मानव इतिहासको चरणहरूमा ज्ञान, बुद्धि, बौद्धिकता र सत्ता सधैं कि त एकापसमा जोडिएर रहे, कि त एकअर्काविरुद्ध रणभूमिमा उत्रिरह्यो। त्यस्ता धेरै घटना छन्, जुन घटनाले विश्वलाई धेरै कुराको बोध गराउँछ। जस्तो कि महाभारत कालमा शकुनिको चाकडीमा लिप्त सल्लाह, जनक राजा र उनका सल्लाहकार अष्टाबक्र सत्ता र ज्ञान एकैसाथ रहेको उदाहरण हुन् भने मगधपति र चाणक्यको द्वन्द्वात्मक सम्बन्ध दुस्मनीपूर्ण घटनाको उदाहरण हुन्।
१८औं शताब्दीको उत्तरार्धमा जब युरोपमा औद्योगिक क्रान्ति र पुँजीवादले मानिसलाई एउटा मेसिनको पुर्जा र बजारको वस्तुमा रूपान्तरण गर्न थाल्यो, तब त्यसविरुद्ध विद्रोहको नाममा ‘रोमान्टिसिज्म’को उदय भयो। रोमान्टिसिज्म केवल काव्यिक कल्पना मात्र थिएन र यथार्थ भन्ने हो भने स्वच्छन्द विचारको सिर्जनात्मक विद्रोहभित्र धेरै ठुलो उद्देश्य लुकेको थियो। त्यो त यान्त्रिकीकरण र चेतनाको बजारीकरणविरुद्ध मानव संवेदना, मौलिकता र आत्मिक स्वतन्त्रताको पहिलो बौद्धिक विद्रोह थियो। यसको मतलब रोमान्टिसिज्मले आन्दोलन घोषणा गरेको थियो। जसले तत्कालीन सत्तालाई चुनौती थियो।
२१औं शताब्दीको उत्तर–आधुनिक भू–राजनीतिक परिदृश्यमा आइपुग्दा शक्ति केन्द्रहरूले मानव चेतनालाई नियन्त्रण गर्ने नयाँ र घातक ‘सफ्ट’ हतियारहरू आविष्कार गरेका छन्। आज कुनै देश वा समाजको आत्मा कब्जा गर्न सेना वा बन्दुकको आवश्यकता पर्दैन, बरु ‘विचार कब्जा’को आधुनिक प्रविधिमार्फत यो काम सहजै फत्ते गरिन्छ। यस विचार कब्जाको महाअभियानमा एन्टोनियो ग्राम्सीले परिकल्पना गरेका दुईवटा बौद्धिक धारहरू ‘अर्गानिक बुद्धिजीवी’ र ‘परम्परागत बुद्धिजीवी’ जसलाई समकालीन राजनीतिमा बौद्धिक दलाल भनिन्छ सबैभन्दा अग्रपंक्तिमा देखा परेका छन्।
ग्राम्सीले ‘अर्गानिक बुद्धिजीवी’ त्यो हो जो समाजको भुइँतह, रैथाने संस्कृति र पीडित वर्गको संवेदनाबाट जैविक रूपमा जन्मिएको हुन्छ भनेका छन्। ऊ रोमान्टिक विद्रोहीजस्तै स्थापित सत्ता र बजारको कृत्रिम भाष्यहरूलाई चुनौती दिँदै जन्मभूमि र सामान्यभन्दा पनि सामान्य मानिसको वास्तविक स्वतन्त्रताको पक्षमा उभिन्छन्।
अर्कातर्फ, सोही समाजमा प्राज्ञिक उपाधि, सुट–बुट र विदेशी मुद्राको तुजुक बोकेको एउटा यस्तो वर्ग सक्रिय हुन्छ, जसले आफ्नो ज्ञानको इमानदारीलाई शक्ति केन्द्रहरूको पाउमा बन्धक राख्छन्। उनीहरू विभिन्न अन्तर्राष्ट्रिय फाउन्डेसन, कूटनीतिक काउन्सिल र मिसनरी संस्थाहरूको फिलोसिप र फन्डिङको लोभमा परेर देशको नीति र भाष्यलाई वैदेशिक स्वार्थ अनुकूल ढाल्ने उद्दत हुन्छन्। हो यो वर्ग नै आधुनिक ‘बौद्धिक दलाल’ हो।
