नेपालको वर्तमान परिप्रेक्ष्यमा नागरिकहरूले अति नै अस्थिरता र असुरक्षाको महसुस गरिरहेको अवस्था छ। जेनजी आन्दोलनपछिको देशको अवस्था, वर्तमान अन्तरिम सरकारको भूमिका, आगामी निर्वाचनको सफलतालगायत विषयवस्तु समेट्दा अहिले मुलुक अस्थिर राजनीतिक वातावरण, दलीय प्रतिस्पर्धा, आर्थिक चुनौती, सामाजिक विभाजन र अविश्वासको घेरामा छ। यसका लागि सर्वपक्षीय रूपबाट व्यापक राष्ट्रिय सहमति आवश्यक छ तर सबै आफ्नो आफ्नो डम्फु बजाउनमै व्यवस्त देखिन्छन्।
यस्तो अवस्थामा सर्वपक्षीय संवाद मात्र त्यस्तो शक्ति हो, जसले मनहरूलाई जोड्छ, विवादलाई समाधान गर्छ, विश्वासको पुनर्निर्माण गर्छ र राष्ट्रिय हितमा साझा दृष्टिकोण सिर्जना गर्न मद्दत गर्छ। संवाद कूटनीतिक प्रक्रिया मात्र होइन, यो नै स्वतन्त्र राष्ट्रको आत्मा हो। संवादकै माध्यमबाट नेपालले विगतमा ठुला–ठुला परिवर्तन सम्भव बनाएको छ, लोकतन्त्र, संविधान, संघीयता, शान्ति प्रक्रिया आदि। आज पनि पुनः संवादकै बाटोमा फर्किनु समयको माग हो। यसलाई अझ गहिरो रूपमा बुझ्न महाभारतको अर्जुन–उवाच अत्यन्त प्रेरणादायी रूपक मान्न सकिन्छ।
युद्धभूमि कुरुक्षेत्रमा अर्जुन मानसिक रूपमा विचलित थिए। नेत्रविहीन भय, अनुसन्धान, निर्णयहीनता, सबै मनमा भरिएको थियो। त्यो अवस्था हाम्रो वर्तमान राजनीतिक नेतृत्वले पनि उस्तै अनुभव गरिरहेका छन्– शक्ति छ तर निर्णयको स्पष्टता छैन। अर्जुनले कृष्णसामु शरण लिएर संवाद गर्ने क्षण नै अर्जुन उवाच हो– एक नेता जसले आफ्नै कमजोरी स्विकार्छ, संवादमा विनम्रता प्रकट गर्छ र सत्य सुन्ने आँट राख्छ। अनि मोहग्रस्त अवस्थाको उद्घोष गर्छ।
हाम्राे राजनीतिक नेतृत्वले शान्तिपूर्ण समाधान खोज्न सबैभन्दा पहिले अहंकार त्यागेर संवादको द्वार खोल्नुपर्छ। नेतृत्व गणले, नयाँ आउने नेतृत्वले र जसले राष्ट्रको उत्थानका लागि संकल्प लिएका छन्, तिनीहरूले विगतको अहंकारी मानसिकता नत्यागी सुखै छैन। सच्चिएर, सुध्रिएर, नयाँ दृष्टिसाथ नआई सुखै छैन। अब सचेत र संयम हुने समय आएको छ।
संवाद प्रक्रिया मात्र होइन, विचारको मूल्य हो
संवादलाई बहुआयामबाट बुझेर यो परिस्थितिमा संयमता अपनाउन सकिन्छ। सुनाइमा आधारित कूटनीति, सर्वपक्षीय विचार र समाधानका उपायको सुनाइ, सुन्न तयार हुन सक्नुपर्छ। कूटनीतिक सफलता निर्णयमा होइन, सुनाइमा हुन्छ।
सर्वपक्षीय जनताको, विज्ञको, कानुनविदको, संविधान विद्को, नागरिक समाजको अनि युवाहरूको आवाज सुन्ने क्षमता नेतृत्वको सबैभन्दा ठुलो शक्ति हो। अनि मात्र विवेकमा आधारित निर्णय लिन सकिन्छ, जुन बहुजन हिताय र राज्यको हितमा हुन्छ। अर्जुनले जस्तै नेतृत्वले भ्रम स्वीकार गरेर विवेक नखोज्ने हो भने निर्णयमा त्रुटि हुने सम्भावना रहन्छ। त्यसैले संवाद विवेक जन्माउने सबैभन्दा गुणकारी साधन हो।
