सन् १९९० मा बर्लिनको पर्खाल ढल्दा फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ (१९९२) लेखेर उदारवादी पुँजीवादको अन्तिम विजय भएको घोषणा गरे तर त्यो विजयोत्सवमा ‘एलिमिनेट’ गरिएका अन्तरविरोधहरू फेरि पलाए। पुँजीवादभित्रको अहंकार र कर्पोरेट संस्कृतिको विलासिताले आफ्नै जग खनिरहेको थियो, जसको संकेत कार्ल माक्र्सले धेरै पहिले आफ्नो कृति ‘क्यापिटल’मा गरेका थिए। आज पश्चिमा मुलुकहरूमा माक्र्सका पुस्तकहरूको बढ्दो बिक्रीले पुँजीवादी संकटको पुनरागमनलाई पुष्टि गर्छ।
अर्कोतर्फ, सोभियत संघको पतन अरूले भन्दा पनि आफ्नै भित्रका ‘लाल अभिजात’ र ‘नोमेनक्लातुरा’ (विशेषाधिकार प्राप्त वर्ग) का कारण भएको थियो। कम्युनिस्टहरूले बुर्जुवाबाट त सिके तर पुँजीवादका राम्रा पक्षलाई आत्मसात गर्न सकेनन्। इजरायलको ‘किब्युज’ वा जापानको सहकारी मोडलजस्तो सफल कम्युन बनाउन चुके। मानवीय चिन्तन मेकानिकल आदेशमा चल्न सक्दैन भन्ने पाठ इतिहासले सिकायो।
फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ लेख्दै गर्दा चिनियाँ प्राध्यापक तथा वर्तमान राजनीतिज्ञ वाङ हुनिङ भने ‘अमेरिका एगेन्स्ट अमेरिका’ लेख्दै थिए। आज ३५ वर्षपछि त्यसले सान्दर्भिकता पाएको छ। यसले धेरैलाई अचम्मित पनि तुल्यायो। फुकुयामा सान्दर्भिक भएनन् तर वाङको संकेत घटनाक्रमहरूले पुष्टि हुँदै छन्। अमेरिकी सेनापतिहरूको बर्खास्ती, महान्यायाधिवक्ताको राजीनामा र देशव्यापी विशाल प्रदर्शन, वाङ हुनिङको त्यसबेलाको भविष्यवाणीसँग मेल खाएका छन्।
वाङले आफ्नो पुस्तकमा अमेरिका कुनै बाह्य शक्तिबाट नभई आफ्नै आन्तरिक अन्तर्विरोधका कारण कमजोर हुने तर्क गरेका थिए। उनले अमेरिकी समाजमा व्यक्तिवाद, सामाजिक मूल्यहरूको क्षय र संस्थागत अस्थिरताले अन्ततः ‘अमेरिकाले नै अमेरिकाको विरोध गर्ने’ स्थिति आउने व्याख्या गरे। अहिले अमेरिकाका प्रमुख सहरहरूमा भइरहेको विशाल प्रदर्शन (नो किंग्स प्रोटेस्ट वा युद्ध विरोधी प्रदर्शन) ले त्यही आन्तरिक विभाजनलाई पुष्टि गर्छ।
हालैका दिनमा (मार्च–अप्रिल २०२६) रक्षा सचिव पिट हेगसेथ र राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता पाम बोन्डीको बर्खास्ती, साथै शीर्ष जनरलहरू (जस्तै जनरल रेन्डी जर्ज) लाई पदमुक्त गर्नुले अमेरिकी संस्थागत संरचनामा आएको गहिरो ‘सिस्टम ब्रेकडाउन’ देखाउँछ। वाङ हुनिङले भनेका थिए कि जब राजनीतिक नेतृत्व र स्थायी संस्थाहरूबिचको सन्तुलन बिग्रन्छ, तब महाशक्ति राष्ट्रको पतनको प्रक्रिया तीव्र हुन्छ।
टकर काल्र्सनजस्ता प्रभावशाली सञ्चारकर्मीहरूले अहिले यो युद्ध ‘अमेरिकाको नभई इजरायलको हो’ भन्नुले अमेरिकी राष्ट्रवादको एउटा नयाँ र कट्टर धारलाई प्रतिनिधित्व गर्छ। वाङले अमेरिकी विदेश नीति र घरेलु राजनीतिबिचको खाडल बढ्दै जाने संकेत गरेका थिए। काल्र्सनजस्ता राष्ट्रपतिका कट्टर समर्थक प्रभावशाली व्यक्तिको तर्कले के देखाउँछ भने अब अमेरिकी जनता आफ्नै करको पैसा र सैनिकहरू अर्को देशको स्वार्थका लागि खर्च गर्न तयार छैनन्। जब समाजको एउटा ठुलो हिस्साले आफ्नै सरकारको रणनीतिक गठबन्धनलाई बोझ मान्न थाल्छ, तब वाङको ‘अमेरिकाविरुद्ध अमेरिका’को भाष्य प्रमाणित गर्छ।
