सामान्यतः वैज्ञानिक भन्नेबित्तिकै आफ्नो जीवनको ठुलो हिस्सा ल्याबकोट लगाएर प्रयोगशालामा बिताउने मानिस भन्ने बुझिन्छ। त्यस्तै खुल्ने र बन्द हुने कुनै कार्यतालिका नभएको अनि अहोरात्र वैज्ञानिकका क्रियाकलापले गुल्जार हुने कार्यस्थललाई ल्याब भन्दा फरक नपर्ला। सरकारी कार्यालयभन्दा पृथक् कुनै पनि उत्पादनशील रिसर्च प्रयोगशाला ३६५ दिन नै खुल्छ। पछिल्ला वैज्ञानिक उपलब्धिलाई मध्यनजर राख्दा ल्याबका परम्परागत मान्यता अनि वैज्ञानिकको दायित्व फेरिँदो छ।
गत महिना जापानको इन्स्टिच्युट अफ साइन्स टोकियोको रोबोटिक इनोभेसन सेन्टरले मानवविहीन बायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको घटना जर्नल ‘डिजिटल डिस्कभरी’मा प्रकाशन भयो। ‘महोलो ल्याबड्रोइड’ नाम दिइएको मानिसजस्तै लचकदार अनि दुई हात भएको १० रोबोटहरूको सहारामा सञ्चालित उक्त प्रयोगशालाले बायोलोजीको क्लिष्ट प्रयोग सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेका छन्, मुख्य अनुसन्धानकर्ता हिरुका ओजाकीले। क्यान्सर अनुसन्धानजस्तो क्लिष्ट रिसर्चमा प्रयोग हुने आनुवांशिक र कोष परिमार्जनका चरणबद्ध रासायनिक प्रक्रियालाई आदेशअनुसार सफलतापूर्वक सम्पन्न गरेपछि मात्र अनुसन्धानकर्ताले मानवरहित ल्याबको खाकाबारे सुसूचित गरेको देखिन्छ। सानो एकाइमा गरिएको यो सफलताबाट हौसिएका जापानीहरूले आयुर्विज्ञानका जटिल प्रश्नको उत्तर खोज्न सन् २०४० सम्ममा हजारौं रोबोटजडित प्रयोगशाला निर्माण गर्ने लक्ष्य रहेको बताए। देशको घट्दो जनसंख्यालाई सम्बोधन गर्न एक पर्यवेक्षकले दर्जनौं कारिन्दालाई खटाएझैं प्रत्येक वैज्ञानिकले दशौं रोबोटहरूको कार्यसम्पादन गर्ने योजना जापानको देखियो। दर्जनौं कृत्रिम मानवीय स्वरूपले अहोरात्र खटेर संकलन गरेको तथ्यांकलाई प्रशोधन गर्नसमेत कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्ने गरी बनेको ‘फ्युचर ल्याब’को अवधारणाले विज्ञानका प्रचलित अनुसन्धान ढाँचामा ठुलो उथलपुथल ल्याउने पक्का छ।
स्वचालित प्रयोगशालाले अनुसन्धानको गति र क्षमता बढाउने भए पनि कृत्रिम बुद्धिमत्ता तथा रोबोटद्वारा उत्पादित तथ्यांकको सत्यता परीक्षण, नैतिक नियन्त्रण र अनुसन्धानको दिशानिर्देशनका लागि अझ दक्ष तथा सक्षम वैज्ञानिकको आवश्यकता देखिन्छ।
दिनको आठ घण्टा काम गर्ने वैज्ञानिकको बदला अहोरात्र खट्न सक्ने रोबोटले दायित्व सम्हाल्दा एकातिर विज्ञानले नवीन फड्को मार्ने देखिन्छ भने अर्कातिर विश्वविद्यालयबाट दीक्षित जनशक्तिको रोजगारीका सम्बन्धमा समेत चिन्ता व्यक्त गर्ने समूह नभएका होइनन्।
मानवरहित स्वचालित प्रयोगशालाको सफलतापछि मानवीय स्वास्थ्यका कारण विगतमा असम्भव ठानिएका विकिरणजन्य अनि घातक प्रकृतिका परीक्षणहरूसमेत सहज देखिन्छन्। विज्ञानका संहिताहरू कृष्ण र कंस दुवैसामु समान रूपमा काम गर्ने भएकाले खराब व्यक्तिको नियन्त्रणमा प्रविधि पुग्दा कोरोनाभन्दा हजारौं गुणा खराब भाइरस ल्याबमा बनाएर सभ्यता नै विनाश गर्ने हुन् कि भन्ने चिन्ता हुनु अस्वाभाविक होइन।
विज्ञानको क्रमिक विकासमा विगतमा जाहेर भएका उत्खननले भूमिका खेल्ने भएकाले दुई विपरीत ध्रुवमा बसेर आआफ्नै तरिकाले अन्वेषण गर्ने समूहले समेत हाराहारीमै समान नतिजा निकालेको देखिन्छ। त्यसो नहुँदो हो त अमेरिकाले ‘एटम बम’ बनाएको केही वर्षपछि नै विघटित सोभियत संघले अणुबम बनाउने थिएन। ठ्याक्कै एटम बमको आविष्कारजस्तै जापानी समूहले मानवरहित स्वचालित प्रयोगशालाको सफल प्रयोग गरेको खबर सार्वजनिक गर्नेबित्तिकै संयुक्त राज्य अमेरिकी शैक्षिक निकाय ‘एमआइटी’का विद्यार्थीले स्थापना गरेको ‘जिंगो बायोबक्र्स’ले समेत त्यस्तै सफलता हासिल गरेको व्यहोरा पत्रकारमार्फत सार्वजनिक गर्यो।