आजको विश्वमा यस्ता प्रकृतिका बौद्धिकहरू प्रायः सबै राष्ट्रमा छन्। यिनीहरूको सञ्जाल वैश्विक र निकै बलियो छ। त्यसैले आजको युगमा रोमान्टिज्मको त्यही विद्रोही चेतना र अर्गानिक बौद्धिकतालाई यी नरमपन्थी साम्राज्यवादी संस्थाहरूले बजारको वस्तुजस्तै बनाएका छन्।
मिडिया, गैरसरकारी संस्था र थिंक ट्यांकहरूमार्फत जनताको वास्तविक आक्रोश र संवेदनामाथि कसरी ‘बौद्धिक दलाली’को लेप लगाइँदै छ भन्ने कुराको चिरफार गर्नु आजको बौद्धिक विमर्शको मुख्य आवश्यकता हो। त्यसैले यस आलेखमा रोमान्टिक आन्दोलनको दार्शनिक कसीमा राखेर आधुनिक युगको विचार कब्जाको राजनीति, अर्गानिक बुद्धिजीवीहरूको अस्तित्वको संकट र टाई–सुटधारी बौद्धिक दलालीको भित्री संरचनाको समालोचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ।
अर्गानिक बुद्धिजीवी र रोमान्टिसिज्मको आधारभूत पक्ष
वैचारिक गतिशीलाताको दृष्टिकोणबाट हेर्दा ‘रोमान्टिसिज्म र अर्गानिक बुद्धिजीवी एउटै सिक्काका दुई पाटा हुन्’ किनभने रोमान्टिसिज्म साहित्य सिर्जनाको महत्त्वपूर्ण पाटो भए पनि कोरा साहित्य र कलाको, आत्मकेन्द्रित कथाको मात्र सिर्जना गर्दैन। यसले सामूहिक हितका निम्ति विद्रोहको आवाजलाई बुलन्द गर्ने साहित्य पनि सिर्जना गर्छ। विश्वमा यस्तो साहित्य सिर्जनाका धेरै पुस्तक छन्, जुन पुस्तकहरू पढेर मानिस जुर्मुराएका छन्। नेपालको सन्दर्भमा त्यस्ता व्यक्ति र सिर्जना धेरै छन्। जसमध्ये राणा शासनविरुद्ध कलम चलाउने कृष्णलाल अधिकारी पहिलो आर्गनिक बुद्धिजीवी हुन्। उनको ‘मकैको खेती’ पुस्तकलाई तत्कालीन समयमा विद्रोही सिर्जना मानिन्थ्यो। एउटा सच्चा ‘अर्गानिक बुद्धिजीवी’ले मकैको खेतीजस्तो सामान्य विषयको बहानामा पनि सत्ताको दलाली र विदेशी गुलामीहरूविरुद्ध कलम चलाउँदा शासकहरू एउटा पुस्तकसँग पनि धेरै सशंकित भए। त्यसैगरी पञ्चायतताका व्यवस्थाको विरोध गर्ने आयामेली सर्जक बैरागी काइँला एक हुन्। उनको कविता ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, भूपी शेरचनको कविता ‘हामी’ ले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध व्यंग्यात्मक विद्रोह थियो। यस्ता रोमान्टिसिज्म र अर्गानिक विद्रोहका साहित्यिक सिर्जनामार्फत व्यवस्थाको विरोध गर्ने सर्जक उनीहरू मात्र होइनन्, रामेस, मञ्जिल पनि उत्तिकै जागरुक अर्गानिक बुद्धिजीवी हुन्। उनीहरूका गीतले नेपाली समाजमा विद्यमान बेथिति, विसंगतिको विरोध गर्नुका साथै न्याय एवं समानताका लागि आवाज बुलन्द गरेको थियो। ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘प्रगतिको ढोका खोल्न जुटेका छन् यी जो, ओ, जनता महान्’, ‘तिरो नतिरौं, अन्याय नसहौं’ जस्ता सिर्जना रोमान्टिसिज्म र अर्गानिक बुद्धिजीवीहरूका पञ्चायती व्यवस्थाविरुद्ध जनचेतना जगाउने खुराक थिए।
