकप्रियतावादको उदयको मुख्य कारण नै यही हो कि मतदाताहरू कार्यान्वयन हुन नसक्ने आकर्षक नारामा विश्वास गर्छन्। पपुलिस्टहरूले राष्ट्रका विद्यमान कमजोरी तथा समस्याहरू उल्लेख गर्न र ती समस्या आफूले समाधान गर्ने आकर्षक नारा दिन्छन् तर सत्तामा पुगेपछि ती समस्या समाधान गर्न सक्दैनन्।
हंगेरीका भिक्टर अर्वान हुन् वा टर्कीका एर्दोगान वा भारतका मोदी, सबै आकर्षक उद्घोषका साथ सत्तामा आएका हुन्। सत्तामा आएपछि राष्ट्रका समस्या समाधान गर्नुको सट्टा आफ्नो शासन बलियो बनाउन र प्रजातान्त्रिक अधिकार कटौती गर्न लाग्ने गरेका छन्। १६ वर्षसम्म भ्रष्टाचार, कुशासन र प्रजातान्त्रिक संस्थाहरूलाई कमजोर बनाई शासन गरेपछि हंगेरीमा भर्खर मात्र राजनीतिक पार्टीहरू एकजुट भएर अर्वानलाई प्रजातान्त्रिक माध्यमबाट नै सत्ताच्युत गरे। भारतमा मोदीको कुशासनले विदेशी मुद्राको भण्डार रित्तिएपछि मोदीले विदेशी मुद्रा खर्च गरी आयात हुने सुन लगायतका सामान नकिन्न र विदेश भ्रमण नगर्न नागरिकलाई आह्वान गर्नुपर्यो। ‘अच्छे दिन आएंगे’ भन्दै सन् २०१४ मा निर्वाचनमार्फत सत्तामा आएका मोदीले निर्वाचन आयोग, सिबिआई तथा न्यायालयमा समेत हस्तक्षेप गरी ती संस्था कमजोर बनाएका छन्। परिणामस्वरूप आज भारतीयहरूले ‘बुरे दिन’ देख्नुपरेको छ। टर्कीका एर्दोगानले आफ्ना विपक्षीहरूलाई र उनलाई निर्वाचनमा परास्त गर्न सक्ने लोकप्रिय नेता एकरेम इमामोग्लुलाई असंख्य आरोप लगाई थुनेका छन्।
अर्का विपक्षी नेता सिएचपी पार्टीका अध्यक्ष ओजगर ओजेलको सभापति पद अवैध ठहर गर्दै प्रतिस्पर्धाबाट पाखा लगाइदिएका छन्। टर्कीमा त्यहाँको न्याय प्रणालीलाई विपक्षीहरूको विरुद्धमा हतियारका रूपमा प्रयोग गरिएको छ। बेलायतको प्रसिद्ध अंग्रेजी दैनिक ‘द गार्डियन’ले आफ्नो २४ मे २०२६ को सम्पादकीय लेखमा लेख्छ– ‘टर्कीमा सन् २०२८ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ तर त्यसको परिणाम अहिले नै निश्चित भइसकेको छ। टर्की एक व्यक्तिको सर्वाधिकारवादी शासनमा परिणत भएको छ।’
वर्षौंदेखि उपभोग गर्दै आएको निर्वाध नागरिक स्वतन्त्रता, सयौं वर्षको परम्परा, जागरुक नागरिक समाज, सशक्त प्रतिपक्ष तथा स्वतन्त्र न्यायपालिकाको कारण उग्र तथा अराजक पपुलिस्ट राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अमेरिकी प्रजातन्त्र येनतेन जोगिन सकेको छ। उनको कारणले अर्थव्यवस्थामा दबाब परिरहेको छ।