पछिल्लो समय मानवरहित प्रयोगशालाको साथसाथै कृत्रिम बुद्धिमत्तामा व्यापक परिमार्जन देखियो। जानेको ज्ञान प्रयोग गर्ने क्रममा कुनै त्रुटि देखिए समयसापेक्ष परिमार्जन गरी स्वयंलाई सदैव सर्वोत्कृष्ट साबित गर्न सक्ने क्षमता भएको पुनःशुद्धीकृत कृत्रिम बुद्धिमत्ताको विकासले रफ्तार लिँदै छ। एक पक्षले कृत्रिम बुद्धिमत्तालाई सर्वोपरि ठान्छ भने अर्को समूहको विचारमा कामलाई सहज बनाउन प्राचीन मानवले विकास गरेको सरल यन्त्रहरूभन्दा खासै फरक देख्दैनन्।
कुनै पनि नवीन आविष्कारले समकालीन परिस्थितिलाई विचलित पार्छ। बेलायतमा आधुनिक कपडा कारखाना बनेपछि चर्खामा धागो कात्नेको रोजीरोटी हरिने अवस्था आयो। चर्खाको औचित्यमाथि प्रश्नचिह्न खडा गर्ने कपडा उद्योगको विरोधमा आन्दोलन चल्यो। यसै बहानामा महात्मा गान्धीले अंग्रेजविरुद्ध आन्दोलन छेडे। कदाचित स्वचालित मिलको आविष्कार नभएको भए संसारका कति मानिसले लुगा लगाउन पाउँथे? संसारका सबैलाई लुगा लगाउने हैसियत दिलाउन कति करोड मानिसको पेसा चर्खासँग कुहिन्थ्यो होला। हिजोको अवस्थामा दिनभर तान लगाएर बस्ने हातहरू पृथक् व्यवसाय गर्न सफल हुनुमा आधुनिक कपडा कारखानाको आविष्कार हो भन्नै पर्ने हुन्छ। तसर्थ कुनै पनि नवीन आविष्कारले सम्भाव्यताका नवीन ढोका खोल्छ भन्ने कुरा बिर्सनुहुँदैन।
जापानमा मानवरहित स्वचालित जीवविज्ञान प्रयोगशालाको सफल सञ्चालनले वैज्ञानिक अनुसन्धानको परम्परागत स्वरूप बदलिँदै गएको छ। रोबोट, कृत्रिम बुद्धिमत्ता र स्वचालनको संयोजनले भविष्यका प्रयोगशालामा वैज्ञानिकको भूमिका पुनरपरिभाषित गर्ने सम्भावना देखिएको छ।
१९६० को दशकमा अमेरिकाको क्यालिफोर्नियामा ‘इन्टेल’ भन्ने कम्पनी खुल्यो। इन्टेलले ‘माइक्रोप्रोसेसर’ बनायो। उक्त संयन्त्र प्रयोग गरी ‘क्याल्कुलेटर’ बनाए वैज्ञानिकहरूले। नयाँ यन्त्र बनेपछि क्लिष्ट हिसाबहरू क्षणभरमै समाधान गर्न सकिने भयो। दिनभर लगाएर गर्नुपर्ने बहीखाता केही मिनेटमै मिलान गर्न सक्ने अवस्था भयो। जोडघटाउ गरेर रासन कमाउनेको जागिर धरापमा पर्यो। अमेरिकामा १९६६ मा गणितका शिक्षकले क्याल्कुलेटरको विरोधमा प्रदर्शन गरे। यो उपकरणको आविष्कारले केहीको जागिर पनि गयो। तर, के क्याल्कुलेटरबिनाको जीवन सम्भव छ त? क्षणिक उथलपुथल ल्याए पनि वैज्ञानिक आविष्कारले सभ्यतालाई सदैव अगाडि बढाउँछ भन्ने कुरा बिर्सनुहुँदैन।
भविष्यका ल्याब सञ्चालनमा मानवको भूमिका के हुन्छ? वैज्ञानिकको औचित्य सकियो त? भन्ने प्रश्न धेरैको मनमा उठ्छ नै। सरोकारको विषय भएकाले के कस्तो विषयको अध्ययनले आफ्नो भविष्य सुरक्षित हुन्थ्यो भन्ने लाग्नु अन्यथा भएन।
अबको केही दशकपछि विशुद्ध विज्ञानका हाँगा रसायनशास्त्र, भौतिकशास्त्र, बायोलोजी मात्र होइनन्, आयुर्विज्ञान, इन्जिनियरिङदेखि प्याथोलोजीसम्मका सबै प्रकृतिका प्रयोगशालामा मानिसको भूमिका फेरिन्छ। ल्याबमा मानवको उपस्थिति न्यून हुँदै जान्छ भने मेसिनको भूमिका उकासिन्छ। वैज्ञानिकले गर्ने काम रोबोटले गर्ने भएपछि व्यक्तिमा ल्याबको आत्मनिर्भरता कम हुनु अस्वाभाविक होइन। के वैज्ञानिकबिनाको ल्याब सम्भव छ त?
