१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
विचार

माटोको स्वास्थ्य

सन्दर्भः विश्व माटो दिवस

हरेक वर्ष जेठ–असारमा खेत रोप्दा हाम्रा बाआमाले भन्नुहुन्थ्यो, ‘माटो रसिलो छैन भने धान पनि रिसाउँछ।’ त्यो रिस अहिले देखिँदै छ– बाला छोटा, दाना साना, उत्पादकत्व घट्दो अनि रोगव्याधि बढ्दो छ । तर यो रिसको जडमा माटोको प्राङ्गारिक पदार्थको कमी छ, जसलाई हामीले दशकौंदेखि बेवास्ता गर्दै आएका छौं।

घट्दो प्राङ्गारिक पदार्थका कारण उत्पन्न दुष्परिणाम

राष्ट्रिय माटो विज्ञान केन्द्रका अनुसार नेपालको खेतीयोग्य माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा १.८–२ प्रतिशतभन्दा माथि छैन। वैज्ञानिकहरूको न्यूनतम मापदण्ड ५ प्रतिशत हो। अर्थात् हाम्रो माटो कमजोर, पानी नअडिने र पोषक तत्त्व नसमाउने भइसकेको छ। अहिले नेपालमा सबैले सुन्दै आएका छन्, कृषि आधुनिकीकरण, उत्पादनमा वृद्धि, मल–बिउको पहुँच र कृषिमा आत्मनिर्भरता तर यति धेरै योजना, कार्यक्रम र नाराबिच स्वस्थ माटोजस्तो आधारभूत कुरा बिर्सिएको जस्तै छ। प्राङ्गारिक पदार्थ नपुगेको माटोलाई पानी र मल जति दिए पनि बिरुवाको जराले सोस्न नसकेर उत्पादन राम्रो हुँन सक्दैन।

सन् २०१६ मा सरकारले पेरिस जलवायु सन्धिअनुसार हरितगृह ग्यास कटौती गर्ने महत्त्वाकांक्षी भएर माटोमा प्राङ्गारिक पदार्थ दश वर्षभित्र ४ प्रतिशत पुर्‍याउने लक्ष्य किटान गरेको थियो तर दश वर्ष बितिसक्दा त्यसमा ठोस प्रगति भएन, बरु अर्को दश वर्षमा सो लक्ष्य हासिल गर्ने गरी अद्यावधिक गरिएको छ। रासायनिक मलको अनुदान १६ अर्ब छ, माटो स्वास्थ्य सुधारका लागि नगण्यप्रायः छ।

तीन दशकअघिसम्म हरेक घरमा गोठेमल र वनको पातपतिंगरको कम्पोस्टले माटो रसिलो बन्थ्यो । गोठेमल, बाख्रा–गोरु राख्ने चलन, वनबाट पातपतिंगर ल्याउने परम्परा, यी सबैका कारण हरेक वर्ष माटोले नयाँ ऊर्जा पाउँथ्यो। अहिले ती अभ्यास हराउँदै गए। पशुपालन घट्यो, वनबाट जैविक पदार्थ ल्याउन रोकियो, रासायनिक मल सस्तो र छिटो भनेर प्राथमिकता पायो। त्यसैकारण माटो थाकेको छ– अम्लियपन बढेको, जैविक संरचना कमजोर भएको र प्राङ्गारिक पदार्थ त प्रायः हराइसकेको।

यही अम्लीयपन घटाउन सरकारले बर्सेनि कृषि चुन सिफारिस गर्छ। चुनले सतही रूपमा अम्लीयपन कम गर्छ, केही बालीमा साधारण सुधार देखिन पनि सक्छ तर यो माटोको संरचना बलियो बनाउँदैन, पानी अड्याउँदैन, सूक्ष्म जीवाणुको घर तयार गर्दैन। चुनावरी कोस्मेटिक उपचार जस्तै हो– क्षणिक तर आधारभूत सुधार होइन। यता बायोचार भने दीर्घकालीन, संरचनागत परिवर्तन ल्याउने उपाय हो। सुक्खा पात, धानको खोस्टा, पराल, घाँस–झार वा कृषि फोहोरलाई अक्सिजनविहीन भट्टीमा तताएर बनाइने कार्बनयुक्त पदार्थ, यही हो बायोचार। स्थानीय भाषामा यसलाई ‘बुक’ वा ‘कोइला मल’ पनि भन्छन्।

अहिले पशुपालन घट्यो, वनबाट पातपतिंगर ल्याउन रोकियो, कम्पोस्ट हरायो। बाँकी रहेको युरिया–डिएपीले माटोलाई झन् खलबल बनाइरहेको छ। प्राङ्गारिक पदार्थ मल होइन, माटोको घर हो। यो घर बलियो भयो भने पानी अडिन्छ, हावा छिर्छ, सूक्ष्म जीवाणु बस्छन्, रासायनिक मलको आधा भाग पनि पूरा काम गर्छ तर हरियो झारपात, पातपतिंगर कुहाएर कम्पोस्ट बनाउँदा दुईतीन वर्ष लाग्न सक्छ, झन्झटिलो पनि छ । त्यही काम बायोचारले एकै सिजनमा गर्छ।

