१२ पुस २०८२ शनिबार
image/svg+xml
विचार

प्रश्नभन्दा पर

दलको नेतृत्व तहमा रहनेलाई दोस्रो तेस्रो तहका नेताहरूले कुनै पनि किसिमको प्रश्न गर्न नपाउने अभ्यास राजनीतिमा हाबी हुँदै छ। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीमाथि प्रश्न गर्दा दलको दोस्रो वरियातका नेता पाखा लगाइए। नेतृत्व फेरबदल गर्ने कुरामा खासखुस भयो कि पार्टीबाट किनारा लगाउने अभियान एमालेमा तीव्र छ। ओलीविनाको एमालेको कल्पना निरर्थक हो भन्नेहरूको जमात एमालेमा ठूलै छ भने विकल्प देख्नेहरू विनाकारण किनारामा पारिएका छन्।

करिब ३० वर्षभन्दा धेरै नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि प्रश्न गर्दा दोस्रो वरियताका नेता जनार्दन शर्मा प्रभाकर दलबाट किनारातिर धकेलिँदैछन्। प्रचण्डले पार्टी छोडेर जानु भनेका समाचार बाहिरिएका छन्।

समाजवादीमा पनि माधव नेपाल पतञ्जली काण्डमा मुछिएपछि सोही पार्टीकी युवा नेतृ रामकुमारी झाक्रीले प्रश्न उठाइन्, अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रश्न गरेपछि उनलाई पनि पाखा लगाउन खोजियो। प्रायः कम्युनिष्टहरूमा चाहिँ नेतृत्वले अरूको विचार र भावनालाई बेवास्ता हुन्छ। समाजवादीमा माधव नेपाल र पार्टीका वरिष्ठ नेता झलनाथ खनालबिचको खटपट सतहमै देखिएको छ।

विप्लवको दलमा पनि नेता खडगबहादुर विश्वकर्मा प्रकाण्डले प्रश्न गर्दा खटपट भएको थियो। एकअर्काको विचार र दृष्टिकोणलाई स्वीकार गर्न नसक्दा कम्युनिष्टहरू चोइटिँदै गएका छन्। नेतृत्वमाथि प्रश्न गर्दा किनारामा पारिने नेतृत्वको ‘एस म्यान’ हुँदा अवसर पनि पाइने र राजनीतिमा पनि फेरबदल गर्न नपर्ने अवस्था प्रायः सबै दलमा छ। अलिक धेरै कम्युनिष्टहरू र अलिक कम कांग्रेसमा होला तर सबैमा छ।

कांग्रेसमा पनि केही गरौं भन्ने हुटहुटी भएका जनताले आशा भरोसा गरेका जनआशा बोकेका दोस्रो वरियताका नेता छन् तर ती नेताले नेतृत्व फेरबदल गर्ने हिम्मत देखाउन सक्दैनन्। जसका कारण नेतृत्वले गरेका निर्णयहरूलाई समर्थन गरिरहेको अवस्था छ। भर्खरै उदाएका पार्टीमा पनि नेतृत्वप्रति प्रश्न गर्ने स्वतन्त्रता व्यवहारमा शून्य नै छ।

करिब १५ वर्ष एमाले नेतृत्वमा रहेका माधव नेपालले महाधिवेशनबाट ओलीलाई नेतृत्व सुम्पिएर आफू वरिष्ठ नेताको हैसियतमा बसे तर ओलीको हैकमवाद खेप्न मुस्किल भएपछि समाजवादी पार्टी बनाएर एमालेबाट छुट्टिए। सिपी मैनालीहरू त माले पार्टी बनाएर पहिला नै एमालेबाट छुट्टिएका थिए। माले एमाले समाजवादी भएर पार्टी टुक्रियो। नेतृत्वमाथि प्रश्न गर्दा पार्टी त्यागेर अर्कैतिर चुलो जोड्नुपर्ने वा पार्टीभित्रै अपमानित र निरीह भएर बस्नुपर्ने अवस्था पार्टीका लागि घातक अभ्यास बन्दैछ। एमालेमा विद्या भण्डारीको आगमनलाई निषेध नै गरिएको छ। विद्या भण्डारीको विषयमा च्यासलमा छलफल बहस गर्नै रोक लगाइएको अवस्था छ। यसबाट पनि प्रष्ट हुन्छ - नेतृत्वमाथि प्रश्न स्वीकार्य छैन।

एमालेको एउटा पंक्तिको बुझाइ के छ भने नेतृत्वबारे प्रश्न गर्दा घनश्याम भुषाल डा. भीम रावलको जस्तै नियति खेप्नुपर्ने र आफ्नो शरीरमा एमालेको रगत बगाउँदै पूर्व बन्नुपर्ने भएपछि एमालेका दोस्रो तहका नेताहरूले नेतृत्वप्रति प्रश्न गर्ने हिम्मत गर्दैनन्। समयानुसारको प्रगतिशीलतामा आफूलाई ढाल्न सकिएन भने त्यो विचार र दृष्टिकोणले सयौं वर्षसम्म पनि धार परिवर्तन गर्न सक्दैन। कम्युनिष्टहरूले आफूभन्दा बाहेकको नेतृत्व स्वीकार गर्न सक्दैनन् भन्ने अभ्यास सहतमै देखिँदैछ। 

