एक्काइसौं शताब्दीमा कम्युनिस्ट पार्टीहरूको चरित्र कस्तो बनाउने भन्ने विषयमा विश्वभरि चर्चा परिचर्चा चलिरहेको बेला नब्बेको दशकमा आइपुग्दा कम्युनिस्टहरूको वैचारिक तीर्थस्थल, आस्थाको धरोहर अर्थात् लेनिनको देश सोभियत संघस्थित संसारका कम्युनहरूको कुल मन्दिरको भग्नावशेषसम्म नरहने गरी गल्र्याम गुर्लुम्म ढल्यो। त्यही बेला नेपालमा पनि संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापना र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो।
देशमा अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसका नेता किसुनजीले गर्दै हुनुहुन्थ्यो। बहुदलीय व्यवस्था स्थापनापश्चात् मुलुक वैचारिक रूपले दुई ध्रुवमा विभाजित थियो। दक्षिणपन्थी धारको नेतृत्व नेपाली कांग्रेस गथ्र्यो भने वामपन्थी धारको नेतृत्व तत्कालीन नेकपा मालेले गरेको हुँदा देशव्यापी रूपमा मालेको सांगठनिक आकार अलि ठुलो र मनमोहनजीले नेतृत्व गरेको मार्क्सवादी पार्टीको सांगठनिक आकार अलि सानो थियो।
तथापि यी दुई पार्टीलाई सांगठनिक रूपमा एकीकृत गर्ने अहम् भूमिका मदन भण्डारीको थियो। एकीकरणपछि नेकपा एमाले बन्यो। त्यसको नेता मनमोहनजी बन्नुभयो। परिणामस्वरूप २०५१ सालको मध्यावधि निर्वाचनबाट संसद्मा ठुलो दल भएकै कारण राज्यसत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी नेकपा एमालेको हातमा आइपुग्यो। दक्षिण एसियामा नेपालले पहिलोचोटि जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई पायो। अधिकारी सरकारका केही प्रगतिशील र ऐतिहासिक कामले नेकपा एमाले सांगठनिक सूत्रानुसार जन जन र मन मनमा बस्दै आधारभूत तहसम्म पुग्न सफल भयो। गाउँटोलसम्म नेकपा एमालेका पार्टी कार्यालयहरू खुले र नियमित सञ्चालनमा आए।
त्यतिबेला एमालेको दस्ताबेजमै दक्षिणपन्थी अवसरवाद, जडसूत्रवादी, वर्गीय र राष्ट्रिय दुस्मनको किटानी नेपाली कांग्रेसलाई गरियो। कांग्रेसविरुद्ध नारा जुलुस गर्नु, गिरिजाप्रसाद कोइरालाको पुत्ला दहन गर्नु, कांग्रेसको घरमा ढुंगा हान्नु त्यतिबेलाका हामी युवा विद्यार्थीको मुख्य काम हुन्थ्यो।
मूलतः तत्कालीन नेकपा माले र मनमोहनको मार्क्सवादी पार्टी मिलेर २०४७ सालमा नेकपा एमाले बन्यो। निकै ठुलो रस्साकस्सी साथ पाँचौं महाधिवेशनबाट मदन भण्डारीले प्रतिपादन गरेको जबज सर्वसम्मत पास भयो। सिपी मैनाली निरन्तर आफ्नो नौलो जनवादको पक्षमा चट्टानी अडानसाथ उभिइरहेका थिए। २०५४ सालको छैटौं महाधिवेशनबाट महाकाली सन्धि राष्ट्रघात हो भन्दै उक्त छैठौं महाधिवेशनदेखि सिपी मैनाली नेकपा एमालेको सम्पर्कमा हुनुहुन्न।
इतिहासले भन्छ - सिपीझापा विद्रोहका प्रमुख व्यक्तिमध्ये एक, जो पछि संगठित रूपमा पार्टी निर्माण गरेर नेकपा मालेका संस्थापक महासचिव हुनुहुन्थ्यो।
