२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
विचार

मानव स्वास्थ्यमा प्लास्टिक जोखिम

तरकारी किन्दा प्रयोग गरिने छरितो झोला, पानीका बोतल, टेलिफोन पार्टपुर्जा, कारदेखि हवाई जहाजसम्मको आकृति बनाउन प्रयोग गरिने प्लास्टिकविनाको जीवन कल्पना बाहिरको विषय बनेको छ। पहिलो पटक सन् १९३० तिर तेलको कुवामा पाइने खनिज तत्त्वलाई ‘पोलिमिरेज रियाक्सन’ मार्फत प्लास्टिक बनाउने विधि स्थापित भयो।

सरल रासायनिक एकाइलाई फूलको माला बुनेझैं जोडेर लामो आकृति बनाउने विधिलाई पोलिमिरेज रियाक्सन भनिन्छ। यो विधि आविष्कार भएपछिका दिनमा प्लास्टिकको उत्पादन सालिन्दा बढ्दो छ। एकै परिवारका भए पनि झोला, कार, टेलिभिजन बनाउन प्रयोग हुने प्लास्टिकको गुण पृथक हुन्छ।

रासायनिक परिवर्तनका लागि प्रयोग हुने रसायनको मात्रा सन्तुलन मिलाउन सक्दा सिमल भूवा जस्तो नरमदेखि फलामभन्दा मजबुत प्लास्टिकसम्म बनाइन्छ। सस्तो अनि छोटो समयमा ठुलो परिमाणमा उत्पादन गर्न सकिने बहुउपयोगी गुणका कारण प्लास्टिकको प्रयोग विश्वव्यापी बन्न पुगेको हो। केही वर्षको प्रयोगपछि अन्य तत्त्वझैं प्लास्टिकका चिजबिज बिसर्जनयोग्य हुन पुग्छन्।

काठ, कागज तथा धातुबाट बनेका सामग्री थोत्रा भएपछि केही समयको वातावरणीय प्रताप तथा सूक्ष्माणु सिर्जित रासायनिक प्रक्रियाले गर्दा नासिन्छन्, माटोमा मिल्छन्। प्लास्टिकका समान भने प्रकृतिको ताप र पर्यावरणीय जीवाणुको प्रतापले छुन सक्दैन, सदियौंसम्म दुरुस्त रहन्छन्। बरु प्लास्टिकका वर्तन नासिनुको बदला हावापानी र घामका कारण मसिना खण्डमा चोइटिन्छन्, समयको अन्तरालमा धुलो बन्छन्।

पाँच मिलिमिटरभन्दा साना प्लास्टिकका कणहरूलाई माइक्रोप्लास्टिक भनिन्छ। अहिले विश्वमा वार्षिक ५० करोड टन हाराहारी प्लास्टिक उत्पादन भइरहेको छ। एक प्रक्षेपणले अर्को तीन दशकपछि प्लास्टिकको माग दोब्बरले बढ्ने जानकारी दिएको छ। यसरी उच्च परिमाणमा उत्पादन हुने प्लास्टिक अविनाशी देखियो।

प्लास्टिकका चिजबिजलाई गालेर फेरि अर्को वस्तु बनाउन नसकिने होइन, तर पुन: प्रशोधन गर्नभन्दा प्लास्टिकको नयाँ उत्पादन खरिद गर्नु नै किफायती हुने ठानिन्छ। किनभने पुन: प्रशोधन कार्य सजिलो छैन। नयाँ लुगा कम दाममा पाइन्छ भने पुरानो कपडालाई किन बढी पैसा तिर्ने?