अमेरिकाका ५० वटै राज्यमा भएका प्रदर्शनले पनि अमेरिकी जनमानसमा व्याप्त ‘एन्टी–इस्टाब्लिसमेन्ट’ भावनालाई देखाउँछ। इरानसँगको युद्ध, आर्थिक मन्दी र आन्तरिक राजनीतिक प्रतिशोधको खेलले गर्दा सर्वसाधारण सडकमा उत्रिए। यो वाङ हुनिङले औंल्याएको त्यही ‘सामाजिक अस्थिरता’ हो, जसले व्यवस्थालाई भित्रैबाट खोक्रो बनाउँछ।
वाङ हुनिङको विश्लेषण ‘भविष्यवाणी’ साबित भए। उनले अमेरिका ‘बाहिरबाट बलियो तर भित्रबाट खोक्रो र विभाजित’ थियो भन्ने हो। चिनियाँ एआई र अमेरिकी एआईबिचको भाष्य निर्माणको युद्ध, डेमोक्य्राट र रिपब्लिकनबिचको शत्रुतापूर्ण सम्बन्ध, सैन्य शीर्ष नेतृत्वमा भइरहेको फेरबदल।
यी सबैले गरेको संकेत भनेको अमेरिका अहिले कुनै बाह्य शत्रुसँग भन्दा पनि आफ्नै छायाँसँग लडिरहेको छ। वाङ हुनिङले ३५ वर्षअघि जुन सिस्टमेटिक कोल्याप्सको परिकल्पना गरेका थिए, अहिलेको अमेरिका त्यही मार्गमा हिँडिरहेको छ। चिनियाँ नेतृत्व (जसमा वाङ हुनिङ अझै शक्तिशाली छन्) ले अमेरिकाको यही आन्तरिक कमजोरीलाई आफ्नो रणनीतिक जितको आधार बनाएको बुझ्न गाह्रो छैन।
फुकुयामा र वाङ हुनिङ व्याख्याले हामी अहिलेको अमेरिकी इजरायली र इरान युद्धलाई नियालौं। एक्काइसौं शताब्दीको विश्व राजनीति केवल भूगोल र सिमानामा सीमित छैन। यो मानिसको मनोविज्ञान, प्रविधिको ‘अल्गोरिदम’ र अदृश्य शक्तिको तानातानमा जेलिएको छ। एकातिर सूचनाको बाढी छ भने अर्कातिर सत्यको अनिकाल। यही अन्योलबिच विश्वका शक्ति राष्ट्रहरूबिच चलिरहेको द्वन्द्वले मानव सभ्यतालाई फेरि एकपटक जटिल मोडमा उभ्याइदियो।
सूचनाको युद्ध र सत्यको निर्माण आधुनिक मानिस आफूलाई जे विश्वास लाग्छ, त्यही मात्र हेर्न, सुन्न र देख्न चाहन्छ। यसलाई मनोविज्ञानमा ‘कन्फर्मेसन बायस’ भनिन्छ। आजका उपभोक्ताहरू गम्भीर विश्लेषणभन्दा ‘फ्यास्ट न्युज’मा रमाउँछन्,तर विडम्बना ! तिनै उपभोक्ता अहिले इरान युद्धका विभत्स दृश्य र विश्लेषणमा झुम्मिएका छन्।
युद्धमा सबैभन्दा पहिला सत्यको हत्या हुन्छ, अर्थात् रणमैदानको सिपाहीभन्दा पहिला समाचार घाइते हुन्छ। अहिले मिडियामा समाचार मात्र छैनन्, ‘कुसमाचार’ र प्रायोजित भाष्यहरूको लडाइँ छ। सामाजिक सञ्जालका अल्गोरिदमले मानिसको रुचिअनुसारकै एउटा कृत्रिम संसार (इको च्याम्बर) बनाइदिन्छ, जहाँ ऊ आफूलाई मन पर्ने झुटलाई नै परम सत्य मान्न पुग्छ। पश्चिमा एआईले लोकतन्त्र र उदारवादको जलप लगाएको भाष्य पस्कन्छ भने चिनियाँ एआईले स्थिरता र राज्य–नियन्त्रित समृद्धिको अर्को पाटो। यसरी प्रविधिले आज मानिसको ‘क्रिटिकल थिंकिङ’ अर्थात् आलोचनात्मक चेतलाई भुत्ते बनाइदिएको छ।
