२५ माघ २०८२ आइतबार
image/svg+xml
विचार

प्रश्नले खोज्छ जवाफदेहिता

लोकतन्त्र प्रश्नले जोगिन्छ। नेपाली सेना प्रमुख अशोक सिग्देललाई ‘तपाईंले ‘कु’ गर्न खोजेको हो?’ रक्षा बम र तीनजना बहिनीका प्रश्नले हाम्रो लोकतन्त्र जोगिएको हो। (हरि शर्मा)

महात्मा गान्धीको ‘मन से डर हटाओ’ नाराले भारतका जनतामा अन्याय, अत्याचार र दमनविरुद्ध लड्न साहस जगायो। उनको अहिंसात्मक क्रान्तिले भारतवासीको बलिदानी साथ पायो। ‘किन हामीले ब्रिटिस शासन स्विकार्ने ? प्रश्नले शक्तिशाली बेलायती साम्राज्यलाई झुकायो। ‘भारत छोडो’ उद्घोषले अंग्रेज शासकका कब्जाबाट देश मुक्त भयो। भारत स्वतन्त्र भयो।

मार्टिन लुथर किङ र नेलसन मन्डेलाका  किन मानव अधिकार हनन हुन्छन्? प्रश्नले जडसूत्र राजनीतिक एवं सामन्ती तत्त्वमाथि परिवर्तनको दबाब बढायो। निरंकुशता, अत्यचार र सामान्ती प्रवृत्तिको जग हल्लायो। रंगभेद तथा विभेदकारी शासकविरुद्धका सम्झौताविहीन लडाइँले मानव अधिकारका सवाललाई विश्व बहसको केन्द्रमा ल्याउन र जीवित राख्न सफल भए।

‘जहानिया शासन किन मान्ने?’ प्रश्नले १०४ वर्षको राणा शासनको समाप्त भयो। शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथचन्द लगायतका सहिदहरूले ज्यानको आहुति दिए तर सम्झौता गरेनन्। बिपी काइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल जस्ता त्यागी नेताले राणा शासन मात्र नभएर एक दलीय पञ्चायती व्यवस्थाविरुद्ध पनि लडे। राजनीतिक अधिकार किन हासिल नहुने? प्रश्नले जीवनभर दुःख पाए तर बहुदलीय व्यवस्था ल्याएरै छाडे। राजा ज्ञानेन्द्रको निरंकुश शासन किन मान्ने? जनप्रश्नले लोकतन्त्र पुनर्बहाली भयो र गणतन्त्र पनि आयो। जेनजी पुस्ताका खोई सुशासन? प्रश्नले करिब दुईतिहार सरकार ढल्यो र २०८४ को चुनाव २०८२ सालमा सर्‍यो।

प्रश्नमा शक्ति हुन्छ। यो सत्यको खोजी र ज्ञानको स्रोत हो। स्वतन्त्र विचारको प्रतीक हो। समाधानको उपाय र नागरिकको शक्तिशाली औजार हो। पारदर्शिता र जवाफदेहिता खोज्ने विधि हो। सुशासनयुक्त देश बनाउने पूर्वाधार हो। मानव अधिकार तथा दिगो लोकतन्त्रको मेरुदण्ड हो। जिज्ञासाका समाधान खोज्ने र अन्ध–अनुयायीका भ्रम चिर्ने उपाय हो।

फागुन २१ गतेको चुनाव सामान्य होइन। जेनजीका प्रश्नले दुई वर्षअघि सरेकोे निर्वाचन हो। तिनका मूल मुद्दा पार्टीहरूको पुस्तान्तरण, भ्रष्टाचार र दण्डहीनतामुक्त एवं सुशासनयुक्त देश हो। गौरीबहादुर कार्की आयोगको प्रभावकारिता हो।

रवि लामिछानेको ‘मुद्दा फिर्ता’मा राजनीतिक गन्ध देखियो। चार मन्त्रीको वहिर्गमन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश र तिनका चुनावी दौडले जेनजीले धोका पाएको महसुस गरे। सुशीला कार्की सरकारले परिवर्तनको अनुभूति दिन सकेन। तथापि नयाँ संसद् भवन परिसरमा जेनजीसहिदका स्मारक बनाउने निर्णयले ‘जेनजीका बलिदान र मर्म जीवित राख्ने’ सकारात्मक पहल भएको छ। चुनावी वातावरण बनाएर सरकारले प्रशंसा कमाएको छ।

सार्वजनिक सभामा ‘राष्ट्रिय झन्डा’ ओड्ने वा चुनाव प्रचारमा दुरुपयोगले जेनजीका भावनालाई आत्मसात गरेको हुँदैन। भिडको होहल्लाबाट हाईहाई पनि जेनजीका असली हकदार भएको दाबी पुग्ने होइन। तिनका मर्म तथा भावना समेटेर पार्टीमा पुस्तान्तरण भएको छ कि छैन? मुख्य प्रश्न हो। भदौ आन्दोलनपछिका व्यवहारले को कस्ता छन्, देखाएको छ। ढाेंगी र सक्कली अनुहारको पहिचान भएको छ।

नेपालमा क्रान्ति वा आन्दोलनपछि शासकले देश छाडेनन्। परिणाम स्विकारेर देशभित्रै बसे। यो नेपाली राजनीतिको सकारात्मक पाटो हो। २००७ सालको जनक्रान्तिपछि राणाहरू आमनागरिक भएर बसे। २०४६ सालको जनआन्दोलनपश्चात् राजा संवैधानिक भए। २०६४ सालको गणतन्त्र घोषणालगत्तै ज्ञानेन्द्र सर्वसाधारण नागरिक भए। जेनजी विद्रोहले घरबाट लखेटिन वा भौतिक आक्रमण बेहोर्न नेता तयार भए तर देश छोडेनन्। सुधारका ‘एजेन्डा’ बोकेर जनतासामु निर्वाचनको अग्नि परीक्षामा उत्रिएका छन्।