बायोचारले चामत्कारिक परिणाम दिन सक्छ

बायोचार भनेको वनका सुकेका पात, धानको खोस्टा, पराल, झारपातलाई बन्द भाँडो (भट्टी) मा बिना अक्सिजन तताएर बनाइने कोइला हो। अर्को भाषामा यसलाई कालो सुन पनि भन्छन्। यसलाई खेतमा हाल्दा एकै वर्षमा प्राङ्गारिक पदार्थ ०.७ देखि १.२ प्रतिशतसम्म बढ्छ। विश्वका ११४० भन्दा बढी अध्ययनको मेटा–एनालिसिसले देखाएको छ– बायोचारले बाली उत्पादन औसत १६–२० प्रतिशत बढाउँछ, पानीको खपत २०–३० प्रतिशत र रासायनिक मल ३०–५० प्रतिशतसम्म घटाउँछ।

नेपालमै प्रमाण छ। रसुवामा गरिएको अनुसन्धानमा २०–४० टन बायोचार हालेपछि मकैको उत्पादन दोस्रो वर्षमै ५०–९३ प्रतिशत र तोरीको ९६–१३४ प्रतिशत बढ्यो। आलुमा ७.५ टन बायोचारले उत्पादन २९ प्रतिशतले वृद्धि गर्‍यो। काठमाडौं बजारमा पाँचखालको आलुभन्दा मुढे (काभ्रे) को आलु महँगो र स्वादिलो किन? किनभने मुढेका किसानले दशकौंदेखि बायोचार (स्थानीय भाषामा ‘बुक’)मा आलु फलाउँछन्। बजारले नै प्रमाण दिइसकेको छ– बायोचारमा फलेको अन्न स्वादिलो र लामो समय टिक्छ।

बायोचार बनाउन गाह्रो छैन । परम्परागत कोनिकल प्वाल खनेर पनि बनाउन सकिन्छ, सानो स्टिलको ड्रमले पनि बनाउन सकिन्छ, ठुलो स्केलमा मेसिन जडान गरेर पनि । गाउँमा दश वर्षअघिदेखि यस्ता मेसिन आइसकेका छन्, तर कृषि सेवा केन्द्रले वितरण र तालिमलाई प्राथमिकता दिएनन्।

के गर्नुपर्छ?

-हरेक गाउँपालिकाले ‘बायोचार कोष’ बनाओस् । सामुदायिक वन उपभोक्ता समूहले सुकेका पातपतिंगरबाट सुक्खा याममा व्यवस्थित तरिकाले भट्टीमा राखेर बायोचार बनाउँन सक्छन्। एउटा वडामा ५–१० लाख बजेटले घुम्ती बायोचार भट्टीबाट यो अभियान अघि बढाउन सकिन्छ।

- रासायनिक मल अनुदानबाट केही रकम बायोचार उत्पादन र वितरणमा लगाऔं। पाँच वर्षमै ४ प्रतिशत लक्ष्य पूरा हुन्छ।

- स्कुल–कलेजको पढाइको आधा समय खुला आकाशमुनि बायोचार बनाउने, कम्पोस्ट हाल्ने, माटो छाम्ने अभ्यासमा लगाऔं। किताबमा मात्र होइन, खेतमै सिकेका विद्यार्थीले भोलि माटो बचाउँछन्। किताबमा पढेर माटो बाँच्दैन, अभ्यासले बच्छ।

- बजेट पुनर्संयोजन गरेर कृषि चुनमा मात्रै भर पर्ने परम्परा घटाई बायोचारमा लगानी बढाऔं।

अन्तमा, माटो बाँचेन भने हाम्रो खाना, संस्कृति र अर्थतन्त्र सबै सकिन्छ। रासायनिक मलको बोरा बोकेर मात्र कृषिमा क्रान्ति आउँदैन। बायोचारको कालो सुनले माटोलाई फेरि रसिलो बनाउन सकिन्छ। यो प्रमाणित, सस्तो र छिटो तरिका हो।

यो विश्व माटो दिवस (डिसेम्बर ५) मा लक्ष्य निर्धारण गरौं - आउँदो पाँच वर्षमा नेपालका हरेक खेतबारीमा बायोचार पुगोस्, माटोको प्राङ्गारिक पदार्थ ४ प्रतिशत नाघोस्। माटो बचाऔं, नेपाल बचाऔं।

–लेखक ‘नेपाल पानी सदुपयोग फाउन्डेसन’मा आबद्ध भएर जलवायुसिर्जित समस्या समाधानसम्बन्धमा अध्ययन र अध्यापन गर्छन्।  

प्रकाशित: १९ मंसिर २०८२ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App