विधवा महिलाको आँशु र संघर्ष देख्न नसकेर सती प्रथालाई कानुनी मान्यता दिने वा विवाह गरेर गएका घरमा छोरीहरू जलाइए भनेर तिनको संरक्षणका लागि दाइजो प्रथालाई कानुन ल्याएर संस्थागत गर्ने कानुनको मस्यौदा गरियो भने अचम्म नमानौं। किनभने त्यही श्रेणीको अर्को एउटा कानुन संशोधनको मस्यौदा तयार भएको खबर सञ्चार माध्यममा आएको छ।
पुरुषको विवाहेत्तर सम्बन्धबाट दोस्री महिला गर्भवती भएर बच्चा जन्माए महिला र बच्चाको संरक्षणका लागि ती महिलालाई कानुनले पत्नीको वैधानिकता दिने, ती पुरुषविरुद्ध बहुविवाह कानुन आकर्षित नहुने आशयको देवानी कार्यविधि संहिता संशोधनको चर्चाले यो समाजमा महिला पुरुषको शक्ति सम्बन्ध, महिलाप्रतिको दृष्टिकोण फेरि एकपटक उदांगो पारेको छ।
हाम्रो जस्तो पछौटे समाजको विडम्बना महिलालाई आधारभूत मानवअधिकार दिलाउन दशकौं लड्नुपर्ने, बनेका कानुन व्यवहारमा उतार्न दशकौं लड्दा पनि नसकिने र कसरी ती कानुनलाई कमजोर बनाएर सदियौंदेखि पुरुष शरीरले उपभोग गर्दै आएका छुट भोग गरिरहन पाउने छिद्र खोज्ने प्रवृत्तिले सहअस्तित्व र समानता आकाशको फल भएको छ।
किन महिलाको आत्मसम्मानमा पितृसत्ता यति कठोर बनेको छ?
हाम्रा पौराणिक शास्त्रहरूले दुई खालका महिलाको चर्चा गरेका छन्। एउटी, एक भक्तिले घर सम्हाल्ने, बुढाबुढी केटाकेटीको स्याहार गर्ने, पुरुषमाथि कुनै प्रश्न नगर्ने, एक पतिप्रति समर्पित सतिसावित्री। अर्की, नाँचगानबाट लोग्नेमान्छेलाई मनोरञ्जन गराएर, मन र शरीर तृप्त बनाउने, विछट्ट आकर्षणले उसको मन सम्हाल्ने अप्सरा। पुँजीवादी भोग प्रधान समाजमा लोग्नेमान्छेले मन बहलाउन, थकान मेटाउन र घरका झन्झटबाट उम्किन अप्सराको उपयोग गरेकै छ भने अप्सराले पनि खाना, नाना र छानाका साथै शक्तिशाली पुरुष दाहिना भए शासनसत्तामै ढलिमली गरेको पनि खुलेआम देखिएकै छ।
सभामुख, मुख्यमन्त्री, मेयरलगायतका जनप्रतिनिधि र उच्च सरकारी अधिकारी विवाहेत्तर सम्बन्धका कारणले बेलाबेलामा चर्चामा आएको देखिन्छ। भलै पीडित पक्ष प्रभावित भई उजुरी फिर्ता लिएकाले हालसम्म पहुँचवालाको कसुर प्रमाणित भएको छैन। यद्यपि सिहंदरबारभित्र सुनिएका यौन कथा (सामाजिक मान्यता नभएका र स्वार्थ केन्द्रित भएकाले प्रेमकथा भन्न नमिल्ने) र देखिने परिदृश्यले उच्च स्तरमा परस्त्री/पुरुष गमनको प्रशस्त अनुमान गर्न सकिन्छ।
चुनावको टिकट बाँड्न, समानुपातिक सूचीमा पार्न, भ्रष्टाचारजन्य लेनदेनमा सौदाबाजी गर्न, पैसा उठाउन, वैदेशिक भ्रमणमा साथ दिन दलका नेताले महिला मित्रहरू प्रयोग गर्ने गरेका र विशेष प्राथमिकता दिएका विषय समय सन्दर्भमा आइरहन्छन्। उच्च पदस्थ सरकारी अधिकारीले स्वदेश तथा विदेश भ्रमण, सरुवा, पुरस्कार तथा पदस्थापनमा कोही खास महिला कर्मचारीलाई सधैंभरि अनुग्रह गरिरहने, आँफू जहाँजहाँ सरुवा भएर गइन्छ त्यहीँ लैजाने गरेको सुनिन्छ, देखिन्छ। यस्ता परिदृश्यले ती महिला र पुरुषबिच अन्तरंग सम्बन्ध भएको देख्ने सुन्नेले अनुमान गर्छन्।
