२१ मंसिर २०८२ आइतबार
image/svg+xml
विचार

बदलिएकी बागमती

अठोट

केही समय अगाडि भीष्म कोइरालाले ट्विट गर्दै लेखेका थिए– ‘वि.सं. २०५१ देखि २०८१ सम्मका ३० वर्षमा १६ जना प्रमुख आएर गए, करिब १० अर्ब रुपैयाँ खर्च भयो, कति जना करोडपति बने होलान् तर बागमती अझै पुरानै छ, पुनर्जीवन पाएको छैन।’  

उनले औंल्याएको संस्था हो– बागमती सभ्यता एकीकृत विकास समिति। काठमाडौंमा वर्षायाम र बागमतीको अवस्थाले मलाई फेरि दुःखी बनाएको छ। जलवायु परिवर्तनको प्रभाव त स्पष्टै छ तर बागमती जस्ता धेरै ऐतिहासिक र सभ्यतासूचक नदीहरू यस्तो अवस्थामा पुग्नुमा वरिपरि बस्ने मानवको नकारात्मक हस्तक्षेपले बढी भूमिका निर्वाह गरिरहेको छ भन्न हिचकिचाउनु पर्दैन।

गत वर्ष वर्षायाममा काठमाडौं उपत्यकाभित्र बग्ने बागमती केही समयका लागि पानीले भरिएको थियो। वर्षा थामिएपछि र सुक्खा याम सुरु भएलगत्तै नदीमा पानी हरायो। दुर्गन्ध भने नदी किनार र वरिपरिका बस्तीहरूमा रहिरह्यो। विशेष गरी पशुपतिनाथ क्षेत्र वरिपरि दुर्गन्धले असह्य हुने अवस्था बन्यो। यसपालि पनि अवस्था त्यस्तै छ।  

उपत्यकामा आजभोलि नदी किनारका बाटाहरू (करिडोर) धेरै चिल्याइएका छन्। यद्यपि वर्षा याममा भने त्यस्तो बाटोबाट ओहोरदोहोर गर्नु अझै जोखिम निम्त्याउनु हो। पानी नपरेको बेलामा ती नदी वरिपरि दुर्गन्धले बसिसक्नै हुँदैन।

अब यहाँ प्रश्न उठ्छ– सरकार र नागरिक समाजले यति धेरै प्रयास गर्दागर्दै पनि किन बागमती सफा र पुनर्जीवित हुन सकेन? मानिसलाई सभ्यता सिकाउने नदी किन दुर्गन्धित भयो? समय–समयमा सफाइ अभियान, वृक्षारोपण भएइरहेकै छन् तर परिणाम देखिँदैन। पैसा त खर्च भयो तर त्यो खर्च नदीलाई पुरानै गौरवमा फर्काउने काममा प्रयोग भयो? सबैभन्दा महत्वपूर्ण कुरा यही हो कि बासिन्दामा किन अझै पनि चेतनाको अभाव छ?  

मलाई सन् १९७० को दशक अर्थात् आफू विद्यालय तहमा पढ्दा ताकाको बाल्यकाल बारम्बार सम्झना हुन्छ। धोबिधाराबाट थापाथली पुल तरेर स्कुल जान रमाइलो लाग्थ्यो। हामीले पुल तर्दासम्म सास नफेरि बागमतीलाई प्रार्थना गर्थ्यौं– परीक्षामा पहिलो भइयोस्। त्यो बेला नदी कलकलाउँदो हुन्थ्यो। त्यसैले हो बागमती र विभिन्न देविदेवतालाई सास नफेरि सम्झिएर प्रार्थना गर्दा साँच्चै अब्बल भइन्छ भन्ने लाग्थ्यो। कलकल पानी निरन्तर बगिरहेको बागमती देखेर बालमानसिकताकी म र मेरा साथीहरू शीतल अनुभूति गर्थ्यौं , पवित्रताले मन छुन्थ्यो। हामीलाई लाग्थ्यो– अब साँच्चै अब्बल भइन्छ। आज त्यही ठाउँमा एक नयाँ पुल बनेको छ। वरिपरि आधुनिक संरचनाले घेरेको छ। नदी त उही पुरानै बागमती हो तर विडम्बना ! अहिले म त्यहाँबाट ओहोरदोहोर गर्दा आउने दुर्गन्ध हटेर पहिला जस्तै ताजा हावा आउने बनाउन नेपाल सफल होस् भन्ने प्रार्थना गर्न बाध्य छु। स्वच्छ हावा त कहाँ हो कहाँ नदी तर्दा सास फेर्नै कठिन हुन्छ। नदीको अधिकांश भाग दूषित भएर र नदी वरिपरिका नयाँ आधुनिक संरचनाले हावा आउने ठाउँ बन्द गरिदिएर पनि त्यस्तो भएको हो। अब सबैले प्रार्थना गरौं– बागमती नदीको दुर्गन्ध हटाउने सद्बुद्धि नदी आसपासका नागरिक, सरकार र यसक्षेत्रमा क्रियाशील संघसंस्थालाई  तुरुन्तै फिरोस्।  

