२३ माघ २०८२ शुक्रबार
image/svg+xml
विचार

मानव बेचबिखनको नयाँ शैलीले रोकथाममा चुनौती

सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ। ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमो’मा एक अर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरू देखापर्न थालेका छन्।

बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिएको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउँछन्। “कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरूलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे। अहिले त्यसको स्वरूपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ”, कोइरालाले भने, “मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ। मानव बेचबिखन हुने सङ्ख्या मात्रै नभई शैली पनि बढ्न थालेका छन्।”

केही वर्ष अघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेको कोइरालाको भनाइ छ। मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल ‘टिकटक’को दुरुपयोग तीव्र रूपमा बढिरहेको छ।

विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन्। “आजभोलि अधिकांश महिला र युवायुवती मोबाइलमा नै व्यस्त देखिन्छन्। प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन्”, संयोजक कोइरालाले भने, “प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिका कम हुँदै गएको छ। महिला सिधै दलालको पोल्टोमा पर्न थालेका छन्।”

चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन्। विगतमा भौतिक उपस्थितिमा नै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्‍याउने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला बताउँछन्।

दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिला मात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन्। ग्रामीण क्षेत्रका अधिकांश महिलाले ‘फेसबुक’ भन्दा ‘इमो’ बढी चलाउने गरेका छन्। “फेसबुक र म्यासेन्जरभन्दा इमो मार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमो मार्फत सम्पर्क भएको बताउने गरेका छन्”, कोइरालाले भने, “दलालले इमो मार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ।”

मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमो लगायत कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ। यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ।

छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ।

माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा प्रयोग भएको बताउँछन्।

सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार

पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सम्बन्ध विस्तार गरी महिलाहरू बेचबिखनको जोखिममा पर्ने गरेका छन्। टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले बताए।

माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धार समेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो।

गत आर्थिक वर्षमा मात्रै करिब दुई दर्जन महिला सामाजिक सञ्जालमा नै चिनजानको भरमा भारत जान लागेका महिलालाई सीमा नाकाबाट फर्काइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाको भनाइ छ। “सामाजिक सञ्जालमा एक अर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिम देखापर्न थालेका छन्। अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे कोइरालाले भने, “सामाजिक सञ्जालको दायरा फैलिएको छ। फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्र रूपमा बढिरहेको छ। यसले अशिक्षित र गाउँका महिला मात्र होइन शिक्षित र सहरिया महिलाहरू पनि जोखिममा छन्।”

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उजको भनाइ छ। माइती नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा भारत जान लागेका ५१२ महिला तथा बालबालिकालाई नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकाबाट उद्दार गरेको छ।

उद्धार गरिएकालाई परामर्शपछि अभिभावकको जिम्मा लगाइएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले बताए। यो अवधिमा माइती नेपाल नेपालगञ्जले भारतबाट १४ जनाको उद्धार गरेको छ।

गत आर्थिक वर्षमा माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा ८१७ खोजतलासको निवेदन परेको थियो। त्यसमध्ये ४३७ जना फेला परेका छन्। अझै ३८० जना बेपत्ता छन्। माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकालाई नाकामै रोकेर अभिभावकको जिम्मा लगाउने गर्दछ। विभिन्न दिवसमा नाकामा जनचेतनामूलक पर्चा, पम्प्लेट बाँड्ने, सडक नाटक देखाउने, अन्तरदेशीय कार्यशाला गर्ने गरेको कोइरालाले बताए।

उनले खोजतलास तथा उद्धारका लागि धेरै निवेदन आउने र भारत तथा तेस्रो मुलुकबाट उद्धार गर्नुपर्ने हुँदा त्यहाँ सरकारी संयन्त्र नहुँदा उद्धारमा समस्या हुने गरेको बताए। भारतबाट त्यहाँको सङ्घसंस्थाको सहयोग लिएर उद्धार गर्ने गरेको उनको भनाइ छ।

नयाँ शैलीले बढ्दो जोखिम

मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँशैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ। मानव दलालहरूले अपनाउने फरकफरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापनागृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी बताउँछन्।

“वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटना छन्”, उनले भने, “सामाजिक सञ्जाल मार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिम देखापर्न थालेका छन्।”

उनका अनुसार विगतमा अशिक्षित र गाउँका महिलाहरू बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र सहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरू बढेका छन्। आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलालाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ।

मानव बेचबिखनका घटना बढ्दो

मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन्। बढ्दो विलाशीलताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यमवर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ। राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताइन्।

उनले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज र प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले मानव बेचबिखनमा पीडित तथा प्रभावितलाई न्यायका लागि आफूहरू संवेदनशील रहेको बताए।

मानव बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थासँगका समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेले मानव बेचबिखनविरुद्ध छ थान मुद्दा दर्ता गरेको पातलीले बताए।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले बदलिँदो सामाजिक अवस्था र अरूको देखासिकीले पनि मानव बेचबिखनका घटना बढ्दै गएकाले सामाजिक सङ्घसंस्था र स्थानीय सरकारले चेतनासँगसँगै आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

उनले पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगले मानव बेचबिखनको जोखिम बढाएको बताउँदै यसलाई रोक्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।  

प्रकाशित: २६ भाद्र २०८२ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App