शासन शक्तिका केन्द्रहरूमा गफिन बारम्बार धाउने, चोटा कोठा चहार्ने, उच्च पदस्थसँग रेस्टुरेन्टमा भेटिने राजनीतिकर्मी, पत्रकार, एनजिओ/आइएनजिओकर्मी र अन्य पेशाकर्मी महिलासँग जोडेर खासखुस गर्दै गफिएको सुनिन्छ। यही प्रवृत्ति समाजमा पनि व्याप्त छ। यस्ता दृष्टान्तबाट विवाहेत्तर सम्बन्धको भयावह अवस्था अनुमान गर्न सकिन्छ। यहाँ पुरुषसँग महिलालाई किन जोडियो भने राज्यशक्तिमा महिलाको उपस्थिति कम छ र सामाजिक बन्धनका कारण अधिकांश महिलाले सार्वजनिक रूपमा परपुरुषसँगको निकटता अभिव्यक्त गर्न सक्दैनन्।
विवाहेत्तर सम्बन्धमा पुरुषको मात्र गल्ती हुन्छ त भन्ने प्रश्न पनि उठ्न सक्छ। हो, प्रलोभनमा पर्नु, विवाहित मान्छेसँग सम्बन्धमा रहनु महिलाको कमजोरी हो तर अधिकांश यौनकथामा आफूभन्दा कनिष्ट महिलालाई पैसा र शक्तिको प्रभावमा प्रयोग गरेको देखिन्छ। पद र पैसा भएका शक्तिशाली पुरुषसँगको निकटतामा गौरव मान्नुपर्ने, शक्तिशाली पुरुषलाई खुसी पारेर उबाट निश्रित स्रोत र अधिकारमा समेत अहंकार गर्नुपर्ने महिलाको अवस्था पनि पितृसत्ताकै नतिजा हो।
महिला अधिकार र समातनाकै कुरा गर्दा पुरुषका भित्रिया हुन आउने महिलाको पहिचान र सुरक्षा पनि लैंगिकताकै मुद्दा हो। यसको समाधान बहुविवाहको कानुनी मान्यता हो त? लोग्नेमान्छेबाट प्रयोग नहुन, सामाजिक मान्यता बाहेकका सम्बन्धमा नरहन पैरवी गरी महिलालाई आत्मनिर्भर हुन अभिप्रेरित गर्नुपर्नेमा कसैको गर्भ बोकेर बच्चा जन्माई उसको घर भित्रिने र आफ्नो सामाजिक सुरक्षाको जोहो आफैं गर्न महिलालाई अभिप्रेरित गर्ने कानुन बनाइदिन खोज्नुको सन्देश के हो? यसले पारिवारिक सौहार्दता र महिलामाथिको हिंसा न्यूनीकरणमा कसरी भूमिका खेल्छ? विवाहित महिला/पुरुषसँग सम्बन्ध राखेमा दण्डनीय हुने गरी कानुन बनाउनुपर्नेमा सर्त थपेर ती नाजायज सम्बन्धलाई वैध बनाउने बहस चल्नु मनुष्यको भोग वृत्तिलाई बढवा दिनु हो।
छद्मभेषमा समाज विकृत बनाउने ढोंगीहरूलाई पुरस्कृत गर्नु हो। कुनै खास वर्गको कमजोरी, बेहोसी, कुलत, विकार, कुसंस्कार, आशक्ति, भोगलिप्सा, खराब चरित्रलाई वैधानिकता दिनेगरी कानुन बनाउन मिल्छ? कानुनले त संस्कार, सभ्यता र सुरक्षित समाजको मार्गदर्शन गर्नुपर्ने होइन? महिला र पुरुषले चाहेमा गर्भधारण रोमाञ्चक विषय हो। घरकीसँग मतभेद हुने वित्तिकै मन मिल्नेलाई गर्भाधारण गराए वैवाहिक सम्बन्ध कायम भइहाल्ने कानुनले एउटा वर्गको मैमत्ता जोगाउन अर्को वर्गलाई असुरक्षित बनाउने परिकल्पनालाई उन्नत समाजको संकेत मान्न कसरी सकिएला?
