९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
विचार

अब बन्छ नेपाल

छोरीलाई एयरपोर्ट पुर्‍याएर एकछिन अफिसमा शून्यतालाई अँगालेर बसेँ तर बारम्बार एयरपोर्टको बाहिर जाने भिड सम्झिँदै थिएँ। यसपालिको भिड अलि फरक थियो - निराशाभन्दा आशाको भाव बढी देखिन्थ्यो। उनीहरू आफ्नो परिवार अनि साथीभाइलाई भनिरहेका थिए, ‘अब उताको व्यवहार मिलाएर हामी देशमै बस्ने हो, हामी फर्किन्छौं।’

यी शब्द सुन्दा एकछिन रमाइलो पनि लाग्यो। मलाई पनि देशप्रति आशा अनि आउने नेतृत्वप्रति विश्वास जाग्यो।

मनमा धेरै कुरा खेले। भदौ २३ र २४ को जेन-जी आन्दोलन, विगतका भ्रष्टाचारका पराकाष्ठा, दैनिक हजारौं युवाको खाडी प्रस्थान, केही स्वस्थ शारीरिक रूपमा नफर्किने, कोही बाकसमा आउने, केही छोरीहरू सग्लो आफ्नो देश फर्किन नसक्ने, केही दुई जिउ भएर फर्किने, यस्ता कथाव्यथा विगतमा धेरै भए। त्यसैले मेरो मनमा सकारात्मक सोचभन्दा पनि नकारात्मक सोच बढी आइरहेको छ। यी सोचहरूलाई बाँधेर शून्यतामा बसेँ, किनकि हामीले सकेको कर्तव्य समाजलाई बाँच्न सिकाउनुमा साथै जिम्मेवारी पनि सम्झाउनु हो।

फागुन २१ नजिकिँदै गर्दा हाम्रो देश फेरि एकपटक निर्णायक मोडमा उभिएको छ। अब चुनाव आउन केही दिन मात्र बाँकी छ, १२ दिन मात्र। देशको हरेक कुनामा गहिरो बेचैनी मात्र फैलिएको छ। सामाजिक सञ्जालभरि पोस्टरहरू टन्न छन्। हरेक गाउँघर, चौतारी, सहर सबैतिर शंका–उपशंकाले भरिएका छन्। आक्रोश, व्यंग्य र आशाको मिश्रित आवाज पनि छ। नेपालीले विगतमा धेरै राजनीतिक मोड देखिसकेका छन्, व्यवस्था बदलिँदो संविधान आयो, चुनाव भए, सरकार फेरिए तर आमनागरिकको जीवनमा अपेक्षित परिवर्तन अझै अपूरो छ भन्ने अनुभूति व्यापक छ। यही अनुभूतिले यो फागुन २१ को निर्वाचन सामान्यभन्दा फरक छ, जहाँ मतदाता केवल उम्मेदवार छानिरहेका छैनन्, आफ्नो भविष्यको संवाद गरिरहेका छन्।

कहिलेकाहीं म आफैं अन्योलमा पर्छु - मेरो भोट कसलाई दिने? सबै एकसेएक प्रतिबद्धता लिएर आएका छन्। घोषणापत्रहरूमा हामीलाई चाहिएका सबै कुरा छन्। गगनजीको कुरा सुन्छु - ओहो, यो पो नेतृत्व! हरेक वाक्यमा उत्साह, हरेक बोलीमा जाँगर! भोलिको नेपालको डिजाइन, ओहो, क्या वात! कांग्रेस भनेको कांग्रेस। फेरि ओलीजीको कुरा सुन्छु - झापाको मात्र होइन, सारा वर्गको कुरा। झापामा मात्र के कुरा, ओली नै हामी सबैका अभिभावक हुन्, हामी सबैको भोट उसैलाई जान्छ भन्ने भावना। त्यस्तै बालेनजीको दौड हेर्दा केही आशा जाग्छ -  नयाँ सोच, नयाँ विचारले केही पार लगाउँछ कि भन्ने लाग्छ। गीतहरू पनि त्यस्तै छन् -‘अबकी बार गगन सरकार, गगन पूरा देश मगन’, ‘सहर -सहरमा ओली’, ‘अबकी बार बालेन सरकार’, ‘नयाँ नेपाल हातले उठाउने’।