नेपालको सन्दर्भमा अर्गानिक बुद्धिजीवी र बौद्धिक दलाल
यो एउटा निकै जटिल र पेचिलो विषय हो। यहाँ कुन मान्छेले बोकेका विचार निर्देशित, आयातित र विदेशी कारखानामा निर्मित हो भन्ने कुरा सहजै थाहा पाउन सकिँदैन किनकि उनीहरूले बोल्ने भाषा प्रायः उस्तै नै हुन्छ। पञ्चायतकालमा पनि त्यस्ता प्रकृतिका बौद्धिक र बुद्धिजीवी प्रशस्तै थिए। राजा र पञ्चायती व्यवस्था नै राष्ट्र हो भन्ने विचार प्रवाह गर्ने सर्जकले अर्गानिक बुद्धिजीवीलाई सताउँथे।
समय बदलिएको छ। राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय गौरवजस्ता महत्त् वपूर्ण विषयमा समेत बुद्धिजीवीहरू एकजुट हुँदैनन्। ग्रस्मीले भनेजस्तै बौद्धिकतालाई विदेशी शक्ति केन्द्रहरूमा बन्दकी राखेर आधुनिकताको लेप लगाएर नेपाललाई शक्तिकेन्द्रहरूको क्रिडास्थल बनाउन आमन्त्रण गर्ने विचार प्रवाह गर्नेहरू सबै बौद्धिक दलाल हुन्।
स्वाभाविक रूपमा आलोचनात्मक चेतको विकास नै ‘बौद्धिक दलाली’को सबैभन्दा ठुलो ओखती हो। आजको आधुनिक डिजिटल युगमा विचार कब्जा गर्ने महाअभियानको पहिलो निसाना युवा पुस्ता बनेको छ। यसर्थ युवापुस्तामा आलोचनात्मक चेतको विकास हुनु आवश्यक छ। आलोचनात्मक क्षमताको विकास नहुनुमा सूचनाको बाढी र ‘अल्गोरिदमको बन्दी’ बन्नु मुख्य कारण बनेको छ। यो आधुनिक अस्त्रले आजको युवा पुस्तालाई इतिहासकै सबैभन्दा बढी सूचना दियो।
विडम्बना सबैभन्दा बढी भ्रमित र नियन्त्रित पनि यही पुस्तालाई गर्यो। फेसबुक, टिकटक, इन्स्टाग्राम वा युट्युबका अल्गोरिदमहरूमा युवाले जे मन पराउँछन्, बौद्धिक दलालहरूले त्यही सामग्री लगातार देखाइरहन्छन्। यसलाई समाजशास्त्रमा ‘इको चेम्बर’ भनिन्छ। युवाहरू एउटै प्रकृतिको न्यारेटिभ बारम्बार देख्दा त्यसैलाई अन्तिम सत्य मान्छन्। जसले आजको युवा गम्भीर पुस्तक वा दार्शनिक विश्लेषण पढ्दैनन्, बरु ३० सेकेन्डको रिल वा सट्र्स हेरेर संसारको ठुलो राजनीतिक वा सामाजिक घटनाको धारणा बनाउँछन्। आलोचनात्मक चेत नहुँदा उनीहरू सजिलै झुटो समाचार र प्रोपोगान्डाको सिकार भइरहेका छन्। उनीहरू उही बौद्धिक दलालहरूले उत्पादन गरेको भ्रमका र उत्तेजक डिजिटल सामग्रीबाट दीक्षित हुँदै यथार्थ र वास्तविकतालाई कुल्ची रहन्छन्।
प्रकाशित: ४ श्रावण २०८३ ०६:४३ सोमबार

