१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ८:६ पूर्वाह्न
विचार

मुटुरोगको समयमै व्यवस्थापन नगरे हृदयघातको जोखिम!

कुनै पनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्भ र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ। मानिसमा जन्मजात मुटुरोग हुने गर्छ। यसबाहेक मुटुको वातरोग हुने, मुटुमा ब्लक हुने समस्या पनि हुने गर्छ। कुनै व्यक्तिमा मुटुको चाल गडबड हुने (एरिदमिया) समस्या, मुटुले पर्याप्त रूपमा काम गर्न नसक्ने अवस्था (हार्टफेलियर) पनि हुने गरेको देखिन्छ।  

मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयघात पनि हुन्छ। पहिलेभन्दा पछिल्लो समय शहरी क्षेत्रमा मुटुका बिरामीको दर बढेको छ। खानपानमा पर्याप्त ध्यान नदिँदा तथा योग, ध्यान र कसरत नगर्दा यो रोगका बिरामीहरू दिनदिनै बढ्दै गएका छन्। यस्तै, बढी तनाव लिँदा पनि मुटुरोग हुने गरेको छ।  

ब्लड प्रेसर र सुगरका कारणले मुटुरोग बढ्ने गरेको पाइन्छ। सुगर र ब्लड प्रेसरका बिरामी बढी हुँदा मुटुरोगका बिरामी पनि बढ्ने गरेका छन्। खासगरी मानसिक तनाव, धूम्रपान, मद्यपानका कारणले मुटुरोग हुने गर्छ। ब्लड प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या भए पनि बिरामीले हेलचेक्र्याइँ गरेको पाइन्छ। यस्तो हेलचेक्र्याइँ गर्दा मानिसहरूलाई हृदयघातको समस्या देखिन्छ।  

४० वर्ष उमेर कटेका बिरामी मुटुको समस्याका कारण बढी मात्रामा अस्पतालमा आउने गरेको पाइन्छ। यो उमेर समूहका मानिसमा पहिलेको तुलनामा बढी मात्रामा मुटुरोग देखिएको पाइन्छ। नियमित रूपमा चेकजाँच नगर्दा समस्या देखिने गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालको बढी प्रयोगका कारण मुटुरोगसम्बन्धी जनचेतना बढेको पाइन्छ। मानिसहरू मुटु दुख्नासाथ अस्पताल आएर डाक्टरको परामर्श लिने गर्छन्।

ब्लड प्रेसरको समस्या अहिले २० देखि ३० दशकका व्यक्तिलाई पनि देखिन थालेको छ। यो उमेर समूहका मानिसलाई ब्लड प्रेसरको समस्या देखिने र औषधि सुरु गर्नुपर्ने अवस्था आएको छ। यो उमेर समूहका कतिपय ब्लड प्रेसरका बिरामीहरू औषधि खान मान्दैनन्। ब्लड प्रेसर भएका बिरामीले समयमै औषधि खाए दुर्घटना हुनबाट बच्न सकिन्छ।  

पछिल्लो समय अनावश्यक रूपमा तनाव लिने, धूम्रपान तथा मद्यपानको सेवन गर्ने, पर्याप्त मात्रामा नसुत्ने, मांसाहारी खाना अत्यधिक खाने, पर्याप्त रूपमा चिल्लो पदार्थ खाने गर्नाले मुटुरोगको समस्या धेरै मात्रामा देखिने गरेको पाइन्छ।  

मुटुरोग भएका मानिसहरूले नियमित रूपमा प्रेसर, सुगर र कोलेस्ट्रोल जाँच गर्नुपर्छ। कुनै समस्या देखियो भने डाक्टरको परामर्श लिनुपर्छ। यस्तै, बिरामी हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म शाकाहारी भोजनलाई प्रोत्साहन गर्नुपर्छ। शाकाहारी भोजन स्वास्थ्यका लागि राम्रो हुन्छ। कुनै पनि व्यक्तिले रोग लाग्न नदिन दैनिक आधा घण्टा (३० मिनेट) देखि एक घण्टासम्म नियमित रूपमा व्यायाम गर्नुपर्छ। यस्तै, रातको समयमा ६ देखि ८ घण्टासम्म नियमित सुत्नुपर्छ। बिरामी हुन नदिन तनावलाई व्यवस्थापन गर्नु उत्तम उपाय हो।

प्रकाशित: ३० श्रावण २०८२ १६:०७ शुक्रबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App