२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
विचार

शिक्षक समाजका आदर्श पात्र

सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनर्स्थापित नगरी नहुने अवस्था छ। यहाँको सिकाइ उपलब्धि वृद्धि गर्ने, वातावरण सुरक्षित एवं बालमैत्री बनाउने लगायत विद्यार्थी केन्द्रित सिकाइ वातावरणलाई प्रभावकारी बनाउने र अभिभावक सहभागितामा जोड दिने कार्य गरिनुपर्छ। हाम्रा शैक्षिक संस्थामा अझै पर्याप्त भौतिक पूर्वाधारको अभाव छ। यसका लागि स्थानीय समुदायको सहयोग र सहभागिताबिना सम्भव हुँदैन। यसका साथै त्यहाँ जनशक्ति, प्रयोगशाला एवं पुस्तकालयको समेत अभाव खड्किरहेको पाइन्छ।

सरकारले साधनमा अनुदान वितरण नगरेको चाहिँ होइन तर त्यो पर्याप्त देखिँदैन। कतिपय आन्तरिक आयस्रोत भएका र केही पनि आयस्रोत नभएका शिक्षण संस्थामा दिइने अनुदान फरक छैन। यसले सम्पन्न र विपन्न विद्यालयबिचको दुरी बढ्ने भयो। राज्यले न्याय गर्न एउटा छुट्टै न्याय प्रणाली अपनाउनुुपर्छ। सरकारी निकायले आर्थिक ऐन, नियम र प्रक्रिया मुुलुुकको मास्टर कानुनबमोजिम नै लागु गर्न सक्नुपर्छ।

हाम्रा शिक्षण संस्थामा आर्थिक नियमन कमजोर छ। त्यो शिक्षण संस्थाभित्रको लेखा प्रणालीको अनभिज्ञता पनि हो। सार्वजनिक शैक्षिक संस्थालाई कमाऊ खाऊ भनेर छाड्नुुचाहिँ उचित होइन। त्यहाँ पनि नियमकानुनले बाँधेर पारदर्शी र स्पष्ट लेखा प्रणाली अपनाउनु जरुरी छ। विद्यालयमा कति खर्च हुुन्छ भनेर यकिन गर्नुपूर्व यसका लागि रकम कहाँबाट कति जुट्छ र विद्यालयले कति पाउँछ भनेर हेर्नुपर्छ। अभिभावकले पनि बालबालिकाका लागि प्रत्यक्ष वा अप्रत्यक्ष खर्च गर्ने गरेको मात्रा कति हुन्छ, त्यस सम्बन्धमा पनि अध्ययन गरिनुपर्छ।

नेपालमा विद्यालय शिक्षाभित्र पूर्वप्राथमिक शिक्षा तथा बाल विकास कार्यक्रम, आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म ) र कक्षा ९ देखि १२ कक्षासम्म माध्यमिक शिक्षा गरी तीन तहको शिक्षा सञ्चालित छ। शिक्षामा वार्षिक १० प्रतिशत संघीय बजेट खर्च भए तापनि उपलब्धि सन्तोषजनक देखिँदैन। हाल बालशिक्षादेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थी संख्या ८४ लाख ३० हजार आठ सय २२ छ। यो जनगणनाको कुल संख्याको २९ प्रतिशत हो। यत्रो ठुलो जनसंख्यालाई स्तरीय र उचित शिक्षा प्रदान गर्न शिक्षा प्रणालीमा सुधार गरी दिशानिर्देशन गरिनु जरुरी छ।

युनिसेफको आँकडाअनुसार विश्वमा १.६ अर्ब किशोरकिशोरी छन्। नेपालको जनगणना २०७० अनुसार १४ वर्षमुनिका बालबालिका २७.८३ प्रतिशत छन्। यिनैबाट आफ्नो राष्ट्र र विश्वकै भविष्य निर्धारण हुने हो। यिनको बौद्धिक तथा भौतिक विकासमा सरोकारवालाको चासो  नभएको आभास मिलिरहेको छ। विश्व स्वास्थ्य संगठनले विश्वभर १० देखि १९ वर्ष उमेर समूूहका प्रत्येक सातमध्ये एकजना मानसिक समस्याबाट पीडित देखाएको छ। यस्तै १५ देखि २९ वर्ष उमेर समूहको कुल मृत्युमा आत्महत्याबाट मर्ने चौथो स्थानमा देखाएको छ।

केटाकेटीलाई बाल्यावस्थामा राम्रोसँग लालनपालन गरी सही तरिकाले हुर्काई पोषणयुक्त खान दिन नसक्नु, तिनलाई सही तरिकाले उत्प्रेरणाप्रद सिकाइ नहुनु, अन्तरक्रियाको अवसरबाट वञ्चित गराइनु र नकारात्मक व्यवहारको सामना गर्नु आदिले तिनको मानसिक विकासमा ठुलो नकारात्मक असर परिरहेको छ।

 बालबालिकाले आफूमा भएका पीडा तथा आहत सहजै प्रकट गर्न सक्दैनन्। बाल दुर्व्यवहार घर, विद्यालय, हाटबजार, सिनेमा हल, बाटाघाटा, यातायात साधनमा जताततै हुने गरेका सुनिन्छन्। यस्ता दुर्व्यवहार आशयपूर्वक गरेका हुुन् भने कडा कारबाही हुन जरुरी छ। आजको डिजिटल युगमा आएर झनै बालबालिकामाथि हुने अनलाइन यौन शोषणजस्ता अपराध वृद्धि हुँदैछन्। यस्ता गतिविधिलाई रोक्नु अति आवश्यक छ।