यसरी राम्रो नेता छान्न जनताले थकानका साथै जिम्मेवारी महसुस गरिरहेका छन्।

जनताको मनोविज्ञान दुई भागमा बाँडिएको छ। एकातिर लामो राजनीतिक संक्रमणले जन्माएको निराशा, बेरोजगारी, पीडा, महँगी, आश्वासनबाट थपिएको मनस्थिति। अर्कातिर अझै बाँकी रहेको आशा, भाइबहिनीको बलिदान खेर जान दिनुहुन्न, हाम्रो देशको विकासका लागि सक्षम नेतृत्व चाहिएको छ भन्ने मौन आग्रह। भाषणभन्दा अवसरलाई जोड दिऔं, राजनीतिभन्दा नीतिमा जोड दिऔं। वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्र छ। गाउँगाउँबाट, सहरसहरबाट विदेश पलायन भएका युवाशक्ति र अबका युवा रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र सुशासनको ठोस योजना खोजिरहेका छन्।

अनि वृद्ध पुस्ताको चिन्ता छ। उनीहरूले धेरै आन्दोलन देखे, जति व्यवस्था परिवर्तन आए पनि अवस्था परिवर्तन नभएको अनुभूति छ। उनीहरूका लागि यो निर्वाचन कुनै उत्सव होइन, बरु उत्तरदायित्वको बोझ हो, फेरि कुनै गलत नेतृत्व त छान्दैनौं भन्ने डर। महिलाहरूको दृष्टिकोण अझ व्यावहारिक छ। उनीहरूलाई चाहिएको यथार्थ शिक्षा, स्वास्थ्य, सिप अनि तिनै तहमा बराबरी, अर्थात् नेतृत्व भूमिकामा समान अवसर। त्यसैले यो निर्वाचनको भूमिका एकदमै ठुलो छ - राजनीतिक प्रतिस्पर्धा मात्र नभई सामाजिक मनोविज्ञानको ऐना बनेको छ।

नेताहरूको मानसिकता यसपटक फरक देखिएको छ। विगतजस्तो राजनीतिक मुखौटा लगाएर नारा गर्नु पर्याप्त छैन भन्ने कुरा उनीहरूलाई थाहा भइसकेको छ। अब जनताको मौन असन्तोष खोक्रो भाषणले दबिनेवाला छैन। अझ पुरानै शैलीमा भावनात्मक नाराले तान्न खोजिरहेका छन्। कतिपय नयाँ अनुहारले परिवर्तनका सपना बेचिरहेका छन् तर हामी मौन दर्शक भएर सबै नारा, भाषण, सपना हेरिरहेका अनि सुनिरहेका छौं। उनीहरूका झुटा आश्वासन बुझिरहेका छौं। हामीलाई साधारणभन्दा साधारण कुरा चाहिएको छ -रोजगारी, भ्रष्टाचारमुक्त संयन्त्र, उद्योगको विकास, कृषिमा सुधार। यति बलियो भए पुग्यो, अरू केही चाहिँदैन।

म अफिसमा बसेर यी सबै कुरा गुनिरहेको थिएँ। त्यत्तिकैमा ‘छोरी उदय’का अध्यक्ष भास्कर पन्त आउनुभयो - कुनै कार्यक्रममा प्रमुख आतिथ्यको निमन्त्रणा दिन। महेन्द्रनगरका युवा इन्जिनियर अनि एमबिए, देशमा केही गर्छु भन्ने सोच, दिदीबहिनीको दुःख देखेर आफ्नो शैक्षिक योग्यतालाई ‘छोरी उदय’लाई कसरी अगाडि बढाउने भन्ने उनका कुरा सुन्न मन लाग्यो। सोचेँ - यस्ता युवक पनि राजनीतिमा आउनुपर्छ। गहिरो सोच र काम गर्ने ऊर्जा छ।

मैले सोधेँ, ‘तपाईंजस्ता २५ देखि ३० वर्षका युवा कति छन्?’ उहाँले भन्नुभयो, ‘हामी सबै जेनजी हौं, शैक्षिक योग्यतासहित।’

अनि म गम्भीर सोचमा परेँ - यदि राज्यले यस्ता युवालाई देशमै भुलायो भने यी पनि बिदेसिन्छन्। उफ! हाम्रो विडम्बना, बच्चा जन्मिन्छन्, शैक्षिक योग्यता पूरा गर्छन् अनि ऊर्जासहित बिदेसिन्छन्।