याद रहोस्, अहिले नेपालको वाम आन्दोलन विचित्र मोडमा उभिएको छ। पुष्पलालको त्याग, मनमोहनको सरलता र मदनको वैचारिक नवीनता, यी सबैलाई विस्मृतिमा धकेलेर नेकपा एमाले अहिले एउटा मात्र अनुहारको छायामा सीमित बन्दै गएको देखिन्छ? यही भदौ २०–२२ मा गोदावरीको सभाहलमा दोस्रो विधान महाधिवेशनमा ल्याइन लागेको प्रस्ताव अनुसार अब कुनै पनि आधिकारिक ब्यानर वा कार्यक्रममा अध्यक्षबाहेक अरूको तस्बिर राख्न नपाइने व्यवस्था गर्न लागिएको थियो। यसले पूर्वजहरूको ऐतिहासिक योगदानलाई मेट्दै पार्टीलाई व्यक्तिपूजामा सीमित पार्ने योजना बनाइएकै हो। पूर्वउपाध्यक्ष विद्या भण्डारी पक्षधरहरूको खबरदारीका कारण त्यो नियत रोकिन पुगेको कुरो जगजाहेरै छ। यस प्रकारको प्रवृत्तिलाई आज आलोचकहरूको भाषामा फोटो कम्युनिज्म भन्ने भाष्यको आलोचना हुँदैछ।
एमालेका कुनै पनि सभा सम्मेलनमा पहिले संस्थापक नेताहरूका तस्बिर अनिवार्य राखिन्थ्यो। तसर्थ कार्यक्रमहरू शोभायमान भएर झल्किन्थे। हाल पनि त्यही प्रचलन कायमै छ। कार्यक्रममा ऐतिहासिक र अग्रजहरूको फोटो राख्नुका कारणमध्ये उहाँहरूको दिशानिर्देश, उहाँहरूले गरेको राष्ट्रिय आन्दोलन र योगदानले हामीले प्राप्त गरेका उपलब्धीको स्मरणस्वरूप हो।
पुष्पलालको त्याग र समर्पणले कम्युनिस्ट आन्दोलनको बिउ रोपेको स्मरण, मनमोहनले जनताको सरकार चलाउने दृष्टान्त, मदन भण्डारीको बहुदलीय जनवादको वैचारिक गर्व, यी सबै तस्बिरमार्फत प्रकट हुन्थे। अब ती अनुहार ब्यानरको एउटा कुनामा राखेर अर्को कुनामा माक्र्स, एंगेल्स र लेनिनको तस्बिर र बिच भागमा ठुलो साइजमा पार्टी अध्यक्ष केपी ओलीको तस्बिर राखेर विचारभन्दा माथि फोटो वादको प्रचारमा एमालेजन रमाउन थालेकै हुन्।
यसरी सामूहिक स्मृतिलाई हटाएर एक व्यक्तिको प्रचारमा सीमित बनाउनु नै फोटो कम्युनिज्म हो। कम्युनिज्मको नाममा सामूहिकता होइन, फोटोको साम्राज्य जन्माउने अभ्यासले आज पार्टी कहाँ छ? नेतृत्वले यस्तो अलोकतान्त्रिक नीति प्रस्तुत गरिरहँदा नेकपा एमालेमा आबद्ध रहेका निकै ठुलो वैचारिक समूह असन्तुष्ट रहेको कुरा घामजत्तिकै छर्लङ्ङ छ।
ओलीले विगतमा संसदीय र दलीय प्रतिस्पर्धाअनुसार कुनै पनि स्टेजको कार्यक्रममा सार्वजनिक रूपबाटै आफ्ना प्रतिपक्षीहरूविरुद्ध विषवमन गर्ने प्रवृतिबाट तालीको गडगडाहटसँग असाध्यै हौसिएर माक्र्सवाद, लेनिनवाद बिर्सिएकै हुन्। विचार, सिद्धान्त वा सामूहिक नेतृत्व होइन। फोटो, प्रचार र व्यक्तिगत छविको बलमा पार्टी चलाउने शैली हो यो। यसरी ओली-पथले एमालेलाई विचारभन्दा प्रचारतिर, सामूहिकताभन्दा व्यक्तिपूजातिर, इतिहासभन्दा वर्तमान अध्यक्षकै छवितिर धकेलिरहेको थियो।
गत असार १४ गतेको उहाँको अभिव्यक्तिले प्रस्ट्याउँछ। अप्रासांगिक र असाधारण कुराहरू कोट्याउँदै, कहिलेकाहीं विद्या भण्डारीको मेखमार्न बेतुकका तर्क अघिसार्दै, संसार जित्दैछु भन्ने आधारबाट हेपाहा प्रवृत्ति अँगाल्दै अघिबढ्दै हुनुहुन्थ्यो। परिणामस्वरूप पर्दा पछाडिको ठुलै शक्तिले ढालका रूपमा जेनजीलाईअगाडि सार्यो। यत्रो उथलपुथल हुने रहेछ।
राज्य अर्थात् मुलुकको गृह प्रशासनले कुनै सूचना नपाउनु वा गुपचुप राख्नु राज्यको संवेदनशील संयन्त्र कति कमजोर ढंगले चलेको रहेछ? कुन विधि र बाटोबाट पार्टी नेतृत्व हिँड्दै थियो, आज कहाँ पुगियो। अकल्पनीय विषयहरू हात परे। यत्रो जनधनको क्षतिको जिम्मेवारी कसले लिन्छ? असामान्य अहङ्कारले आखिर सत्ताच्युत हुनैपर्यो।