काठजस्तै प्लास्टिकलाई पनि गलाउन सकिने भए पक्कै असल हुन्थ्यो। रुखलाई जस्तै प्लास्टिकलाई पनि सूक्ष्माणुको मदतले पोषणतत्त्वमा रूपान्तरण गरी माटोमा मिलाउन सके पर्यावरणीय चुनौतीका अतिरिक्त कृषिक्षेत्रलाई पनि राहत पुग्ने भएकाले त्यस क्षेत्रमा अनुसन्धान भए।

त्यसै क्रममा सन् २०१६ मा जापानको क्योटो इन्स्टिच्युट अफ टेक्नोलोजीको अनुसन्धान समूहले प्लास्टिक खानसक्ने नवीन ब्याक्टेरिया विकास गरे। ‘इडियोनेला सकायासिस’ नामको ब्याक्टेरियाले प्लास्टिकको एक प्रजातिलाई टुक्र्याउन सक्ने अन्वेषण जर्नल ‘साइन्स’मा छापियो।

अन्वेषणात्मक दृष्टिले ‘टेस्टट्युब’मा सफल देखिएको जीवाणुले विश्वभर छरिएका प्लास्टिक मास्न सक्ला त? अनि यो नवीन ब्याक्टेरियाले मानवीय स्वास्थ्यमा थप कुनै चुनौती ल्याउला कि नल्याउला? भन्ने प्रश्नको उत्तर पनि भविष्यकै गर्भमा छ।

मानव निर्मित ब्याक्टेरियाले प्लास्टिकलाई गलाउन नसक्ने भएकाले प्लास्टिकले सिर्जना गरेको स्वास्थ्य जटिलता सामना गर्नु पनि शताब्दीको नवीन समस्या देख्छन्– वैज्ञानिकहरू।

प्लास्टिकको विश्वव्यापी प्रयोगका कारण माइक्रोप्लास्टिकको प्रभाव क्षेत्र पनि सर्वव्यापी बन्यो। सगरमाथाको टाकुरादेखि अन्टार्कटिकाको अविचलित भूभागसम्मलाई माइक्रोप्लास्टिकले छाडेको छैन। समुद्रमा फालिएका फोहरका कारण जलचरका शरीरमा पनि माइक्रोप्लास्टिकको अपत्यारिलो घनत्व देखिएको छ। त्यस्ता समुद्री जलचरको सेवनपछि मानिसको शरीरमा पनि माइक्रोप्लास्टिक पुग्ने नै भयो।

आँखाले देख्न नसक्ने माइक्रोप्लास्टिक हावा तथा पानीमा सजिलै मिसिने भएकाले खाना तथा श्वासप्रस्वासमार्फत शरीर भित्र पस्छन्। सन् २०२४ को अगस्ट महिनामा जर्नल अफ ग्लोबल हेल्थमा प्रकाशित आलेखले मानवको रगत तथा दुधमा मात्र माइक्रोप्लास्टिक्स भेटिएन, बरु कलेजो, मिर्गौला अनि मस्तिष्कमा समेत यो सूक्ष्म वस्तु गाडिएर रहेको पाइयो।

त्यस्तै गत वर्ष चिनियाँ वैज्ञानिकले मानिसको अस्थिपञ्जर प्रणालीमा समेत माइक्रोप्लास्टिक भेटिएको कुरा जर्नल ‘द इनोभेसन मेडिसिन’मा प्रकाशन गरे। हाम्रा पुर्खाको शरीरले नदेखेको नवीन रासायनिक तत्त्व हाम्रा ‘महत्त्वपूर्ण अंगहरू’मा स्थायी रूपले बास बस्दा हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पर्ला त? निश्चय नै त्यसको पनि जवाफ खोजिने छ।