दुःख गरेर पार्टीकै लागि आजीवन कारवास बसेका होलान् तर त्यहींभित्र पनि लोकतन्त्रको अभ्यास गर्न सकिन्छ। नेतृत्व फेरबदल गरेर नयाँ सिराबाट राजनीतिक मार्ग परिवर्तन गरेर जनजीविकाका सवाललाई सम्बोधन गर्न सकिन्छ। जुनसुकै संगठनमा नेतृत्वले अरूको विचार, दृष्टिकोण सुनेर र भावना बुझेर कदर गर्ने अभ्यास चाहिन्छ। राजनीतिक दलका नेतृत्वहरूले पार्टीभित्रको क्षमता र दूरदर्शितालाई बेवास्ता गर्नु पार्टीका लागि राम्रो मानिदैन। नीति नियम सबैभन्दा धेरै नेतृत्वले ख्याल गर्नुपर्छ। नेतृत्व भनेको सबैको विचार र भावनाको सम्मान गर्ने र आफ्नो संगठनभित्रको क्षमता, योग्यता र दूरदर्शितालाई चिन्ने पनि हो। पार्टी वा अन्य संघ संगठनमा नेतृत्वले आफूभन्दा बाहेकको क्षमता चाहिँ अरू सँगै छ त्यसको सदुपयोग गर्नुपर्छ। बाबुआमा झगडा गर्ने, मादक पदार्थ प्रयोग गर्ने, सुर्तीजन्य पदार्थ सेवन गर्ने भए भने त्यो गुण छोराछोरीमा पनि अवश्य देखिन्छ र छोराछोरी पनि झगडालु कुरीतितिर लाग्ने उच्च जोखिम हुन्छ त्यसकारण बाबुआमा नै नमुना बन्नुपर्छ भन्ने कुरा समाजबाट सिक्न सकिन्छ।

दलमा पनि त्यही हो, नेतृत्व राम्रो भए, उसले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभ्यास गरे, दलभित्र आफूभन्दा फरक नेताको भावनालाई कदर गरे र पार्टीमा व्यक्तिको हैकमबाट भन्दा पनि थिती वा विधिले चल्ने अभ्यास भयो भने आगामी नेतृत्वले पनि त्यही अभ्यासलाई जीवित बनाइराख्छ। हैकमवाद र आदेशले पार्टीमा ठाउँ नै पाउँदैन।

यस्ता अभ्यासले पार्टीलाई मजबुत बनाउनेभन्दा पनि तीव्र धुव्रीकरणतिर लैजान्छ र पार्टी नै छिन्नभिन्न भएर एउटा व्यक्तिमा सीमित हुन पुग्छ। अरूलाई सुधार्नु छ वा सहीमार्गमा ल्याउनु छ भने आफू सही मार्गमा हिँड्ने अभ्यास गर्नुपर्छ। आफैंले सङ्लो बनाउन सकियो भने बल्ल अरूभित्र देखिएको हिलो पखाल्न सकिन्छ।

आफूलाई प्रश्न गर्दा आफ्नो विरोधी देख्न थालियो भने त्यहाँ निरकुंशता हाबी हुन सक्छ। पार्टीलाई तीव्र धुव्रीकरणबाट जोगाउन सकिन्न। घरभित्रको झगडा छिमेकीलाई थाहा भयो भने छिमेकीले आफूलाई गर्ने व्यवहार फरक पर्छ। त्यही भएर झगडा पनि छिमेकीले थाहा नहुने गरी गर्नु भनिन्छ। राजनीतिक दलहरूमा त पार्टीभित्रै एकले अर्कालाई खुइल्याउने अभ्यास तीव्र छ। नेतृत्वमाथि प्रश्न गर्न थालियो भने किनारामा परिहालिन्छ प्रश्न नगरौं भन्ने अभ्यास बाक्लिन्छ। एमालेमा केपी ओलीले लोकतान्त्रिक अभ्यासलाई किन नमान्ने? माओवादीमा प्रचण्डले आफू बाहेकका नेताको कुरा विचार किन अस्वीकार गर्ने? कांग्रेसमा शेरबहादुर देउवाले गगन थापा र विश्व प्रकाशहरूको विचार किन बेवास्ता गर्ने? समाजवादीमा माधवले झाँक्रीहरूको प्रश्न किन नसुन्ने? कैयौँ वर्षदेखि गरिएका अभ्यासले अगाडि बढ्न सकिएको छैन। विकास र समृद्धिको आधार तयार गर्न सकिएको छैन। जहिले पनि सत्ता र पदको लागि मात्रै समय बर्बाद गर्नुपर्ने अवस्था बनिरहेको छ।

धेरैजसो समय आफ्नै पार्टीभित्रको आलोचना ठेगान लगाउन समय खर्चिनुपर्ने भएपछि बाहिरबाट आउने आलोचना थाती रहने र त्यसलाई पनि व्यवस्थापन गर्न समय खर्चिर्नै पर्ने भएपछि देश र जनताको विकास समृद्धिका लागि कहिले काम गर्ने राजनीतिक दल र तीनका नेतृत्वले यो सवालमा गम्भीर समीक्षा गर्ने बेला आएको छ। जनजीविकाका सवाल एकातिर दल र नेतृत्वको सवाल अर्कैतिर हुँदै गएपछि यो मुलुकमा जुनसुकै तन्त्र आए पनि जनताको अवस्थामा परिवर्तन नहुने कुरा पक्का छ। नेतृत्व पक्षले गम्भीर बन्नुपर्छ। दशकौंदेखि आफ्नै नेतृत्वमा तात्त्विक परिवर्तन र जनस्तरमा प्रभावमुखी फेरबदल ल्याउन सकिएको छैन भने आफूभन्दा फरक दृष्टिकोण र विचारलाई स्पेस दिने हिम्मत पनि देखाउन सक्नुपर्छ। अनि मात्रै सच्चा देशभक्त जनभक्त नेता बन्न सकिन्छ। परिवर्तन तलबाट माथि मात्रै होइन माथिबाट तल पनि हुन्छ।  

प्रकाशित: ३० श्रावण २०८२ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App