भरोसा निर्माण जरुरी
जहाँ अविश्वास छ, त्यहाँ विकास सम्भव हुँदैन। अहिले अवस्था त्यस्तै नै छ। कसले कसलाई भरोसा गर्ने द्विविधा छ। यो राज्य र नागरिकका लागि पनि राम्रो होइन। त्यसैले संवाद नै विश्वासको मध्यम हो, विश्वास सहयोगको मध्यम हो र सहयोग स्थिरताको परिणाम हो।
त्यसैले अहिले नेपालका वर्तमान राजनीतिक चुनौती र संवादलाई नयाँ रूप दिन, सुशासन र नागरिकमुखी विकासको पहल गर्न सर्वपक्षीय संवाद जरुरी छ, जहाँ नागरिक अभियन्ता, राजनीतिज्ञ, विद्वत् वर्ग, युवा वर्ग सबै सबैको समानुपातिक रूपमा सहभागिताको जरुरत छ। अझै पनि अहंकार विद्यमान देखिन्छ। त्यसैले राजनीतिक परिदृश्यमा सर्वपक्षीय संवाद अझै जटिलजस्तो देखिन्छ। यदि संवादको माहोल बन्यो भने राज्यका सबै तहबिचको समन्वय सशक्त हुनेछ।
राजनीतिक दलबिचको अविश्वास
नेपालको वर्तमान राजनीतिक परिवेशमा दलबिच कुनै हदसम्म सहकार्य र छलफलका संकेत देखिए पनि यो संवाद आंशिक, खण्डित र सीमित दायरामा मात्र भइरहेको छ। व्यापक राष्ट्रिय मुद्दामा सबै दललाई एउटै टेबलमा ल्याएर साझा दृष्टिकोण निर्माण गर्ने अभ्यास अझै संस्थागत हुन सकेको छैन। बरु, अहिले पनि नेतृत्वले एकअर्कालाई दोषारोपण गर्ने, विगतका कमजोरी उछाल्ने, गठबन्धन–तोडफोडको राजनीति गर्ने र तत्कालीन फाइदाअनुसार मात्र समताको भाषा बोल्ने प्रवृत्ति हावी छ। यस्तो अविश्वासले नीतिनिर्माण मात्र कमजोर बनाउँदैन, सरकारले सुरु गरेका कार्यक्रमलाई समेत अस्थिर बनाउँछ।
राष्ट्रका आधारभूत चासोको विषय शिक्षा सुधार, रोजगारी सिर्जना, स्थानीय विकास, समावेशी शासन, आर्थिक पुनर्जीवन, सर्वपक्षीय सुदृढीकरण सबैमा निरन्तरता र दीर्घकालीन दृष्टि आवश्यक पर्छ तर अविश्वासले यिनै मुद्दालाई राजनीतिको किनारामा पुर्याइदिन्छ। अबको आवश्यकता यो हो कि दलहरू दलीय हितभन्दा माथि राष्ट्रहित राख्दै, साझा राष्ट्रिय अजेन्डा तयार गर्न, समावेशी संवाद–संरचना निर्माण गर्न तयार हुन सक्नुपर्छ। जब सबै राजनीतिक शक्ति एकै थलोमा बसेर दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा सहमति बनाउने क्षमतामा पुग्छन्, तब मात्र अविश्वासको खाडल पुरिन्छ र देश नीतिगत स्थिरताको बाटोतर्फ अघि बढ्छ।
समावेशी समूहका आवाजको शक्ति
राजनीतिक नेतृत्वको अहिलेसम्मको अभ्यास र संस्कारअनुसार महिला, दलित, अपांगता भएका व्यक्तिलगायतका समावेशी समुदायको आवाज नीतिमा प्रत्यक्ष नसुनिनु, यदाकदाबाहेक उनीहरूले अवसर नपाउनु र संवादमा समावेशी मञ्च केन्द्रित नहुनु पनि जिम्मेवार पक्ष मान्न सकिन्छ र यसलाई आत्मसात गर्नुपर्ने समय आएको छ।
नेपालको राजनीतिक संवाद र नेतृत्व एवं निर्णय तहमा महिला, दलित, अपांगता भएका व्यक्ति, जनजाति तथा अन्य समावेशी समुदायको आवाजलाई नेतृत्व–संवाद, नीति–निर्माण र निर्णय प्रक्रियामा पूर्ण रूपमा सुन्न सके, देशको राजनीतिक स्थिरता, सामाजिक न्याय, आर्थिक वृद्धि र लोकतान्त्रिक आधार दुवै बलियो हुन्छन्।
