‘धेरै पढेर पण्डित भएस्, मास्टर भएस्’ भनेर आशीर्वाद दिने प्रचलन पछिल्लो दुई दशकमा ‘डाक्टर हुनु, पाइलट बन्नु’मा परिणत भएको छ। समयक्रमसँगै विगतमा सम्मानित र आधिकारिक मानिएका विवेकी अर्थात् पण्डित र शिक्षाको ज्योति छर्ने शिक्षक आज समाजमा खासै प्रतिष्ठित बन्न सकेका छैनन्।
विगतमा गाउँघरमा चेतनाका संवाहक मात्र नभएर नागरिकलाई सभ्य र सुसंस्कृत बनाउने आदर्श नेताका रूपमा शिक्षक रहेका थिए। त्यतिखेर समाजमा शिक्षकका अनेक रूप र भूमिका हुनेगर्थे। सामाजिक मेलमिलाप कायम गर्ने सन्दर्भमा न्यायाधीशको भूमिकासमेत निर्वाह गर्ने शिक्षक समाजका हरेक सदस्यका सुखदुःखका सारथि पनि बन्ने गर्थे। यसले शिक्षकप्रतिको आस्था, श्रद्धा र विश्वास बलियो बन्दै गुरुसम्मान संस्कार र संस्कृतिकै रूपमा रहेको थियो।
पञ्चायती व्यवस्थाका विरुद्धमा जनमत सिर्जना गर्ने क्रममा मात्र नभएर प्रजातन्त्र पुनस्र्थापना र पछिल्लो समयको राजनीतिक परिवर्तनमा पनि शिक्षण पेसामा संलग्न भएका व्यक्तिहरूले नेतृत्व गरेको इतिहास छ।
नितान्त सेवामूलक रहेको शिक्षण पेसा राजनीतिक परिवर्तन र समाजमा भित्रिएको विसंगतिसँगै पेसागत मर्यादाबाट ढलमलाउन थालेको अवश्य पनि हो। प्रजातन्त्रको आगमनपछि कर्मचारीतन्त्रमा भ्रष्टाचार मौलाउँदै गयो। राजनीतिकर्मी र कर्मचारीतन्त्रको साँठगाँठमा आर्थिक अनियमितता र भ्रष्टाचारका क्रियाकलापले चुली चुम्न थाले।
बिचौलिया प्रवृत्ति बढ्दै गएपछि जसले रातारात धनसम्पत्ति कमाउन सक्छ, उही नै महान् र सम्मानित बन्ने परिपाटी सिर्जना भयो। कर्मचारीसँगको मिलेमतोमा राजनीतिकर्मी र बिचौलियाले राष्ट्रिय ढुकुटीमा रजाइँ गर्न थालेपछि सामाजिक मूल्यमा परिवर्तन आयो। यसले गर्दा समाजले कर्मचारीलाई निकै शक्तिशाली र भ्रष्टाचार गर्न नपाउने तथा काममै खटिइरहनुपर्ने शिक्षकलाई निरीह प्राणीका रूपमा हेर्न थाल्यो। यसको मूल कारण भनेकै नेपाली समाज आदर्श, मूल्य र सदाचारबाट विचलित हुँदै आर्थिक उन्नतिलाई नै सर्वोत्तम प्राप्ति ठान्ने दिशामा रूपान्तरण हुनु हो।
गणतन्त्रपछि बढ्दो सूचना प्रविधिको प्रभाव एवं मानव अधिकार र नागरिक हकका लागि गरिएका सशक्त प्रावधानका साथै शिक्षक राजनीतिमा संलग्न हुने प्रवृत्तिले शिक्षकको गरिमामा झनै आँँच पुर्याउन थाल्यो। जसले शिक्षकलाई संवेदनशील र चुनौतीपूर्ण क्षेत्रका दुःखी प्राणी बनायो।
पछिल्लो दशकमा विकासित सूचना प्रविधि, युट्युब र भाइरल मोहका मिडियाका कारण धेरै ठाउँमा शिक्षक खिसीटिउरीका पात्र बने। यसले पनि समग्र शिक्षण पेसाको मानमर्दन गर्ने काम गर्यो। शिक्षण पेसालाई सम्मानित स्थानमा पुग्नबाट बाधा सिर्जना गर्ने यी तत्त्वका अतिरिक्त यो पेसा अहिले झनै जटिल, संवेदनशील र जोकोहीका लागि प्रवेश गर्न चुनौतीपूर्ण बन्दै गएको छ।
सामाजिक संरचनाको जटिलता र सूचना प्रविधिको विकाससँगै शिक्षण पेसा दिनानुदिन झन् चुनौतीपूर्ण बन्दै गएको छ। विद्यालयमा पुरस्कारको व्यवस्था हुनु तर दण्ड सजायको व्यवस्था नहुनु नै शिक्षण पेसाको जटिलताको कारक हो भन्नेमा यसै पेसासँग सम्बद्ध धेरै व्यक्ति सहमत हुने गर्छन्।