बालबालिकाको भविष्य निर्माणका लागि सबै क्षेत्र सचेत रहनुपर्छ। आज हाम्रो सामाजिक संरचनामा पनि ठुलो फेरबदल आएको छ। हिजो ठुलो संयुुक्त परिवार थियो। त्यहाँ परिवारभित्र नै सामाजीकीकरण हुन्थ्यो। ठुलो परिवारबाट बालबालिकाले विविध गुण र आनीबानी सिक्थे। आज अवस्था फरक छ। एकल परिवारको बाहुल्य छ। हामी पूर्वीय संस्कृति र संस्कारबाट टाढिँदै छौं। पाश्चात्य मुलुकको प्रभाव बढ्दैछ। त्यहाँ बाबुआमा बन्न लागेकालाई बच्चा पाउनुअघि नै बाबुआमालाई अभिभावकत्व कलाको पनि प्रशिक्षण दिइन्छ। बच्चा जन्मनुअगाडि अपनाउनुपर्ने र बच्चा जन्मेपछि आमा र बाबुले गर्नुपर्ने विविध व्यवहारबारे पनि तालिम दिइन्छ। हामीकहाँ जेष्ठ परिवारका सदस्यबाट आफ्ना अनुभवका आधारमा हेरचाह गर्ने चलन अझै विद्यमान छ।

हरेक अभिभावकले सदाचार विकास गराउन आफ्ना बालबच्चालाई नैतिक र प्रेरणाप्रद कथा सुनाउन आवश्यक छ। सन्तानको सदाचारिता अभिभावकको आचरण र सद्व्यवहारमा निर्भर हुन्छ। आफ्ना अभिभावक उच्च नैतिकवान् छन् भन्ने भाव र प्रभाव बालबालिकामा हुनु जरुरी छ। तिनलाई ढाँट्ने र छल्ने काम आमा, बाबुबाट हुनु हुँदैन। अभिभावकले सकारात्मक सोच्नुपर्छ र सकारात्मक काममा लाग्नुपर्छ अनि मात्र बालबालिका सद्गुणी र परोपकारी हुन्छन्। अभिभावकका साथै छरछिमेक, आफ्ना शिक्षक, साथीभाइलगायत सबैको सद्व्यवहार हुनु जरुरी छ। बालबालिकाका अगाडि कुुनै व्यक्तिबारे अपमानजनक बोल्दा त्यसको पनि नकारात्मक असर पर्छ। तिनका अगाडि बोल्दा सबैले सम्मानजनक शब्द बोल्नु नै उपयुक्त ठहर्छ।

एउटा बालकका लागि पहिला आफ्ना बाबुआमा आदर्श बनेपछि असल शिक्षकको सामीप्य र मार्गदर्शन ज्यादै उपयोगी हुन सक्छ। विद्यालयमा केटाकेटीले सबैभन्दा बढी विश्वास गर्ने, सल्लाहसुझाव ग्रहण शिक्षककै गर्छन्। यस्ता शिक्षकको हौसला र प्रेरणा ज्यादै उपयोगी हुन्छ। बाल्यकालदेखि नै केटाकेटीलाई तर्कसंगत ढंगले सही र गलत छुट्याउन सक्ने क्षमता विकास गराइनुुमा पनि अभिभावक र शिक्षकको भूमिका ठुलो हुन्छ। असल शिक्षकले दिने ऊर्जा र अभिप्रेरणाले केटाकेटीमा ठुलो आत्मविश्वास दिलाउन सक्छ।

बालबालिकालाई सिर्जनात्मक र रचनात्मक बन्न प्रेरित गर्ने  शिक्षकले शिक्षण पेसासँगै आफ्ना सिर्जनामा पनि खर्च गरेर अघि बढ्न खोज्छन्। शिक्षकका सिर्जनाले बालबालिकामा पनि सिर्जनशीलता वृद्धि गर्न मद्दत पुुग्छ। शिक्षक र विद्यार्थीका कविता, कथा, उपन्यास, निबन्ध, गीतसंगीत, नृत्य आदि सिर्जनालाई संस्कृति, परम्पराको संवर्धनमा लगाउनुपर्छ। विद्यार्थीमा नैतिक प्रेरणाका लागि सकरात्मक सोचको खाँचो पर्छ। यस किसिमको प्रेरणा नैतिक कथा, कविताले दिन्छन्।

केटाकेटीको असल गुुण, सिप र प्रवृत्ति सिकाइको जग भनेको सानो कक्षा हो। यो समयमा मन लगाएर सिकेका, जानेका र गरेका कुरा जीवनभर सम्झिरहन सक्छन् । सानो कक्षामा कुरा घत लाग्ने गरी सुुनेका वा गरेको काम वा कुरा जीवनको अन्तिम घडीसम्म पनि स्मरणमा आइरहन्छ। यहाँनिर पनि असल शिक्षक र कुशल अभिभावकको भूमिका नकार्न मिल्दैन।

प्रकाशित: ३० आश्विन २०८२ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App