मानवभित्रको हिंस्रक आदिम चरित्र मानिस कस्तो प्राणी हो, जो रणमैदानमा रगत बगेको देखेर ताली बजाउँछ ? रेस्लिङको रिङ होस् वा फुटबलको मैदान, मानिसले त्यहाँ युद्धको झल्को खोज्छ। आज इजरायल–अमेरिकी र इरान युद्धमा मानिसले कुनै अनलाइन गेम वा स्टेडियमको खेलजस्तै गरी ‘पक्ष’ छान्ने र मनोरञ्जन लिने विषय बनाएका छन्। यो हिंस्रक प्रवृत्ति मानव सभ्यताको ‘जेनेटिक क्यारेक्टर’ हो कि भन्ने प्रश्न उब्जिएको छ। सभ्यताको विकासले मानिसलाई बाहिरबाट त सुसंस्कृत बनायो तर भित्र लुकेको आदिम हिंस्रक स्वभाव अझै जीवितै छ, जुन युद्धको बेला वीभत्स रूपमा प्रकट हुन्छ।
‘हाइटेक’लाई ‘लोटेक’को चुनौती
अमेरिकी–इजरायल र इरानबिचको हालैको युद्धले एउटा ठुलो भ्रम चिरेको छ। त्यो हो– मनी, मिडिया र हतियारले मात्र संसार नियन्त्रण गर्न सकिँदैन। वर्षौंदेखि बनाइएको ‘अजेय इजरायल’ वा ‘सर्वशक्तिमान अमेरिका’को भाष्य लोटेक र सस्तो प्रविधिले पनि भत्काइदियो।
ज्ञान र शक्ति कसैको निजी पेवा होइन। महँगा प्रतिरक्षा प्रणालीहरूलाई सस्तो ड्रोन वा सामान्य रणनीतिको भरमा चुनौती दिन सकिन्छ भन्ने देखियो। प्रचार युद्धले बनाएका ‘हाइपर–रियालिटी’हरू बिस्तारै जमिनी यथार्थसँग ठोक्किएर चकनाचुर हुँदै गए। हाम्रा सोच र मिडियाका स्रोत एग्लो भाष्यअनुसार छन्। युद्धको सन्देश त सबै चुलाचौकामा पुगे मात्रै हैन, यस युद्धले चिन्तनका आधारमा पनि हस्तक्षप गरिदियो।
अब भाष्यकारहरूमा नयाँ बहस सुरु भयो– इतिहासको अन्त्य कि अहंकारको सुरुवात?
बदलिँदो शक्ति सन्तुलन र चीनको ‘मौन विजय’
शक्ति, रूप र धन असाध्यै चञ्चल हुन्छन्। अमेरिका र इजरायली अभेद्य किल्लाहरू ध्वस्त हुनुले पुरानो शक्ति सन्तुलन भत्किएको संकेत गर्छ। नाटो देशहरूले समेत अमेरिकालाई अन्धभक्त भएर साथ नदिनुले पश्चिमा एकतामा दरार आएको प्रस्ट देखाउँछ।
यो सम्पूर्ण युद्धको कोलाहलमा एउटा रोचक दृश्य देखिएको छ– चीन। चीनले एउटा गोली नपड्काई र एकजना सैनिक नगुमाई रणनीतिक रूपमा विश्व राजनीति जित्दै छ। अमेरिका र इजरायलले इरानलाई पूर्ण रूपमा पराजित गर्न सक्ने अवस्था छैन। संयुक्त राष्ट्र संघको औचित्यमाथि प्रश्न उठिरहेको बेला अब विश्वमा कुनै पनि मध्यस्थताका लागि चिनियाँ ग्यारेन्टी नै बढी विश्वसनीय बन्ने देखिएको छ।
पुरानो विश्व व्यवस्था भत्किँदै छ तर नयाँले अझै पूर्ण आकार लिइसकेको छैन। ‘युनिपोलर’ (एकध्रुवीय) विश्वको भाष्य अब इतिहासको पानामा सीमित हुने देखिन्छ। अबको विश्व ‘मल्टिपोलर’ अर्थात् बहुध्रुवीय हुने निश्चित छ तर प्रश्न बाँकी नै छ– के नयाँ शक्तिले मानव सभ्यतालाई युद्ध र हिंसाबाट जोगाउन सक्ला त? वा फेरि नयाँ अल्गोरिदमले नयाँ भ्रमको खेती मात्रै गर्नेछ? इतिहास सधैं शक्तिको पछि दौडिन्छ तर सत्य भने सधैं शक्ति र भ्रमबिच कतै घाइते भएर बाँचिरहेको हुन्छ। भाष्य फेरिँदै जाँदा के हामी पनि आलोचनात्मक चेतना विकास गरेर हरेक घटनालाई भेडावाद (भिडको भाष्य)मा नफसी घटनापछिको नियत नियालेर धारणा बनाउने अवस्थामा पुगौंला!
प्रकाशित: २३ चैत्र २०८२ १०:१३ सोमबार