सनकका आधारमा कुनै तर्कसंगत विश्लेषण नगरीकन पहिलो पटक राष्ट्रपति हुँदा इरानसँग ओबामा प्रशासनले गरेको आणविक सम्झौता खारेज गरे। अहिले त्यही सम्झौता गर्न इरानमाथि आक्रमण गरी अमेरिकी करदातामाथि अरबौं डलरको आर्थिक भार बोकाएका छन्। ट्रम्पकै कारण आज अमेरिका मात्र नभएर सम्पूर्ण विश्व नै प्रताडित भएको छ। अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग्गिने, राष्ट्रसंघका कल्याणकारी योजनामा आर्थिक योगदान नगर्ने र अन्य राष्ट्रहरूलाई हेप्ने प्रवृत्तिले पुराना मित्रराष्ट्रहरूबाट अमेरिका एक्लिँदै गएको छ। आफ्नै छिमेकी क्यानडासँग पनि ट्रम्पले सम्बन्ध बिगारेका छन्।
लोकतन्त्र, मानवाधिकार र नियमबद्ध अर्थसम्बन्धमा विश्वको नेतृत्व गरेको अमेरिका आज सर्वाधिकारवादी शासनको पक्षपाती बन्दै छ। अमेरिका कतिसम्म एक्लो परेको छ भन्ने इरानसँगको युद्धमा स्पष्ट देखिएको छ। इराक युद्धमा साथ दिएका बेलायत, अस्ट्रेलिया, पोल्यान्ड तथा युरोपका अन्य देश र अफगान युद्धमा साथ दिएका सम्पूर्ण नाटो देश यो युद्धमा एउटा पनि साथमा रहेनन्। अहिले डोनाल्ड ट्रम्प इरानसँगको युद्धबाट कसरी बाहिर निस्कने भन्ने छटपटीमा छन्।
नेपालमा लोकतन्त्रको क्षयीकरणको आधार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका शीर्ष नेताले तयार गरिदिएका हुन्। यी नेताहरूले प्रजातान्त्रिक अधिकारको कटौती नगरेका भए पनि यिनीहरूको कुशासनले प्रजातान्त्रिक संस्था मात्र कमजोर भएनन्, देशमा बढेको भ्रष्टाचारले आमनागरिकमा लोकतान्त्रिक पार्टीप्रतिको विश्वास कमजोर बन्यो। फलस्वरूप २०७९ मा पपुलिस्ट पार्टीको उदय भयो। यी नेताहरूकै कुशासन, केपी ओलीको अहंकार र अदूरदर्शिताका कारण जेनजीले २०८२ भदौमा शान्तिपूर्ण आन्दोलनको आयोजना गरे। त्यो आन्दोलनमा पपुलिस्ट पार्टी र नेपाललाई आफ्नो स्वार्थपूर्तिको क्रीडास्थल बनाउने विदेशी शक्तिबाट सञ्चालित व्यक्तिहरू घुसपैठ गरी आन्दोलनलाई उग्र, अराजक र हिंस्रक बनाए। परिणामस्वरूप ठुलो जनधनको क्षति हुन पुग्यो। नेपाली सेनाको सन्दिग्ध गतिविधि तथा भूमिका र राष्ट्रपतिको अदूरदर्शिताले गैरसंवैधानिक सरकार निर्माण भयो।
यी सबैको पृष्ठभूमिमा भएको २०८२ फागुन २१ को निर्वाचनमा एउटा आवेगी र अराजक व्यक्तिलाई प्रधानमन्त्री घोषणा गरेको पपुलिस्ट पार्टी निर्वाचनमा विजयी बन्यो। आज नेपालीहरू एउटा अनुशासनहीन तथा स्वेच्छाचारी व्यक्तिको शासन भोग्न बाध्य छन्।
जनप्रतिनिधि निर्वाचित गर्नु र निर्वाचित जनप्रतिनिधिबाट सरकार निर्माण हुनु प्रजातान्त्रिक विधि हो तर यो विधिअन्तर्गत निर्माण भएको सरकारले गरेका सबै काम र व्यवहार प्रजातान्त्रिक नै हुन्छन् भन्न मिल्दैन। सरकारका काम र व्यवहार स्थापित प्रजातान्त्रिक परम्परा तथा विधिसँग संगत छैनन् भने ती अप्रजातान्त्रिक हुन्। परम्परा र विधिबाट नबाँधिएको सरकार निरंकुश तथा स्वेच्छाचारी हुन्छ। निर्वाचित स्वेच्छाचारी शासकको मनमौजी लोकतन्त्र होइन। यो देशका प्रधानमन्त्री निर्वाचित बालेन्द्र शाहले संसद् र नेपाली जनताको अपमान गरिरहेका छन्। नेपाली