बालमैत्री विद्यालयको अवधारणा र मानव अधिकारलाई सर्वत्र सम्मान गर्नुपर्ने बाध्यात्मक अवस्थाले पनि नैतिक तथा शारीरिक सजायको डरमा हुर्केको वर्तमान शिक्षक पुस्ता विद्यार्थी नियन्त्रण गर्ने उपायहीन बनी अतालिन पुगेको देखिन्छ।
जुन कुनै बहानामा शारीरिक तथा मानसिक सजायलाई शैक्षिक संस्थामा प्रयोग गर्नु हुँदैन तर एकात्मक पारिवारिक ढाँचा र अभिभावकको नियन्त्रणबाहिर भएका बालबालिकालाई अनुशासित र मर्यादित वातावरणमा शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गराउनु सोचेजस्तो सहज कार्य कदापि हुन सक्दैन।
अर्कातिर जन्मँदै बालबालिकालाई अधिकारबारे शिक्षा र सचेतना दिने गरिए पनि कर्तव्यबारे सर्वत्र मौनता साँधिनुले आजका विद्यार्थी हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकतासहित हुर्केका छन्। यस मानसिकतालाई चरमचुलीमा पुर्याउन ग्याजेट संस्कृतिले मलजल प्रदान गरेको छ।
आधुनिकताका नाममा अपरिपक्व उमेरमै बालबालिका इन्टरनेटका हरेक सामग्रीमा निर्वाध रूपमा पहुँच राख्न थालेका छन्। साइबर स्पेसमा भएका अनगिन्ती सूचनाहरूलाई सत्यापन गर्ने सम्यक् संयन्त्र नभएको अवस्थामा बालबालिकाको अनिर्देशित पहुँच पुग्नु सामाजिक मूल्य, संस्कार र वैयक्तिक विकासका लागि पनि फाइदाजनक देखिँदैन। यसैले अस्ट्रेलियालगायतका देशले सामाजिक सञ्जाल र साइबर स्पेसमा उमेरगत सीमा निर्धारण गरेका छन्।
बसाइँसराइ, वैदेशिक रोजगारी र आर्थिक उतारचढावले पारिवारिक र सामाजिक विखण्डनसँगै विश्व परिवेशमा घटेका घटना र तिनलाई आधार मानेर गरिएका विश्लेषणले ससाना बालबालिकामा समेत गम्भीर प्रभाव पार्ने गरेको छ।
पछिल्लो समय बालबालिकामा अगिल्लो पुस्ताले आफ्ना कुरा बुझ्नै नसक्ने भन्ने भाष्य सिर्जना भएको छ। यसले पुस्तागत द्वन्द्वलाई पनि झनै फराकिलो बनाएको छ। यी सब कारणले विद्यार्थी अनियन्त्रित हुँदै गएका छन्।
फरकफरक संस्कृति, संस्कार र सामाजिक पृष्ठभूमिबाट आएका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी शिक्षण गर्दा उनीहरूमा अनुशासन कायम गराउन प्रयोग गरिने उपकरण पनि सोहीअनुरूपका हुनु आवश्यक छ। यसको तात्पर्य बालबालिकालाई शारीरिक र मानसिक रूपमा दण्डित गर्नुपर्छ भन्ने अवश्य होइन तर स्वच्छन्द रहेका बालबालिकालाई सिर्जनशील क्रियाकलापमा संलग्न गराउन प्रमुख भूमिका रहने शिक्षकको चिन्तन र क्रियाकलाप भने सधैं चुनौतीपूर्ण हुने गर्छ।
अभिभावकले आफूले तह लगाउन नसकेका छोराछोरीलाई शिक्षकले विद्यालयमा तह लगाइदियोस् र असल व्यक्ति निर्माण गरोस्, जसको शैक्षिक स्तर पनि उत्कृष्ट रहोस् भन्ने अपेक्षा राखेका छन्। शिक्षा र सदाचार अस्पतालमा प्रदान गरिने एन्टिबायोटिक भनौं वा अन्य क्षेत्रमा शुल्क तिरेपछि तुरुन्तै प्राप्त हुने वस्तु वा सेवा जस्तै आफ्नो लगानी तुरुन्तै बालबालिकामा प्रतिविम्बित होओस् भन्छन्।
