२०२६ जनवरी ३ को मध्यराति अमेरिकाले भेनेजुएलामाथि गरेको प्रत्यक्ष सैन्य आक्रमणले केवल एक देशको सत्ता संरचना मात्र होइन, सम्पूर्ण ल्याटिन अमेरिका र अन्तर्राष्ट्रिय सम्बन्धको भविष्यलाई गम्भीर प्रश्नको घेरामा ल्याएको मात्र छैन, शक्तिको हैकमवादबाट साना सार्वभौम राष्ट्रहरूमाथि ठुलो चुनौती खडा गरिदिएको छ। राष्ट्रपति निकोलस मादुरोको पक्राउलाई अमेरिकाले ‘नार्को–आतंकवादविरुद्धको अभियान’ भनेको भए पनि यो सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनमाथिको खुला चुनौती हो।
कसरी भयो आक्रमण?
यो आक्रमण आकस्मिक घटना होइन। यसको जरा दशकौं पुरानो राजनीतिक, वैचारिक र भूरणनीतिक संघर्षमा जोडिएको छ र दुई देशबिच टकरावको इतिहास ह्युगो चाभेज सत्तामा आएदेखि सुरु भई अमेरिकी सेनाले काराकसमा जनवरी ३ को मध्यराति सैन्य कारबाही गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेसम्मको छ। डिसेम्बर २०२५ मा पहिलो पटक अमेरिकी फौजले भेनेजुएलाको भूमिमा आक्रमण गरेको थियो।
जनवरी ३ को मध्यराति अमेरिकी सेनाले काराकसमा सैन्य कारबाहीअन्र्तगत ठुला विस्फोट र रणनीतिक स्थानहरू, हवाई सुरक्षा र सञ्चार प्रणाली अवरुद्ध गरीविशेष अपरेसन फोर्सका कमान्डोहरूले राष्ट्रपति मादुरो रहेको सुरक्षित निवासबाट मादुरो तथा उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिइएको थियो।
किन बिग्रियो सम्बन्ध?
सन् १९९९ मा भेनेजुएलाका समाजवादी नेता ह्युगो चाभेज सत्तामा आएपछि भेनेजुएलाले अमेरिकी प्रभुत्वलाई खुला चुनौती दियो। अमेरिकी कम्पनीको नियन्त्रणमा रहेको तेल सम्पदाको राष्ट्रियकरण, अमेरिकी नीतिको कडा आलोचना तथा क्युबा, रुस, चीन, इरानसँगको चाभेजको निकटताले वासिङ्टन क्रुद्घ थियो। अमेरिका ह्युगो चाभेजसँग क्रुद्ध हुनुमा वैचारिक, आर्थिक र भूराजनीतिक कारणहरू थिए। उनले अमेरिकाविरोधी कडा भाषण गर्थे। समाजवादी नीतिअनुरूप भेनेजुएलाको तेल उद्योग राष्ट्रियकरण गरे, जसले अमेरिकी ऊर्जा र आर्थिक हितमा प्रत्यक्ष असर पर्यो। त्यहाँ उनले क्षेत्रीय वामपन्थी गठबन्धनहरू स्थापना गरे र लोकप्रिय नेतृत्व कायम राखे, जसले अन्य ल्याटिन अमेरिकी देशहरूमा चाभेज मोडेल फैलिन सक्ने खतरा भयो।
यी सबै कारणहरूले अमेरिकालाई चाभेज स्पष्ट खतरा बनेपछि अमेरिका–भेनेजुएला सम्बन्ध निरन्तर बिग्रँदै गएको छ। चाभेजपछिका राष्ट्रपति निकोलस मादुरोको शासनकालमा यो दुरी अझ गहिरियो। आर्थिक संकट, विवादास्पद चुनाव, मानवअधिकार उल्लंघन र दमनका आरोपबिच अमेरिकासहित पश्चिमा देशहरूले मादुरोलाई वैध राष्ट्रपति मान्न अस्वीकार गरे। तर आर्थिक प्रतिबन्ध, कूटनीतिक दबाब र विपक्षी समर्थनका बाबजुद मादुरो सत्ता टिकाइरहे।
भेनेजुएलाको सामाजिक-आर्थिक अवस्था किन बिग्रियो?
निकोलस मादुरोको शासनकाल (२०१३–२०२६) मा भेनेजुएलाको सामाजिक - आर्थिक अवस्था अत्यन्त बिग्रियो। यो अवस्था एकै कारणले होइन तर राजनीतिक निर्णय, आर्थिक नीति, भ्रष्टाचार, तेलमा निर्भरता र अन्तर्राष्ट्रिय दबाबकै कारण उत्पन्न भयो। यसको छोटो चर्चा तल गरिएको छ -
क. तेलमा अत्यधिक निर्भरता
भेनेजुएलाको बजेटको ९० प्रतिशतभन्दा बढी आय तेलमा निर्भर थियो तर विश्व बजारमा २०१४ पछि तेलको मूल्य घटेपछि सरकारको आय कम भयो र वैकल्पिक उद्योग विकास नगरी तेलमा निर्भर रहँदा संकट गहिरियो।
ख. मुद्रास्फीति र मुद्रा संकट
आर्थिक अवस्था बिग्रदै गएपछि मादुरो सरकारलेअत्यधिक मुद्रा छाप्ने नीति अपनायो। परिणमत २०१५–२०२५ को बिच मुद्रास्फीति अधिक भएपछि खाद्यान्न, औषधी र अत्यावश्यक वस्तुहरूको मूल्य दैनिक बढ्दै गईसामान्य नागरिकको जीवन स्तर नराम्रोसँग प्रभावित गर्यो।
ग. असफल सरकारी नीतिर दमनको सहारा
मादुरोले राज्यका उद्योग, व्यापार र कृषिमा अत्यधिक नियन्त्रण गरेकाले निजी उद्यम र विदेशी लगानी घट्यो तर भ्रष्टाचार र प्रशासनिक अक्षमता बढी वितरण प्रणाली ठप्प भयो। परिणामतः नागरिक निराशा ज्यादै बढ्यो।
घ. अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाब
निकोलस मादुरोको शासनकालमा भेनेजुएलालाई अमेरिका, युरोपेली संघ र अन्य देशहरूले व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाए। तेल उद्योग, सरकारी वित्त, बैंकिङ कारोबार, आयात–निर्यात, प्रविधि र सैन्य सहयोगमा रोकले देशको अर्थतन्त्रमा गहिरो संकट ल्यायो। यसका साथै मादुरो र उनका उच्च अधिकारीहरूलाई व्यक्तिगत प्रतिबन्ध लगाइयो, जसले विदेश यात्रा, सम्पत्ति र अन्तर्राष्ट्रिय लेनदेनमा बाधा पुर्यायो।
ङ. सामाजिक अवस्था
आर्थिक अवस्था बिगे्रकै कारण सामाजिक अवस्था पनि बिग्रन पुग्यो। देशमा खाद्यान्न र स्वास्थ्य संकट सिर्जना भई अधिकांश जनसंख्यालाई दैनिक आवश्यकताको खाद्यान्न पाउन कठिन भयो, औषधी, अस्पताल सेवाहरूको पनि अभाव भयो र यसको प्रत्यक्ष प्रभाव बाल बच्चा र वृद्धवृद्धामा पर्यो।
सामाजिक र आर्थिक अवस्था बिग्रँदै गएपछि भेनेजुएलाका करोडौं नागरिकहरू छिमेकी देशहरूमा पलायन भए। दक्ष जनशक्ति देशबाहिर गएपछि श्रमशक्तिमा यसको प्रत्यक्ष प्रभाव पर्यो। अनि परिवार विखण्डन र सामाजिक तनाव बढ्दै गयो। बेरोजगारी र आर्थिक संकटले चोरी, हिंसा, असुरक्षा रअपराध बढायो। कार्टेल र अपराध समूहहरू सशक्त भए, नागरिक जीवन असुरक्षित भयो।
प्रतिबन्ध असफल भएपछि सैन्य बलको प्रयोग
अमेरिकाले लामो समयसम्म भेनेजुएलामाथि प्रतिबन्धलाई मुख्य हतियार बनाएको थियो। तेललगायत विभिन्न क्षेत्रमा लगाइएको कडा प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र तहसनहस बनाउन त अमेरिका सफल भयो तर आफूले चाहेअनुसार सत्ता परिवर्तन गर्न भने सकेन।
यही असफलताले वासिङ्टनलाई अझ आक्रामक विकल्पतर्फ धकेलेको कारण ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा भेनेजुएलामाथि अमेरिकी नीति स्पष्ट रूपमा बदले। उनले मादुरोको टाउकोको मूल्य तोके, भेनेजुएलाका केही समूहलाई आतंकवादी घोषणा गरे र अन्ततः सन् २०२६ जनवरी ३को राति प्रत्यक्ष सैन्य हस्तक्षेप नै गरे।
अब अमेरिकाको आफ्नो स्वार्थका लागि सार्वभौम देशमाथि ‘बल प्रयोग नगर्ने’यो निर्णयले ल्याटिन अमेरिकाका अमेरिकाले मन नपराएका देशहरू त ग्रिनल्यान्डको स्वामित्व भएका डेनमार्क र नर्वेसमेत तनावमा परेको देखिँदै छ।
अमेरिकी तर्क र लुकेको रणनीति
अमेरिकाले आक्रमणका तीन मुख्य कारण अघि सारेको छ, जसमा लागुऔषध तस्करी, आप्रवासन संकट र क्षेत्रीय अस्थिरता भनिएका छन्। यी तीन कारणहरू आंशिक रूपमा सत्य भए पनि पूर्ण सत्य भने होइनन्।
भेनेजुएलासँग विश्वकै सबैभन्दा ठुलो तेल भण्डार छ। साथै चीन र रुसजस्ता प्रतिस्पर्धी शक्तिहरूको प्रभाव अमेरिकाको छेउमै बढ्नु वासिङ्टनका लागि रणनीतिक चिन्ताको विषय हो। त्यसैले यो आक्रमण केवल ‘लागुऔषध नियन्त्रण’ होइन, महाशक्तिहरूबिचको प्रतिस्पर्धा र प्रभाव विस्तारको संघर्षको अपरिहार्य हिस्सा पनि हो।
अमेरिकी राष्ट्रपति जेम्स मोनरो (सन् १८१७–१८२५) ले सन् १८२३ मा मोनरो सिद्धान्त प्रस्तुत गरेका थिए। यो सिद्धान्तअनुसार पश्चिमी गोलार्ध अमेरिकी प्रभुत्वभित्रको क्षेत्र हो र युरोपेली वा अन्य विदेशी शक्तिहरूले अमेरिकी प्रभुत्वलाई हस्तक्षेप गर्न सक्दैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक प्रतिबन्ध, सैन्य तयारी र मादुरोको पक्राउमार्फत भेनेजुएलामा यही सिद्धान्तको प्रयोग गरेको देखियो। ट्रम्पको यो कदमले अमेरिका र भेनेजुएलाबिचको द्वन्द्वलाई तीव्र मात्र बनाएन, अन्तर्राष्ट्रिय स्तरमा उनको आलोचना र क्षेत्रीय तनाव दुवै बढेको देखिन्छ।
अमेरिकाद्वाराअन्तर्राष्ट्रिय कानुनको उलङ्घन
संयुक्त राष्ट्रसंघको बडापत्रले सार्वभौम राष्ट्रमाथि सैन्य आक्रमणलाई कडा अस्वीकार गरेको छ। आत्मरक्षा वा सुरक्षा परिषद्को स्वीकृतिबिना गरिएको आक्रमणलाई धेरै कानुनविद्हरूले अवैध ठहर गरेका छन्।
यस्तो हस्तक्षेप सामान्य बन्दै गयो भने अन्तर्राष्ट्रिय कानुन कमजोर हुने र ‘जसको शक्ति, उसको नीति’ भन्ने खतरनाक विश्व व्यवस्था बलियो हुने जोखिम छ। आज भेनेजुएला, भोलि अर्को कमजोर राष्ट्र -यो प्रश्न अब सबैका लागि सान्दर्भिक बनेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा मादुरोको अपहरणमार्फत विश्वका अरू देशहरूमा समेत आफ्नो प्रभाव र रणनीतिक प्रभुत्व विस्तार गरी त्यहाँका प्राकृतिक स्रोतहरू कब्जामा लिने उद्देश्यराखेको देखिन्छ।
उदाहरणका लागि ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकालाई रणनीतिक रूपमा महत्त्वपूर्ण भन्दै यसको खानी तथा आर्कटिक क्षेत्रमा अमेरिकी प्रभुत्व सुनिश्चित गर्ने अभिव्यक्ति दिइरहेका छन्। त्यस्तै क्युबा र कोलम्बियामा उनी अमेरिकी नियन्त्रण गर्ने रणनीति लिएको देखिन्छ।
त्यसैगरी मेक्सिकोलाई पनि उनले सीमा सुरक्षा र लागुऔषध नियन्त्रणको कारणले विशेष ध्यान दिइरहेको, इरानलाई आफ्नो ‘अधिकतम दबाब’ नीतिको माध्यमबाट प्रतिबन्ध र सम्भावित सैनिक कारबाहीको चेतावनी दिइरहेका छन्।
निष्कर्षः शक्ति प्रयोग होइन समाधानको खोजी
भेनेजुएलामाथि अमेरिकी आक्रमण केवल दुई देशबिचको द्वन्द्व मात्र होइन, यो एक स्वतन्त्र देशको सार्वभौमिकतामाथि हस्तक्षेप, अन्तर्राष्ट्रिय कानुनको उलङ्घन, महाशक्तिको शक्तिको दुरुपयोगबाट विश्व व्यवस्थाको भविष्य नै खतरामा पर्न सक्ने र साना देशहरूको अस्थित्वमै संकट आउन सक्ने सम्भावना छ। त्यसैले अमेरिकाले बलको प्रयोग होइन, सबै सार्वभौम राष्ट्रहरूको स्वतन्त्रताको सम्मान गर्नुपर्छ।
विश्वभरका द्वन्द्व र युद्घको इतिहासले देखाएको छ कि शक्तिशाली राष्ट्रहरूले बन्दुकको प्रयोगले कमजोर देशहरूका सरकार त ढाल्न सक्लान् तर विश्वमा शान्ति र स्थायित्व ल्याउन सक्दैन। भेनेजुएलाको संकटको दीर्घकालीन समाधान सैन्य हस्तक्षेप होइन, समावेशी राजनीतिक संवाद, अन्तर्राष्ट्रिय सहकार्य र जनताको अधिकार सुनिश्चित गर्ने प्रक्रियाबाट मात्र सम्भव छ।
प्रकाशित: २८ पुस २०८२ १०:५० सोमबार