विश्वका धेरै ठाउँमा नदी पुनर्जीवित भएका उदाहरण छन्। भारतमै केही उत्कृष्ट प्रयास भएका छन्। नेपालले वन क्षेत्र बढाउन (रिफोरेस्ट्रेसन) प्रशंसा योग्य प्रगति गरेको भए पनि पवित्र बागमती नदीलाई पुनर्जीवित गर्न सकिरहेको छैन?  

नदी पुनर्जीवित गर्न वन र वृक्षारोपणले ठूलो योगदान दिन्छ। रुखले माटोलाई समात्छ र पानी सञ्चय गर्न पनि सघाउँछ। यसले वर्षाको पानी भूतलमा सोसिन्छ र नदीको पानी सुक्खा जलस्रोतमा पुग्छ। यसले जमिन मुनिको पानीको स्तर बढाउँछ। जराले माटो सम्हाल्छन् र पानीलाई प्रवाह गराउँछन्। भारतमा ‘आर्ट अफ लिभिङ’ संस्थाले ६१ लाख रुख रोपेर ४७ वटा नदी पुनर्जीवित गर्ने अभियान थालेको छ। नेपालमा पनि वन क्षेत्र बढाउन सफल भएकै हो तर बागमती किनारमा रोपिएका रुखहरूको हेरचाह भने उपेक्षित छ।

अब यसबारे गम्भीर प्रश्न उठाउनु आवश्यक छ—किन सरकारी र नागरिक समाजको करोडौं लगानीले परिणाम दिन सकेको छैन? अब उपत्यकावासीले नै बागमतीलाई पुरानै अवस्थामा फर्काउने जिम्मेवारी लिनुपर्ने बेला आएको छ।

प्रेरणादायी उदाहरण महाराष्ट्र, भारतका अभय तोडकरे हुन्। उनी शारीरिक रूपले अशक्त भए पनि २०१२ बाट बिहान ६ बजेदेखि १० बजेसम्म गाउँलेलाई जुटाउँदै पानी अभाव समाधान गर्ने अभियान थाले। सुरुमा उनले एक्लै काम गरे पनि अन्ततः ६५० गाउँले साथ दिन आए। ४५ दिनमै ग्याबियन बाँध र खाल्डा खनेर वर्षाको पानी भण्डारण गर्ने प्रणाली बनाए। यो गाउँ, जसलाई पहिले खडेरीले सताएको थियो, अहिले २५ करोड लिटर पानी भण्डारण गर्न सक्षम भएको छ। त्यहाँ पानी नभएका बेला एक अपाङ्गता भएका व्यक्तिले पनि यस्तो चमत्कार गरे। काठमाडौंमा त बागमती नदी छ— तर त्यसलाई पुनर्जीवन दिन अझै कोही तत्पर भएको देखिँदैन। कुनै बेला मुख्यसचिव लीलामणि पौडेलले यसमा नेतृत्व लिएको देखिन्थ्यो। अहिले उनी अवकास भएपछि निरन्तरता दिने व्यक्ति र संस्थाको अभाव देखिएको छ।  