पार्टीको दोस्रो विधान महाधिवेशनमा फरक मतको मुख बन्द नीतिले उहाँ नक्कली स्टालिन–पथपछ्याउँदै हुनुहुन्थ्यो। जोसेफ स्टालिनले सोभियत संघमा संस्थापक नेताहरूलाई ओझेल पार्दै आफ्नै छवि थोपरे। ओली पनि त्यही अभ्यासको नक्कल गर्दैहुनुहुन्थ्यो। स्टालिनसँग विचार र कठोर अनुशासन थियो, भ्रष्टाचारीलाई मृत्युदण्ड दिन्थे। ओली भ्रष्टाचारीलाई काखमा राखेर म्वाइँ खानुहुन्थ्यो। ओली आफ्नो प्रचार र आत्ममुग्धतामा रमाउनुहुन्थ्यो। यसैले उहाँलाई नक्कली स्टालिनभन्दा अतिशयोक्ति नहोला।
लोकतन्त्रको आवरणभित्र अधिनायकवादको बिउ रोप्नु, आलोचनालाई किनारा लगाउँदै आफ्नो मात्र अनुहार देखाउनु, संस्थापक नेताहरूको स्मृति विस्थापित गर्नु, यी सबै नक्कली स्टालिन पथका संकेत हुन्। ऐतिहासिक संगठनहरू एक व्यक्तिको अनुहारमा टिक्दैन, त्यो इतिहास, विचार र सामूहिकतामा टिक्छ।
आज मदन भण्डारीको वैचारिक अनुहार हटाएर विद्या भण्डारीलाई निषेधको राजनीति गरिन्छ। पुष्पलाल र मनमोहन विस्मृतिमा धकेलिन्छन्। अनि लोकतन्त्रको आवरणमुनि नक्कली स्टालिन–पथको ऐँजेरु पलाउँछ। कम्युनिस्ट आचारणबाट विमुख हुँदा प्रचारबाजी नीतिले उत्कृष्ट नेतृत्व, पार्टी र मुलुक नचल्ने कुराको दृष्टान्त हो जेनजी आन्दोलन। निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्षज्यू चित्त नदुखाउनुहोला। भ्रष्टाचारविरुद्धको यो आन्दोलन ढिलो भइसकेको थियो।
म त भन्छु, नेकपा एमालेभित्र माक्र्सवाद, लेनिनवाद, समाजशास्त्र, विश्वको भूगोल,राजनीति शास्त्र, अर्थशास्त्र, चाणक्य नीतिलगायत संसारको इतिहासको अध्ययन गरेका तपाईंकै समकक्षीहरू तपाईंकै पार्टीमा प्रशस्तै बौद्धिक नेताहरू हुनुहुन्छ। जसलाई तपाईंले कसैलाई छेकेर राख्नुभयो त केहीलाई धकेलेर हुत्याउनुभएको थियो। इतिहास साक्षी छ, तपाईंको स्वभावको समीक्षा भयो पनि।
ओली कमरेड, तपाईंले इतिहासदेखि वर्तमानसम्म राष्ट्रका लागि जे जति योगदान दिनुभयो, यसको मूल्यांकन यहीशताब्दीभित्रै नेपाली जनताले अवश्यनै गर्नेछन्। यसमा दुई मत रहेन। तपाईंलाई कुनै नेपाली संघसंस्थाले पाकिस्तानी शैलीमा सताच्युत गरेको होइन? घरेलु क्रान्तिबाटै च्युत हुनुपर्यो।
प्रमुख कारण तपाईंसँग भएको जिद्दी, हठीपन र आफ्नै पार्टीभित्र पनि विचार नमिल्नेहरूलाई निषेध, लोकतान्त्रिक विधिलाई सर्वोपरि मान्नी पार्टीभित्र यो प्रवृत्ति अत्यन्त घातकसिद्ध साबित भयो। एकथरी जत्था अझै प्रयास गर्दैछन्। पुनः राजनेताको पगरी गुथाएर आफ्नो स्वार्थको रोटी सेक्न तल्लीन देख्छु। तपाईं सतर्क रहनुहोला? दोस्रो कलंकको जिम्मेवारी नलिनुहोला, ग्रहण नगर्नुहोला। उमेरले पनि नेटो काट्न लाग्यो।
अब पार्टी नेतृत्व कसैलाई जिम्मा लगाएर राष्ट्रिय राजनीतिबाट विश्राम लिँदा उपयुक्त होला। यसैमा तपाईं लगायत हामी सबैको भलो छ। अन्यथा यति सानो भूपरिवेष्ठित मुलुकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको चरित्र अँगाल्न खोज्दा लोकतान्त्रिक प्रक्रिया असफल भयो। कम्युनिस्ट पार्टीले संसदीय अभ्यासको उपयोग गर्दा, अझ विगतमा बुर्जुवा र वर्ग शत्रु भनेर किटान गरेको पार्टीसँग गठबन्धन गरेर सत्ता सञ्चालनको प्रयोग हुँदै गर्दा घरेलु आन्दोलनद्वारा सत्ताच्युत हुनु भावी पुस्ताका लागि दरिलो पाठ हो। अब कम्युनिस्ट पार्टीले यस्तो दुर्गति कहिल्यै ब्येहोर्नु नपरोस्।
प्रकाशित: २७ आश्विन २०८२ ०७:४० सोमबार

