मानव सभ्यताको सबैभन्दा महान् वरदान हो वाणी। वाणीले प्रेम जगाउँछ, शान्ति फैलाउँछ र सम्बन्ध दरो बनाउँछ। यही वाणीको प्रयोग गलत तवरले गरियो भने घृणा, द्वन्द्व र दुरी सिर्जना हुन्छ। वाणी गोलीभन्दा भयावह बन्न पनि सक्छ। त्यसैले वाणी बोली मात्र होइन, यो व्यक्ति, परिवार र शिक्षाको वास्तविक पहिचान हो।
मानिसले सोच्न थालेपछि बोल्न सिक्यो र बोल्न थालेपछि समाज बन्यो। वाणीले व्यक्तिको अन्तरमनलाई बाहिर ल्यायो, अनुभूतिलाई साझा गर्यो र विचारलाई संस्कारमा रूपान्तरण गर्यो। त्यसैले वाणी अभिव्यक्तिको साधन मात्र नभएर व्यक्तिŒवको पहिचानसमेत बन्यो। वाणीले प्रेम र करुणा मात्र होइन, घृणा र द्वन्द्व पनि सिर्जना गर्न सक्छ। यही कारण प्राचीन दर्शनहरूले वाणीलाई शक्ति मानेका छन्। शक्ति विवेकसहित प्रयोग भयो भने कल्याणकारी हुन्छ तर विवेकहीन भयो भने विनाशकारी हुनसक्छ।
कम बोल्नु: विवेकको प्रतीक
कम बोल्ने मानिस प्रायः गहिरो सोच्ने र बुझ्ने स्वभावका हुन्छन्। मौनता कमजोरी होइन, आत्मसंयमको शक्ति हो। बुद्धले भनेका छन्– हजार अर्थहीन शब्दभन्दा शान्ति ल्याउने एक शब्द नै उत्तम हुन्छ।
कम बोल्नु विवेकको गहिरो संकेत हो। धेरै बोल्नु सधैं ज्ञानको परिचायक हुँदैन। मौनता आत्मसंयमको अभ्यास हो। मौन रहन सक्ने व्यक्ति आफ्ना भावनालाई नियन्त्रण गर्न जान्दछ र परिस्थितिको गहिराइ बुझ्न सक्षम हुन्छ। बुद्धले मौनतालाई आत्मजागरणको साधन माने।
सत्य बोल्नु: नैतिकताको मेरुदण्ड
सत्य वाणीको गुण मात्र नभएर जीवनको मार्गदर्शनसमेत हो। झुटले क्षणिक लाभ दिन सक्छ तर सत्यले दीर्घकालीन सम्मान दिलाउँछ। संस्कृतमा एउटा सूक्त वचन छ– ‘सत्यं ब्रुयात् प्रियं ब्रुयात्, न ब्रुयात् सत्यमप्रियम्।’ अर्थात्, सत्य बोल तर मधुर बोल।
सत्य वाणी नैतिकताको मेरुदण्ड हो। सत्यबिना कुनै पनि व्यक्ति उभिन सक्दैन। न त ऊ समाज टिक्न नै सक्छ। झुटले क्षणिक फाइदा भइहाल्यो भने पनि त्यसले दीर्घकालीन रूपमा विश्वासको जग भत्काइरहेको हुन्छ। सत्य बोल्नु भनेको नैतिक हुनु मात्र नभएर आत्मिक शुद्धताको अभ्यास गर्नु पनि हो। सत्य वाणीले व्यक्ति र समाज दुवैलाई स्थायित्व दिन्छ। नेल्सन मन्डेलाको जीवन यसैको उदाहरण हो। उनको सत्य र क्षमायुक्त वाणीले विभाजित समाजलाई एकताको दिशामा अघि बढायो।
मधुर बोल्नु: संस्कारको सुगन्ध
मधुर वाणीले घाउ निको पार्छ भने कठोर वाणीले चोट पु¥याउँछ। जापानको पारम्परिक शिष्टाचार अर्थात् सद्भाव वा समरस संस्कृतिमा शान्त र मधुर बोलाइलाई परिवार र कार्यस्थलमा उच्च प्राथमिकता दिइन्छ। यो सद्भाव, एकता र सन्तुलनयुक्त संस्कार हो। घर, कार्यालय वा विद्यालयमा मधुर वाणीले आत्मीयता जगाउँछ।
शब्दको अर्थभन्दा त्यसको प्रस्तुतिको समय र शैली झन् प्रभावकारी हुन्छ। कठोर शब्दले सत्यलाई पनि कटु बनाउँछ भने मधुर शब्दले कठिन सन्देशलाई पनि स्वीकार्य बनाउँछ।