गत वर्ष अप्रिलमा ‘इन्भाइरोन्मेन्टल साइन्स एन्ड टेक्नोलोजी’मा प्रकाशित एक अध्ययनले पछिल्लो ३० वर्षको अन्तरालमा मानिसको शरीरमा माइक्रोप्लास्टिकको घनत्व सालाखालामा ६ गुणाले बढेको पाइयो। उक्त अनुसन्धानले इन्डोनेसियाका मानिसले प्रत्येक महिना खाना तथा श्वासमार्फत झन्डै १५ ग्राम माइक्रोप्लास्टिक सेवन गर्ने गरेको पाइयो। तुलनात्मक अध्ययन गर्दा काठमाडौंका बासिन्दाको अवस्था जकार्ताका रैथानेभन्दा फरक ठान्ने अवस्था रहेन। काठमाडौंको हावा र स्वच्छताको मूल्यांकन गर्दा नेपालीले सेवन गर्ने माइक्रोप्लास्टिकको परिणाम उच्च रहेको दाबी गर्न थप अध्ययनको आवश्यकता रहेन।

मुख्यत जताततै फालिने प्लास्टिकका सामग्रीबाट माइक्रोप्लास्टिक बन्ने भएकाले प्लास्टिकबाट बनेका झोला, पानीका बोतलको नियन्त्रणले यो नवीन समस्यालाई नियन्त्रण गर्न सकिन्छ। प्लास्टिकमा प्याक भएर आउने खाना र पेय पदार्थ कति घातक छ भन्ने प्रश्नको उत्तर दिने प्रयास गरिएको छ।

संयुक्त राज्य सन् २०२४ मा नेचर मेडिसिनमा प्रकाशित एक अध्ययनले रगतमा माइक्रोप्लास्टिकको उपस्थितिले रक्त सञ्चार प्रणालीलाई साँघुरो बनाएर मुटुरोगको संभाव्यता बढाउने देखियो। त्यस्तै गत महिना मात्र युनिभर्सिटी अफ सिड्नीका अन्वेषणकर्ताहरूले माइक्रोप्लास्टिकले मानिसलाई मुटुको समस्या मात्र होइन, विभिन्न चरित्रका क्यान्सरको सम्भाव्यता समेत बढाउने निचोड जर्नल ‘इन्भाइरोन्मेन्टल पोलुसन’मा प्रकाशित गरे।

त्यस्तै जलचरमा गरिएको एक अध्ययनले मस्तिष्कमा माइक्रोप्लास्टिकको उपस्थितिले दिमागी सन्तुलनलाई समेत असर पार्ने देखियो। एक अर्को अध्ययनले सूक्ष्म प्लास्टिकको सेवनले पाचन ब्याक्टेरियाको बनोटलाई प्रभावित पार्ने देख्यो। गट माइक्रोबायोम भनेर चिनिने पाचन ब्याक्टेरियाको सन्तुलन बिग्रँदा प्रतिरक्षा प्रणाली प्रभावित हुने भएकाले बाह्य संक्रमणले व्यक्तिलाई थल्याउने संभाव्यता बढ्छ।

प्लास्टिकका पातला झोला, प्याकेजिङ सामग्री अनि पानीका बोतल माइक्रोप्लास्टिकको प्रारम्भिक स्रोत बन्न पुगेको देखियो। पटके प्लास्टिक झोलाको बदला दिगो जुटको झोला प्रयोग गर्न सके स्वस्थ जीवनका अतिरिक्त सनपाट उद्योगलाई प्रवर्धन गर्न सकिन्थ्यो।

प्लास्टिक कप प्लेटको बदला टपरी अनि माटाका ससाना घडा प्रयोग गर्न सके दोहरो फाइदा पुग्थ्यो। माइक्रोप्लास्टिकको समस्या भयावह भए महानगरीय क्षेत्रले प्लास्टिकका सामग्री प्रयोगको संहिता ल्याउन आवश्यक देखियो।

प्लास्टिकको प्रयोग भयानक स्वास्थ्य समस्याको रूपमा देखा परेकाले त्यसको न्यायोचित व्यवस्थापनमा सबैले ध्यान दिन आवश्यक देखियो।

-लेखक पोखरेल संयुक्त राज्य अमेरिकास्थित युरोफिन्स इन्फिनिटी ल्याबोरेटरी ग्रुपका क्षेत्रीय निर्देशक हुन्।

प्रकाशित: ३ भाद्र २०८२ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App