जेनजी आन्दोलन कुनै दलद्वारा सञ्चालित थिएन। यसबाट राजनीतिक फाइदा कसैलाई नलिन जेनजी अभियन्ताले भनेका छन्। तथापि भदौ २३–२४ का हत्या र योजनाबद्ध आगजनी कसरी भयो? जवाफदेहिता कसको हो? बजारमा उठेका प्रश्न कति सत्य हुन्? थाहा पाउने नागरिकको अधिकार हो। लोकतन्त्रको उच्च अभ्यास पनि हो यो। दश वर्षे द्वन्द्वपीडितले शान्ति सम्झौताको बिस वर्षसम्म पनि न्याय नपाउनु नेताहरू प्रश्नबाट भाग्नाले हो।

पत्रकार टीकाराम यात्रीले प्रधानमन्त्री उम्मेदवार गगन थापा, केपी शर्मा ओली र बालेन्द्र साहमाझ बहस चलाउने प्रस्ताव राखे। यसले राजनीतिक चासो बढायो। राष्ट्रिय चुनावी अभ्यासमा यो पहिलो प्रयास थियो। अमेरिकी संसदीय सुनुवायीको चलन संविधानसभाको चुनावपछि नेपालमा भित्रिएको हो तर यात्रीको प्रस्तावको पक्ष–विपक्षमा बहस चले। बालेन्द्रका समर्थकले अपठनीय तल्लो स्तरका गालीगलौज गरे। बहाना बनाएर बालेनले बहसमा भाग नलिने घोषणा गरे। नागरिकको प्रश्नको अधिकारलाई कुल्चने काम गरे। जब कि सबैभन्दा बढी प्रश्नका घेरामा उनी छन्। असहिष्णु व्यक्तिवादी चरित्र देखिएका छन्।

उम्मेदवारी दर्ताको केही दिनअघि बालेन्द्र रास्वपामा प्रवेश गरे। सदस्यता लिन बाध्य भएका देखिए। किनभने रास्वपासमेतलाई केही हप्ताअघि उनले स्तरहीन गाली गरेका थिए। चुनावी दौडाहाका हाउभाउले पनि असहज महसुस गरेका देखिएका छन्। उनका सामाजिक सञ्जालमा ‘फलोअर्स’ देखेर रास्वपामा भित्राएको बुझिन्छ। चुनावी टिकट योग्यताको पूर्वसर्त पनि यही भएको पाइन्छ। महाधिवेशन नगरी रास्वपा तदर्थमा चलेको छ। सभापतिमाथि फौजदारी मुद्दा चलेको छ। यसको निर्णायक नेता पहिचान हुन बाँकी छ।

मुलुकमा अन्धअनुयायी र चाप्लुसी राजनीति बढेकोे छ। प्रश्नकर्तामाथिका आक्रमक व्यवहारले समाज त्रसित छ। ‘सत्य मार्ने’ अभियान छ। सत्य लेख्दा वा बोल्दा गाली र धम्की बर्सन्छन्। भ्रमको राजनीति मौलाएको छ। भेडा प्रवृत्ति चुलिएको छ। तथापि सामाजिक सञ्जालमा देखिएका हुल र हल्लाले चुनाव नजित्ने उदाहरण इलामको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफतले प्रमाणित गरेको छ। श्रोता र भाषणकर्ता एकल (आफैं) भएका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले धरानको निर्वाचनमा जितेर देखाए र राजनीतिमा उदाए।

फागुनको चुनावमा ‘गणेश प्रवृत्ति’ कि विवेकी पार्टीलाई रोज्ने? विधिको शासन वा व्यक्तिवादी दल छान्ने? प्रश्नको सामना गर्ने अथवा प्रश्नबाट भाग्ने नेतृत्व खोज्ने? सामाजिक सञ्जालबाट शासन चलाउने ‘सेलिबे्रटी’माथि विश्वास गर्ने कि जनताबिच रहेका परिवर्तन संवाहक नेतालाई पत्याउने? देशलाई तदर्थतिर लाने वा दिगो लोकतान्त्रिक अभ्यासमा जाने? प्रश्न छन्।

नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा एक नवीन अध्याय रचेका छन्। राष्ट्रलाई नयाँ राजनीतिक युगमा प्रवेश गराएका छन्। व्यक्तिवादी चरित्रलाई अस्वीकार गरेका छन्। विशेष महाधिवेशन अधिकारको प्रयोगबाट पार्टीलाई पुस्तान्तरण गरेका छन्। कांग्रेसको काँचुली फेरेका छन्।

राजनीतिक अवसर चाकडीबाट नभई अधिकारबाट पाउने भाष्य बनाएका छन्। प्रश्नलाई डटेर सामना गर्ने ‘भिजन’ भएका गगन पार्टी सभापति चुनिएका छन्। ‘कांग्रेस बदल्यौं अब देश बदल्छौं’ अभियान लिएर चुनावी मैदानमा उत्रेका छन्। ‘कांग्रेस दास र लासको पार्टी होइन’ उद्घोषबाट ‘भयरहित’ बन्न सबै नागरिकलाई प्रेरणा दिएका छन्। मुलुक एक राजनेता उदयको सँघारमा रहेको देखाएका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलको कथन छ– ३५ प्रतिशत चलायमान मतले निर्वाचनमा हारजितको निर्णय भएको प्रायः पाइन्छ।

प्रकाशित: २५ माघ २०८२ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App