फेरि म शून्य सोचमा पुगेँ। अब जम्मा १२ दिनको समय। यो प्रचारको मात्र होइन, विश्वासको पुनर्निर्माणको समय बनेको छ। हरेक सभा, हरेक अन्तरक्रिया, हरेक व्यक्तिले मतदाताको मन छुने कि झन् टाढा धकेल्ने भन्ने निर्णायक भूमिका खेलिरहेको छ। कतै डर फैलाउँदै छन्, ‘हामी आएनौं, जितेनौं भने देश झन् बिग्रन्छ।’ कतै आशा बाँड्दै छन् -‘हामीले जिते देश बन्छ।’ तर हाम्रो मनमा चलिरहेको प्रश्न अझै गहिरो छ – के हामी फेरि उही चक्रव्यूहमा त उभिएका छैनाैं? यसरी यो निर्वाचन साधारण राजनीतिक अभ्यासभन्दा माथि उठेको छ।

मेरो मनमा धेरै कुरा खेलिरहेका थिए। हरेक दृष्टिकोणको उथलपुथल सम्हालिरहेको थिएँ। चुनावको गलत नतिजा आयो भने के हुन्छ? चिटचिट पसिना पनि आइरहेको थियो। त्यत्तिकैमा सीताले ‘म्याम, पानी’ भनेर ल्याइन्। अनि मैले भनेँ, ‘मिठो दुधको चिया अदुवा हालेर ल्याऊ।’

म फेरि खानाबिना बाँच्न सक्छु तर चियाबिना सक्दिनँ।

नेपालको इतिहासले सिकाएको पाठ के हो भने हरेक चुनाव एउटा अवसर हो तर त्यो अवसर खेर जान दिने कि प्रयोग गर्ने भन्ने निर्णय जनताले गर्छन्। जनताले डरले भोट हाल्छन् भने नतिजा डरमै सीमित हुन्छ। विवेकले भोट हाल्छन् भने परिवर्तनको बिउ रोप्छन्, विकासको बिउ रोप्छन्, सपना साकार बनाउँछन्। अहिले यो द्वन्द्व सबैमा छ। देशको भविष्य अब केवल दलहरूको रणनीतिमा होइन, जनताको चेतनामा निर्भर गर्छ।

आज शून्यमा बसिरहेको छु। बिहान अन्तर्राष्ट्रिय विमानस्थलको भिड देखेर आएपछि फागुन २१ मात्र मनमा आइरहेको छ। फागुन २१ को मतपेटिकामा खस्ने कागजको टुक्रा केवल उम्मेदवारको नाम मात्र होइन, आमनागरिकको पीडा, आशा, आक्रोश, बलिदान, सपना र भरोसा पनि हो। त्यस कागजको टुक्राले भोलिको सरकार मात्रै बनाउँदैन, राजनीतिलाई सन्देश दिन्छ– हामी मौन छैनौं।

अब धेरै दिन छैन। चुनाव गाउँ, सहर, हिमाल, पहाड, सुगम, दुर्गम सबैतिर हुन्छ। यो संघर्षको बेग्लै पाटो छ– खर्चको पाटो, सुरक्षाको पाटो, वृद्ध र अपांग मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन स्वयंसेवकको संघर्ष। यी सबै मिलेर लोकतन्त्रलाई जीवित राखेका छन्। कहिलेकाहीं जनतालाई निराश बनाएको होला तर लोकतन्त्रले जनतालाई कहिल्यै छाडेको छैन।

फागुन २१ आत्ममन्थनको दिन हो, नेताका लागि पनि, जनताका लागि पनि। त्यसैले हाम्रो देशको भविष्य पोस्टरमा होइन, घोषणापत्रमा होइन, भाषणमा होइन, मतपेटिकामा राख्ने एउटै निर्णयमा टेकेको छ। जुन नयाँ नेपालको कल्पना छ, सपना छ - ‘अब विदेश बस्दिनँ, नेपालमै फर्किन्छु।’

बिहानको यही आशाले मलाई दिनभरि सोच्न बाध्य तुल्यायो - अब बन्छ नेपाल।

प्रकाशित: ९ फाल्गुन २०८२ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %