बेथिति सुधारको आठ दशकको संघर्षले बल्ल २०८२ मा जेनजी आन्दोलन ल्याएको महसुस हँदैछ। समाजशास्त्री म्याक्स वेबरका अनुसार परम्परागत, चमत्कारी तथा कानुनी विवेकसंगत गरी तीन किसिमका शासक हुन्छन्, जसमा अकस्मात शासनमा आउने शासक चमत्कारी हुन्छ। जुन दैवी रूपमा आउने गर्छन्।
विगतमा देखिएका आतंकारी सरकार यसमा पर्छन। अहिले बंगला देशमा आएको शासन पनि अनायासै आएको चमत्कारी सरकार हो। नेपालको वर्तमान परिवर्तन चमत्कारी रूपमा अचानक भएको छ। फरक यति हो, परिवर्तन ल्याएका अन्य देशका शासक आफैं शासन गर्थे। आफू अनुसारको संरचना बनाउँथे भने नेपालको वर्तमान शक्तिले परिवर्तन गरी आफ्नो अधिकार अरूलाई दिएको छ, जुन ठुलो त्याग हो। यसैगरी काठमाडौंका मेयरलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले अरूलाई समर्थन दिएका हुन्। यो त्यागको अर्थ बुझ्न बाँकी छ।
विगतको परिवर्तनबाट सत्ता परिवर्तन हुन्थ्यो र भ्रष्ट मनोविज्ञान जस्ताको त्यस्तै रहन्थ्यो। पदमा पुगेपछि जे पनि गर्दा हुन्छ र पार्टीको सदस्यता अवैध कमाइको रक्षाकवच मानिन्थ्यो। व्यावसायिक लाभ एवं शक्तिमा पुग्ने मनोविज्ञान थियो। दलको नीति तथा सिद्धान्तले मुलुक निर्माणको भन्दा व्यक्तिगत लाभको ध्येय बढी देखिन्थ्यो। त्यही भएर ठुला दलसँग धनाढय घरानाले पद हासिल गर्थे। निर्वाचनमा जित्न पनि बढी धनले स्थान पाउँथ्यो। त्यही भएर दलीय भागबन्डा पाउन अत्यधिक धनको आवश्यकता पर्थ्याे। इमानदारीपूर्वक सिद्धान्तमा हिँड्ने नेता कहिले पनि उच्च ओहदामा आएनन् तर धन र बल भएकाहरू आश्चर्यजनकरुपमा सफलतामा पुगेका अनेकाैं दृष्टान्त छन्। जसले चाकरी र पैसाको संस्कृतिको बढावा दियो। जुन अब निरुत्साहित हुनुपर्छ। नागरिक मनोविज्ञान पनि हेर्दा कांग्रेसमा उही नागरिक सामेल हुन्थ्यो, जो हुने खाने छ। ऊ कांग्रेसमा आबद्ध हुनुको मनोविज्ञान केवल आफ्नो धन सरकारले खोस्न नपाओस्। निजी धनका रक्षार्थ जान्थ्यो भने कम्युनिस्टमा गरिबलाई धन तथा रोजगारको सुरक्षा मिल्छ भने मनोविज्ञानले प्रायः गरिबहरू सामेल हुन्थ्यो। मधेसी जस्ता क्षेत्रीय दलहरूमा क्षेत्रीय हिसाबले सुविधा पाउने आशाले सामेल भइन्थ्यो। कर्मचारी संगठन रक्षाकवच नै हो। विधार्थी संगठन जागिर पाउने माध्यम थियो तर हरेक दलका नेतृत्व सम्भ्रान्त धनी वर्गका नै हुन्थे, जसको मनोविज्ञान केवल पदमा रहेर आफ्नो निजी सुविधामा वृद्धि तथा रक्षा गर्ने हो। यही भएर ठुला दलका नेताहरूले जीवनको अन्तकालसम्म पद छोडेनन्। आफ्नै कार्यकर्तालाई पनि मनोवैज्ञानिक रूपले यति दमित बनाएर राखेका थिए कि कुनै नेताले नेतृत्व परिवर्तनको आवाज पनि उठाउने आँट गरेनन्।
वास्तवमा भन्ने हो भने राजाको अगाडि रैतीको जुन हैसियत हुन्थ्यो, त्यो भन्दा पनि कमजोर हैसियत दलीय कार्यकर्ताहरूको थियो। जुन दलीय लोकतन्त्र अत्यन्तै कमजोर रहेको भन्नुपर्छ। यसै कारणले अकुत सम्पत्ति आर्जन गर्ने, भ्रष्टाचार गर्ने नातावाद कृपावाद गर्ने र सामान्य नागरिकलाई कुनै महत्त्व नदिने बेथिति मौलायो। फलस्वरूप नयाँ पुस्ताको अस्तित्व नै संकटमा पर्यो। बाह्र वर्ष जनयुद्ध गरेर आएको पार्टीमा एउटै व्यक्ति ३० वर्षदेखि शासनमा छन् भने अन्य ठुला दलमा सक्षमताको उमेर हद पार गरे पनि नेतृत्व छोड्नुस् भनी कसैले भन्ने हैसियत पनि छैन। जस्तोसुकै आरोप लागेको व्यक्तिलाई पनि नीतिनियम मिचेर पदमा बहाल गर्दा पनि कुनै कार्यकर्ता विरोधसम्म गरेको थिएनन्। जति सम्पत्ति बटुले पनि कसैले जाँच गर्ने आँट गर्दैनथे।
जेनजी विद्रोहले दलहरूलाई आफूभित्र लोकतन्त्र ल्याउन बाध्य बनाएको छ। दलबाहिर रहेका निष्पक्ष एवं इमानदार व्यक्तिहरूको पनि महत्त्व मुलुकमा छ भन्ने पुष्टि गरेको छ। ठुलो व्यक्ति पनि दण्डित हुन्छ भने मनोविज्ञान पलाएको छ। यसले राजनीतिक लाभ लिने मानसिकता घट्छ भने दलीय दम्भ पनि निरुत्साहित हुन्छ। सत्ता परिवर्तन मात्र होइन, जनधनमा भौतिक आक्रमणको त्रासले कुप्रवृत्तिमा सुधार हुन्छ, जुन ठुलो उपलब्धि हो। खर्बौं कमाएकाहरूलाई बस्न घरसम्म छैन। उनीहरू विदेश पनि जान सक्ने अवस्था छैन भने आफ्नै देशमा खुलेर हिँड्ने बोल्ने अवस्थामा छैन। यो कठोर जेलभन्दा पनि कठोर सजाय हो। अहिले केही साना दलका नेतृत्व आफैं पद छोडेका छन् भने ठुला दलहरूमा पद छोड्न बाध्य पारिँदैछ। नेतृत्व परिवर्तन गर्न आवाज उठाउन सक्ने हैसियतको निर्माण हुनु नै देशका लागि ठुलो उपलब्धि हो।
कार्यकारी प्रधानमन्त्रीको चुनावको माग राखी बलिदान दियो तर वर्तमान सरकारले कार्यकारी प्रधानमन्त्रीको चुनाव कार्य क्षेत्रभित्र पर्दैन भनी सम्बोधनमार्फत स्पष्ट पारेपछि बालकहरूको बलिदान छायामा पर्यो भन्दै छन् तर त्यसो होइन, जनता मानसिक रूपले सचेत भएका छन्।
भदौ २३ र २४ को भौतिक आक्रमण जस्तो आन्दोलन एउटा नजिरजस्तो बनेको छ। आम नागरिकले पनि पुराना नेताहरूप्रति घृणा गर्न थालेका छन्। यसको असर छिमेकी भारतमा परेको अवस्था छ। यस्तो मनोवैज्ञानिक परिवर्तन उपलब्धि हो।
आन्दोलनले त्याग र बलिदानको मनोविज्ञानको सन्देश दिएको छ। जुन आगामी दिनका लागि पनि ठुलो उपलब्धि हो। बालबालिकाका लागि चाहना पूर्तिलाई अभिभावकले त्याग गर्ने गर्छन्। जुन बालबालिकाको अधिकार हो भने अभिभावकको कर्तव्य हो। अभिभावकहरूले त्यागको संस्कार नदेखाएपछि जेनजी पुस्ताको धैर्यको बाँध टुट्यो र आन्दोलन भई २४ घण्टाभित्रमा सरकारको परिवर्तन मात्र गरेन, दलरहित सरकार बनाए। यसलाई पार्टीका नयाँ पुस्ताले आत्मसात गर्दै नेतृत्व परिवर्तनको माग राखे पनि इन्कार गर्नुबाट पार्टीको विभाजन एवं पार्टी छोड्ने र अझै अन्योल सिर्जना हुने खतरा छ। यद्यपि एकाध नेतृत्वबाहेक अनेकौं नेतृत्व आफूलाई पदबाट हटाउने संकेत गरिसकेका छैन, जुन दलभित्रकै अलोकतान्त्रिक संस्कार हो। यत्रो नोक्सानीका बाबजुद पनि पदमै रही रहने बालहठले निकास दिँदैन। बरु आगामी निर्वाचनमा पनि जटिलता थपिन सक्छ। आम जनतामा पनि नयाँ पुस्तालाई नै चयन गर्ने सोच बनाएका छन्। जुन ठुलो उपलब्धि हो। पुरानाहरू आफैं नहटे जनताले नै हटाउने छ।
जेनजी विद्रोहले सबैको अस्तित्वलाई स्विकार्दै त्यागको संस्कार देखाएका छन्, जसबाट पुराना पुस्ताले पनि पाठ सिक्न जरुरी छ। १३ वर्षदेखि २८ वर्षको उमेर समूहभित्रको पुस्ताले बलिदान दिई प्राप्त गरेको सफलताको लाभ लिने कुनै पनि तहमा जेनजी पुस्ताको सहभागिता छैन। शासनसत्ता जितेर पनि अरूलाई दिनु कमजोर त्याग होइन। संविधानलाई समाप्त गरी अन्तरिम शासन विधानसम्म बनाएर आफ्नो चाहनाअनुसार अगाडि बढ्न सक्थ्यो तर सफलतापछि पनि पुरानै शक्तिले बनाएको संविधान मात्र होइन, राष्ट्रियसभालाई पनि र राष्ट्रपतिलाई पनि कायम राख्दै अन्य पुस्तालाई नै शासन दिनु ठुलो त्याग हो। मुख्य अजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो र त्यस किसिमको प्रधानमन्त्रीको चयन गर्ने वर्तमान संविधानको व्यवस्था छैन। त्यही पनि आन्दोलनकारीले पुरानै संविधानलाई संशोधन नगरी वर्तमान सरकारले उक्त माग पूरा गर्छन् भनी विश्वास गरेका छन् तर वर्तमान सरकारले इन्कार गरेको छ, जुन उचित होइन।
फागुन २१ मा हुन लागेको चुनावमा त्यही पुराना नेता तथा दलहरू निर्वाचन लड्ने र बहुमत ल्याउने सम्भावना देख्दादेख्दै पनि नयाँ पुस्ताले फागुन २१ को निर्वाचनबाट पछि हटेको देखिँदैन। जुन आन्दोलनकारीका लागि ठुलो जोखिम पनि हो। यतिका जोखिम देख्दादेख्दै पनि मुलुकले निकास पाओस् भने चाहना व्यक्त गरेका छन्, जुन ठुलो देशभक्तिको भावना हो।
सिंहदरबार तथा सर्वोच्च अदालतजस्ता निकाय जलाइएका छन्, जसको दोष जेनजी पुस्तालाई नै लगाइए पनि २५ गते जेनजी उमेर समूहभित्रका नै युवाहरू सर्वोच्च अदालत तथा सिंहदरबार जलेकोबाट आफ्नो भविष्य असुरक्षित देख्दै रुँदै बिहानदेखि खाना नखाई सर्वोच्चका आगो निभाई फाइल जोगाउने कानुनका विद्यार्थीहरू प्रयास गरेको पनि देखिन्छ।
आन्दोलनकारीलाई पक्राउ गर्नु अन्यायपूर्ण छ। दमनकारीलाई कानुनी दायरामा ल्याउन जाँचबुझ आयोग गठन गर्नु पुरानै परम्परा हो, जुन झारो टराइ मात्र हो। यद्यपि आन्दोलनकारीले धैर्य राखी भरोसा गरेका छन्। विदेशमा मन्त्रीहरू पदबाट हट्ने बितिकै आफ्नो पुरानै पेसा–रोजगारमा व्यस्त हुन्छन् तर यहाँ सर्वहारा नेताहरू पनि मोजमस्तीको विलासी जीवन बिताउँछन्।
अमेरिकाका राष्ट्रपति बाराक ओबामा दुई पटक राष्ट्रपति भए पनि उनको जीवनशैली सामान्य छ। भारतमा पनि अटल विहारी बाचपेयी, लालकृष्ण आडवानी, नरेन्द्र मोदीलगायतको जीवनशैलीसमेतबाट राजनीतिक पद सम्पत्ति कमाउने थलो होइन भने पुष्टि हुन्छ। राजनीतिक पद वास्तवमा जनसेवाको माध्यम हो भन्ने कुरा बुझ्न सन्देश दिएको छ।
वास्तवमा राजनीति सन्तले गर्नुपर्छ, सन्त भनेको जसको व्यक्तिगत स्वार्थ छैन। जुनसुकै सरकार आए पनि भ्रष्टाचार, नातावाद, कृपावाद, राजनीतिक भागबन्डाजस्ता कुसंस्कृति नहटाएसम्म र त्यागको भावना नआएसम्म कुनै लाभ हुन सक्दैन। कष्टपूर्ण रूपले जनसेवा गर्ने मनोभावना छ भने मात्र राजनीतिमा होमिनुपर्छ भने मानसिकताको विकास भएको छ।
राजकीय भूमिकाका लागि दलविहीन व्यक्तिको पनि खाँचोको आवश्यकता देखाएको छ। वर्गीय, क्षेत्रीय सोचलाई पनि निरुत्साहित पारेको छ । संविधान खारेज नगरी कमजोरी भयो। कतिपयको बुझाइ यस्तो छ, जुन आवश्यक छैन किनभने संविधान नै सबैथोक होइन। संविधानमा व्यवस्था नभए पनि जनताले अोली सरकार फाल्यो, संसद् विघटन गर्यो। जनताभन्दा माथि संविधान हुँदैन। वर्तमान संविधान जनमैत्री मात्र छैन, आम जनताको खुन पसिनाले बनेको छ। संविधानको संघीय गणतन्त्रात्मक व्यवस्था सबै जनताको चाहना हो। संविधान गतिशील पनि छ, जसले संसोधनबाट गर्न सकिन्छ।
बेलायतमा बिनासंविधानकै मुलुक चलिरहेको छ भने भारतमा १९५० मा बनेको संविधान एक सय २२ पटक संशोधन भई कायम छ। जापानको संविधान सेनाले बनाएको थियो तर संसद्ले अनुमोदन गरी राख्यो। अहिले पनि लागु छ। अमेरिकाको संविधान २७ पटक संशोधन भई हालसम्म कायम छ।
आन्दोलनको दिनसम्म पुराना दलको अघिपछि गरी विभिन्न दलीय संगठनको सदस्य भई लाभ लिएकाहरू अहिले जेनजीको ठुलो हिमायती रहेको देखाएका मात्र छैनन्, सत्ताको लाभ लिन पनि थालेका छन्। जुन ठुलो चुनौती हो। कोही आफूलाई वर्तमान शक्तिको पक्षधर दाबी गर्दा उसको विगत एक पटक हेर्ने पर्छ। होइन भने पाएको उपलब्धि ओझेलमा पर्न सक्छ।
प्रकाशित: २९ आश्विन २०८२ ०९:५३ बुधबार