मुस्कानसहित बोल्नु: आत्मीयताको भाषा
मुस्कान संसारको साझा भाषा हो, जसलाई अनुवाद गरिरहनुपर्दैन। मुस्कानसहित बोलिएको वाणीमा प्रेम, करुणा र आत्मीयता झल्किन्छ। भारतका अब्दुल कलाम, अमेरिकाकी ओप्रा विन्फ्रे र नेपालका गौतम बुद्ध सबैले मुस्कान र नम्रतामार्फत सन्देश दिएका छन्। मुस्कानयुक्त वाणीले मन खोल्छ, भौतिक द्वार होइन।
मुस्कानसहित बोल्नु आत्मीयताको सबैभन्दा सरल माध्यम हो। मुस्कान शब्दभन्दा पहिले पुग्छ र शब्दको प्रभावलाई गहिरो बनाउँछ। मुस्कानसहित बोलेको वाणीमा अहङ्कार हुँदैन, त्यहाँ करुणा हुन्छ। गौतम बुद्धको शिक्षामा मुस्कान र शान्त दृष्टि सधैं जोडिएको पाइन्छ। परिवारमा मुस्कान मिसिएको संवादले तनाव घटाउँछ र सम्बन्धलाई दीर्घकालीन बनाउँछ। समाजमा मुस्कानयुक्त वाणीले दुरी होइन, विश्वास निर्माण गर्छ।
बोल्ने संस्कार: शिक्षाको प्रतिविम्ब
वास्तविक शिक्षा पाठ्यक्रम मात्र नभएर जीवनको व्यवहार पनि हो। विद्यालयले पढाउने ज्ञानभन्दा बढी, शिक्षक र अभिभावकको बोल्ने शैलीले नै चरित्र निर्माण गर्छ। जापानी विद्यालयमा बालबालिकालाई पहिलो कक्षादेखि नै बोल्नुअघि सहृदय झुक्नुपर्छ भनेर सिकाइन्छ। त्यसैगरी बौद्ध परम्परामा सत्य वाणीलाई महत्त्व दिइन्छ। जसमा सत्य, हितकर र करुणायुक्त बोलीमा जोड दिइन्छ।
बोल्ने संस्कार नै शिक्षाको वास्तविक प्रतिविम्ब हो। शिक्षा भनेको जीवन जिउने कला हो र त्यसको सबैभन्दा स्पष्ट अभिव्यक्ति वाणी हो। जहाँ वाणी कटु र तुच्छ हुन्छ, त्यहाँ शिक्षा अपूर्ण हुन्छ। विद्यालयमा बालबालिकालाई बोल्न सिकाउनु भनेको भाषा सिकाउनु मात्र नभएर चरित्र निर्माणको प्रक्रियासमेत हो। बोल्नुअघि सोच्ने, अरूको भावना बुझ्ने र शब्दको परिणामप्रति सचेत हुने अभ्यास नै साँचो शिक्षा हो।
आजको समयमा सामाजिक सञ्जाल र सार्वजनिक बहसमा कटुता बढ्दै गएको हुँदा पूर्वीय दर्शनको वाणी विवेक अझ सान्दर्भिक बनेको छ। विवेकहीन वाणीले समाजलाई उत्तेजनातर्फ धकेल्छ भने विवेकयुक्त वाणीले समाजलाई स्थिर बनाउँछ। लोकतन्त्र, न्याय र सामाजिक सहअस्तित्व सबै वाणीको संस्कारसँग जोडिएका छन्।
जीवनका पाँच वाणी सूत्र हुन्– बोल्नुअघि सोच्नु, कम बोल्नु, सत्य बोल्नु, मधुर बोल्नु र मुस्कानसहित बोल्नु।
जीवनका वाणीसम्बन्धी सूत्रहरू व्यवहारमा उतार्न सकिने सरल अभ्यास हुन्। बोल्नुअघि सोच्ने बानीले अनावश्यक विवाद टार्छ। कम बोल्ने अभ्यासले मनलाई शान्त राख्छ। सत्य बोल्ने साहसले आत्मसम्मान बढाउँछ। मधुर बोल्ने शैलीले सम्बन्ध जोगाउँछ।
वाणीको सामाजिक उत्तरदायित्व र सार्वजनिक जीवन