शिक्षा क्षेत्र तत्काल प्रतिफल प्राप्त हुने क्षेत्र होइन, त्यसो त विद्यार्थीका हरेक क्रियाका लागि शिक्षक मात्र निर्विकल्प कारक तत्त्व पनि होइनन्। जसरी हुन्छ, छोराछोरीलाई अनुशासनमा राखेर उच्च उपलब्धिका लागि उत्प्रेरित गरिदिओस् भन्ने अभिभावक कारणवश शिक्षकले केही कठोरता देखाएमा अधिकारवादी बनेर शिक्षकमाथि जाइलाग्ने गरेको देखिन्छ।
विद्यालय प्रशासन उत्कृष्ट नतिजाका लागि शिक्षकलाई मात्र जिम्मेवार ठान्ने मनोग्रन्थीबाट ग्रस्त देखिन्छ। विद्यालयको प्रतिष्ठा, संस्थागत विद्यालयका सन्दर्भमा व्यापारको बढोत्तरीका लागि शिक्षक नै जिम्मेवार हुन्छन् भन्ने सोचले शिक्षकमाथि नैतिक र मनोवैज्ञानिक दबाब सिर्जना भएको हुन्छ।
विद्यार्थीले प्राप्त गरेको शैक्षिक उपलब्धि, उसको व्यक्तित्व तथा अभिभावकको अपेक्षा र असन्तुष्टि सम्पूर्ण कुराका लागि शिक्षकलाई नै उत्तरदायी बनाउन खोज्ने समाज मनोविज्ञानमा शिक्षक वास्तवमै युद्धमा होमिएको हातहतियार बिनाको सिपाहीजस्तै देखिन्छन्।
पछिल्लो समय त अरू कुनै काम गर्न नसकेर शिक्षक बनेको भनी गरिने तितो टिप्पणीले यसै पेसाका माध्यमबाट सामाजिक रूपान्तरणमा सशक्त भूमिका निर्वाह गर्छु भनी शिक्षण पेसामा संलग्न भएका शिक्षकलाई समेत हतोत्साही बनाएको छ। माध्यमिक तहका स्थायी शिक्षक श्रमिकका रूपमा कोरिया जानु वा निजामती सेवाको खरिदार बन्न लालायित हुनु यस पेसाप्रतिको वितृष्णाको ज्वलन्त उदाहरण हो।
पेसागत मानसम्मानमा आएको विचलन, पेसागत चुनौती, घरव्यवहार चलाउन पर्याप्त पारिश्रमिकको अभाव र सधैं रुटिनमा चल्नुपर्ने बाध्यता आदिका कारण वर्तमान पुस्ता शिक्षण पेसाप्रति विकर्षित हुँदै गएको छ। उनीहरूलाई यस पेसामा आकर्षण गर्ने कुनै पनि कार्य राज्यस्तरबाट भएको देखिँदैन।
पीडितलाई दोषी देखाउने मनोविज्ञान रहेसम्म अर्थात् पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक र अन्य सामयिक घटकहरूले पार्ने प्रभावलाई बेवास्ता गरी विद्यार्थीका सम्पूर्ण कमजोरीको दोषी शिक्षकलाई ठान्ने प्रवृत्तिले पेसामा संलग्न व्यक्तिहरूसमेत पेसान्तरण वा सहज रूपमा जागिर खाने मनोविज्ञानबाट सञ्चालित हुन थालेका छन्।
सामाजिक इन्जिनियरिङ मानिने शिक्षण पेसाप्रतिको उदासीनता वर्तमानमा पेचिलो विषय बनेको छ। यस्तै अवस्था रहिरहे शिक्षण पेसामा जनशक्तिको ठुलो अभाव सिर्जना हुने छ। समग्रमा यसले समाज र राष्ट्रको विकासका लागि झनै ठुला चुनौती थपिदिने निश्चित छ।
जुनसुकै क्षेत्रका योग्य जनशक्ति उत्पादन गर्ने शिक्षकको मनोबल उच्च पार्ने दिशामा आवश्यक कदम चाल्न ढिलाइ गर्ने हो भने यसले पार्ने नकारात्मक असर निराकरण गर्ने समय नै उपलब्ध हुने छैन। यसैले आर्थिक पक्षलाई महत्त्व दिने वर्तमान समाज मनोविज्ञानलाई बुझी शिक्षण पेसालाई मर्यादित, सम्मानित र प्रतिष्ठित बनाउन शिक्षकको पेसागत वृत्तिविकास, हकहित एवं आर्थिक आत्मनिर्भरता सिर्जना गर्ने काममा पहलकदमी लिनु अति आवश्यक छ।
प्रकाशित: ३ पुस २०८२ ०६:४१ बिहीबार