गोप्य सम्बन्धबाट प्राप्त हुने सुख, स्रोतसाधनको उपलब्धताले अप्सरा वा भित्रिया वा कान्छीहरूलाई क्षणिक खुसी त देला तर सामाजिक पहिचानको संकट, बालबच्चा जन्मिए भने तिनको कानुनी पहिचान जस्ता विषयले आत्मसम्मानमा चोट पुग्ने कुरो अर्कैको लोग्नेसँग लहसिने स्तरको चेतनाले बुझ्दैन। जबसम्म जीवन ऊर्जा नाभिकेन्द्रबाट माथि उठ्दैन निकृष्ट भोगबाट मानिस बाहिर निस्किन सक्दैन। अहिले संशोधन गर्ने भनिएको फौजदारी कार्यविधि संहिताबाट बहुविवाहको पक्षपोषण गरियो भने महिला महिलाबिच द्वन्द्व बढाउने र पुरुषलाई यौनदासी छनोटको असीमित स्वच्छन्दता दिने र छद्मभेषीको करतुतलाई कानुन सम्मत बनाउने दुष्प्रयास हो। हाल लुकेर बसेका गोप्य सम्बन्धले वैधता पाए भित्रिया/अप्सरा/कान्छीहरू खुसी होलान्। सती सावित्रीका गोप्य आँशुले पनि वैधता पाउँछन्। प्रेम, समर्पण, इमान र सत्चरित्र माथि यौन, बेइमान र व्यभिचारको विजय हुन्छ।
पतिपत्नीमा विवादको केन्द्रविन्दु खोजी गर्दै जाँदा अधिकांश यौनमै गएर टुंगिन्छन्। आपसी असमझदारीले विवाहेत्तर सम्बन्धको विकल्प खोज्छ। वैवाहिक सम्बन्ध विच्छेदको कानुनी प्रावधान भए पनि नेपाली समाजमा अहिलेसम्म सम्बन्ध विच्छेदलाई सही समाधानको रूपमा स्विकारिएको छैन। यसले झन् बाहिरका सम्बन्ध झाँगिने र घरभित्र कलह बढ्नेछ। सामाजिक भूमिका र शक्ति सम्बन्धको कारण यस्ता व्यवहारबाट महिला बढी पीडित छन्। विवाहेत्तर सम्बन्धको कारणले उत्पन्न कलहले महिला र बालबालिकामा गहिरो मनोवैज्ञानिक असर परेको छ। बच्चासहित आत्महत्या गरेका महिला, पत्नी र छोराछोरीको हत्या जस्ता घटना यसैका उदाहरण हुन्।
पितृसत्तात्मक सामाजिक संरचनाले पुरुषलाई दिएको छुटका कारण उपलब्ध शक्ति, स्रोतसाधन र समयलाई उसले आफ्नो चेतनास्तर अनुसार स्वेच्छाले उपयोग गर्न पाएको छ। भोग वृत्ति हाबी भएका लोग्नेको गोठालो लागेर कति महिलाले आफ्नो जीवन ऊर्जा व्यर्थमा खेर फाल्न विवश छन्। गाँस/ बास/ कपासका लागि, छोराछोरीको भविष्य, माइती मावली समाजले गर्ने प्रश्न, सहनशीला सुशिलाको श्रीपेच जोगाउन सतिसावित्रीहरू बाहिर खुलेर यी विषयमा बोल्न सक्दैनन्।
व्यस्तता देखाएर सधैं घर बाहिर समय बिताउने, व्यावसायिक सम्बन्धको नाम दिएर परस्त्रीसँग फोन/ म्यासेज/फोटो/भिडियो/टिकटकमा व्यस्त हुने, बिदाका दिन पनि बाहिरै काम हुने लोग्नेसँग प्रश्न गर्दा किचकिचे, शंकालुको संज्ञा दिएर तेरै कारणले घर बस्न मन नलागेको, पाँच सयमा तँ जस्ता आइमाई फालाफाल पाइन्छन् भन्दै पत्नीलाई धम्क्याउँदै बाहिर निस्किने पुरुषको धम्कीलाई वैधता दिने र एकदिन पतिको मन फर्केला भनेर जीवनभर भात भान्सा छोराछोरी सम्हालेर पनि सौतालाई कानुनी मान्यतासहित घर भित्र्याउनुपर्ने कानुनको मस्यौदा गर्ने आँटको जग पनि पितृसत्ता हो। घरकी पत्नीलाई भातभान्सा, बाबुआमा र छोराछोरीको हेरचाहको जिम्मेवारी लगाएर आफू भोगमा लिप्त भएका व्यभिचारी पुरुषलाई कानुन बनाएरै सजिलो पार्न खोजिएको हो। यो सोच साँचो हो भने महिलाको मात्र होइन सदाचारी पुरुषको पनि आत्मसम्मानमा चोट लाग्छ।
केही आदिवासी समूहलाई छोडेर विश्वव्यापी रूपमै बहुविवाह गैरकानुनी र विवाहेत्तर सम्बन्ध अनैतिक हो। महिला केटाकेटीको संरक्षणको नाममा पश्चगामी कानुन बनाउन राज्यसंयन्त्र नै राजी हुनु भनेको कि शक्तिशालीका भित्रियाको राज्यसत्तामा देखिएको हालीमुहाली र उच्चपदस्थलाई वशीभूत गर्न सक्ने क्षमताको प्रभाव हो। कि त इन्द्रिय सुखका लागि गरिएका छलछामले निम्त्याएको तनाव व्यवस्थापनको प्रयास हो। सतिसावित्रीको आँशु, गुनासो र आशालाई अप्सराको घुर्की र सौदाबाजीले जित्नु तमसको तुजुक हो। लोग्नेमान्छेले हाँकेको सत्ताले महिलालाई प्रयोग गरेर महिलाकै आत्मसम्मानमा पुर्याएको चोट हो ।
– लेखक नेपाल सरकारका उपसचिव हुन् ।
प्रकाशित: २० श्रावण २०८२ ०७:४५ मंगलबार