त्यस्तै अर्काे प्रेरणादायी उदाहरण तमिलनाडु, भारतको नागनाधी नदी हो। यो नदी दुई दशकसम्म सुक्खा थियो। गाउँका पुरुषहरू मदिरामा डुबेका थिए, बेरोजगार थिए। महिलाहरू भने परिवार बचाउन चिन्तित थिए। ‘आर्ट अफ लिभिङ’ को प्रेरणाले २० हजार महिलाहरू जुटेर नागनाधी पुनर्जीवित गरे।

यी सबै साना तर महत्वपूर्ण प्रयासहरूले जीवनदायिनी पानी फर्काइदिएका छन्। नेपालको पवित्र नदी बागमती भने अझै उपेक्षित छ। जलवायु परिवर्तन र वातावरणीय क्षतिले नदीहरू सुकाउँदै लगेका छन्। सभ्यता सधैं नदी वरिपरि बसोबासमा फस्टाएको हो तर मानिसहरूले नदी प्रदूषित गरेर नष्ट गर्ने काम धेरै गरेका छन्। नदीलाई पुनर्जिवित गराउने काम भने धेरै जसो नाम र अभियानमा मात्र सीमित भएको छ। केही स्थानमा भएका राम्रा उदाहरण धेरैले आफ्नो ठाउँमा उतार्न भने सकेका छैनन्। कतिपय नदीहरू ढल मात्र बनेका छन्।

नेपालमा बागमतीका लागि धेरै अर्ब खर्च भए पनि कहीँ कतै त्यो लगानीको परिणाम देखिएको छैन। सरकारी निकाय र नागरिक समाजले मिलेर गरेको प्रयासले पनि अपेक्षित सफलता पाउन सकेको छैन। यसबारे पारदर्शिता र जवाफदेही आवश्यक छ। दुरुपयोग भएको छ भने सम्बन्धित व्यक्तिहरूको कारबाही हुनुपर्छ।

बागमतीको पुनर्जीवन केवल वातावरणीय अभियान मात्र होइन, यो हाम्रो सांस्कृतिक र आध्यात्मिक पहिचानसँग जोडिएको मुद्दा पनि हो। पशुपतिनाथ, गुठी परम्परा, धार्मिक स्नान तथा घाट संस्कृतिसम्म सबै बागमतीसँग गाँसिएका छन्। जब नदी शुद्ध र जीवन्त हुन्छ, तब समाजको सामूहिक चेतना पनि स्वच्छ र उर्जाशील हुन्छ। त्यसैले बागमतीलाई पुनर्जीवित गर्नु भनेको केवल एउटा नदी बचाउनु होइन, पूरै काठमाडौं उपत्यकाको सभ्यता र हाम्रो भावी पुस्ताको अस्तित्वलाई सुरक्षित गर्नु हो।

उपत्यकावासीहरूको साझा प्रयास, सरकारी निगरानी, वृक्षारोपणको निरन्तरता, प्रदूषण नियन्त्रण र समुदायको सक्रिय सहभागिताले मात्र बागमतीलाई पुनर्जीवन दिन सकिन्छ। साना कदमले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने हामीले सिक्नुपर्छ। नदीलाई जीवन्त बनाउनु भनेको केवल पानी फिर्ता ल्याउनु मात्र होइन, यसले समाजमा चेतना, स्वास्थ्य र भविष्यको दिगोपन ल्याउँछ।

अब हामी सबै मिलेर बागमतीलाई पुनर्जीवन दिने समय आएको छ, दृढ इच्छाशक्तिसहित लाग्ने भने यस्तो गर्न सम्भव छ। नदी जीवन्त भएको खण्डमा मात्र हामी आफ्नो सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण गर्न सक्षम हुनेछौं। बागमती फेरि सुन्दर, सफा र जीवन्त बनोस्— हाम्रो जिम्मेवारी, हाम्रो अभियान र हाम्रो गर्व फिर्ता ल्याउने जिम्मा हाम्रै हो। हामी पछिका पुस्ताको सम्पत्ति नष्ट हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो।

(वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी।)

प्रकाशित: १३ भाद्र २०८२ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App