नेपाल यस्तो देश हो, जहाँ गौतम बुद्ध जन्मिएका थिए। नेपाललाई विश्व शान्तिको उद्गमस्थल भनेर चिनिन्छ। यति बेला विश्व शान्तिको सन्देश प्रवाह गर्दै अमेरिकाको टेक्ससबाट सुरु गरिएको पैदल यात्रामा ‘वाक फर पिस’ लेखिएको ब्यानर बोकेर बौद्ध धर्मावलम्बीहरूको एक समूह निस्किएका छन्। यो यात्रा तीन हजार सात सय किलोमिटर लामो छ, जुन टेक्ससबाट सुरु गरेर अन्त्यमा वासिङ्टन डिसी पुग्ने योजना छ।
उनीहरू त्यसरी निस्कनुको प्रमुख उद्देश्य विश्व शान्ति, अहिंसा र मानवीय अस्तित्वको सन्देश प्रवाह गर्नु हो। यसरी उनीहरूले विश्व शान्तिको सुवास छर्दै एक सय २० दिनको लामो कठोर यात्रा गरिरहेका छन्। यो यात्रा सन् २०२५ अक्टोबर २६ देखि बौद्ध भिक्षुहरूको उक्त समूह खाली खुट्टा आफ्नो पद यात्रामा हिँड्न सुरु गरेका थिए।
अहिले देश होस् या विदेश, बढ्दो हिंसा, प्यासी, बेचैन, घृणा, युद्ध, सामाजिक विकृति र नकारात्मक विचारहरू फैलिरहेका छन्। सायद यही चिन्ता व्यक्त गर्दै ती बौद्ध धर्मावलम्बीहरू शान्तिको कामना गर्नाले सम्भव हुने विश्वासका साथ सडकमा उत्रिएको हुनसक्छ।
धेरैजसो मानिसहरूको हिँडाइ राजनीतिज्ञ हुन्छ। तर, मौन पदयात्रामा रहेका ती बुद्ध भिक्षुहरू भाषण वा घोषणाबाट पैदल यात्रा गरेका होइनन्। कर्मबाट स्थापित हुनुपर्छ भन्ने बुद्धको शिक्षालाई व्यवहारमा उतार्दै ‘वर्क फर पिस’ अभियानमा लागि परिरहेका छन्। यही मार्गअनुसार उनीहरू मौन पदयात्रा, प्रार्थना र ध्यानसहित एकोहोरो हिँडिरहेका छन्।
यसरी उक्त अभियानमा हिँडेका भिक्षुहरूले बाटोमा हिँड्ने क्रम होस् या वास बस्ने ठाउँ, आफ्नो पदयात्राको दायरामा बुद्धको ज्ञानलाई पनि मगमगाउने फूलको बास्नासरी छरिरहेका छन्। संसारमा शान्ति खोज्ने होइन, शान्ति भन्ने चिज आफ्नै मनभित्रबाटै सुरु हुन्छ भन्ने सन्देश पदयात्रामा निस्किएका ती भिक्षुहरूबाट बुझ्न सकिन्छ।
अमेरिका यति बेला बुद्धमय भएको छ। बौद्ध भिक्षुहरू आफ्नो पदयात्रामा रहेको बेलामा अमेरिकी सरकारले सुरक्षा मात्रै दिएका छैनन्, विभिन्न स्थानबाटै भिक्षुहरू आइपुगेका बाटोहरूमा सम्मान समेत गरिरहेका छन्। साथै पदयात्रामा निस्किएका बौद्ध धर्मावलम्बीहरू जहाँ पुग्छन्, त्यहाँ त्यहाँको स्थानीयहरूले हात–हातमा फूल लिएर स्वागत गरेसँगै उनीहरूसँग केही माइल हिँड्ने समेत गरेको छन्। शान्तिको सन्देश बोकेर हिँड्ने भिक्षुहरूसँग मानिसहरूले दिल खोलेर अँगालो हाल्दै रोएका पनि छन्।
त्यति मात्रै नभएर अर्को रोचक पाटो के छ भने ‘वर्क फर पिस’ अभियानमा रहेका १८/२० जनाको बौद्ध भिक्षुहरूको समूहमा आलोक नाम गरेको एक कुकुर छ। अशान्त संसारमा शान्ति हुन जरुरी छ भन्दै बौद्ध भिक्षुहरूसँगै हिँडेको आलोक कुकुरले पनि सन्देश दिइरहेको छ।
भिक्षुहरूले गरिरहेका योगदानका साथै कठोर यात्रामा सामेल भएको आलोक कुकुरको पनि यति बेला ठुलो चर्चा भइरहेको छ। जहाँ संसार भरी परिचित भएको आलोक कुकुर विश्व शान्तिको दूतसमेत बनिरहेको छ। यसरी शान्तिको प्रतीक बोकेर हिँडेका बौद्ध भिक्षुहरूको व्यवस्था मिलाउनेदेखि लिएर सञ्चारमाध्यमसँग सहकार्य नेपाली डाक्टर धिरज बज्राचार्यले गरिरहेका छन्।
लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश शाक्यका अनुसार विश्वमा बढिरहेको अशान्तिलाई चिर्दै शान्ति, एकता, करुणा र आत्मीयको सन्देश बोकेर भिक्षुहरू हिँडिरहेका छन्। यो पदयात्रा विरोधका लागि होइन, जागरणका लागि हो। ‘संसारमा द्वन्द्व भइरहेको छ। अमेरिकामा भिक्षुहरू यतिकै हिँडेका छैनन्। सबैलाई माया देखाएर युनिभर्सल करुणा तरङ्ग बोकर हिँडेका छन्,’ उनले भने, ‘यो यात्राले सबैको ध्यान खिचिएको छ। त्यसरी भिक्षुहरू किन हिँडे भन्ने कुनै शब्दै छैन। यो कुनै प्रचार होइन, नितान्त संसारलाई करुणाको भावको रूपमा भित्रै मनबाट भइरहेको प्रसार हो।’
उनले अघि भने, ‘नेपाली विदेश पुग्दा पनि बुद्ध जन्मिएको देश कस्तो छ भनेर प्रश्न गर्दा नेता, व्यापारी होस् वा श्रमिक सबैले शान्तिको लयमा प्रसार गर्नुपर्छ।’ आउँदै गरेको मार्च १० मा पाँच सय भिक्षुहरू जम्मा भएर गौतम बुद्ध जन्मिएका उद्गमस्थल लुम्बिनीबाट विभिन्न ठाउँमा ‘वाक फर पिस’ यात्रा सुरु गर्ने उनले बताए।
‘शान्तिको कामना गर्दै सुरु गर्ने यात्रामा पाँच सय जना भिक्षुहरू हुनेछन्,’ उनले भने, ‘उक्त यात्रामा सहभागी हुने भिक्षुहरूले लुम्बिनीमा २१ दिनको तालिम लिनेछन्। उक्त तालिममा जन्मिएपछि के गर्नुपर्छ, कसरी ज्ञानी र ध्यानी हुने, शिक्षा कसरी लिने भन्ने गौतम बुद्धका विभिन्न पाठहरू सिक्ने गरिन्छ।’ अमेरिकामा भएको ‘वाक फर पिस’ अभियान आउँदो फेब्रुअरीसम्ममा वासिङ्टन डिसी पुगेर विशाल भेला हुने उनले बताए।
‘अहिले प्राय मानिसहरू म मात्र खाऊँ, म मात्र लगाऊँ, सुख–सहुलियत सबै म मात्र भोगूँ भन्नेहरू छन्,’ कोषका कार्यकारी सदस्य शाक्यले भने, ‘आफ्नो कर्मले कसैलाई दुःख नदियोस्, कसैको आँखामा पीडा र तनाव नदेखियोस्, सबै समान हुन्, एक–अर्काको सहयोग होस्, सबैसँग मेलमिलाप रहोस् भन्ने बौद्ध धर्मको पाठ हो।’
आज अमेरिकामा पनि यस्तै शान्तिको प्रसार भएकोमा उनले गर्व गरेको बताउँछन्।
विश्व परिवेशमा शान्ति ज्यादै प्रचलित शब्द हो। शान्तिका लागि विश्वभर अनेकौं काम नभएका भने होइनन्। जानी नजानी कुनै न कुनै ढंगबाट हर मानिस सुख शान्ति कसरी पाइएला भनेर लागिरहेकै हुन्छन्, सोचिरहेकै हुन्छन्। सुख शान्ति प्राप्तिकै लागि दिन प्रतिदिन दौडधुपमा मानिसहरू खटिरहेका छन् तर मानिसहरू सुख खोज्ने चक्करमा सधैं दुःख मात्रै पाइरहेका हुन्छन्। सुख त आफूले मनन गर्ने कुरा न हो। सुख भन्ने चिज कहाँ देखिन्छ र? दुःखमा पनि खुसी हुनु नै महान् कार्य हो।
यति बेला बौद्ध भिक्षुहरूले पदयात्रामा बुद्धजस्ता विश्व शान्तिका प्रेरणालाई लिएर नेपाललाई विश्वसामु चिनाएसँगै अशान्तिको समयमा मानिसहरूलाई आशा र भित्री शान्तिको पाठ सिकाइरहेका छन्।
धर्म भनेकै सत्य हो। सत्यको परिपेक्षमा रहेर दुनियालाई शान्तिको पाठ पढाउनु नै ठुलो धर्म कमाउनु हो। गौतम बुद्धले दिएका शान्तिका मुख्य सन्देशहरू बुद्धम् शरणम् गच्छामी, धर्मम् शरणम् गच्छामी, संघम् शरणम गच्छामी हुन्।
प्रकाशित: १९ माघ २०८२ ०८:१५ सोमबार