समावेशी समुदायलाई बोल्न दिनु आरक्षण र दयामाया मात्र होइन, राष्ट्रिय नीति र लोकतन्त्रको मूल ढाँचा हो। समावेशिताको आवाज केवल माग होइन, राष्ट्रको स्थिरता, नीति र भविष्य बनाउने वास्तविक शक्ति पनि हो। त्यसैले, जबसम्म सबै आवाज राष्ट्रका निर्णयमा समाहित हुँदैनन्, तबसम्म नीति अपूरो रहन्छ, राजनीति कमजोर रहन्छ र राष्ट्र पछाडि पर्छ।
आर्थिक दबाबको महसुस
माथिका सबै परिवेश र यथार्थताको कारणले दिनानुदिन रोजगारी संकट, युवा पलायन, उत्पादन घट्दो, लगानी कमजोर देखिँदै गएको छ। सरकार र निजी क्षेत्रबिच संवाद दुर्बल महसुस हुन्छ। समाधान संवादबाट मात्र सम्भव छ भन्ने कुरालाई आत्मसात गरिएको छैन अर्थात् त्यता विवेक पुगेको देखिन्न। हरेक क्षेत्रको समृद्धिका लागि दीर्घकालीन सहमति र त्यसमा सर्वदलीय, नागरिक समाज, निजी क्षेत्र, स्थानीय आवाजसमेतको संयुक्त संवाद र निकासको मार्ग खोजिनु आवश्यक छ।
सबैले आफ्ना दम्भ र अहंकार हटाएर अरूको आवाज सुन्ने, आफ्नो कमजोरी स्वीकार गर्ने र नेतृत्व तालिममा अर्जुन–उवाचको सिद्धान्त लागु गर्नु अत्यन्त उपयोगी देखिएको छ। त्यसैगरी युवा संवाद, युवाहरूका विचार नीति प्रक्रियामा ल्याउन डिजिटल प्लेटफर्मलगायतका मोडल अरू प्रभावकारी रूपमा विकास गर्नुपर्नेछ।
फेरि एकपटक मनन गर्ने बेला आएको छ– महाभारतको संवाद–दर्शन नेपालका नेताका लागि र अहंकार त्याग्नका लागि सान्दर्भिक छ किनकि महाभारत केवल धार्मिक ग्रन्थ होइन, यो नेतृत्व, कूटनीति, निर्णयकला र राष्ट्र–निर्माणको मन्त्र हो। कृष्णले अर्जुनलाई तीन कुरा सिकाएका थिए - निर्णय गर्ने साहस, किनकि अनिर्णय नै सबैभन्दा ठुलो कमजोरी हो। कर्तव्यको मार्ग - सत्ता होइन, आफ्नो कर्तव्यलाई हेर। राजनीतिमा ‘हाम्रो’ भन्दा ‘म’ ठुलो भएको क्षण पतन सुरु हुन्छ।
वास्तविकतामा उभिने विवेक - भावनाले होइन, विवेकले निर्णय गर्ने कला। त्यसैले अहिले मनन गर्नु जरुरी छ - राजनीतिक तनाव, निर्वाचन, गठबन्धन, विवाद, असन्तुष्टि, यी सबै ‘कुरुक्षेत्र’ जस्तै चुनौतीका रूप हुन् तर समाधान युद्धबाट होइन, संवादबाट मात्र सम्भव छ। त्यही महाभारतको सबैभन्दा ठुलो शिक्षा हो र, नेताहरूले एकअर्कालाई सुन्ने संस्कृति विकसित भए मात्र राष्ट्रात्मक सहमति बन्नेछ। निजी क्षेत्र, स्थानीय सरकार, युवा, किसान, श्रमिक सबै सँँगै बसेर साझा आर्थिक रोडम्याप बनाउन सकिन्छ। समग्रमा, संवाद नै कूटनीतिक आत्मा हो। संवाद नै समाधानको सेतु हो। संवाद नै नयाँ नेपालको भविष्य हो। शक्ति प्रदर्शन मात्र होइन, संवादबाटै नेतृत्वको पुनर्जागरण सम्भव हुन्छ।
प्रकाशित: ७ मंसिर २०८२ ०७:४९ आइतबार