वाणी व्यक्तिगत गुणमा सीमित हुँदैन, यसको प्रभाव सामाजिक संरचना र सार्वजनिक जीवनसम्म फैलिएको हुन्छ। जब व्यक्ति सार्वजनिक भूमिकामा प्रवेश गर्छ, उसको वाणी व्यक्तिगत अभिव्यक्ति मात्र रहँदैन, त्यो सामूहिक चेतनालाई प्रभावित गर्ने शक्ति बन्न पुग्छ। समाजमा नेतृत्व गर्ने व्यक्ति, शिक्षक, पत्रकार, न्यायाधीश, राजनीतिकर्मी र बौद्धिक वर्गको वाणीले नै सामाजिक दिशा निर्धारण गर्छ। त्यसैले सार्वजनिक जीवनमा वाणीको उत्तरदायित्व अझ गहिरो र संवेदनशील हुन्छ।
पूर्वीय दर्शनले ज्ञानलाई उत्तरदायित्वसँग जोडेर हेर्छ। ज्ञान प्राप्त गरेपछि मौन बस्नु अधुरो हो र विवेकबिना बोल्नु खतरनाक हुन्छ। सार्वजनिक वाणी ज्ञान, विवेक र करुणाको सन्तुलन भएकै स्थानमा सार्थक हुन्छ।
सार्वजनिक स्थानमा बोलेको एक वाक्यले समाजमा आशा जगाउन सक्छ भने उत्तेजना पनि फैलाउन सक्छ। इतिहासमा धेरै द्वन्द्वहरू हतियारभन्दा पहिले शब्दबाट सुरु भएका छन्। नेपालमा पनि शब्दबाट राजनीतिक द्वन्द्व चर्किएको घटना देखिएका छन्। त्यसैले वाणी सार्वजनिक शक्तिका रूपमा प्रयोग गर्दा यसको सामाजिक परिणाम बुझ्न आवश्यक हुन्छ।
आजको लोकतान्त्रिक समाजमा वाणीको स्वतन्त्रता मौलिक अधिकार हो तर अधिकारसँगै दायित्व पनि जोडिएको हुन्छ। स्वतन्त्र वाणीले सत्य उजागर गर्नुपर्छ, अन्यायको आलोचना गर्नुपर्छ र पीडितको पक्षमा बोल्नुपर्छ। स्वतन्त्रताको नाममा असत्य, अपमान र घृणालाई प्रश्रय दिनु लोकतान्त्रिक संस्कार होइन।
सार्वजनिक बहस र राजनीतिक संवादमा वाणीको स्तर समाजको चेतनास्तरको सूचक हुन्छ। सभ्य वाणी भएको समाजमा असहमति पनि सम्मानजनक हुन्छ। त्यहाँ आलोचना सुधारको माध्यम बन्छ, शत्रुताको होइन। वाणी आक्रामक भएका ठाउँमा असहमति दुस्मनीमा रूपान्तरण हुन पुग्छ। यस्तो समाजमा संवाद बन्द हुन्छ र आवाजको प्रतिस्पर्धा बाँकी रहन्छ। पूर्वीय दर्शनले संवादलाई ज्ञानको यात्रा मानेको छ। यस्तो यात्रामा प्रश्न र उत्तर दुवै विनम्र हुन्छन्।
न्याय प्रणालीमा वाणीको भूमिका झन् गम्भीर हुन्छ। न्यायाधीशको एक वाक्यले व्यक्ति र समाजको दिशा बदल्न सक्छ। त्यसैले न्यायिक वाणीमा भावनाभन्दा विवेक, पूर्वाग्रहभन्दा तटस्थता र क्रोधभन्दा करुणा आवश्यक हुन्छ। शिक्षालयमा शिक्षकको एक वाक्यले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्ने कि हतोत्साहित गर्ने भन्ने निर्क्याेल हुन्छ। सञ्चार माध्यममा प्रयोग हुने शब्दले समाजमा डर र आशा दुवै फैलाउन सक्छ।
डिजिटल युगले वाणीलाई अझ शक्तिशाली बनाएको छ। अब बोलेको शब्द सामुन्ने उपस्थित मानिसमा मात्र सीमित हुँदैन, त्यो क्षणभरमै हजारौं मानिससम्म पुग्न सक्ने भइसकेको छ। यसले वाणीको प्रभाव क्षेत्र र उत्तरदायित्व बढाएको छ।
आवेगमा लेखिएको एक वाक्यले समाजमा भ्रम फैलाउन सक्छ। त्यसैले डिजिटल वाणीमा पनि मौनताको अभ्यास आवश्यक छ। पोस्ट गर्नुअघि सोच्नु, प्रतिक्रिया दिनुअघि बुझ्नु र आलोचना गर्नुअघि विवेक अपनाउनु आजको समयको अनिवार्य सर्त हो।
–तिमल्सेना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन्।
प्रकाशित: ९ माघ २०८२ १०:४६ शुक्रबार