जनताले पटक–पटक आन्दोलन गरी हजारौं नेपालीहरूको सहादतपछि प्राप्त गरेको लोकतन्त्रप्रति उनको निष्ठा छैन। संयुक्त सदनको बैठकमा आफैंले राष्ट्रपतिबाट वाचन गर्न निम्त्याएको आफ्नै सरकारको नीति तथा कार्यक्रमको वाचनकै बिचमा बैठक छाडेर हिँड्ने काम संसदीय लोकतन्त्रमा निष्ठा भएको प्रधानमन्त्रीबाट हुन सक्दैन। संसद्मा जथाभावी बोल्ने, सांसदहरूले प्रधानमन्त्रीले बोलेको कुरामा प्रश्न उठाएपछि उत्तर दिन संसद्मा उपस्थित नहुने र सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्ने काम पनि लोकतन्त्रप्रति प्रतिबद्ध प्रधानमन्त्रीबाट हुन सक्दैन।
सरकारी विज्ञापन स्वतन्त्र सञ्चार माध्यमलाई निषेध गर्नु र पञ्चायतले पनि बन्देज नगरेको स्वतन्त्र विद्यार्थी युनियनलाई बन्देज लगाउने कार्यले उनी स्वतन्त्रता, खुलापन तथा विचार र संगठनका विरोधी रहेको बुझ्न सकिन्छ। सुकुम्बासीप्रति अमानवीय व्यवहार गर्नु मानवीय संवेदनाहीन क्रूर हृदयको परिचायक हो। प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्रप्रति सम्मान गरेको अहिलेसम्म एक शब्द पनि नेपाली जनताले सुन्न पाएका छैनन्। उनले लोकतन्त्रलाई उपयोग मात्र गरेका छन्, लोकतान्त्रिक आचरणअनुरूपको व्यवहार प्रयोग गरेका छैनन्।
के नेपाली जनतालाई प्रधानमन्त्रीमा निर्वाचित हुनुपूर्व बालेन्द्र शाहको यो व्यक्तित्वको परिचय नभएको कारणले निर्वाचन गरेका हुन् र ? बालेन्द्र शाह काठमाडौंका नगरप्रमुख हुँदादेखि नै उनको यस्तो व्यक्तित्वको परिचय नेपालीले पाएका हुन्। नगरप्रमुखले प्रयोग गर्ने गाडी उनकी श्रीमतीले राति प्रयोग गरेको समयमा ट्राफिक प्रहरीले केहीबेर सोधपुछ गर्दा सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै धम्की दिने, मध्यरातमा आफ्नै देश तथा मित्र राष्ट्रहरूलाई अश्लील शब्द प्रयोग गरी स्टाटस लेख्ने, भदौ २३ को जेनजी प्रदर्शन उग्र बनाउन उक्साउने, सहयोग गर्ने, भदौ २४ मा सिंहदरबारलगायत सरकारी संरचना जलिरहँदा नगरपालिकामा रहेका दमकल प्रयोग गर्न नदिनेजस्ता कार्यले उनको व्यक्तित्व र व्यवहारबाट नेपाली जनता परिचित भएका हुन्।
बालेन्द्र शाह प्रधानमन्त्रीमा निर्वाचित भएमा लोकतन्त्र कमजोर हुन्छ भन्ने जान्दाजान्दै पनि नेपाली जनताले उनैलाई जिताए। ५ नोभेम्बर २०२४ मा अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि प्रसिद्ध फ्रान्सेली दैनिक पत्रिका ‘लि मोन्डे’ले लेख्यो– ‘डोनाल्ड ट्रम्पका सबै विध्वंसक स्वभावको जानकारी राखेरै अमेरिकीहरूले जिताएका हुन्।’
नेपालीले पनि बालेन्द्र शाहका सबै विध्वंसक स्वभावको जानकारी राखेरै जिताएका हौं। तसर्थ नेपालमा लोकतन्त्रको क्षयीकरण हुनुमा सबै नेपाली दोषी छौं।
प्रकाशित: ४ असार २०८३ ०९:२३ बिहीबार