अहिले विकासको क्रममा रहेको पुनःशुद्धीकृत कृत्रिम बुद्धिमत्ता संसारमा प्रकाशित भएका सबै पुस्तक स्मरण गर्न र संकलित यथार्थलाई प्रशोधन समेत गर्न सक्ने अनि अहोरात्र खट्न सक्ने दैविक क्षमता भएको मेसिन भएकाले कुनै पनि प्रश्नको सहजै जवाफ दिन सक्छ। उसले दिएका उत्तरहरू सही र सान्दर्भिक छन् कि छैनन् भनेर यकिन कसले गर्ने? केवल सामाजिक संयन्त्रको दुरुपयोग रोक्न नसक्दा त संसारमा ठुला अनिष्ट भएको देखिन्छ भने सबै समस्याको समाधान खोज्न विकास गरिएको कृत्रिम बुद्धिमत्ताले बाटो बिराउँदा कस्तो अनिष्ट होला? त्यस्तै मानवविहीन ल्याबमा रातदिन खटेर रोबोटले उत्पादन गरेको तथ्यांकको आधिकारिकता रुजु गर्न र मार्गदर्शनका लागि अझ काबिल वैज्ञानिकको आवश्यकता पर्छ नै। तसर्थ रोबोट र एआईले उत्पादन गरेका तथ्यांकको लेखाजोखा गर्न अझ धेरै वैज्ञानिकको आवश्यकता पर्छ।
झन्डै एक सय वर्षको अध्ययन–अनुसन्धानपछि पनि भेउ पाउन कठिन रहेको अर्बुदरोगको निदान आयुर्विज्ञानको जटिल समस्या हो। आजका दिनमा पनि संसारका सयौं प्रयोगशालामा झन्डै डेढ लाख वैज्ञानिकहरू यो महारोगको औषधि पत्ता लगाउन अहोरात्र कार्यरत छन्, तर पनि अर्बुदरोगको इलाजले मूर्त रूप लिएको देखिँदैन। त्यस्तो अवस्थामा स्वचालित ल्याबको प्रयोग सान्दर्भिक हुने देखिन्छ। हजारौं रोबोट अनि आधुनिक मेसिनले उत्पादन गरेको तथ्यांकले पो अर्बुदरोगको अध्ययनलाई थप परिणाममुखी बनाउँथ्यो कि? क्यान्सरलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको भए पनि अन्तरिक्ष विज्ञान, रसायनशास्त्र, भौतिकशास्त्रलगायतका क्षेत्रमा वैज्ञानिकको कामको प्रकृति फेरिने निश्चित छ तर मानवीय औचित्य भने अझ बढ्ने देखिन्छ। विगतमा ल्याबमा प्रयोगात्मक अनुसन्धान गर्ने वैज्ञानिकहरूले रोबोटका लागि मार्गदर्शन दिने र एआईले उत्पादन गरेको आँकडालाई रुजु गर्ने नवीन दायित्व बेहोर्नुपर्ने भयो। स्वयंले काम गर्नुभन्दा अर्कालाई मार्गदर्शन गर्ने दायित्व अझ जटिल हुने भएकाले मेसिनलाई सुपरिवेक्षण गर्ने वैज्ञानिकहरू अझ बढी काबिल हुनुपर्छ। आधुनिक प्रविधिले आफ्नो रोजगारी खोस्छ कि भनी डराउनुभन्दा आफूलाई थप ज्ञान आर्जनमार्फत समयसापेक्ष बनाउनु वैज्ञानिक धर्म हो भन्ने यथार्थ विज्ञानका विद्यार्थीले बुझ्न जरुरी छ। रोबोटले ल्याबमा गर्ने काम र एआईले गर्ने विश्लेषण नै दैनिकीमा पर्ने भएकाले दुवै चरित्रका ज्ञानको अभावमा सफल वैज्ञानिक बन्न नसकिने देखियो।
प्रकाशित: ९ असार २०८३ ११:५३ मंगलबार

